भर्खरै :

‘स्मार्ट सिटी’ सुन्दा आकर्षक तर खतरनाक

रजनी जोशी
गएको २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि भक्तपुर नगरपालिकाले आजसम्म गर्दै आएका काम नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार हुँदै आएको छ । भक्तपुर नगरका आधारभूत आवश्यकता पूरा गर्न नगरपालिकाले अथकरूपमा काम गर्दै आएको नगरवासीले देख्नुभएको हामीले विश्वास गरेका छौँ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । नगरवासीलाई शिक्षित बनाउन सके नगरलाई व्यवस्थितरूपमा अघि बढाउन सकिन्छ । भक्तपुर नगरले शिक्षामा गरेको प्रगतिका कारण एउटा अनुकरणीय नगर बन्दै गएको सुनिन्छ । नगरवासीका छोराछोरी आर्थिकरूपमा विपन्न हुँदा उच्च शिक्षा हासिल गर्न नसकेको अवस्थामा नगरपालिकाले पाँच लाखसम्म सहुलियत दरमा ऋण सहयोग गर्दै आएको छ ।
इतिहास, भूगोल, कला–संस्कृति र राजनीतिशास्त्र पनि महत्वपूर्ण विषय हुन् । डाक्टर र इन्जिनियरिङजस्तै ती विषय पनि समाजको लागि महत्वपूर्ण छन् । तर, ती विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ । ती विषयमा भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ । शिक्षाका हरेक विषयहरूमा अनुसन्धान र अन्वेषण गरी लिपिबद्ध गर्ने काम पनि नगरपालिकाले अघि बढाइरहेको छ । आज लिपिबद्ध बनाइएको ज्ञानले अब आउने नयाँ पुस्ताको लागि सहज बन्ने छ ।
शिक्षाको केन्द्र यो नगरका जनताको स्वास्थ्य राम्रो होस् भनेर नगरवासीका घरदैलोमा नपाले नर्स पठाइरहेको छ । नगरवासीको घरदैलोमा परिचालित नर्सहरूले दिनुभएको प्रतिवेदनअनुसार नगरमा थाइराइड, चिनी रोग, क्यान्सर, प्रेसर आदि रोगका बिरामी देखिएका छन् । त्यसकारण नगरपालिकाले मृगौला फेर्ने, मुटुरोगी, क्यान्सर, मस्तिष्कघात भएका नगरवासीलाई दस हजारसम्मको सहयोग गर्दैआएको छ । भदौको अन्तिमसम्ममा यस्ता रोगका रोगीलाई प्रदान गरिएको सहयोगको आँकडा हेर्दा ८० जना बिरामीले नगरपालिकाबाट सहयोग प्राप्त गरेका छन् । तीमध्ये ३७ जना क्यान्सरका बिरामी छन् ।
भक्तपुर नगरमा विभिन्न रोगका विशेषज्ञ तयार गर्ने मनसायले दुई जना चिकित्सकलाई एमडी पढ्न छात्रवृत्तिको बन्दोबस्त गरिएको छ । भक्तपुर नगरभित्रै अस्पतालहरू भएकोले नगरवासीलाई स्वास्थ्य उपचारको लागि सुविधा छ । नगरपालिकाले आधुनिक सुविधासम्पन्न अस्पताल पनि निर्माण गरिरहेको छ । आँखाको रोगीको पनि उपचारको बन्दोबस्त गरिएको छ । च्याम्हासिंहमा छाती रोग पुनःस्थापना केन्द्र स्थापनाको लागि भवन बन्दैछ । जापान सरकारको सहायता संस्था जाइकाले सो केन्द्र निःसर्त स्थापना गर्न लागेको हो । उक्त केन्द्रमा छाती रोग, दमसम्बन्धी रोग भएका बिरामीले थेरापी गरी उपचार गर्नसक्नेछन् ।
आजभन्दा तीस वर्षअघि भक्तपुर नगरपालिकाका अग्रज जनप्रतिनिधिहरूले थालनी गरेको सरसफाइ अभियानलाई नगरपालिकाले निरन्तरता दिँदै आएको छ । नगरपालिकाले नगरबासीको सहभागितामा पाक्षिकरूपमा सरसफाइ कार्यक्रम गर्दै छ । हामी सबै मिलेर सरसफाइ अघि बढाएकै हुनाले भक्तपुर नगर सरसफाइमा उदाहरणीय नगर बनेको छ । तथापि अझै हामी सन्तुष्ट भइहाल्ने अवस्था पनि छैन । आज हामी सफा पानीमा हुर्केका लामखुट्टेले सार्ने डेँगुजस्तो नयाँ रोगले हामीलाई आक्रान्त बनाइरहेको छ । हाम्रो घर, चोकमा पानीलाई छोपेर राख्नुपर्ने पाठ पनि सिकाएको छ । अर्कोतिर हामीले वर्षाको पानी पनि सङ्कलन गर्नुपरेको छ किनभने हाम्रो नगरमा पानीको ठूलो अभाव छ । प्राविधिकरूपमा हामीले वर्षाको पानी सङ्कलन गर्नुपर्छ । त्यस्तो प्रविधिलाई रेन वाटर हार्भेटिङ भनिन्छ । प्राविधिकरूपमा वर्षाको पानी सङ्कलन गर्नसके पानी पनि जम्मा हुनेछ र डेँगुजस्तो रोगबाट हामी आक्रान्त हुने छैनौँ । नगरपालिकाको नारा ‘ज्ञान–विज्ञान र प्रविधिको केन्द्र’ पनि सार्थक हुनेछ ।
हाम्रो नगरमा धेरै पोखरीहरू छन् । ती पोखरीले नगरलाई शोभायमान बनाएका छन् । पोखरीहरूले नगरमा पहिलेदेखि पानीको अभाव भएको इतिहास प्रतिबिम्बित गरेको छ । त्यसकारण नगरपालिकाले पानी शुद्धीकरण गर्ने, सरसफाइ गर्ने र फोहोरा बनाएर डेँगुजस्तो रोगबाट जोगिन प्रयास गरिरहेको छ ।
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने नारालाई भक्तपुर नगरपालिकाले आत्मसात गर्दै आएको छ । यही हाम्रो परिचय हो, यही हाम्रो सभ्यता हो । हाम्रो कला संस्कृतिको संरक्षण गर्नुपर्छ अनिमात्र नयाँ पुस्ताले त्यसलाई अङ्गीकार गर्नसक्नेछन् । हाम्रो सम्पदा भनेको मन्दिर, पाटी र देवालयमात्र होइनन्, तिनीहरूसँग जोडिएका सबै संस्कृति र रीतिरिवाज पनि हाम्रा सम्पदा हुन् । भौतिक सम्पत्तिसँगै सम्पदा र संस्कृति संरक्षण गर्न हामीले हाम्रा चाडपर्व, जात्राको संरक्षण जनताको सहभागितामा नगरपालिकाले गरिरहेको छ । यही क्रममा सापारु, घिन्ताङघिसी, बिस्का जात्रा, पुलुकिसि जात्रा आदि जात्रा–पर्वको संरक्षण गरिरहेका छौँ ।
२०७२ को भूकम्पले भत्काएका सम्पदालाई भक्तपुर नगरपालिकाले मौलिक प्रविधिअनुसार पुनः निर्माण गरिरहेको छ । उदाहरणको लागि, भक्तपुर दरबार क्षेत्रको वत्सलादेवी मन्दिर, भाज्या पुखु आदि । २०७४ देखि स्थानीय पाठ्यक्रममा कला संस्कृतिसँगै भूगोल र इतिहास आदिको पठनपाठन सुरु भइसकेको छ ।
नगरवासी जनता एकजुट भएमात्र हाम्रो सम्पदाको संरक्षण सम्भव हुन्छ । सम्पदा संरक्षणमा अथक प्रयास गरे पनि हाम्रो अघि चुनौती पनि उत्तिकै छन् । त्यसबारे हामी सचेत हुनुपरेको छ । काठमाडौँ उपत्यकामा चार वटा स्मार्ट सिटीको अवधारणा अघि सारिएको छ । यसको लागि एक लाख रोपनी जग्गा तोकिएको छ । उपत्यकामा दसौँ लाख जनता भित्याएर अस्तव्यस्त बनाउने प्रपञ्च बुनिएको छ । स्मार्ट सिटीको नाम सुन्दा आकर्षक सुनिए पनि त्यसले धेरैथरी चुनौती सामना गर्नुपर्नेछ । हाम्रो कृषियोग्य भूमि नष्ट हुनेछ, हाम्रो संस्कृति पनि लोप हुने सम्भावना छ । यस विषयमा जनता सचेत हुन जरुरी छ । साथै हाम्रो पहिचान र गौरव सड्ढटमा पर्नसक्छ । काठमाडौँ उपत्यकाको सभ्यता र गौरव इतिहासमात्र रहन सक्छ । काठमाडौँ उपत्यकामा जग्गा बेचबिखन गर्न एकपल्ट फेरि सोच्नुपर्ने अवस्था छ । हाम्रो पहिचान सधैँ सधैँ जीवित हुनेमा आशावादी छौँ । नयाँ सहरको आवश्यकता काठमाडौँ उपत्यकामा भन्दा बाहिर आवश्यक भएको कुरा सरकारले विचार गर्नुपर्छ ।
(जोशी भक्तपुर नगरपालिकाका उपप्रमुख हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *