भर्खरै :

चिनियाँ राष्ट्रपति भ्रमणको सन्देश

राकस्था
“म प्रायः भन्ने गर्छु, हामीले बनाएका योजनाहरू पूरा गरेरै छोड्नुपर्छ ।’’ नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार साँझ नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको आयोजनामा भएको रात्रिभोजको क्रममा दिएको सम्बोधनमा उपर्युक्त उद्गार आएपछि नेपाली जनमानस तरङ्गित भएको हुनुपर्छ । यस भनाइलाई नेपाली शासकहरूको असक्षमताबारे शालीन कूटनैतिक अभिव्यक्तिको रूपमा अथ्र्याइएको छ । भनिन्छ कूटनीतिमा हरेक शब्दको अर्थ हुन्छ । बुझेर काम गर्न जानेमा दुई देशबीचको सम्बन्ध विस्तार गर्न सकिन्छ ।
चीनको राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै ठूलो महत्वको विषय भएकोमा कुनै शङ्का छैन । छिमेकी कमजोर हुँदा आफू बलियो हुनुको अर्थ नभएको सम्झने संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको छिमेकी देशका ‘विश्वनेता’ ले नेपाल भ्रमणको क्रममा एकखालको भद्रता र शालीनता प्रस्तुत गरे । त्यो सम्मान नेपाल र नेपाली जनताप्रतिको थियो । राष्ट्रपति सीले रात्रिभोजमा ‘चिअर्स’ गर्दा आफ्नो गिलास समकक्षी भण्डारीको भन्दा तल पारी भद्रता प्रस्तुत गरेको पनि यतिबेला चर्चाको विषय बनेको छ । चिनियाँ संस्कृतिमा ‘चिअर्स’ गर्दा विनम्रता देखाउन आफ्नै गिलास तल पारिन्छ । कविशिरोमणी लेखनाथ पौडेलको ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ भन्ने कवितांश यहाँ सान्दर्भिक हुन आउँछ । तर, के नेपाली शासक वर्ग त्यति सम्मानयोग्य छन् त भन्ने प्रश्न पनि सँगै उठेको छ ।
नेपाल र चीनबीच करिब डेढ दर्जन सम्झौतामा हस्ताक्षर भयो । तिनमा सीमा व्यवस्थापन प्रणाली स्थापना, सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोग, आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि, सगरमाथा संरक्षण सहकार्य, उत्पादन क्षमतामा लगानी र सहकार्यमा मुख्य परियोजनाहरूको प्रवद्र्धनसम्बन्धी समझदारी पर्छन् । त्यसैगरी छेङ्दुमा नेपालको महावाणिज्य दूतावासको स्थापना, चीन–नेपाल सीमा पारी रेलवे परियोजना सञ्चालन, काठमाडौँ महानगरपालिका र चीनको नान्चिङ सहर एवम् बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, परम्परागत औषधिमा सहयोग, विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन सहयोग, दुई देशका न्यायपालिकाहरूबीच सहकार्य, त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना, अमिलो फलफुलको गुणस्तर मापन, व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको पनि समझदारी भएको छ । त्यस्तै भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षण, लगानी सहकार्य कार्यदल गठन, सुरुङमार्ग निर्माण सहकार्य, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणसम्बन्धी पत्र आदानप्रदान र काठमाडौँ महानगरीय खानेपानी आपूर्ति सुधार आदि सहमति भएका छन् । रेलमार्ग र सुरुङ मार्ग, जलविद्युत् परियोजना बहुप्रचारित विषय हुन् ।
संविधान बनाउने सिलसिलामा नेपालविरुद्ध भारतको नाकाबन्दीको बेला नेपालले चीन गुहा¥यो । तर, २०७२ चैतमा भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयन हुन सकेको छैन । २०७४ वैशाखमा चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सम्झौता कार्यान्वयनको निम्ति नेपालले ठोस काम गर्न सकेन । यसलाई चीनले भुलेको होला र ? चीनको सहयोगमा बनेको कलङ्की–कोटेश्वर सडक विस्तारमा चीनले धेरै अल्झो खेप्नुप¥यो, समयमा परियोजना सम्पन्न हुनसकेन । सो काम सकाउन निर्धारित समत्न्दा ३ वर्ष बढी समय लाग्यो । नेपालले जिम्मा लिएको सोही सडकमा बन्ने सर्भिस ट्रयाक र आकाशे पुलको काम पूरा भएको छैन । त्यस्तै १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत् परियोजनालाई राष्ट्रिय गौरवको परियोजना भनी २०७४ सालमै प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई काम गर्न दिने निर्णय ग¥यो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । यसबारे नेपालले आफ्नो स्थिति प्रस्ट पार्नु पर्दथ्यो ।
सन् १९५५ अगष्ट १ मा चीनसित नेपालको दौत्यसम्बन्ध कायम भएयता चीनको तिब्बतबाट बग्ने कर्णाली नदीमा धेरै पानी बगिसक्यो । चीनले पनि पञ्चशीलका सिद्धान्तको आधारमा छिमेकीलगायत विभिन्न देशमा आफ्नो सम्बन्ध विस्तार गरिरहेको पाइन्छ । ‘छिमेकीलाई जहिलेसुकै आफ्नो बनाएर राखेमा आफू जहिले पनि सुरक्षित भइन्छ’ भन्ने चिनियाँ दार्शनिक कन्फ्युसियसको विचार चीनले आत्मसात् गरेको पाइन्छ । चीनले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिलाई इमानदारीसाथ पालना गरेको छ । राज्य व्यवस्था जनताको इच्छासँग जोडिएको हुने भएकोले कुनै पनि पार्टीको सरकारसँग उत्तिक्कै असल सम्बन्ध रहने चिनियाँ मान्यता छ । छिमेकीको आन्तरिक विषयमा सकभर प्रत्यक्ष संलग्न नहुने तर गहनरूपले निगरानी र चासो लिइरहने चीनको राष्ट्रिय सुरक्षा नीति छ । नेपालको कमजोर सुरक्षा प्रणाली र भ्रष्ट प्रशासनिक संयन्त्रको कारण तिब्बतबाट भाग्ने पृथकतावादीहरूले सजिलो बाटो पाएकोबारे चीन अनभिज्ञ छैन ।
सन् १९४९ को अक्टोबरमा सम्पन्न चिनियाँ क्रान्तिपछि नै नेपाल र चीनबीचको सम्बन्धले अझ बलियो हुने अवसर पायो । समाजवादी चीनले कुनै स्थार्थ नराखेर, कुनै दबाब नदिएर नेपाल र नेपालीको समग्र हितमा सहयोग गर्दै आएको छ । सच्चा मित्र र निकट छिमेकी चीनले नेपालको विकास–निर्माणमा यथेष्ट सहयोग पु¥याएको छ । के नेपाली शासकहरूले छिमेकीको मानको मनितो राख्न सके ? नेपाली जनता प्रश्न गर्दैछन् ।
विगतमा नेपालले चीनको सहयोगमा बनेका उद्योग तथा कलकारखाना, परियोजना सञ्चालनमा गरेको बेवास्ताले आज पनि चीनलाई सशङ्कित बनाउनु स्वाभाविक छ । नेपाललाई आत्मनिर्भर बनाउन चीनको सहयोगमा विगतमा स्थापना भएका उद्योग तथा योजनाहरू आज कता छन् ? विद्युत्बाट सञ्चालन हुने ट्रलीबस सेवा कहाँ गयो ? ललितपुरको इँटा कारखाना, चोभार सिमेन्ट कारखाना कसरी बेचियो ? कसरी भक्तपुर इँटा कारखाना एक निजी व्यक्तिलाई ठेक्कामा दिइँदैछ ? नवलपरासीमा खोलेको भृकुटी कागज कारखाना, काठमाडौँ बाँसबारी छाला जुत्ता कारखाना कता हराए ? यसको जवाफ कुन सरकारले दिने ?
चीन नेपालको असल मित्र हो । यसमा अनेक दृष्टान्त प्रस्तुत गर्न सकिन्छ । सन् १९६१ मा चीनसँग सीमासन्धि विनाविवाद सम्पन्न भयो । त्यही वर्ष नेपाल र तिब्बतबीच आवागमन र व्यापार बढाउने उद्देश्यले काठमाडौँ–कोदारी राजमार्ग निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भयो । चीनले दिने आर्थिक र प्राविधिक सहायता विकासको पूर्वाधार निर्माण गर्ने वा नेपालको आयात निर्भरता घटाउने खालका रहेका छन् । कोदारी राजमार्ग एउटा उदाहरण हुनसक्छ । चीनले नेपालमा पूर्वाधार विकासका लागि आठवटा महत्वपूर्ण राजमार्ग र सडक निर्माण गरिदिएको छ । चीनको कुनै सहायतामा कुनै पूर्वसर्त राखिएको पाइन्न । त्यस्तै चीनले प्रदान गरेको सहायता रकम कहाँ र कसरी खर्च गर्ने कुरामा निर्णय लिन नेपाल स्वतन्त्र छ । पछिल्ला दशकहरूमा चीनले नेपाललाई केवल अनुदानमात्र होइन दीर्घकालीन ऋणसमेत दिन थालेको छ । यो ऋण निःसर्त हुनु अत्यन्तै सकारात्मक छ । तर, नेपाली जनता सरकारको इमानदारीमा शङ्का गर्छन्, विश्वासको सङ्कट छ !
चीन सरकारले नेपाल भ्रमणमा आउने आप्mना नागरिकलाई अग्रिम प्रवेशाज्ञा (भिसा) लिन नपर्ने व्यवस्था गरेको छ । चिनियाँ नागरिकले त्रिभुवन विमानस्थल या सीमा नाकामै ‘आगमन भिसा’ लगाएर सोझै काठमाडौँ प्रवेश गर्न पाउँछन् । चिनियाँ राष्ट्रपति सीको ‘नेपाल सम्बोधन’ मा पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई ठूलो टेवा पु¥याउने आशा गरिएको छ । तर, कुनै एक देशले दिएरैमात्र कुनै अर्काे देशले समृद्धिको बाटोमा लय मिलाएर हिँड्न सक्छ भन्ने चाहिँ होइन ।
नेपालले चिनियाँ राष्ट्रपतिको स्वागतको निम्ति रातदिन काम गरेको देखियो । नेपालीमा एउटा उखान छ, ‘दिनभर सुती बितायो, राति बिस्कुन सुकायो’ । यस्ता राष्ट्रप्रमुखहरूको राजकीय भ्रमण एक दिनमा तय हुने होइन । समयमै खाल्डाखुल्डी टालेको भए, सडक किनारमा हरियाली बनाएको भए वा रङ्गरोगन नियमित गरेको भए सरकारले कसैको आलोचना खेप्नुपर्ने थिएन । देखाउनको निम्ति गरिने यस्ता ‘नक्कली विकास’ देखाए अब सचेत जनतालाई अन्धकारमा राख्न सकिन्न । समृद्धिको जतिसुकै डिङ हाँके पनि नेपाली जनताले ‘हुटिट्याउँको खुट्टैदेखिको चाल’ बुझेका छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *