भर्खरै :

उत्तिबेलाको भक्तपुर

डा.अशोकानन्द मिश्र
आफ्नोबारेमा आफैँ बोल्नु अति कठिन काम हो । त्यसमा पनि यस्तो सम्मान पाए पछि । तथापि भक्तपुरका मेरा प्यारा क्रान्तिकारी जनताको आग्रह मैले नकार्न सकिनँ । आजभन्दा तीन–चार वर्षअघि मलाई नेपाल सरकारले पनि सम्मान गर्ने प्रयास गरेको थियो । तर, त्यो प्रयास यति नराम्रो तरिकाबाट भएको थियो–मैले सिधै नकार्नु परेको थियो । त्यो के सम्मान थियो, त्यो पनि मलाई थाहा थिएन । ‘अति विशिष्ट पदक’ कि के भन्ने थियो । सम्मानको लागि उनीहरूले मसँग पूर्वसहमति पनि लिएका थिएनन् । ठीक पञ्चायती शैलीमा मलाई फोनमा भनियो–“डाक्टर साब ! तपाई काठमाडौँ आउनुप¥यो ।”
मैले सोधँे, “किन ? तपाईँ को बोल्नुभयो ?”
उताबाट जवाफ आयो, “म सीडीओ बोलेको । राष्ट्रपतिबाट तपाईंलाई सम्मान गर्ने कार्यक्रम छ ।”
मैले भनेँ, “मेरो सहमति लिनुभएको थियो ?”
जवाफ आयो, “सचिवसित कुरा गर्नुस् ।”
म अवकाश पाइसकेको थिएँ । मैले भनेँ, “हुन्छ सचिवलाई दिनुहोस् ।”
फोन सचिवलाई दिइयो । मैले भनेँ, “तपार्इँ को सित कुरा गर्दै हुनुहुन्छ ?”
सचिवले भने, “म डा.अशोकानन्द मिश्रसँग कुरा गर्दैैछु ।”
“अशोकानन्द मिश्रको स्वभाव तपाईँलाई थाहा छैन ? म तपाईँको जागिरदार होइन । तपाईँले मलाई नसोधेर पुरस्कार दिनुभयो । त्यसकारण तपाईँको पुरस्कार म स्वीकार्दिनँ ।”, मैले पुरस्कार अस्वीकार गरेँ । म पुरस्कार लिन गइनँ । धेरै साथीहरूले खुब गाली गर्नुभयो । छोरीहरूले खुब भने ।
“सरकारले तपाईँलाई यति सम्मान गर्न लागेको बेला तपाईं किन जानुभएन ?”, उनीहरूले सोधे ।
मैले भनेँ, “यो मेरो व्यक्तित्वविरुद्धको कुरा थियो । त्यसैले म गइनँ ।”, मैले भनेँ ।
चार पाँच दिनअघि मेरा प्रिय मित्र रोहितजीले फोन गर्नुभयो र भन्नुभयो, “तपाईलाई भक्तपुुरमा सम्मान गर्ने कार्यक्रम छ ।”
मैले भनेँ, “तपार्इँ के मसँग मजाक गर्दै हुनुहुन्छ यार ?” मैले भनेँ । उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध छ । म कहिलेकाहीँ त्यही व्यक्तिगत सम्बन्धको पनि लाभ लिने गर्छु ।
मैले भनेँ, “मजस्तो असम्मानित मान्छेलाई किन सम्मानित गर्ने ? दुनियाँले मलाई गाली गर्दै हिँड्छ ।”
अन्तमा मैले उहाँको आग्रह नकार्न सकिनँ र म आएँ । भक्तपुरका जनताले साँच्चै मलाई यति माया गर्छन् भन्ने कुरामा मलाई विश्वास थिएन । मलाई भक्तपुरका जनताले माया गर्छन्, मलाई थाहा छ । तर, यति माया गर्छन् भन्ने कुरा थाहा थिएन । एउटा गीत छ नि ‘इतना दिया प्यार कि आँचलमे नसमाइजाए…’ आँचलमा समेट्न नसकिने हालत भयो ।
अङ्ग्रेजीमा एउटा शब्द छ– Overwhelm (उद्वेलित) । यो सम्मान पाएपछि त्यस्तै महसुस भयो । साँच्चै भनूँ भने म यो सम्मानको लायक होइन । एकपल्ट मेरो एक जना मित्रले भन्नुभएको थियो, “तपाईँको बानी व्यवहार यति खराब छ कि तपाईँसँग मलाई कुरा गर्नै मन लाग्दैन ।”
राजविराजको कुरा हो यो । मैले भनेँ, “त्यसो भए किन आउनुहुन्छ मकहाँ ?”
उनले भने, “यहाँ तपाईँजस्तो डाक्टर छैन । त्यसकारण आउँछु ।”
मैले भनेँ, “त्यो त तपाईँले पाउनुहुन्न । म मरेपछि मात्र मभन्दा राम्रो डाक्टर पाउनुहुन्छ ।” सम्भवतः म राम्रो र नराम्रो दुवैको मिश्रण हुँँ । मेरो हालत त्यस्तै छ ।
विगतको कुरा
अब म आजभन्दा एक महिना घटाएर ४६ वर्षअघिको कुरा गर्छु । म २०३० कार्र्तिक २३ गते भक्तपुर आएको थिएँ । त्यो बेलाको भक्तपुर आउन कति कठिन थियो, तपार्इँ कल्पना गर्न सक्नुहुन्न । पाँच बजेपछि सबै बाटो बन्द हुन्थ्यो । नवदुर्गा बस चल्थ्यो, ५ बजेपछि चल्दैनथ्यो । त्यत्तिबेला भक्तपुर काठमाडौंँ उपत्यकाभित्र थियो । तर, भक्तपुरको अर्कै संसार थियो । यसोभन्दा मानिसले गाली गर्लान्, त्यत्तिबेलाको भक्तपुर काठमाडौँ उपत्यकाभित्रको सबभन्दा उपेक्षित, बहिष्कृत र शोषित ठाउँ थियो ।
भक्तपुर आउनुअघि म दुई वर्ष ओलाङचुङगोला बसेर आएको थिएँ । भक्तपुर जाउँला धेरै बिरामी हेरूँला भनेर आएको थिएँ । भक्तपुर आएको पहिलो दिन म अस्पताल गएँ । २५ शय्याको अस्पताल थियो । २५ शय्यामध्ये ४ वटामा बिरामी थियो । बाँकी शय्यामा कुकुर थिए । म अहिले पनि झल्झली सम्झन्छु–एउटी ६–७ वर्षकी बालिका पहिलो शय्यामा थिइन् । भैरवजीको गाउँका श्यामकृष्णजीकी छोरी थिइन् । श्यामजी प्रधानाध्यापक हुनुहुन्थ्यो । आफ्नो बाजेसँग बसेर तिनी बालिका चिउरा खाइरहेकी थिइन् ।
यताउता हेरेँ । १७ नं शय्यामा एक जना बुढी आमा बसेकी थिइन् । उनी मानसिक बिरामी थिइन् । नेवारी भाषामा चिच्याइरहेकी थिइन्, “जी पापी मखु । जी पापी मखु ।” (म पापी होइन, म पापी होइन ।) मैले सुनेको पहिलो नेवारी शब्द त्यही थियो–जी पापी मखु ।
अस्पतालभित्र एउटा पनि शौचालय थिएन । मलाई दिइएको आवासगृह राम्रो नभएकोले टिम्बर कर्पोरेसनको शौचालय प्रयोग गर्नुपथ्र्यो । त्यत्तिबेलाको भक्तपुर पूरा घुमेँ, भात खुवाउने होटेल कहीँ पाइनँ । अस्पतालको गेटमा गुरुङजीको होटेल थियो । उहाँमा गएर मैले भनेँ, “म भर्खर एमबीबीएस सकाएर आएको डाक्टर हुँ । मलाई खाना खुवाउनुहुन्छ ?”
उहाँले भन्नुभयो, “मधेसी लोगको हम नहीं खिलाता पिलाता हे ।”(मधेसीलाई हामी भात खुवाउन सक्दैनौँ ।) सिधा जवाफ । तीन महिनासम्म त्यही गुरुङजीको पसलमा चिउरा र मासु खाएर गुजारा चलाएँ । एक दिन त्यही मान्छे मकहाँ उपचार गर्न आउनुभयो । मित्रता भयो । अनि उहाँ मेरो आवासगृहमा आएर खाना पकाइदिन थाल्नुभयो ।
नर्सहरू बिरामी हेर्थे । डाक्टरहरू अस्पतालमा बस्थे । बद्रीलोचनजी कम्पाउन्डर हुनुहुन्थ्यो । उहाँ नै प्रमुख चिकित्सक हुनुहुन्थ्यो । उहाँले औषधि उपचार लेखिदिनुहुन्थ्यो । नर्सहरू त्यहीअनुसार गर्थे । पहिलो दिन अस्पताल गएपछि त्यहाँको हालत देखेर टाउको समाएर मैले सोचेँ, “अरे ! म यो कहाँ फसेँ ।” आकाशसे गिरा खजुर पर, खजुरसे लटका जमिन पर । दरभङ्गाबाट ओलाङचुङगोला, ओलाङचुङगोलाबाट भक्तपुर, भक्तपुरमा अस्पतालको यो हालत । तथापि काम भने थालेँ । मुख्य डाक्टरलाई मैले भनेँ, “म त बिरामी हेर्छु ।”
मुख्य डाक्टरलाई एउटा मोटरसाइकल दिइएको थियो । सीडीओ, डीएसपी, सभापति, प्रधानपञ्चको चाकडी गरेर उहाँ काठमाडौँ जानुहुन्थ्यो ।
२०३१ मा एउटा हत्याकाण्ड भयो । पोस्टमार्टम गर्ने जिम्मेवारी ममाथि आइप¥यो । पोस्टमार्टम गरें । डीएसपी, इन्सपेक्टर र असईको त्यही काण्डका कारण जागिर गयो । तीन दिन अस्पताल पनि बन्द भयो । प्रधानमन्त्री नामी जुवाडे । जुवा खेल्दै हुनुहुन्थ्यो । पोस्टमार्टमको रिपोर्ट जसोतसो तयार भयो । हामीलाई गृहमन्त्रालय बोलाइयो र भने, “के लेख्नुभयो यस्तो डाक्टर साब ?” मैले सपथ खाएको न्यायाधीशलाई मात्र त्यसबारे बताउने अडान लिएँ ।
२०३० मा २५ शय्याको अस्पतालमा ५ शय्यामात्र भरिएको हुन्थ्यो । तर, २०३२ साल पुग्दा नपुग्दै अस्पताल बिरामीले भरिभराउ हुनथाल्यो । ७५ वटा शय्या भयो । भुइँमा पनि बिरामी हुन्थे । पहिला भर्ना गर्न बिरामीको चाकडी गर्नुपथ्र्यो । त्यसपछि भने बिरामीलाई भर्ना नगर्न झगडा गर्ने अवस्था बन्यो । बिरामीलाई अस्पताल ल्याउनुभन्दा हनुमानघाटमा पु¥याउने बढी थिए । म आफैँ पनि ५० जनाभन्दा बढी बिरामीलाई हनुमानघाटबाट बोकेर ल्याएर अस्पतालमा भर्ना गरेको थिएँ ।
कोही केटाले चुरोट खाइरहेको देखेँ भने सुरु सुरुमा त मुखबाट चुरोट थुतेर फालिदिन्थें । पछि थपड पनि लगाउन थालेँ । साँझतिर मैले एउटा क्लिनिक चलाएको थिएँ । त्यसको नाम नै माइनस क्लिनिक थियो । दिनभर बसेर पनि कोही बिरामी आउँदैनथ्यो । मेरो दस्तुर पाँच रुपैयाँ थियो । पन्ध्र दिन क्लिनिक बसेँ, पच्चीस रुपैयाँको चिया खान्थेँ, आम्दानी पाँच रुपैयाँ हुन्थ्यो ।
एक साँझ म बाटोमा हिँड्दै थिएँ । मलाई देखेर केटाहरू ‘दारीवाल वल । दारीवाल वल ।’ (दारीवाल आयो, दारीवाल आयो) भन्दै भागाभाग गरे । मलाई आश्चर्य लाग्यो । केटाहरू किन भागे ! मलाई भनियो–“तपार्इँको डरले भागेका हुन् । चुरोट खाँदै थिए । तपार्इँ आउनुभयो । सब भागाभाग गरे ।”
त्यो बेला भक्तपुर अस्पतालका बिरामीमध्ये ८० प्रतिशत क्षयरोगका बिरामी हुन्थे । क्षयरोगका बिरामीले चुरोट खाए त्यसै पनि रोग बल्झिने भयो । त्यही भएर पनि चुरोट खानेलाई पिट्थेँ पनि । त्यत्तिबेलाको भक्तपुर अहिलेको भक्तपुर थिएन ।
एक दिन बिरामी हेर्दै थिएँ । एक जना केटो आयो । मैले ‘के भयो ?’ भनी सोध्दा भन्यो, “सुँगुरले टोक्यो ।”
मलाई अचम्म लाग्यो । मैले बद्री दाइलाई सोधेँ, “संँगुरले कसरी टोक्यो यसलाई ?”
उहाँले भन्नुभयो, “दिसा गर्न गएको, त्यहीं सुँगुरले टोक्यो ।” त्यत्तिबेला भक्तपुरमा खुला शौचालय थियो । दिसा गर्न गएका मान्छेलाई सुँगुरले लखेट्थ्यो । गुजे पोखरीलाई मानिसहरू गुहे पोखरी भन्थे । पोखरीको पानीमा जहिले पनि हैजाको व्याक्टेरिया सधैँ पोजिटिभ हुन्थ्यो । बाटोमा हिँड्दा कसैले कहाँबाट दिसा फालिदिन्थ्यो भन्न सकिन्नथ्यो । एकपल्ट बाटोमा हिँड्दै थिएँ । पानी प¥यो । (नवदुर्गा) सिनेमा हलसँगको गल्लीमा पानी जम्यो । पाइन्ट माथि सारेर गएँ । पूरै पाइन्टभरि गुहू नै गुहू भयो । पाइन्ट फेर्न फर्किनुप¥यो ।
त्यसपछि म एमडी गर्न दरभङ्गा गएँ । एमडी गरेर फर्केपछि डा.सरोज धितालसँग मिलेर खुब काम ग¥यौँ । डा. महेन्द्र मल्ल पनि हुनुहुन्थ्यो । वीर अस्पतालबाट धेरै बिरामी उपचारको लागि भक्तपुर अस्पतालमा आउँथे । डा.सुन्दरमणि दीक्षितको हप्ताको केही दिन आउनुहुन्थ्यो । डा. अञ्जनीकुमार शर्मा आएर शल्यक्रिया गर्नुहुन्थ्यो । मेचीदेखि महाकालीसम्मका बिरामी भक्तपुर अस्पताल उपचारको लागि आउँथे ।
प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । पञ्चायतको ताल त्यही थियो । ‘यो डाक्टर कम्युनिस्ट हो’, ‘यो गाउँँगाउँमा गएर औषधि बाँड्छ’, ‘यसले गर्दा हामीलाई चुनाव नै जित्न दिँदैन’, सबभन्दा बढी त ‘रोहितको मित्र हो’ जस्ता आरोप लगाइन्थ्यो । जबकि त्यत्तिबेलासम्म रोहितसँग मेरो भेट पनि भएको थिएन । रोहितजीसँग मेरो भेटपछि मात्र भयो ।
राजनीति
२०३९ मा म मेडिकल एसोसिएनको सभापतिको चुनाव लडेँ । त्यसपछि मलाई यहाँबाट खेदियो । राजविराजमा गएँ । तर, भक्तपुरसँगको मेरो सम्पर्क रोकिएन ।
राजविराजमा पनि एउटा पोस्टमार्टम मुद्दामा परेर नौ जना जेल परे । एक जना मानिसको घाँटी थिचेर मारिएको थियो । मलाई आत्महत्या गरेको लेख्न भनियो । आत्महत्या नलेखूँ जागिर जाने, लेखूँ जेल जाने ।
मोहनचन्द्र अधिकारीलाई पनि राजविराज अस्पतालमा उपचार गरेँ । एक दिन नियमित काममा गएको थिएँ । एक जना बिरामीलाई हतकडी लगाइएको थियो । मैले “को यो ज्यानमारा हो ?” भनी सोध्दा बिरामीले भने, “हजुर म मोहनचन्द्र अधिकारी । मेरो ज्यान बचाइदिनुप¥यो ।”
मैले हतकडी खोल्न लगाएँ । हतकडी लगाएको बिरामीलाई कोही पनि चिकित्सकले हेर्दैन । छ महिनासम्म उपचार भयो उहाँको । उहाँको ज्यान बच्यो, मेरो जागिर गयो । मोहनचन्द्र अधिकारी एमालेको ठूलो नेता हुनुभयो । उहाँकै कारण गजेन्द्रनारायण सिंहसँग सप्तरीमा चुनाव पनि लड्नुप¥यो । म एमालेतिर लागेँ भनेर मेरा मित्र रोहित मसँग रिसाउनुभयो । रोहितजी आफूले टिकट नदिने, अरुले टिकट दिएर चुनाव लड्दा उहाँलाई रिस उठ्ने । राजनीति भनेको यस्तै हो ।
२०४६ को आन्दोलनमा पनि लागें । ५०–६० किलो तरकारी जेलमा पु¥याउँथेँ । जतिबेलासम्म नेताहरूको चाकडी गर्थें, त्यो राम्रो हुने । चाकडी बन्द भएपछि नाम पनि काटियो । ‘यो मान्छे त प्रधानमन्त्रीलाई पनि गाली गर्दै हिँड्छ’ आदि भन्न थाले ।
मेरा केही नराम्रा बानी छन् । मलाई झनक्कै रिस उठ्छ । तर, त्यो रिस मेरो बिरामीको हितको लागि हो । म मेरो बिरामीको लागि काम गर्छु । मर्ने बेलामा पनि मैले बिरामी हेर्न पाइनँ भने मलाई मेरो तपस्यामा खोट भएको लाग्नेछ । म बिरामी हेर्दै हेर्दै मर्ने चाहना राख्छु । यो मेरो प्रतिज्ञा हो । म छिट्टै मर्ने पनि छैन । म अहिले ७४ वर्षको भएँ । २६ वर्ष अरु काम गर्छु । एक सय वर्ष बिरामी हेर्दा हेर्दै मर्ने मेरो इच्छा हो ।
तपाईँहरूमध्ये कतिले गीता पढ्नुभएको छ, मलाई थाहा छैन । पढ्नुभएको छैन भने पढ्नुहोला । गीताको मूल सार भनेको आफ्नो धर्मको पालना गर्नु भन्ने हो । आफ्नो कर्तव्य पूरा गर्नु नै गीताको सार हो । म चिकित्सक हुँ । मेरो धर्म बिरामीको सेवा गर्नु हो । बिरामीको सेवा मरुञ्जेल गर्नु नै मेरो धर्म हो ।
तपाईँहरूले मलाई सम्मान गरेर मलाई एउटा बोझ दिनुभयो । यहाँबाट फर्केर राजविराज गएर म मेरा विरामीको उपचारको दस्तुरमा २५ प्रतिशत छुट गर्छु ।
अन्त्यमा भक्तपुरका क्रान्तिकारी जनतालाई लाल सलाम !
(मिश्र वरिष्ठ चिकित्सक हुनुहुन्छ । उहाँलाई ३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा सम्मान गरिएको थियो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *