भर्खरै :

तालसँगैको एक जेल

सफ्वाट जार्गर
दुई महिनासम्मको एकान्त कैदपछि अक्टोबर ६ का दिन भारत सरकारले जम्मु र काश्मीरमा त्यहाँको मुख्य राजनैतिक पार्टी नेसनल कन्फेरेन्सका सदस्यहरूलाई अगस्ट ५ देखि पक्राउ गरी थुनेर राखिएका पार्टी नेताहरू फारुख अब्दुल्लाह र ओम अब्दुल्लाहसित भेट गर्न दिएको छ । तर, अरू राजनीतिक नेताहरूसित भेटघाट गर्न आएका मानिसहरू श्रीनगरमा राजनीतिक बन्दीहरूसित भेटघाट गर्न कठिन नै रहेको बताउँछन् ।
अक्टोबर ९ का दिन सेर–ए–काश्मीर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित सेन्टौर होटलमा राजनीतिक बन्दीहरूलाई भेट्न आउनेहरूको भीडमा ५० वर्षीय मोहम्मद अब्दुल्लाह पनि थिए ।
अगस्ट ५ का दिन जम्मु काश्मीरलाई विशेष मान्यता दिइराखेको धारा ३७० भारतीय संविधानबाट हटाएदेखि श्रीनगरको दाल ताल छेउको होटल सेन्टौरलाई अतिरिक्त जेलमा परिणत गरिएको छ । जम्मु–काश्मीर सरकारका एक अधिकारीका अनुसार अहिले सरकारका लागि खतरा घोषित भएका ३३ जना राजनीतिक नेताहरूलाई त्यहाँ कैद गरिएको छ ।
ती बन्दीहरूमध्ये एक हुन्– पहलगाम क्षेत्रका पूर्व विधायक अल्ताफ अहमद कालु ।
त्यस बिहान पहलगामको बाटाकोटे गाउँबाट आफ्ना नेतासित भेट गर्न मोहम्मद अब्दुल्लाहले श्रीनगरको यात्रा गरेका थिए ।
“कालु साहेबसित भेट गर्न यो मेरो दोस्रो श्रीनगर यात्रा हो । तर, आज तिनीहरू भन्दैछन् रगतको नाता भएका आफन्तहरूलाई मात्र भेट्न दिइनेछ ।” आफ्नो कठिनाइबारे चर्चा गर्दै अब्दुल्लाहले भने । “अरू नातेदारहरूलाई समेत भेटन दिइरहेको छैन । जेलका सुरक्षा अधिकारीहरूले आफन्त भनेका दाजुभाइ, दिदीबहिनी, श्रीमती, छोराछोरी र आमाबुबामात्र भनेका छन् । भेट्न आउनेहरूले ल्याएका कुनै पनि खानेकुरा र फलफूलसमेत भित्र लान दिइएको छैन । यस्तो पहिलेपहिले र अन्यत्र हुँदैनथ्यो ।” विधायक कालुका काकाका छोरा फारुक अहमदले भने ।
पिपुल्स डेकोक्रेटिक पार्टी – पीडीपीका पूर्व सांसद मोहम्मद असरफ मिरका एक टाढाका नातेदार शाहवाज अहमदले जेलका अधिकारीहरूले बन्दीका परिवारका सदस्य र नातेदारहरूको समेत विस्तृत जानकारी राखेको र विभेद गरेको बताए ।
“त्यसैले सेर–ए–काश्मीर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गेटमा बन्दीका आफन्तहरूको सूचि पहिलेदेखि नै हुन्छ । यदि उक्त सूचिमा तपार्इँको नाम छैन भने तपार्इँ गेटबाट भित्र छिर्नै सक्नुहुन्न ।” अहमदले भने ।
उक्त बिहान बन्दीहरूसित भेटघाट गर्न आएका र पर्खेर बसेकाहरूमा तनाव चुलिएको थियो । त्यसदिन भेट गर्न नपाउनुको अर्थ अर्को तीनदिनपछि आफ्नो ‘भाग्य’ परीक्षा गर्नु हुन्थ्यो । किनभने, बन्दीहरूसित बुधबार र शनिबारमात्र भेट गर्न दिइन्छ अन्य बार पाइँदैन ।
धेरै बन्दी भेट्न आएकाहरूले भेट गर्न समयावधि घटाएकोमा पनि गुनासो गरे । “पहिले – पहिले बिहान १० देखि साँझ ५ बजेसम्मै बन्दी भेट्न दिने व्यवस्था थियो तर अहिले २ बजे अगावै भेटिसक्नुपर्छ । २ बजेपछि पाइँदैन ।” अहमदले भने ।
एक वरिष्ठ सरकारी अधिकारी भन्छन् – “यी कडा नियमहरूको कार्यान्वयन उक्त होटलमा रहेको अस्थायी कारागारको १९ सेप्टेम्बरको दिन भएको समीक्षा बैठकपछि कार्यान्वयन भएको हो । नयाँ नियमहरूले नजिकका नातेदारहरूसित मात्र भेटने अनुमति दिन्छ र भेट गर्ने समयावधि ११ देखि दिउँसो २ बजेसम्म गरिएको छ । उक्त बन्दोबस्त बैठकको निर्णयानुसार भएको हो ।”
“परिवारका सदस्यबाहेक बन्दी नेताहरूसित भेट गर्न चाहने मानिसहरूले पहिले मजिस्टे«टकहाँ गएर भेट्नुको उद्देश्य प्रस्ट पार्नुपर्छ र त्यहाँबाट सिफारिस ल्याउन सक्नुपर्छ । सामान्यतया ः धेरै मानिसहरूले ती कैदी नेताहरूसित भेट गर्न खोज्छन्, त्यसकारण तिनीहरूको भेटघाटलाई सीमित गर्नलाई नै कानुनी बन्दोबस्त गरिएको हो । कानुनी सहायता गर्ने वकिलहरू र सम्पत्ति विवादबारे भेट्न चाहनेहरूलाई भने रोकेका छैनौँ ।” ती अधिकारीले भने ।
त्यसले सरकारको उद्देश्य र बैठकको निर्णयानुसार भेट गर्न आउनेहरूलाई नियन्त्रण गर्न सजिलो भएको बताइन्छ ।
कडा निगरानी
उक्त नियमहरू कडा बनाउनुअघि नै ती राजनीतिक बन्दीहरू र तिनीहरूसित भेटघाट गर्न आउनेहरूमाथि कडाइपूर्वक निगरानी गरिएको थियो ।
“तपाईँलाई कागजको एक टुक्रासम्म पनि भित्र लान दिइँदैन । न पैसा, न कलम, केही पनि लान दिइँदैन । तपाईँ उक्त अतिरिक्त कारागारभित्र गेटमा दिइएको पास लगाएरमात्र जान सक्नुहुन्छ ।” – अघिल्लो पटक पीडीपीका नेता मोहम्मद असरफ मिरसित भेट गर्ने मौका पाएका साहनवाज अहमदले बताए ।
जेलमा कैद गरिएका राजनीतिज्ञहरूसित कुराकानी गर्दा भेट गर्न जानेहरू पनि निकै सजग हुनुपर्छ । उक्त अतिरिक्त कारागारभित्र नेताहरूलाई निश्चित कोठाहरू छुट्याएर राखिएको छ । जब भेटघाट गर्नेहरू आउँछन्, कैदी नेताहरूलाई ठूलो लबी हलमा ल्याइन्छ, जहाँ भेटघाटका लागि टेबल र मेचहरू निश्चित गरेर राखिएका छन् । उक्त हलको चारैतिरबाट सबै कुना देखिने गरी सीसीटीभी क्यामेरामार्फत निगरानी भइरहेको हुन्छ र सुरक्षा अधिकृतहरू उक्त भेटघाटको वरिपरि बरोबर घुमिरहेका हुन्छन् । त्यहाँभित्र बाहिरको परिस्थितिबारे र राजनीतिबारे कुराकानी गर्न सम्भवै छैन ।” – अहमदले भने ।
त्यही भेटघाटको मौकामा उनले नेता मिरसँग भित्रको दैनिकीबारे सोध्न भ्याए । मिरका अनुसार अधिकांश समय बन्दीहरूलाई कोठाभित्रै राखिन्छ । त्यहाँ टेलिभिजन त छ त्यसमा मनोरञ्जनका च्यानलबाहेक अरू आउँदैन । पहिले भारतीय सरकारी टेलिभिजन च्यानल दूरदर्शन र अल जजिरा उपलब्ध थियो तर अहिले ती च्यानल हटाइएको छ । बन्दीहरूले अधिकांश समय टीभीमा सिनेमा हेरेर बस्नुबाहेकको विकल्प छैन ।
नेता मिरले बताएअनुसार बन्दी नेताहरूले राजनीतिबारे छलफल गर्न निकै कममात्र समय पाउने गर्छन् । “नेताहरू डिनर र लन्चको समयमा मात्र भेट गर्न पाउँछन् जब तिनीहरूलाई डाइनिङ्ग हलमा बोलाइन्छ । त्यहाँ नै मात्र तिनीहरू एक अर्कासित देखभेट गर्न र छोटो समयका लागि केही कुरा गर्न सक्छन् । त्यसको पनि माइक्रोफोनसहितका सीसीटीभी क्यामेरामार्फत निगरानी भइरहेको हुन्छ ।” – अहमदले बताए ।
राजनीतिक सम्झौता ?
श्रीनगरस्थित एक वरिष्ठ सरकारी अधिकारीका अनुसार अगस्ट ५ मा उक्त अतिरिक्त कारागारमा बन्दी बनाइएकामध्ये १२ जना राजनीतिज्ञहरूलाई रिहा गरिसकिएको छ । तीमध्ये दुई जना नेसनल कम्फेरेन्सका नेता शैयद आखुन र पिपुल्स कन्फेरेन्सका नेता इमरान राजा अन्सारीलाई गिर्दाे स्वास्थ्य अवस्थाका कारण रिहा गरिएको बताइन्छ । ती अधिकारीको दाबीअनुसार एक पूर्व पीडिपी विधायकलाई उनले राजनीतिक सम्झौतामा हस्ताक्षर गरेपछि रिहा गरिएको छ ।
हप्तौँदेखि ती बन्दी राजनीतिज्ञहरूलाई राजनीतिक सम्झौतामा हस्ताक्षर गर्न सम्झाउने कोसिस गरिएको छ । उक्त सम्झौतामा धारा ३७० को खारेजीलाई समर्थन गर्नुका अतिरिक्त राम्रो व्यवहार गर्ने वाचाहरू पनि समावेश छन् ।
“राजनीतिक सम्झौतामा सरकारी अधिकारीहरूले मुख्यतयाः धारा ३७० को समर्थन र त्यसमाथि राजनीति नगर्ने सर्त राखेका छन् । मूलरूपमा भारत सरकारले जम्मु काश्मीरका मूलधारका राजनीतिक दलहरूले केन्द्र सरकारको विरोध नगरून् भनी चाहेको छ । त्यसैले बन्दी नेताहरूलाई सम्झौतामा हस्ताक्षर गर्न र शान्तिपूर्वक घरमा बस्न भनिरहेका छन् ।” – श्रीनगरस्थित नेसनल कन्फेरेन्सका एक सक्रिय कार्यकर्ताले भने ।
उनका अनुसार भारत सरकारले सेप्टेम्बर २७ अगाडि नै सबै नेताहरूलाई सम्झौतामा हस्ताक्षर गराउन ठूलो दबाब दिएको छ । त्यतिखेर संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा भारत र पाकिस्तान दुवै देशका सरकार प्रमुखहरूले काश्मीर मामिलामा सम्बोधन गरी आ–आफ्नो सफलता पेश गर्ने होडबाजी थियो ।
उक्त राजनीतिक सम्झौतामा नेताहरूले राजनीतिक गतिविधि नगर्ने सर्त राखिएको कुरा सरकारी अधिकारीहरूले अस्वीकार गरेका छन् ।
तर, पिपुल्स डेमोक्रेटिक पार्टी– पीडीपीले सरकारले बन्दीहरूलाई तिनीहरूको रिहा हुने कानुनी बाटोका रूपमा सम्झौतामा हस्ताक्षर गर्न लोभ्याउने क्रम नरोकेको आरोप लगाएको छ । अक्टोबर ८ का दिन पीडीपीकी नेतृ तथा जम्मु काश्मीरका पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीकी छोरी इज्तिजा मुफ्तीले आफ्नी आमाको ट्वीटर खाताबाट ट्वीट गर्दै लेखिन् ः “राजनीतिक बन्दीहरूले आफ्नो गिरफ्तारीविरुद्ध कानुनी चुनौती पेश गरेका छैनन् किनभने यदि तिनीहरू अदालत गए तिनीहरूलाई जम्मु काश्मीरको सार्वजनिक सुरक्षा ऐन – पीएसएअन्तर्गत गिरफ्तार गर्ने धम्की दिइएको छ ।”
इज्तिजाले “सरकारी अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गराउन राजनीतिक बन्दीहरूलाई अनेक किसिमका यातना र ब्लाकमेलिङ गरिरहेको” उल्लेख गरिन् ।
उक्त निर्वाचन प्रक्रियाका बारेमा कडा असन्तुष्टि व्यक्त गरेका छन् । त्यसले भारतीय जनता पार्टीलाई मैदान खाली गरिदिनुसरह हुनेछ । उक्त पार्टीले परिषद्का सिटहरूमध्ये ९० प्रतिशतमा जीत हासिल गर्ने आशा राखेको छ र तीमध्ये अधिकांशमा त निर्विरोध हुनेछन् ।
यो जेल नै हो
शेर–ए–काश्मिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गेटमा अक्टोबर ९ का दिन भेटिएका शैयद आखुन आफै पनि अगस्टदेखि सेप्टेम्बरको मध्यसम्म बन्दी नै थिए । त्यतिबेला भने उनी त्यहाँ भेटघाट गर्न आएका थिए र उनी एम्बेसाडोर कारमा जम्मु काश्मिर प्रहरीले उपलब्ध गराएका दुईजना सशस्त्र अङ्गरक्षकसहित आएका थिए ।
उनी आफ्ना ज्वाइँ र गन्डेखालका पूर्व विधायेक शेख इरफाक जब्बरसित भेटन आएका थिए । जब आखुन कारभित्र बसेर पर्खिरहेका थिए, उनका सुरक्षा गार्डमध्ये एकजना गेटमा भेटघाटको समय मिलाउन गए ।
उक्त दृश्यलाई देखेर एकजना कार्यकर्ताले भने, “तिनीहरू यसरी नै ठूला नेतालाई व्यवहार गर्छन् । तल्लो तहका कार्यकर्ताहरूको भने हातखुट्टा भाँचिदिन्छन् ।”
भेटघाट गर्न आउनेहरूमध्ये दक्षिण काश्मिरको शोपियन जिल्लाका रफाकत अशरफ गानी र उनका बहिनी अजरा अशरफ पनि थिए । ती दाजुबहिनी सबेरै श्रीनगर आइपुगेका थिए । तिनीहरूलाई पनि गेटबाहिरै रोकियो किनभने तिनीहरू पनि सरकारी सूचिमा भएका नजिकका आफन्तमा परेका थिएनन् । आफू पहिले भेटका निम्ति आउँदा पनि सुुरक्षा गार्डहरूले अनेक तवरले रोक्न खोजेको अशरफ गानीले बताए । भेट गर्न आउनेहरूको अनेक तवरले अवरोध गर्ने, सोधपुछ र जाँच गर्ने गर्थे । अर्को गेटमा झन कडा सोधपुछ गर्ने र जुताको समेत स्क्यान गर्ने गर्छन् ।
उक्त अतिरिक्त बन्दीगृह अगाडि जम्मा भएका मानिसहरूमध्ये अधिकांशले बन्दी रहेका आफ्ना परिवारका सदस्यहरूलाई औषधोपचार समेत गर्न नदिइएको बताए । तर श्रीनगरका अधिकारीहरू बन्दीहरूलाई पर्याप्त स्वास्थ्योपचारको व्यवस्था रहेको दाबी गरे ।
उक्त कारागार अगाडि एउटा एम्बुलेन्स सधैँ राखिएको हुन्छ र दुईजना चिकित्सक हरेक दिन खटाइएको छ । उपचार आवश्यक भएका बन्दीलाई उपचारका निम्ति उच्च स्तरको अस्पतालमा लाने गरिएको छ ।” ती अधिकारीले भने ।
बन्दीहरूका मित्र र आफन्तहरू फेरि पनि खुसी छैनन् । आफ्ना काकासित भेटघाट गर्न आएक रफाकत गानीले भाजपा नेता राम माधव सिन्धेले काश्मिरका राजनीतिक बन्दीबारे गरेको टिप्पणी स्मरण गरे ।
राम माधवले भनेका थिए – “काश्मिरका राजनीतिक बन्दीहरू कम्ती भाग्यमानी छैनन् । तिनीहरू पाँचतारे होटल र पाँचतारे गेस्ट हाउसमा राखिएका छन् ।”
“त्यहाँ भित्र पाँचतारे होटल छ भन्न धेरै सजिलो छ, तर हो त यो जेल नै हो ।” रफाकत गानीले भने ।
(‘A Prison by the lake’ : How Political detainees in Shrinagar hotel are kept under Survillance)
–Scroll.in
अनुवादः प्रकाश

One response to “तालसँगैको एक जेल”

  1. Like!! Great article post.Really thank you! Really Cool.

Leave a Reply

Your email address will not be published. Required fields are marked *