भर्खरै :

आङ कन्याउँदै छारो उडाउँदै ?

भैरव रिसाल
बिजुली बत्ती बल्न माइनस–प्लस जोडिनुपर्छ भने जस्तो लाग्छ । कस्तो–कस्तो लाग्ने । माइनस र प्लस जोडिएको परिणाम उज्यालो उत्सर्जन हुने परिवेश नै झलमल हुने । यो राम्रोको उपमा भयो, नराम्रोको दृष्टान्त पनि छन्, थुप्रै छन्, एउटै म्यानामा दुइटा तरवार अट्दैन, एउटै वनमा दुइटा सिँह बस्दैनन् । यो प्रसङ्ग हो नेपाल कम्युनिस्ट पार्टीको जुम्ल्याहा अध्यक्षहरूको । नेगेटिभ–पोजिटिभबाट ऊर्जा निस्कने र मुलुकमा उज्यालो, समृद्धि र जनतामा सुखको अवस्था सिर्जित हुने भन्ने प्रक्षेपण थियो समस्त राजनीतिक वृत्तमा । तर, त्यसो नभई एउटै म्यानामा दुई तरवार यद्वा एउटै जङ्गलमा दुइटा सिँह भएजस्ता लक्षण वा कुलक्षण देखिन थालेको छ । समग्रमा यो राम्राको सङ्केत होइन । एकातिर चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणको शीत ओभाउन पाएको छैन, त्यस उपलक्ष्यमा गरिएका अस्थायी सिङ्गारपटार पञ्छाइ सकिएको छैन, सीको सम्मानमा गुञ्जायमान ध्वनि र तरङ्ग बाँकी नै छ । राष्ट्रपति तथा महासचिव सीले आफ्नो देशमा भएका सकारात्मक–नकारात्मक क्रियाकलाप, चञ्चलता एवम् उहापोह र समस्या र सफलताका दौरानमा थालिएका कदमहरू निष्पन्न परिणामहरूबारेमा सुनाएका अमूल्य अनुभव अभिव्यक्त गरेका ध्वनि हराइसकेको छैन । हाम्रा दुई अध्यक्षबीच ङार्रङुर्र सुनिन थालिसकियो । मित्र सीले त त्यसो गर्न सल्लाह दिएका थिएनन् होला ।
भद्र सहमति कस्तो थियो ?
वास्तवमा हो के ? यी दुई अध्यक्षबीचको ठाक–ठुक र ठास्स–ठुस्स ! हामीले बाहिरबाट बाहिरी आँखाले हेर्दा र छालाको बाहिरी कानले सुन्दा पत्याउनै मुश्किल । यी दुवै महारथी अरुलाई अ¥हाउँदा र परामर्श दिँदा यस्ता आदर्श तथा उत्कृष्ट अनमोल सल्लाह दिन्छन् वा पढाउँछन् । छक्कै लाग्छ । लाग्छ कति जानेका होलान्, भ्याएका होलान् । परन्तु आफू मुख्य पात्र हुँदाका बखतको ङार्रङुर्र देख्दा छक्क लाग्छ । यी दुई व्यक्तित्वअन्तर्गत काम गर्ने कामरेडहरू कसरी निर्वाह गर्दा हुन् भन्ने लाग्छ । नाम कम्युनिस्ट पार्टी । तर, यसको सङ्गत भने निर्वाचनमा मत र अघिपछि समर्थनमा होमा हो, होइनमा होइन । समर्थन सदा समर्थन ! दुइटा पार्टी थिए एउटा नेकपा एमाले, अर्काे नेकपा माओवादी । यी दुई पार्टी मिलेर २०७४ को निर्वाचनमा लडे, निर्वाचनको घोषणापत्र पनि एउटै बनाए । अन्ततः परिणाम निकै राम्रो ल्याए । अझ तल्लो तहसम्म त्यो एकताको सन्देश मानिदिएको भए अरु बढी ठाउँ जित्थे निर्वाचनमा । तर २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी एक भए औपचारिकरूपमा । अर्को महाधिवेशन नहुँदासम्म पार्टीका दुई जना नै अध्यक्ष कायम रहने व्यवस्था गरियो । दुई अध्यक्षबीच काम र कार्य क्षेत्र कसरी बाँडियो सग्लो रूपमा बाहिर आएन । दुई अध्यक्षबीच कस्तो भद्र सहमति भयो त्यो पनि बाहिर आएन ।
मातृकाले नयाँ पार्टी नै खोले
दुई अध्यक्षबीच अनमेलका कुरा बेला बेला सार्वजनिक नहुने गरेका थिएनन् । अस्ति १६ महिना पुग्यो एमाले र माओवादी पार्टी एकीकरण भएको वा एउटै भएको । सबै तहमा दुई दल एक भइसकेको छैन । केन्द्रीय सचिवालयमात्र जीवन्त छ । पोलिटब्युरो, केन्द्रीय समितिजस्ता पार्टीका अवयव वा अङ्ग–प्रत्यङ्ग क्रियाशील छैनन्, सक्रिय बनाउनेतिर पार्टी पुग्नै सकेको छैन । प्रायः सबै नेताको ध्यान आफू पार्टीको माथिल्लो आसनमा बस्नु र पार्टी हाँकौँ भन्नेमा केन्द्रित भएजस्तो लाग्छ । का. ओली र का. प्रचण्ड गुनासो गर्ने, ओली जवाफ दिने पोजिसनमा छन् । अब ती दुईभन्दा अर्को तहमा आउँदा अरु सोध्ने ओली–प्रचण्ड जवाफ दिने पोजिसनमा हुनेरहेछन् । नेतृत्व गर्ने काम देख्दा र हेर्दा सहजजस्तो लाग्ने तर विभिन्न जटिलखाले परिस्थिति सिर्जना हुँदा र अझ आकस्मिक नसोचेको अवस्था आउँदा नेतृत्वमा बस्नेले आफ्नो न्वारन सम्झन्छन् । यो ज्ञान कल्पना गरेर प्राप्त हुँदैन परेर, भोगेरमात्र थाहा हुन्छ । हामीले बाहिरबाट हेर्दा प्रधानमन्त्री ओली एउटा अध्यक्षले सरकार चलाउने अर्का अध्यक्षले पार्टी चलाउने । कति हाइसञ्चो । तर, भित्र पसेपछि सजिलो हुँदोरहेनछ । यो ‘एक व्यक्ति एक पद’ भन्ने धारणा नेपालमा २००८ सालदेखि नै सिर्जना भएको हो । जब २००८ मंसिर १ मा मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त भए त्यतिबेला नेपाली काङ्ग्रेसका सभापति पनि मातृका नै थिए । तब विश्वेश्वरप्रसाद कोइरालाले एक व्यक्ति एक पदको रडाको झिके । तब नेपाली काङ्ग्रेस पार्टी नै फुट्यो । मातृकाले राष्ट्रिय प्रजा परिषद् नै बनाए ।
दुई अध्यक्षबीच नै यस्तो ?
एमाले र माओवादी पार्टी एक हुँदा यी दुई अध्यक्षबीच भएका भद्र सहमति सार्वजनिक भएको भए को कसको अर्गेली छ खुट्याउन सजिलो हुन्थ्यो । त्यो बाहिर आउने गर्दैन । त्यस्ता सहमति कार्यान्वयन नहुनेरहेछ । माथिल्ला तहका नेताहरूबीच हुने भद्र सहमति प्रायः कार्यान्वयन नहुने सहमति रहेछ । यस्ता सहमतिको आधार कानुनी हुँदोरहेनछ मात्र नैतिक हुनेरहेछ । नैतिकता सर्वश्रेष्ठ आधार हुनुपर्ने तर राजनीति नैतिक आधार निर्बल हुने देखियो । केही समय यता आएपछि त यी जुम्ल्याहा अध्यक्षबीच निकै गहिरो कटुता पो त देखिन थाल्यो । प्रचण्डको गुनासो त स्वाभाविक भयो किनकि उनी प्रधानमन्त्री छैनन् । तर सरकार उनकै पार्टीको छ । सरकारका काम सन्तोषजनक छैनन् । जनताको मन जित्न सकेको छैन सरकारले । जनताको मन नजिती जनताले सहयोग गर्दैनन् । यो राजनीतिको गुह्य ओली–प्रचण्ड दुवै जना शतप्रतिशत बुझ्छन्, बुझेका छन् । प्रचण्डले जनताको गुनासो धेरै सुन्नुपर्छ तर गर्न केही सक्दैनन् । प्रचण्डलाई पु¥याउनु केही पर्दैन । तर यता ओली प्रधानमन्त्री छन् । उनले बोलेरमात्र हुँदैन, पु¥याउनैपर्छ । सरकारी कर्मचारीबाट मूलतः माथिल्लो तहबाट पूरा सहयोग छैन । सरकारले गर्ने भनेका आधा पनि काम हुन सकेको छैन । भएको रकम पनि खर्च हुँदैन अनि कसरी हुन्छ विकास ! यो अवस्थामा झन् दुई अध्यक्षबीच नै यस्तो !
भित्रबाट नै पञ्चर गराउने भएछन् !
प्रधानमन्त्री ओलीलाई प्रेसमार्फत सहकर्मी प्रचण्डमाथिको गुनासो सार्वजनिक गर्ने मन भएछ । यता कान्तिपुर दैनिकका सुधीर शर्मा र दुर्गा खनालसँग १ घण्टा ४० मिनेट कुराकानी गरेछन्, अघिल्लो साता क्याबिनेट बैठक समेत पर धकेली त्यति लामो समय दिनुभएको साधारण अवस्था होइन । ओलीलाई चर्कै लागेको रहेछ । लखेटेर हटाउनै लागेको निष्कर्ष रहेछ ओलीको । त्यसैले त गर्जेछन् । मलाई लखेटेर हटाउन सम्भव छैन । यो सामान्य भनाइ हो र ? साँच्चै ओलीजीलाई प्रचण्डले लेखेटेरै हटाउन खोजेको हो त ? त्यस्तो त लाग्दैन । तर सर्पको खुट्टा सर्पले नै देख्छ भन्ने उखानजस्तै प्रचण्डको लखेट्ने प्रयास ओलीले देखे कि पाँचौँ इन्द्रियबाट यी दुइटै नेपाली राजनीतिका चतुर एवम् धूर्त खेलाडी हुन् । एउटाले अर्कोलाई विस्थापित गराएका तीता विगत पनि नभएका होइनन् । यसकारण ओलीजी यति अगाडि बढेका होलान् । पार्टी एकता जुन भावनाले अगाडि लैजानुपथ्र्यो त्यो भावनामा समय–समयमा हावा खुस्काइदिने पञ्चर गराउने काम भएको पनि देखियो भन्नेजस्ता चर्का गुनासा सार्वजनिक गरे । परिस्थिति यति बिछट्टको भइसकेको रहेछ त ? यो काम कताबाट भो भन्दा पार्टीबाटै । त्यो पनि भित्रबाटै भएको भनेपछि परिस्थिति भित्र भित्रै पाकेको रहेछ । ओलीले आश्वस्त गराए, भविष्य अप्ठेरो छ भन्ने होइन । यो कसलाई के भनेको ? स्पष्ट भएन ।
यति जटिल भइसकेको रहेछ ?
पत्रकारहरूको जिज्ञासा ! सरकार त एक्लै चलाउनुभएको छ । सरकारको नेतृत्व आधा आधा गर्ने भन्ने समझदारी थियो हैन ? त्यो कहिलेबाट लागू हुन्छ ? को उत्तरमा प्रधानमन्त्री केपी शर्मा ओली यदि समझदारी छ भने त्यो समझदारी आएका बेला (कार्यान्वयन) हुने होला नि ! भन्ने दोधारे कुरा गर्नुभएछ । त्यही प्रश्नको उत्तरमा उहाँले केही हुनु छ भने त त्यतिबेला कुरा होला । समय आएपछि हुन्छ । यो सरकार अरू कसैलाई हेरेर त्यसैको लिडरसीप या विश्वास गरेर बनेको हो र ? यो मेरो लिडरसीपमा बनेको हो, जसले जे भने पनि ! भन्ने जवाफ दिएर टार्नुभयो । अरू अगाडि भन्नुभएछ अब मैले छोड्नलाई पनि समझदारी हुनुपर्छ होला भन्दै अहिल्यै छोड्ने भरे नै छोड्ने जस्तो लखेटेर हटाउन सायद सम्भव पनि छैन होला । समझदारीसाथ यो समझदारी कार्यान्वयन हुने अपेक्षा हो भने यो समझदारीका साथ हुने यत्रो चर्चा कसरी भयो ? भनी आफैले प्रश्न गर्नुभयो । अर्को प्रश्नमा ओलीले भन्नुभयो, जे भए पनि यदि मैले छोड्ने हो भने समझदारी साथ छोड्ने होला नि ? अस्थिरता देखिने गरी छोडिदिनुप¥यो ल… ल… अब छोडिदिई हाल्नुप¥यो, जतिबेर पनि जोसँग पनि यो कुरा गर्नुको समझदारी खलबल्याउने प्रयास हो । यदि समझदारी छ भने, समझदारी हुनेवाला छ भने त्यसलाई खलबल्याउने होइन यो ? भनी जिज्ञासा राख्नुभयो । परिस्थिति यति जटिल भइसकेको रहेछ । राजनीतिक जरा नै धेरै !
के के हुने के के राजनीतिमा
दुई पार्टीमा मात्र होइन दुई अध्यक्षको सोचाइ–बुझाइमा पनि एकरूपता आउन समय लागेको हो ? भन्ने पत्रकारको प्रश्नमा ओलीले मैले त केही समस्या देखेको छैन । चुनावी तालमेलमा वैचारिक एकता हुँदैन तर हामीले त्यहाँ पार्टी एकताका प्रश्नहरू राखेर ग¥याँै भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, “त्यहाँ हाम्रो कुरा मिलेको छ । यहीँ बिन्दुबाट हामी अघि बढेका हौँ ।” पछि उहाँहरूको माओवादीभित्र के के समस्या परे होलान् । पटक–पटक नयाँ नयाँ कुरा खोज्ने स्वभाव उहाँहरूको देखियो । सम्झौता, सहमतिहरू पनि थपिँदै गए । मलाई त एकता चाहिएको हो । त्यसैले मसँग लचकता हुनु धेरै स्वाभाविक हो । माओवादीको गतिविधिले समावेशी, सामाजिक जागरण ल्याउन योगदान ग¥यो । तर, केही काम चाहिँ उपयुक्त भएनन् । न्यायपूर्ण समाजको निर्माण, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा हाम्रो मतभेद छैन । यसो भएपछि अब वैचारिक मतभेद छ भन्ने रहेनछ । अलिकति दबाब हुनसक्छ । मानिस हो अलिकति इगोका प्रश्न हुनसक्छन् भन्दै अलि नरम पनि हुन खोज्नुभयो । पत्रकारहरूले सोधे, तपाईँहरूको एकता दुर्घटनामा त पुग्दैन ? प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले ढुक्कसाथ भन्नुभयो, “कुनै हालतमा पुग्दैन । त्यसको त सम्भावना छैन ।” ओलीका अघिल्ला बोलीले अनेक दुर्घटनाका सम्भावनातर्फ इङ्गित गरे पनि पछिल्लो वाक्यले तत्काल दुर्घटना नहुने सन्देश दियो । के के हुन्छ के के राजनीतिमा ।
आमाको कुरा मामासँग
यता अर्का अध्यक्ष कामरेड प्रचण्ड निकै छटपटीमा देखिनुहुन्छ । उहाँको मनोविज्ञानले सधैँ लखेटिरहेछ, तैँले केही पाइनस् भनिरहेछ । एकातिर परिवारको स्वास्थ्य र पुत्र वियोगको वेदना छ अर्कोतिर व्यक्तिगत सम्पत्ति नगण्यमात्र सार्वजनिक गर्नुभएको छ । उहाँ पार्टी अध्यक्ष छँदासम्म वा पूर्णकालीन कार्यकर्ता नेता छँदासम्म पार्टीले सहयोग गर्ला । तर सहधर्मिणीको उपचारको गम्भीर समस्या त छँदै छ । त्यसकारण पनि का. प्रचण्ड बेला बेला अर्कै देखिनुहुन्छ । यो मान्छेमात्रको सामान्य मनोविज्ञान होला । केही समय यतादेखि पार्टीको बारे, पार्टीका नेताहरूबारे र पार्टी कार्यकर्ताहरूबारे पनि गम्भीर सवाल सार्वजनिक गर्न लाग्नुभएको छ । यो राम्रो लाग्छ । उहाँ प्रश्न गर्नुहुन्छ के हामी आज साँच्चै कम्युनिस्ट छौँ त ? हाम्रो आजको ढाँचाले समाजवाद ल्याउन सक्छौँ त ? जनताले हाम्रो मूल्याङ्कन हामीले भनेको कुराबाट गर्छ कि गरेको कामबाट गर्छ भन्नेजस्ता खाँटी प्रश्न गर्न लाग्नुभएको छ । प्रचण्ड आज यति लखेटिनुभएको छ । ईश्वर पोखरेलकहाँ गएर केपी शर्मा ओलीबाट धोका पाएको गुनासो गर्नुभएछ । आमाको कुरा मामासँग भनेजस्तो भएन र ! यो त  । पार्टी एकताको बेला आलोपालो प्रधानमन्त्री बन्ने भन्ने थियो । तर ओलीले त्यो बिर्सेजस्तो गरेको महसुस हुन लागेछ प्रचण्डलाई । तर ओली पक्ष चाहिँ समझदारी कार्यान्वयन हुने समय नै नआई प्रचारमा ल्याएको भनी निकै अप्रसन्न भएका रे । लौ ! दुवै पक्ष असमझदार छैन, तपाईँ व्यक्ति होइन मुलुकको बढोत्तरीका लागि सबै थोक छोड्न राजी हुनोस् । यही हो सल्लाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *