भर्खरै :

बोलिभियामा राष्ट्रपति निर्वाचनमा राष्ट्रपति मोरालेस जीत नजिक

ला पाज, ४ कार्तिक (टेलिसुर/ग्रान्मा) । आइतबार सम्पन्न बोलिभियाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिनुभएका वर्तमान राष्ट्रपति एवं समाजवादी आन्दोलन पार्टीका नेता इभो मोरालेस जीत नजिक पुग्नुभएको छ ।
त्यहाँको निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणना परिणाममा मोरालेस र उहाँका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करीब ८ प्रतिशत मतान्तर देखिएको छ । निर्वाचनमा कुल खसेको मतको ८३ प्रतिशत गणना सकिंदा मोरालेसले ४५.९ प्रतिशत र मेसाले ३८.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा दक्षिण कोरियामा जन्मेका पादरी ची ह्यून चुङले पनि अप्रत्यासितरूपमा ८.७ प्रतिशत मत प्राप्त गर्नुभएको छ । बाँकी मतगणना सकिंदा मोरालेसको मत ५० प्रतिशत नाघ्ने वा मेसाको मतसित १० प्रतिशतको मत अन्तर हुने देखिएकोले मोरालेसका समर्थक र कार्यकर्ताहरूले राजधानी ला पाज र देशैभर खुसीयाली मनाउन थालेका छन् । सहरी क्षेत्रको मतगणना सकिएर मोरालेसका समर्थकहरू रहेको ग्रामीण क्षेत्रको मतगणना बाँकी रहेकोले मोरालेस समर्थकहरूको विश्वास बलियो भएको हो ।
बोलिभियाको निर्वाचन कानुनअनुसार कुनै राष्ट्रपतीय उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि वा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वीभन्दा १० प्रतिशतको मत अन्तर भएपछि निर्वाचित भएको मानिन्छ ।
मोरालेसले चौथो कार्यकालका निम्ति जीत हासिल गर्ने स्पष्ट हुँदै गएपछि विपक्षीहरूले पुनः मतगणनाको माग राखी मतगणना प्रक्रियामा अवरोध उत्पन्न गरेको समाचार छ । त्यसैले निर्वाचनको अन्तिम परिणाम घोषणा हुन ढिलाइ भइरहेको बताइन्छ ।
राजधानी ला पाजका सहरमा ‘इभो, इभो, इभो’ भनी नारा लगाइरहेका समर्थकहरूको विशाल भेलालाई सम्बोधन गर्दै राष्ट्रपति इभो मोरालेसले भन्नुभयो, “म हाम्रो पछिल्लो विजयको खुसी तपार्इँ सम्पूर्णसित बाँड्न चाहन्छु । अत्यधिक बहुमत बोलिभियालीहरूले हाम्रो परिवर्तनको प्रक्रियालाई समर्थन गरेका छन् । हामी अझै अगाडि बढिरहने छौँ ।”
सन् २००५ मा पहिलो पटक मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएका र देशलाई समाजवादी रुपान्तरणको प्रक्रियामा अगाडि बढाउनुभएका मोरालेसले त्यसपछिका कुनै पनि प्रतिस्पर्धामा दोस्रो चरणको मतदानको सामना गर्नुपरेको थिएन ।
पूर्व कोका कृषक एवं वामपन्थी नेता मोरालेसले स्रोतसाधन सम्पन्न तर अति गरीब मुलुक बोलिभियामा १३ वर्षका शासनमा आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा थुप्रै सुधार र रुपान्तरण गरिसक्नुभएको छ ।
राष्ट्रपति निर्वाचनसँगै भएको ३६ सदस्यीय सिनेट र १३० सदस्यीय राष्ट्रिय सभाको निर्वाचनमा मोरालेस नेतृत्वको समाजवादी आन्दोलन पार्टीले सिनेट र राष्ट्रिय सभा दुवैमा बहुमत सीट हासिल गरिसकेको छ ।
बोलिभियाली पुँजीवादी सञ्चारमाध्यम र पश्चिमा सञ्चारमाध्यमहरूले भने इभो मोरालेसको पराजय भएको भनी झूटा प्रचार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *