भर्खरै :

तिहार नेपालीको, सामान विदेशीको !

– मेरिना शाक्य
तिहार नजिकिँदै छ । तिहारका लागि आवश्यक फूल, फलफूल र विद्युतीय सामग्रीहरू धमाधम विदेशबाट आयात भइरहेको छ । सांस्कृतिक, ऐतिहासिक र नेपाल र नेपाली जनतासित सम्बन्धित एक रमाइलो चाड तिहार पनि विदेशी सामान आयात गरेर मनाउनुपर्ने बाध्यता छ । चाड नेपालीको तर सामान विदेशीको । नेपालीले आफ्नै जग्गामा उत्पादन गरेको फलफूल र फूलको माला बजारमा आउनुअघि विदेशको फूलमाला राजधानीमा भण्डारण गरिसकेको खबर केही दिनअघि आइसकेकै हो । त्यसरी नै फलफूल, फूल र विद्युतीय सामग्रीहरू पनि नेपाल भित्रिरहेको खबर छ । यसरी तिहार विदेशी सामानकै भरमा मनाउनुपर्ने बाध्यता छ । सुखी नेपाली समृद्ध नेपालको नारा बोकेको सरकारले फूल र फलफूलमा आत्मनिर्भर बनाउन सकेको छैन ।
हो, तिहार फूल र फलफूलको चाड हो । किसानले धान भित्राएसँगै मनाइने यो चाडमा फूल र फलफूलको किनबेच बढी हुन्छ । तिहार अघिदेखि नै तिहारभर बजारमा फूल र फलफूलको प्रदर्शनीझैँ हुन्छ । विदेशी पर्यटकहरू त फूल र फलफूलको मेला भइरहेको ठान्छन् । यसै उत्सवमा घर–घरमा बत्ती बाल्छ । घरको ढोकादेखि कौसीसम्म दीयोमा बाल्ने बत्तीले साँझपख झिलिमिली हुन्छ, सहर बजार नै सिङ्गार गरिरहेको जस्तो देखिन्छ । गाउँ–ठाउँमा नाचगान हुन्छ । अनि काग, कुकुर, गाईको मात्र होइन मानिसको शरीरपूजा हुन्छ । नेपाल संवत् फेरिएको हुन्छ । नेपाल संवत् फेरिएसँगै शुभकामना आदान प्रदान हुन्छ । यसैबेला नेपालभाषा साहित्य तःमुंज्याले शुभकामना ¥याली गर्छ, सभा राख्छ । त्यस्तै विविध भाषा साहित्यिक समाजले मध्यपुरमा विविधभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र प्रभातफेरीको आयोजना गरेको हुन्छ । यसरी तिहारमा विभिन्न आयामका क्रियाकलाप भएको हुन्छ ।
तिहार बहुआयामिक एक महत्वपूर्ण पर्व हो । यो संस्कृतिको निरन्तरता आवश्यक छ । तर, यस्तो सुन्दर, रमाइलो पर्वमा संस्कृतिसँगै विकृति भित्रिरहेको छ । रमाइलो र मनारञ्जनको खुसियालीमा आगजन्य भुइँचम्पा उडाउने काम हुन्छ । यसले अङ्गभङ्गमात्र होइन घरमा आगलागी भएर ठूलो क्षति भएको छ । फूर्सदको समयमा रचनात्मक काम नगरी, अध्ययन, अनुसन्धानमा समय खर्च नगरी जुवातास खेल्ने काम हुन्छ । यसले श्रम गरी जोहो गरिएको सम्पति स्वाहा हुन्छ र घर परिवारमा झगडा हुन्छ । नाचगानमा पनि विकृति देखिएको छ । हाम्रो पर्व, हाम्रो रीतिथितिलाई मौलिक शैलीमा प्रस्तुत नगरी अर्कै ढङ्गले भइरहेको छ । नाचगान र नाचगानमा गाइने गीतमा बियर र लागूऔषधको प्रचार गर्नु ठीक होइन । प्रशासनले पनि यस्ता विकृति र विकृतिजन्य वस्तुहरूको किनबेच र पड्काउने कार्यमा नियन्त्रण गर्नुपर्छ । प्रशासनले त्यसबारे प्रचारप्रसार गरेर सुसूचित पार्नुपर्छ । तिहार मनाऔँ, विकृति नफैलाऔँ । हाम्रो पर्वको गौरव हामीले नै कायम गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *