नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
असंलग्न राष्ट्रको आन्दोलन (नाम) को थालनी विशिष्ट विश्व परिस्थितिमा भएको थियो । संसार दुई ध्रुव–संरा अमेरिकी साम्राज्यवाद र सोभियत सामाजिक साम्राज्यवादमा विभाजित अवस्थामा तीमध्ये कुनै पनि ध्रुवमा संलग्न नरही स्वतन्त्र रहने देशहरूले असंलग्न आन्दोलनको सुरुआत गरेका थिए । तात्कालीन विश्व परिस्थिति र आजको अवस्थामा धेरै अन्तर छ । सोभियत सङ्घ विघटन भइसकेको छ । संरा अमेरिकी साम्राज्यवाद आफैँ ओरालो लागिरहेको छ । युरोप आज छिन्नभिन्न र सङ्कटग्रस्त छ । संसारमा चीन प्रमुख आर्थिक शक्तिको रूपमा उदाइरहेको छ । तर, आजको चीन न संरा अमेरिकाजस्तो एउटा साम्राज्यवादी शक्ति हो न सोभियत सङ्घजस्तो सामाजिक साम्राज्यवादी देश हो । चीन आज सिङ्गो मानव जातिको हित गर्ने साझा भविष्य निर्माणमा लागेको देश हो । चीनको यो कार्यक्रम आज संसारभरका विकासोन्मुख र अल्पविकसित देशको लागि स्वीकार्य बन्दै गएको छ ।
संसारभर आफूले जमाएको साम्राज्यवादी हैकम तोड्दै चीनले फैलाएको सकारात्मक प्रभाव संरा अमेरिकाको लागि असह्य बनेको छ । संरा अमेरिका जुन कुनै हालतमा चिनियाँ प्रभाव रोक्न खोजिरहेको छ । चीन पनि आफूजस्तै साम्राज्यवादी शक्ति भएको पुष्टि गर्न संरा अमेरिकाले मिहिनेत गरिरहेको छ । तर, चीनले असंलग्न देशहरूसँगको आफ्नो पहिलेदेखिको मित्रता तलबितल गरेको छैन, बरु समझदारी र साझेदारीलाई जोड दिँदै अघि बढ्न खोजिरहेको छ ।
संरा अमेरिकाले चीनको प्रभाव रोक्ने हेतुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अझ व्यापकता दिएको छ । एमसीसी संरा अमेरिकाले आजको परिस्थितिमा आफ्नो साम्राज्यवादी नीतिलाई दिएको नयाँ आवरण हो । आफ्नो स्वार्थमा थोरैमात्र धक्का पुगेको अवस्थामा साम्राज्यवाद कति हिंस्रक भएर प्रस्तुत हुन्छ भन्ने कुराको संसारभर मनग्य उदाहरण छन् । बकुलाले तपस्याको अभिनय गर्नुको एउटै लक्ष्य भनेको माछालाई आफ्नो जालमा फसाउनु हो । एमसीसी संरा अमेरिकाले संसारमा आफ्नो साम्राज्यवादी हैकम चालू राख्न बिछ्याइएको जालसाझी हो ।
असंलग्न राष्ट्रको आन्दोलनको मूल भावना भनेको साम्राज्यवादको विरोध हो । संसारलाई धुरीमा विभाजित गर्ने विचारको विरोधमा यो अभियानको थालनी भएको थियो । सोभियत सामाजिक साम्राज्यवादको विघटन भए पनि संसारमा अझै पनि संरा अमेरिकी साम्राज्यवादको दबदबा कायम नै छ । त्यसकारण असंलग्न आन्दोलनको साम्राज्यवादविरोधी भावनालाई आज पनि अघि बढाउनुपर्छ ।
अजरबैजानमा कार्तिक ८ र ९ गते हुने असंलग्न देशको अठारौँ सम्मेलनले साम्राज्यवादविरोधी आन्दोलनलाई अझ विस्तार गर्न जरुरी छ । आजको विश्वको सबभन्दा ठूलो चुनौती नै साम्राज्यवाद हो । संसारमा अझै पनि गरिबी, अभाव, युद्ध, आतङ्कवाद, असमानता, जलवायु परिवर्तनको समस्या हुनुको मूल जड साम्राज्यवाद नै हो । असंलग्न देशहरू यी समस्या समाधानको लागि जरामै हमला गर्न जरुरी छ । दुई धु्रवबीचको तानातान रोक्न असंलग्न आन्दोलन इतिहासमा जसरी प्रभावकारी बनेको थियो, आज पनि साम्राज्यवादलाई परास्त गर्न असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउन जरुरी छ ।
संसारमा साम्राज्यवाद रहेसम्म विकास र समृद्धिको कुरा पानीको फोकाजस्तै हो । इराक, सिरिया, लिविया आदि देशहरू आर्थिकरूपमा सम्पन्न देशहरू थिए । तर, साम्राज्यवादको स्वार्थमा असर पुगेसँगै तिनको विकास र समृद्धि पानीको फोकाजस्तै छिन्नभिन्न भयो । नेपालले असंलग्न देशको सम्मेलनमा आर्थिक विकास र समृद्धिको कुरा गर्ने तयारी रहेको सरकारी प्रतिनिधिले भने । तर, साम्राज्यवाद परास्त नभएसम्म विकास र समृद्धिको कुरा क्षणभङ्गुरमात्र हुनेछ ।
Leave a Reply