नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
– सुविज्ञा थापा
कतिपय कुरा पत्याउन गा¥हो पर्छ हामी सर्वसाधारणलाई । प्रजातान्त्रिक दाबी गर्ने धेरै पुँजीवादी देशहरू अपराधीहरूका लागि स्वर्गजस्तै सुरक्षित हुने गरेका छन् । संरा अमेरिका स्वयम् यसको उदाहरण हो । इतिहासमा अमेरिकी महादेश नै युरोप र एसियाका देशहरूमा अपराध गरेर सजायबाट बच्न अपराधीहरू लुक्न जाने फराकिलो ठाउँ थिए । इन्टरपोल सङ्गठन नहुँदासम्म र इन्टरपोलमा सदस्य नरहेका धेरै देशका अपराधीहरूका लागि संरा अमेरिका र क्यानाडा लुक्ने स्वर्ग बनिरहेको थियो । अहिले पनि संरा अमेरिकासित सुपुर्दगी सन्धि नभएका देशका अपराधीहरू अमेरिका भाग्न खोज्छन् । आफ्नो विशेष राजनीतिक र भौगोलिक स्थितिका कारण अहिले हङकङ त्यस्तै अपराधीहरूको अखडा र लुक्ने स्वर्ग बनिरहेको बताइन्छ । एक देश दुई राजनीतिक व्यवस्थाको रूपमा चीनको नक्साभित्रै रहेको हङकङको आफ्नै मूल देश चीनसित सुपुर्दगी सन्धि छैन । त्यसैले चिनियाँ भूमिमा ठगी, लुटमार, हत्या, बलात्कार जघन्य अपराधमा संलग्न भएकाहरू सजायबाट बच्न हङकङ भाग्ने गरेका छन् । पैसा खर्च गरेर, नक्कली प्रमाण पेश गरेर जसरी पनि त्यहाँको नागरिकता लिन्छन् र त्यही बस्ने वा हङकङको राहदानी बोकेर अन्य देशमा बसाइँसराइ गर्ने गर्दारहेछन् ।
करिब दुई वर्षअगाडि ताइवानमा आफ्नै गर्भवती पे्रमिकाको विभत्स तवरले हत्या गरेर हङकङ भागेका चान तोङ काईलाई ताइवानमा मुद्दा चलाउनुपर्ने माग जोडतोडले उठेको थियो । हङकङ सरकारले चानलाई पक्राउ त ग¥यो तर कानुनको अभावका कारण ताइवानमा सुपुर्द गर्न सकेन । उसमाथि प्रेमिकाको मृत्युपछि तिनको नाममा रहेको क्रेडिट कार्डमार्फत पैसा निकालेर खर्च गरेको अभियोगमा मुद्दा चलायो । त्यस्ता अपराधीहरूलाई अपराध गरेकै स्थानमा फिर्ता पठाउन सकिने गर्न हङकङ सरकारले सुपुर्दगीसम्बनधी कानुन ल्याउन खोज्यो । त्यसलाई त्यहाँका विपक्षी राजनीतिकर्मीहरूले प्रजातन्त्र र हङकङका नागरिकहरूको अधिकारको कतौटी भनी दुष्प्रचार गरेर जनतालाई सडक आन्दोलनमा उतारे । त्यस आन्दोलनलाई संरा अमेरिका र बेलायतले खुलमखुला सहयोग र समर्थन दिए । आन्दोलनकारीले अमेरिकी झन्डा बोकेका तस्वीर पनि भाइरल भए । यथार्थमा हङकङको राजनीतिमा अपराधी र विदेशी दलालहरूको पकड रहेको पुष्टि थियो त्यो एक प्रकारले । लामो आन्दोलन र अशान्ति अन्त्य गर्न हङकङ सरकारले उक्त विधेयकमात्र फिर्ता लिएको छैन, आफ्नो अपराध स्वीकार गरेका चान तोङ काईलाई रिहा पनि ग¥यो । चान अब या आफूखुसी ताइवान गएर त्यहाँको प्रहरीसमक्ष आतमसमर्पण गर्नसक्छन् या हङकङमै रहेर वा अर्को कुनै देशमा भागेर सजायबाट मुक्त रहन सक्छन् । तर अपराधीलाई सजायबाट मुक्त हुने सम्भावना दिएर हङकङले आफूलाई अपराधीहरूको स्वर्ग सावित गरेको छ । हङकङको उक्त अवस्था स्वयम् हङकङकै लागि लामो समयसम्म हितकर नहुने धेरैको विश्लेषण छ ।
Leave a Reply