भर्खरै :

युवा वैज्ञानिक सम्मेलन झाराटार्ने कार्यक्रम

राजधानीमा सोमबारबाट तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु भयो । सम्मेलनमा २० देशबाट आएका नेपाली युवा वैज्ञानिकहरूले भाग लिएको बताइएको छ । साथै भारत, जापान र चीनबाट पनि त्यहाँका वैज्ञानिक सम्मेलनमा सहभागी छन् । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद्को आयोजनामा सो सम्मेलन आयोजना गरिएको छ । ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने उखानजस्तै केही पनि गतिविधि नहुनुभन्दा यस्ता कार्यक्रम हुनु उचित छ । तर, विदेशमा पढेका वैज्ञानिककै भरमा मात्र यस्ता सम्मेलन गर्नु भने मन्दिर एउटाले बनाउने र गजुर आफूले राखेर जस लिन खोज्नुजस्तै हो ।
दलीय भागबन्डाले अस्तव्यस्त बनेका नेपालका शिक्षालय र प्रतिष्ठानमध्ये नाष्ट पनि पर्दछ । कर्मचारी भर्ती र पदाधिकारी नियुक्तिमा दलीय भागबन्डाका कारण नाष्ट एउटा जीवन्त वैज्ञानिक प्रतिष्ठान बन्न सकेको छैन । नाष्टमा संलग्न अधिकांश वैज्ञानिकहरू कुनै न कुनै विदेशी गैसस वा संस्थामा आबद्ध भएर आफ्नो ज्ञान उतै बढी प्रयोग गरिरहेका छन् । नेपालको लागि उपयुक्त विज्ञान र प्रविधिबारे अध्ययन अनुसन्धान गर्नेभन्दा पनि विदेशी संस्थाको लागि अनुसन्धान गर्ने काममै नाष्टका अधिकांश वैज्ञानिकको भूमिका सीमित देखिन्छ । नाष्टका वैज्ञानिक हुनुमा न वैज्ञानिकहरूलाई गौरव छ न गौरव गर्ने अवस्था बनाउन सरकार उद्यत छ ।
सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयलाई कहिले पनि प्राथमिकतामा राखेन । सोमबारबाट सुरु भएको सम्मेलनमा विज्ञान तथा प्रविधि मन्त्रालयबाट कोही पनि उपस्थिति नहुनुबाट पनि त्यो मन्त्रालयप्रतिको उपेक्षा प्रस्ट छ । सबभन्दा कम बजेट भएका मन्त्रालयमध्ये विज्ञान तथा प्रविधि मन्त्रालय पर्दछ । न्यून बजेट भएको मन्त्रालय भएका कारण राजनीतिक नेतृत्वले त्यो मन्त्रालय र क्षेत्रलाई नै उपेक्षा गर्ने गरेको छ ।
सम्मेलनको अर्को आयोजक राष्ट्रिय युवा परिषद् गैरसरकारी संस्थाको भरमा चलेको संस्था हो । गैरसरकारी संस्थाको बजेट खर्च गरेर आफ्नो जुङ्गामा ताउ लगाउने युवा परिषद् कहिले गैरआवासीय नेपालीको बजेट, कहिले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बजेटका भरमा गतिविधि गर्दै आएको छ । युवा परिषद्ले सत्तारुढ दलकै जनवर्गीय सङ्गठनजस्तै काम गरिरहेको छ । अरु सङ्गठनलाई निषेध गरेर सत्तारुढ दलकै युवा र विद्यार्थी सङ्गठनलाई दबु बनाउने काम युवा परिषद्ले गर्दै आएको छ ।
युवा वैज्ञानिक सम्मेलनको नाममा जरामा पानी नहाली पातमा पानी हाल्ने काम भएको छ । विज्ञान र प्रविधि क्षेत्रको विकासको लागि सरकारसँग कुनै ठोस कार्यक्रम छै्रन । विदेशमा पढेका युवाहरूलाई नेपालमा बोलाएर तिनीहरूलाई कार्यपत्र प्रस्तुत गर्न दिंदैमा देशको विज्ञान प्रविधिको विकास सम्भव छैन । बरु नेपाली युवाहरूलाई साँच्चै वैज्ञानिक बन्न त विदेश जानुपर्छ भन्ने भावना बलियो बनाउन सक्छ । सरकारले विश्वविद्यालयका विज्ञान र प्रविधि विभागलाई जीवन्त बनाउन सकेको छ । हाम्रा विज्ञान र प्रविधि विभागहरू विदेशी अनुसन्धानकर्ताको लागि ‘ज्यामी’ तयार गर्ने थलो बनिरहेको छ । सरकारले नेपाली आवश्यकता पूरा गर्न सक्ने विज्ञान प्रयोगशाला बनाउन सकेको छैन । न त युवा वैज्ञानिकलाई नेपालमै केही गर्न सम्भव छ भन्ने प्रोत्साहन दिन सकेको छ । यस्तो परिस्थितिमा आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलनले नेपालको विज्ञान र प्रविधि क्षेत्रको अपेक्षित प्रगति गर्नसक्दैन । झाराटार्नमात्र गरिएका कुनै पनि कार्यक्रमले बजेट सकिएला । तर, काममा भने कुनै सुधार हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *