भर्खरै :

बौद्धिक गतिविधिमा निषेध किन ?

मोहन दुवाल
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य)
राजनीतिका धेरै कुरा भए । आ–आफ्नो व्याख्या भए, हामीले सुन्यौँ । राजनीतिको अनुभव भएका वक्ताहरूले राजनीतिको अनुभव पनि सुनाए । आफूलाई लागेको कुराको राजनीतिक व्याख्या पनि गरे । मलाई लाग्छ, राजनीति खेलौना होइन । ख्यालठट्टा पनि होइन । बाह«मासे खेल्ने खाल पनि होइन । राजनीति त्याग र तपस्याको संवद्र्धन हुने क्षेत्र हो । अहिले राजनीति भनेकै कलङ्क भएजस्तै राजनीतिज्ञ भन्नासाथ जनता त्रसित हुने अवस्था छ । म आज राजनीतिको कममात्र कुरा गर्छु ।
मेरो यात्रा साहित्य यात्रा हो । मेरो ‘जनमत’ भन्ने पत्रिका छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म म जनमत भन्ने पत्रिका पठाउँछु । ५२ जिल्लामा जनमत पत्रिका मासिकरूपमा जान्छ । म बनेपाको गल्लीमा बस्ने साधारण नेवार हुँ । मैले नेपाली भाषाको पत्रिका निकाल्ने गरेको छु । नेपालभाषाका सामग्री पनि समावेश गर्ने गरेको छु । हालसम्म जनमतका २६३ अङ्क प्रकाशित भइसकेका छन् । अहिले पनि प्रकाशनको क्रम जारी छ । जनमतका १५ सय आजीवन ग्राहक छन् । एक्लो व्यक्तिले १५ सय आजीवन ग्राहक बनाएको साहित्यिक पत्रिकामा जनमत नै पहिलो हुनुपर्छ । जनमत पत्रिकाको २६१ औँ अङ्क संरा अमेरिकाको नर्थ क्यारोलिना विशेषाङ्क प्रकाशित भयो । नर्थ क्यारोलिनामै त्यसको विमोचन भयो । यो हाम्रो गौरवको विषय हो । जनमत प्रकाशनबाट २४० वटा पुस्तक प्रकाशन भएको छ । हरेक वर्ष बनेपामा बोलाएर १५० जना दिग्गज साहित्यिक व्यक्तित्वको सम्मान गरेका छौँ । साहित्य क्षेत्रमा लाग्दा कतिबेला ‘स्पेस’ नपाए जस्तो महसुस हुन्छ । राजनीतिक कुराले ‘स्पेस’ पाएजस्तो, साहित्यले ठाउँ नपाएजस्तो हुन्छ ।
यहाँ अगाडि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल (प्रजापति) जीलाई देख्दैछु । उहाँ र यहाँ सहभागी सबैसामु म बनेपाको एउटा दुखेसो पोख्न चाहन्छु । हामी भक्तपुरे नभए पनि भक्तपुर नगरपालिकाको प्रशंसा गर्छौं । शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थामा भक्तपुरले गरेको काम छिमेकीको नाताले गौरवका साथ हेरिरहेका छौँ ।
म बनेपा नगरपालिकाको बासिन्दा हुँ । म एक साहित्यिक यात्री । मैले बनेपामा एउटा पुस्तकालय खोल्ने इच्छा गरेँ । मैले जीवनभर योगदान गरेको काभ्रे बहुमुखी क्याम्पसमा त्यो पुस्तकालय खोल्ने इच्छा गरेँ । म त्यो क्याम्पसको संस्थापक सदस्य र अहिलेको सञ्चालक समितिको उपाध्यक्ष छु । विभिन्न विषयमा स्नातकोत्तर तहसम्मको पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालयले यो वर्ष गुणस्तरीय क्याम्पसको सम्मान पनि पाएको छ । बनेपा नगरमा एउटा पनि पुस्तकालय छैन । त्यही भएर क्याम्पसमा पुस्तकालय खोल्न पहल गरेँ । ‘जनमत वाङ्मय पुस्तकालय’ स्थापना गर्न जमर्को गरियो । क्याम्पस हाताभित्र क्याम्पसकै जग्गा । क्याम्पसको नाममा १८ रोपनी जग्गा थियो । १० रोपनी वडा कार्यालयलाई प्रदान गरिसकेको छ । वडा कार्यालय, बाटो, मन्दिर सबै क्याम्पसकै जग्गामा बनेका छन् । अहिले क्याम्पस आठ रोपनी जग्गामा खुम्चिएको छ । विश्वविद्यालयको नियमानुसार क्याम्पसको दस रोपनी जग्गा हुनुपर्छ । अहिले काभ्रे बहुमुखी क्याम्पस आठ रोपनीमा सीमित भइसकेको छ ।
पुस्तकालय बनाउन एउटा दाता पनि भेटाएँ । २०२७ मा म प्रगतिशील सामयिक सङ्कलन बिगुल निकाल्थेँ । त्यसको सह सम्पादकले भन्नुभयो– “दुवालजी, तपार्इँको पुस्तकालय भवन बनाउन ५० लाख रुपैंया सहयोग गर्छु ।”
जिल्लाकै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई शिलान्यासको लागि अनुरोध गरेँ । उहाँले पुस्तकालय भवनको शिलान्यास गर्नुभयो ।
त्यसपछि क्याम्पससँग वडाध्यक्षले दुई हात जग्गा माग्नुभयो । आठ रोपनीमा क्याम्पस खुम्चिसकेको कारण फेरि जग्गा दिन हामीले असमर्थता जनायौँ । त्यसैको रिसमा कोही नभएको बेला डोजर लगाएर क्याम्पसको पर्खाल भत्काइदिए । पुस्तकालय बनाउने हाम्रो दिवास्वप्न भत्काइदिए । हामीले बाल्न खोजेको बत्ती निभाइदिए । नगरपालिकामा भवन निर्माणको स्वीकृतिको लागि निवेदन दियौँ । तर, स्वीकृति पाएनौँ । प्रशासन सबै उनीहरूको पक्षमा लागे । नगर प्रमुख पनि नेकपा, वडाध्यक्ष पनि नेकपा, प्रशासन पनि डराउने नै भयो । हाम्रो कुरामा निसाफ लागेन । हामीमाथि अन्याय भयो भनेर अन्तमा केही नलागेपछि सर्वोच्च अदालतमा पुग्यौँ । हामी न्याय पाउने आशामा छौँ । बनेपामा आज हामी त्यस्तो प्रतिकूल परिस्थितिको सामना गरिरहेका छौँ । बौद्धिक गतिविधि गर्न पनि निषेध गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्न सकिएको छैन । बाटोघाटो फोहोर छ । बाहिरका मानिस आउँछन् र बनेपालाई फोहोर भनेर जान्छन् । हामीले सहेर बस्नुपरेको छ ।
मैले यो कुरा ठाउँठाउँमा भन्ने गरेको छु । हामीजस्ता विचारवान मानिसलाई राणाको पालादेखि नै दमन गर्दै आएको छ । अँध्यारोमा बत्ती बाल्न नचाहनेहरू दमन गर्छन् । हामीलाई लाग्छ, हाम्रो विजय अवश्य हुनेछ । हामी पुस्तकालय खोलेरै छोड्ने छौँ । यो पनि मेरो साहित्यिक अभियानकै पाटो हो ।
जनमत बाटिका भन्ने स्थापना गरेको छु । रुसी, चिनियाँ, जापानी, बङ्गलादेश, सिक्किमका लेखकलाई बनेपामा हामी स्वागत गर्छौं । जनमतको सुरुमा सात लाखको अक्षय कोष थियो, अहिले २९ लाख पुग्दै छ । साहित्यिक यात्रा गर्दा साथ दिने पनि थुप्रै छन् ।
नेपालभाषाको आन्दोलनमा तःमुंज्या एउटा चर्चित अभियान हो । साहित्यिक अभियानकै हिस्सा हो । तःमुंज्या भक्तपुरको मात्र गौरव होइन, सिङ्गो नेपालकै गौरवको विषय हो । ३९ वर्षदेखि तपाईहरूले निरन्तर यो साहित्य सम्मेलन गर्दै आउनुभएको छ । निरन्तर गर्न सक्नु ठूलो कुरा हो ।
अन्तमा मेरो एउटा कविता सुनाउँछु । मैले माया विकमाथि भएको बलात्कारबारे एउटा कविता लेखेको थिएँ । तर, यहाँ त ठूला बडाले पनि बलात्कार गर्दारहेछन् । माया विकमाथि भएको अत्याचार अरुको सन्दर्भमा पनि उपयुक्त हुनसक्छ ।
माया विकमाथि बलात्कार
बलात्कार गरेर माया खोज्नेहरू
माया गरेजस्तो गरेर हिंसा खोप्छन् ।
यो दन्त्य कथा होइन
विदेशको कथाजस्तो पनि होइन ।
यो त हाम्रो गाउँ ठाउँमा घटेको कथा हो
कैलालीको गौरीगंगा नपाभित्रकै कटान बस्तीमा
नृशंस मनले गरेको दुर्दान्तमय कथा हो
दलित फूलमा हुर्केकी उनी
दुष्ट कीराका आँखामा पर्दै बाँचेकी उनी
उनी निमोठिए दुष्टहरूकै हातबाट
माया भकानिएर रोइहोलिन्
माया सहारा खोज्दै कति चिच्याइ होलिन् ।
हिंस्रक स्वभावको मानिसले हत्या रोज्छ
दुष्ट अनुहारमा मानिसले माया होइन, बलात्कार खोज्छ ।
यस्तै कलुषित मनले गरे मायाको हत्या ।
माया विकमाथिको बलात्कार सुन्दैमा कस्तो कस्तो ।
मायामाथिको हत्या दानवीय कर्तुत हो ।
हो, अचेल पनि हामी सारा हिँड्छौँ
मायाको नाममा हुने हत्या
मायाको नाममा हुने बलात्कार
चुपचाप सहन बाध्य छौँ ।
थुप्रै नारीहरू निसाहाय भएर बलात्कृत हुन्छन् यहाँ ।
उनीहरूलाई न्याय त कहाँ हो कहाँ
हत्याको सबुत नभएर रोइरहन्छन् आफन्त
गजब छ नेपाल, अजब छ नेपाल ।
(लेखक जनमत साहित्यिक मासिकका प्रधानसम्पादक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *