भर्खरै :

सैद्धान्तिक छलफल चलाऔँ !

अनुदीप
नेमकिपाको सातौँ महाधिवेशनले जनताको प्रजातन्त्रको लागि थप सङ्घर्ष गर्नुपर्नेमा पुनः जोड दिएको छ । जनताको प्रजातन्त्र हुँदै साम्यवादसम्म पुग्ने पार्टीको दीर्घकालीन लक्ष्य पूरा गर्न व्यापक जनतालाई अझ बढी सचेत र सङ्गठित बनाउनु आवश्यक छ । गाउँ–सहर कुनाकाप्चाका जनतालाई सचेत र सङ्गठित बनाई समाजवादी आन्दोलनलाई थप सुदृढ र विस्तार गर्न सातौँ महाधिवेशनले का. नारायणमान बिजुक्छेँ (रोहित) लाई सर्वसम्मत पुनः अध्यक्ष निर्वाचित ग¥यो । देशको सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्दै वर्गीय आन्दोलनलाई दरिलो बनाई थप उचाईमा लैजान का.रोहितलाई पुनः अध्यक्षको जिम्मेवारी दिइएको हो । का. रोहितलाई नेमकिपाले पुनः अध्यक्ष निर्वाचित गरेकोमा देशका विभिन्न क्षेत्र र जिल्लाका मजदुर, किसान, विभिन्न पेशाकर्मी, देशभक्त, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्ग उत्साहित देखिएका छन् ।
तर, नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सही मार्गमा डो¥याउन उल्लेखनीय र अतुलनीय योगदान दिनुभएका का. रोहितलाई पुनः अध्यक्ष निर्वाचित गरेपछि प्रतिक्रियावादीहरू छटपटिएका छन् । देशमा राजनीतिक अस्थीरता बढाउन र आमुल परिवर्तनको बाटो रोक्न देशी र विदेशी प्रतिक्रियावादीहरू नेतृत्व हस्तान्तरणको हल्ला गरिरहेका थिए । युवा अथवा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको नाममा भारतीय एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवादीहरूले विभिन्न एनजीओ–आईएनजीओ परिचालन गर्दै आइरहेको सर्वविदितै छ । पैसाको खोलो बगाएकै छन् । कच्चा नेतृत्व थापना गरी विदेशी स्वार्थ पूरा गर्न प्रचारबाजी गर्दै छन् । नेमकिपाले सुझबुझपूर्णरूपमा इमानदारिता र निष्ठाको राजनीतिका धरोहर का. रोहितलाई अध्यक्ष बनाएपछि प्रतिक्रियावादीहरूले नेमकिपा र अध्यक्ष रोहितमाथि हिलो छ्याप्ने कुचेष्टा गरिरहे । पार्टीको महाधिवेशन भनेको वैचारिक छलफल, चिन्तन र आत्मसमीक्षाको साथै सही नेतृत्व छनोटको लागि नभई अध्यक्ष पद फेर्नकै लागि हुने दौडादौड जस्तो अफवाह फैलाउँदैछन् । मानौँ, राजनीतिक पार्टीको अध्यक्ष पद भनेको लिगलिगकोटको दौडमा जित्ने मुढेबलवानलाई प्राप्त हुने पदवी हो । मानौँ, राजनीतिक नेतृत्व भनेको म्युजिकल चेयरको कुर्शी हो । हरेक राजनीतिक व्यवस्थामा, आन्दोलनमा र सङ्गठनमा नेतृत्वको महत्वलाई अवमूल्यन गर्न सकिँदैन । अझ राजनीतिक र सांस्कृतिकस्तर उठिनसकेको नेपाली समाजमा दुरदर्शी, अनुभवी र परिपक्व नेतृत्वको तड्कारो आवश्यकता छ । त्यसैले नेमकिपाले का. रोहितलाई ऐतिहासिक जिम्मेवारी सुम्पेको छ । आफ्नो संसदीय निर्वाचन क्षेत्रमा नयाँ पुस्तालाई अगाडि सार्नुभएका का. रोहितले पनि आफ्नो बल र बुद्धिले काम गर्न सकेसम्म राजनीतिबाट सन्यास नलिई देश र जनताको सेवामा निरन्तर क्रियाशील रहने बताउनुभएको थियो । नेमकिपाको एकमनले का. रोहितलाई अध्यक्ष बनाएकोमा नकारात्मक दृष्टिकोणबाट किचलो उठाउनु नेमकिपाले अगाडि सारेको वैचारिक बहसबाट भाग्न खोज्नु र प्रतिक्रियावादीहरूको जालमा कोही नपर्नुमा दुःखेसो पोखेको मात्र हो ।
पुँजीवादी शासक दल, नेता र अझ बुद्धिजीवीहरू पनि पदलाई कर्तव्य र जिम्मेवारीभन्दा पनि लाभको अवसरको रूपमा लिन्छन् । पदमा पुगेको बेला मौकामा चौका हान्ने पुँजीवादीहरूको वर्ग चरित्र नै हो । त्यसैले द्रव्यमोही, स्वार्थी र लोभीहरू आफैले पद हत्याउन खोज्छन् । आफै पदमा पुग्न नसक्ने अवस्थामा आफ्नो पक्षमा पार्न मरिहत्ते गर्छन् । संरा अमेरिका होस् या बेलायत हरेक पुँजीवादी देशको राष्ट्रपति वा प्रधानमन्त्रीका उम्मेदवारहरूले आ–आफ्नो दलले निर्णय गर्नुभन्दा पहिले नै आफूले आफैलाई योग्य भएको घोषणा गर्ने गर्छन् । तर, आमूल परिवर्तन चाहने र गर्ने दलहरूमा व्यक्ति होइन विचार र सिद्धान्तबारे छलफल हुन्छ । त्यसैको आधारमा पछि व्यक्तिको निर्वाचन हुन्छ ।
नेपाली शासकहरू पनि पदको निम्ति कुकुर झगडा गर्छन् । पार्टीको सभापति, अध्यक्ष वा महासचिवको लागि मात्र होइन, माथिल्लोदेखि तल्लो पदमा नियुक्तिको निम्ति पनि निकृष्ट आरचण देखाउँछन् । विचारलाई तिलाञ्जली दिएपछि, द्रव्यलाभ नै जीवनको उद्देश्य बनाएपछि मानिस जे पनि गर्न सक्छन्, नैतिकता र इज्जतको पर्वाह नै नगरी कतिसम्म बेइमानी गर्न सक्छन् भन्ने यस्तै नमूनाका पात्र नै बनेका छन् – सबै स्वार्थको निम्ति पञ्चायतीकालदेखिका लेखनदासहरूसमेत । ‘दलित मुक्ति’ र ‘कम्युनिस्ट आन्दोलनको लागि’ कलम चलाइरहेको दाबी गर्ने एकाध व्यक्तिले पनि नेमकिपाको विचारमाथि बहस गर्नुको बदला नेमकिपाको अध्यक्ष पदमाथि हमला गर्नु उचित सम्झे । त्यस्ता व्यक्तिहरू ‘वैज्ञानिक समाजवादी’ पक्षधर नभई पुँजीवादी शासकहरूकै लेखनदास साबित भएकोमा आश्चर्य छैन ! को के हो भन्नेबारे समयले प्रस्ट पार्दैआएको छ ।
दातृनिकायको ईच्छा मुताबिक लेखेको कार्यपत्र वा लेखहरूको शब्द गनी–गनी पैसा असुल्ने बानी परेका व्यक्तिहरू वैचारिक पार्टी सञ्चालन गर्ने हुत्ती देखाउँदैनन् बरु उनकै पूर्व ‘सहयोद्धा’ हरू उनको ‘पार्टी तातो पिँडालुजस्तो निल्नु न ओकल्नु’ बनेको बताउँछन् । असली चरित्र उदाङ्गिनु अघि रामसुन्दर वासीले ‘मजदुर’ दैनिकमा लेखेका छन्, “एक व्यक्तिले पार्टीको नाममा एक थान साइनबोर्ड झुन्ड्याउनुबाहेक अरू केही पनि काम गर्न सकेका छैनन् । धेरैले त यसलाई राजनीतिक पार्टीभन्दा नि फेसबुके पार्टी भन्छन् ।”
मनमा खोट भएपछि जतिसुकै कलात्मक शब्दजालले श्रृङ्गार गर्न खोजे पनि सत्यलाई लुकाउन सकिँदैन । सन् १९१७ को रूसको बोल्सेविक क्रान्तिका नेता लेनिनदेखि क्युवाली क्रान्तिका नायक क्यास्ट्रोसम्मलाई नेतृत्वको निम्ति क्रान्ति गरेका बुढोजस्तो अभिव्यक्ति वास्तवमा क्रान्तिप्रति प्रतिक्रियावादीहरूको विषवमनबाहेक केही होइन । प्रतिक्रियावादीहरू क्रान्ति र क्रान्तिकारीहरूको विरोध र निन्दा गर्दागर्दै मर्छन् । त्यस हिसाबले माक्र्स र स्तालिन संसारमा सबभन्दा बढी विरोध र निन्दा गरिएका व्यक्तिहरू थिए ।
नेमकिपा र त्यस दलका नेताहरूको विरोध गर्नेहरूमा पञ्चायती मण्डलेहरू थिए, पछि काङ्ग्रेसी ठेकेदारहरू देखिए । आज तिनै मण्डलेहरू एमाले र माओवादी (नेकपा) को भेषमा जहाँ–जहाँ नेमकिपा सक्रिय छ त्यहाँ–त्यहाँ देशी र विदेशी रकम लिएर सिद्धान्तहीन विरोध गर्दैछन् । तिनीहरू को हुन् र कस्ता छन् भन्ने जनताले बुझ्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *