भर्खरै :

“सहकारी संस्था भागेमा सोको जिम्मेवारी सरकारले लिनुपर्छ”

भक्तपुर, २ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बैङ्क र शोषकहरूको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सहकारिताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ शनिबार भएको भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै पार्टी अध्यक्ष रोहितले कामदार जनताको पहिलो भिडन्त बैङ्क र पुँजीपति वर्गसँग हुने बताउनुभयो ।
शत्रुलाई बेलैमा चिन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जनतालाई शोषण गर्नेहरूमाथि कारबाही गर्नुपर्छ । शत्रु र मित्र नचिनेरै माओवादीको बद्नाम भएको हो । पैसाको निम्ति सिद्धान्त बदल्नु गद्धारी गर्नु हो । शत्रुसामु कुनै हालतमा झुक्नु हुँदैन ।”
अध्यक्ष रोहितले भन्नुभयो, “पदमा बस्नेहरू डराउनु हुँदैन । जनताको निम्ति जेल जान पनि पछि पर्नुहुन्न ।”
धेरै गल्ती गरेपछि गल्ती नगर्न र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाएपछि पैसा कमाउने विचार नगर भनी कार्यकर्ताहरूलाई मार्गनिर्देश गर्ने सत्तासीन नेताहरूको द्वैधचरित्रबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सबभन्दा पहिले प्रचण्ड सच्चिनुपर्छ, अनि कार्यकर्ताहरू सच्चिनुपर्छ ।”
निःस्वार्थरूपले जनताको सेवा नगर्ने नेताहरू शत्रुसामु झुकिरहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष रोहितले जिम्मेवारी लिँदा निश्चित बाटोमा निरन्तर अघि बढ्नुपर्छ, दोधारे नीति ठीक छैन भन्नुभयो ।
सहकारीसँग कर लिएपछि सहकारी संस्थाप्रति सरकार जिम्मेवार हुनुपर्छ, सहकारी संस्था भागेमा सोको जिम्मेवारी सरकारले लिनुपर्छ, उहाँले भन्नुभयो ।
सहकारी संस्थालाई न्यूनीकरण गरेर ठूलठूला बैङ्कलाई पोस्ने कामतर्फ सहकारीकर्मीहरू चनाखो हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले प्रश्न गर्नुुभयो, “के देशमा १ करोड जनता बराबर एक मन्त्री बनाउनेभन्दा सरकारलाई सह्य हुन्छ ?”
देशको हरेक क्षेत्रमा दलालहरूको चलखेल भइरहेको चर्चा गर्दै उहाँले सिंहदरबारभित्र भारतीय बैङ्क खोलेकोमा दलालहरूको हात हुने र पुँजीवादी व्यवस्थामा पैसा नभइकन कुनै काम नहुने बताउनुभयो ।
जिम्मेवारी लिएका पदाधिकारीहरूले सजिलो काम गर्नुभन्दा जनताले काम पाउने उद्योग, कारखाना खोल्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले असल ऋणीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा ८८ जना असल ऋणीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
सभामा संस्कृति शिरोमणि हरिराम जोशी र लोहँकर्मी (प्रस्तर कलाका कलाकार) कान्छा भनिने काजीराम रञ्जितकारलाई अतिथि बिजुक्छेँले सम्मान गर्नुभएको थियो ।
संस्कृति शिरोमणि हरिराम जोशीले नेपालको संस्कृति सिद्धान्त र व्यवहारसँग तालमेल भएको उल्लेख गर्दै कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले सिंहदरबारमा बैङ्क खोल्न भारतीय एकाधिकार पुँजीको संलग्नता रहेको चर्चा गर्दै पुँजीवादी व्यवस्था टिकाउनेमा निजी बैङ्कले भूमिका खेलिरहेको हुन्छ भन्नुभयो ।
देश प्रेमको भावना उचाइमा पु¥याएर आदर्शोन्मुख समाज स्थापनामा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले स्वदेशमै रोजगारी पाउन सीपमूलक तालिम दिएर आय आर्जन गर्ने बाटो खोल्नुपर्छ भन्नुभयो ।
शोषित–पीडित जनताको सेवामा सरकार मौन रहेको चर्चा गर्दै केन्द्रीय सदस्य थापामगरले जनताको भित्री व्यक्तित्व निखार्न, सांस्कृतिक स्तर उठाउन शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ भन्नुभयो ।
तराईमा एक घर एक लागूपदार्थ प्रयोगकर्ता भइरहेकोमा चिन्ता व्यक्त गर्दै सहकारी संस्थाहरूको भ्रमण भारतद्वारा सीमा अतिक्रमित क्षेत्रमा भए देशभक्तिको भावना विकास हुनेछ भन्नुभयो ।
राष्ट्रिय सहकारी बैङ्कका ज्ञानबहादुर तामाङले समृद्ध भक्तपुर बनाउन भक्तपुर साकोसले योगदान पु¥याउने विश्वास व्यक्त गर्दै यो साकोस देशकै उत्कृष्ट संस्था बन्न सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।
सिन्धु नेवाः खलका अध्यक्ष माधवलाल कर्माचार्यले विदेशी शक्ति राष्ट्रहरूको दबाबमा रहेर, विदेशीसामु लम्पसार हुने अदूरदर्शी नेताहरूकै कारण सङ्घीय राज्यको बदनाम भइरहेको उल्लेख गर्दैै प्रदेश नं. २ लाई भारतमा गाभ्ने षड्यन्त्र भइरहेको हुँदा आम जनता सचेत हुनुपर्छ भन्नुभयो ।
भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो भेलामा भक्तपुर जिल्ला बचत संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखा, भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व, संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले पनि सहकारीको ऐन, नियम, मर्म र योगदानबारे चर्चा गर्नुभएको थियो ।
सभामा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत, सचिव लक्ष्मीप्रसाद कुसीले सभाको आवश्यकता, कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आय–व्यय, सदस्य जगनाथ प्रजापतिले संस्थाको प्रतिवेदन, सदस्य तारादेवी धन्छाले धन्यवाद र लेखा संयोजक लक्ष्मीप्रसाद दुवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बन्दसत्रले बलराम प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णकुमार प्रजापतिलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *