सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
–सुरजसिंह
रौतहटमा गएर त्यसमा पनि विशेषगरी नेपालको पाकिस्तानको नामले बदनाम गरिएको दक्षिण पश्चिमी क्षेत्रमा गएर नाम नछाप्ने र नबताउने सर्तमा सोध्ने हो भने मोहम्मद आफताव आलम र आलम परिवारको अपराध कथाको बाढी नै आउने छ । आफै वनमन्त्री बनेर नेपालको वन तस्करको धन बनाउने खेलमा आफताव आलममात्र होइन उसका काका पूर्ववनमन्त्री शेख इद्रिससमेत बदनाम थिए । त्यस्तै भारतबाट गुणस्तरहीन मल र सिमेन्ट तस्करी गरी ल्याएर रौतहटमात्र होइन, छिमेकी जिल्लाहरू र काठमाडौँ उपत्यकासम्म बिक्री वितरण गर्ने जालो आलम परिवारकै हातमा थियो र छ । अरु पनि कैयौँ वस्तुको भन्सार छलेर तस्करी गर्ने त उनीहरूको पुस्तैनी कारोबार नै हो । अहिले पूर्वमन्त्री एवं निवर्तमान सांसद आफताव आलममाथि लागेको अभियोग १४ जनाभन्दा बढी मानिसलाई जिउँदै चिम्नी इँटाभट्टाको डकमा खसालेर हत्या गरेको घटनाको ।
उक्त बिभत्स र हृदयविदारक घटना भएको कुरा त सम्पूर्ण राजपुर फरहदवावासीले देखेकै थिए र रौतहट जिल्लावासी र छिमेकी जिल्लाका मानिससम्मलाई राम्ररी नै थाहा थियो । तत्कालीन नेपाली काङ्ग्रेसको सरकारको छत्रछायाँमा रहेका आफताव आलम र उसको आपराधिक गुटले घटनालाई आतङ्क र सरकारको बहिरोपनको नाटकको आडमा दबाएरै पठाएको थियो । जनतालाई आतङ्कित पारेर निर्वाचनमा बुथ कब्जा गर्ने र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने खेल त तिनीहरूले पहिलेदेखि नै गर्दै आएका थिए । त्यसको लागि तिनीहरूले सधैं नै भारतबाट डाँकूहरू र गुण्डाहरू भाडामा ल्याउने गरेका थिए । ती भारतीय डाँकूहरू र गुण्डाहरूले बन्दुक पड्काएर आवश्यक परे दुईचारजनालाई ठाउँको ठाउँ ठहरै पारेर बुथ कब्जा गर्ने गर्थे । २०६४ सालको संविधानसभा निर्वाचनमा पनि जसरी पनि जित्न आफताव आलमले बन्दुकमात्र नभई बम नै पड्काउने योजना गरेको थियो । तर बम बनाउँदै गरेको ठाउँमा विस्फोट भई बन बनाइरहेकाहरू नै घाइते भए । बम विस्फोटको प्रमाण नष्ट गर्न ती घाइतेहरूलाई चिम्नी इँटाभट्टाको डकमा खसालेर जिउँदै जलाइएको थियो । आफताव आलम र आलम परिवारजस्तो अपराधीहरूलाई जोगाउन नेपाली काङ्ग्रेसका नेताहरूको सक्रियता आजको होइन । उक्त घटना हुँदा तत्कालीन नेकां सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए र कृष्णप्रसाद सिटौला गृहमन्त्री । आलमलाई जोगाउनमा सिटौला र कोइरालाको हात थिएन होला भनी सोच्नसम्म पनि सकिन्न । तर यसरी अपराधी र आपराधिक पृष्ठभूमिकाहरूलाई जोगाउनमात्र काङ्ग्रेसी नेताहरूको सक्रियता देखिँदै गए चाँडै नेपाली काङ्ग्रेस राजनीतिक दलभन्दा अपराधिक गुटमा सीमित हुन नजाला भन्न सकिन्न ।
Leave a Reply