भर्खरै :

उत्तरी सिरियाको आक्रमणबारे राष्ट्रसङ्घको चासो

संयुक्त राष्ट्रसङ्घ, ३० असोज (सिन्ह्वा) । सिरियाली कुर्द लडाकूविरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ ।
यद्यपि यी घातक हमलाको अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले गत मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ तर पनि टर्कीले आक्रमण भने रोकेको छैन ।
त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले चासो व्यक्त गरेको हो । बुधबार बसेको यस परिषद्को बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको पछिल्लो अवस्थाको बारेमा आवश्यक छलफल भएको बताइएको छ ।
बुधबारको सो बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।
उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय सङ्कट पैदा भएको भन्दै यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *