भर्खरै :

नेपालकै फूलले तिहार कहिले झिलिमिली हुने ?

तिहार आउँदै छ । तिहार फूलै फूलको चाड हो । फूल नभएको तिहार के तिहार ! तर, चाड मान्न पनि नेपाली जनता भने फूल विदेशबाट आयात गर्न बाध्य छन् । तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री र मखमली छिमेकी देश भारतबाट ठूलो परिमाणमा आयात हुने गरेको छ । चाड मनाउन पनि विदेशबाट फूल आयात गर्नुपर्ने बाध्यता नेपालको आर्थिक निर्भरताको प्रस्ट सङ्केत हो । नुन र सुनमात्र होइन, फूल र झुल पनि विदेशबाट झिकाउनुपर्ने देश कसरी आर्थिकरूपमा समृद्ध हुनसक्छ ?
सरकारले आर्थिक समृद्धिको नाममा जनतालाई ठूला–ठूला आश्वासनको भारी बोकाउन अझै छोडेको छैन । तर, जनताका साना–साना आवश्यकतालाई भने सरकारले ध्यान दिनसकेको छैन । जनताका साना–साना आवश्यकता पूरा हुँदै समृद्धिको बाटो उक्लिने हो । सरकार भने ठूला आश्वासनको भारी लादेर साना आवश्यकतालाई बेवास्ता गरिरहेको छ । नेपाली जनताको चाड तिहारको लागि आवश्यक फूलको जोहो नेपाली जनताबाट नेपालमै किन सम्भव बनाइएन ? नेपाली जनतालाई आवश्यक पर्ने फूल नेपालमै उत्पादन गराउन सरकारले के कदम चाल्यो ?
भदौ महिनामा काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रा आसपास मानिसहरू क्वाटी खाने गर्छन् । नौथरी गेडागुडी मिलाएर बनाइने क्वाटीको लागि आवश्यक पर्ने अनेक थरी अन्न पनि विदेशबाट आयात हुन्छ । क्वाटी स्वास्थ्यको लागि लाभदायक परिकार हो । स्वास्थ्यको लागि अन्य समयमा पनि क्वाटी पिउनु लाभदायक हो । विडम्बना क्वाटीको लागि आवश्यक पर्ने अन्न भने विदेशमा झिकाउनु परेको छ ।
नेपालको अर्थतन्त्रमा कृषिको हिस्सेदारी अझै ठूलो छ । तर, कृषिमा आधारित अधिकांश जनताका आवश्यकता पूरा गर्न विदेशकै भरपर्नुपर्ने अवस्था छ । सरकारले वास्तवमै देशलाई समृद्ध बनाउन चाहे फूल, अन्न, गेडागुडी, तरकारीजस्ता कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कुनै व्यवहारिक कदम चाल्न सकेको छैन । दैनिक हजारौँको सङ्ख्यामा काम गर्ने उमेरका नेपाली युवाहरू विदेशिने क्रम रोकिएको छैन । बरू सरकार आफै युवालाई विदेश जान हौस्याइरहेको छ । तर, ती युवालाई नेपाली जनताकै आवश्यकता पूरा गर्ने उत्पादनमूलक क्षेत्रमा लाग्ने परिस्थिति सरकारले बनाएको छैन ।
आत्मनिर्भर अर्थतन्त्रले नै देशलाई दिगो समृद्धि र विकासको बाटोमा डो¥याउने हो । साना उद्योग, कुटिर व्यवसाय, जनताको आवश्यकतामा आधारित कृषिले नै नेपाललाई दिगो विकास र समृद्धिको बाटोमा डो¥याउन सक्छ । ठूला ठूला सपना साकार बनाउन स–साना सपना व्यवहारमा सत्य बनाउनुपर्छ । तर, सत्तारूढ दलले ठूला ठूला कुरा गरेर जनताको आँखामा छारो फालिरहेको छ । सरकारले दिगो विकासको जग राख्नेतिर ध्यान नदिंदा आज नेपाली जनता आफ्नै माटोमा हुर्केको संस्कृति मान्नसमेत विदेशी माटोमा उत्पादन हुने वस्तु उपयोग गर्न बाध्य छन् ।
सरकारले समृद्धिको नारालाई चुनावी मुद्दामा मात्र सीमित राख्न खोज्नु जनताप्रतिको ढाँट हो । समृद्धिको आधार आत्मनिर्भरता हो । आत्मनिर्भरताको लागि सरकारले जनताका आवश्यकता पूर्ति गर्ने उत्पादनलाई जोड दिन आवश्यक छ । तिहारमा नेपाली माटोमा हुर्केको फूलले नेपाललाई सजाउन नेपाली जनताले कहिले पाउने हुन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *