भर्खरै :

उत्तरी सिरियाको द्वन्द्वको दोषी संरा अमेरिका र टर्की

उत्तरी सिरियाको अवस्था दिनानुदिन खराब बन्दै गएको छ । सो क्षेत्रमा रहेका कुर्दहरूमाथि टर्कीले दुई साताअघिबाट हमला थालेपछि सो क्षेत्र युद्धग्रस्त बनेको छ । उत्तरी सिरियाबाट लाखौँ मानिस सो ठाउँबाट विस्थापित भएका छन् । दसकौँदेखि युद्धमा फसेको सिरिया नयाँ लडाइँमा फसेको छ । पश्चिमा सञ्चारमाध्यमहरू उत्तर सिरियाबाट संरा अमेरिकी सेना फिर्ता हुन थालेपछि सो क्षेत्र अस्थिर बनेको प्रचार गरिरहेका छन् । तर, त्यो झूटो प्रचारबाजी हो । सिरियामा द्वन्द्वको बिजारोपण नै संरा अमेरिकी नेतृत्वको पश्चिमी साम्राज्यवादी मोर्चाले गरेको थियो । बसार अल असाद नेतृत्वको सरकारविरुद्ध आन्दोलनको नाममा रङ्गिन क्रान्ति उठाएर पश्चिमा साम्राज्यवादले सो क्षेत्रलाई लामो द्वन्द्वमा फसाएको छ । आज सिरिया विश्व शक्ति राष्ट्र र धार्मिक अतिवादको सिकार बनेको छ । दसौँ लाख सिरियाली जनता द्वन्द्वबाट जोगिन वरपरका विभिन्न देशमा कष्टसाध्य शरणार्थी जीवन बिताउन बाध्य भए ।
संरा अमेरिकाले सहयोग गरेको इस्लामिक अतिवादले सो क्षेत्रको अवस्था अझ भयावह बनायो । आफैंले हुर्काएको अतिवादमाथि दमन गर्ने नाममा सो क्षेत्रमा संरा अमेरिकाले हमला ग¥यो । सिरियाको सार्वभौमिकतासँगै हजारौँ वर्ष पुरानो सभ्यता र सम्पदा तहसनहस बनाइयो । लामो लडाइँपछि शान्तिको बाटोमा फर्किरहेको सिरियामा रहिरहनुको कुनै औचित्य पुष्टि गर्न नसकेपछि ट्रम्प सरकारले केही समयअघि अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको थियो । तर, अमेरिकी सेना फर्किने क्रम सुरु भएसँगै उत्तरी सिरियामा कुर्दहरूमाथि टर्कीले हमला थाल्यो । टर्कीको हमलालाई सिरियाले आफ्नो सार्वभौमिकतामाथिको हमला भनेको छ । टर्कीले भने सिरिया सरकारको विरोधलाई बेवास्ता गर्दै हमला जारी राखेको छ । त्यही बहानामा संरा अमेरिकाले फेरि सो क्षेत्रमा आफ्नो सैनिक उपस्थितिलाई निरन्तरता दिने छनक देखिएको छ । बिहीबार संरा अमेरिकी प्रतिनिधिसभाले सो क्षेत्रमा अमेरिकी सैनिक उपस्थितिलाई निरन्तरता दिनुपर्ने प्रस्ताव पारित गरेको छ । शब्दमा टर्कीको हमलाको प्रतिरोध गर्न भनिए पनि व्यवहारमा रणनीतिक महत्वको उत्तरी सिरियामा आफ्नो सैनिक तैनाथ गर्ने संरा अमेरिकाले टर्कीको हमलालाई प्रयोग गरेको देखिन्छ । अमेरिकी सेना रहेपछि उत्तरी सिरियाको केही भाग लामो समयका लागि सिरियाबाट टुक्रिएसरह हुनेछ ।
अफगानिस्तानमाथि हमला गर्न संरा अमेरिकाले जसरी सेप्टेम्बर ११ को हमलालाई बहाना बनाएको थियो । आज संरा अमेरिकाले सिरियाको सार्वभौमिकतामाथि हमला गर्न र सो क्षेत्रमा आफ्नो सैनिक उपस्थिति बलियो बनाउन टर्कीको हमलालाई उपयोग गर्न खोजेको छ । उत्तरी सिरियाको पछिल्लो अवस्थाले संसारमा साम्राज्यवादले आफ्नो चरित्र थप आक्रामक र हिंस्रक बनाएको बुझिन्छ । सिरियाको आन्तरिक राजनीतिको बाटो तय गर्ने अधिकार सिरियाली जनताको हो । तर, साम्राज्यवादले सिरियाली जनतालाई आफ्नो अधिकारबाट बञ्चितमात्र गरेको छैन, सिरियाको सार्वभौमिकता र अखण्डतालाई छिन्नभिन्न बनाएको छ ।
संसारका साम्राज्यवादविरोधी जनताले सिरिया र कुर्दहरूमाथि टर्की र संरा अमेरिकी हमलाको विरोधमा उत्रनु परेको छ । साम्राज्यवाद नै संसारमा अमानवीय युद्ध र अशान्तिको मूल जरा हो । ट्रम्पले संरा अमेरिकी जनतालाई चुनावमा रिझाउन विदेशमा रहेका अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे पनि उसले संसारमा आफ्नो सैनिक उपस्थिति अझ बलियो बनाएको छ । यसले संसारमा फेरि पनि युद्ध र आतड्ढको दलदलमा धकेलेको छ । साम्राज्यवाद कुनै एउटा देश वा क्षेत्रको मात्र समस्या होइन । साम्राज्यवादले संसारका सबै क्षेत्रमा आतङ्क र अमानवीय अपराध विस्तार गरेको छ । टर्कीको शासक वर्ग पनि संरा अमेरिकी साम्राज्यवादको पिछलग्गू नै हो । संसारका न्यायप्रेमी र युद्धविरोधी जनताले उत्तरी सिरियामाथि अवैध तरिकाले हमला गर्ने टर्की र संरा अमेरिका दुवैको विरोधमा एकजुट हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *