क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
शिशिर वैद्य
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य)
हिजैमात्र भएको भक्तपुरकै एउटा घटनाबाट कुरा सुरु गर्छु । समूह समूहमा केटाकेटीहरू मोबाइलमा खेलिरहेका थिए । त्यही हुलमा एउटा सानो बच्चा पनि थियो । बच्चाकी आमाले आफ्नो छोरा लड्ला भनी निकै चिन्ता लिइरहेकी थिइन् । उनी भन्दै थिइन्, “बाबु, भ¥याङय् वनेमते । भ¥याङय् वनेमते । खसेजुई (‘बाबु, भ¥याङमा नजानु । भ¥याङमा नजानु । खस्छौ ।’ वक्ताले यहाँ आमाको नेपालभाषाको अभिव्यक्तिमा नेपाली भाषाको अधिक प्रयोगतिर सङ्केत गर्नुभएको छ ।) घर घरमा नेपालभाषाको अवस्था यस्तो छ ।
आमा बोल्दाबोल्दै बच्चा लड्यो र भित्तामा ठोकिन पुग्यो । सँगैको बच्चालाई ‘ऊ किन रोएको ?’ भनी सोध्दा उसले जवाफमा भन्यो, “बाबु, दौडे जुयो वल । अले भित्ता ठोके जुल ।”(बाबु दौडेर आयो । अनि भित्तामा ठोकियो ।) मेरो विचारमा यो नेवारहरूको घरघरको वास्तविकता हो । सबैको घरमा यस्ता समस्या छन् । काठमाडौँ, ललितपुर, भक्तपुर र काठमाडौँ उपत्यका बाहिर पनि यस्तो समस्या विस्तार हुँदै गएको छ । भाषा साहित्यमा लगातार लागिरहनुभएका तःमुंज्याका साथीहरूको लागि यो ठूलो समस्या हो । हाम्रो मातृभाषा बोल्नेको सङ्ख्या कम हुँदै गएको यो प्रमाण हो । नेपाली भाषाको बोल्नेको सङ्ख्या बढ्दै गएको छ । हाम्रा केटाकेटी हाम्रो भाषा बोल्न लाज मान्छन् । बोल्न अल्छी मान्ने अवस्था नेपालभाषाको लागि डरलाग्दो अवस्था हो । हिजो हाम्रो भाषा राज्यबाट तिरस्कृत थियो भने आज नेवारहरूले नै आफ्नो दैलोबाट नेपालभाषालाई गलहत्याइरहेको देखिन्छ । यस्तो परिस्थितिमा नेपालभाषाको संरक्षणमा लाग्नुहुने साथीहरूको मन रुनु स्वाभाविक हो । मातृभाषामा मडराएको खतरा बुझेर नै धेरै वर्षअघि महाकवि सिद्धिदासले भन्नुभएको थियो,“भाषा बाँचे जाति बाँच्छ ।”
त्यस्तै धेरै वर्षअघि प्रेमबहादुर कंसाकारले लेख्नुभएको मैले पढेको छु–“भाषा बिना कुनै पनि अस्तित्व रहन सक्दैन ।”
हिजैमात्र म एउटा पुस्तक पढ्दै थिएँ । त्यसमा दुर्गालाल श्रेष्ठको एउटा पङ्क्ति थियो– “भाषाको आन्तर्य नै जातिको जागरण हो । जागृत जाति नै राष्ट्रको शान हो ।”
अघिल्लो वर्ष यही दबुमा बोल्दा मैले जनता बाँचे होइन, भाषा बाँचेमात्र जनता बाँच्छ भनी बोलें । महाकवि सिद्धिदास, प्रेमबहादुर कसांकार, दुर्गालाल श्रेष्ठका विचारबाट प्रभावित म मेरो विचार अझै त्यही हो । मेरो विचार बदल्न समाज र वास्तविकता बदलिनुपर्छ । तर, हाम्रो वास्तविकता अघि भनेजस्तै उही छ । मातृभाषाबाट कममात्र बोलिनु आजको समस्यामात्र होइन, यो सामाजिक समस्या वर्षौंदेखि चल्दै आएको छ । त्यही भएर भाषासेवी, साहित्यकार र समाजसेवीहरूले नेपालभाषा संरक्षण र महत्व बुझाउन अभियान चलाइरहेका छन् । यो अभियानको थालनी भएको पनि वर्षौं वर्ष भइसकेको छ । मातृभाषा जोगाउन वर्षौंदेखि प्रयास गर्दै आएका यस्ता भाषा समूहको भनाइ नेवारको मन मनमा पुग्ने अझै सकेको छैन ।
आमाको दूध चुस्दै सिक्नुपर्ने भाषा यदि आमाहरूले नै बोल्न छोडे हाम्रो मातृभाषा कसरी जोगिएला ! जनप्रिय नेपालभाषाका साहित्य जनताको सुख दुःखको तस्वीर हो । समाजलाई सजग, सचेत र सुसूचित गर्न साहित्यको ठूलो भूमिका हुन्छ । साहित्य भाषाको सेवा पनि हो । कवि दुर्गालाल श्रेष्ठले भन्नुभएअनुसार साहित्य बाँचेजस्तो गरी बाँच्ने प्रयासको कलात्मक प्रतिबिम्वि हो । यो कलात्मक अभिव्यक्ति नेपालभाषामा कलम चलाउँदै गरेकाहरूको प्रयासले नै हाम्रो साहित्य बाँचेको छ । नेपालभाषा साहित्यलाई आजसम्म संरक्षण गर्न धेरै धेरै साहित्यकार, समाजसेवी र पुस्तक भण्डार चलाइरहनुभएका महानुभावहरूले योगदान गर्नुभएको छ । नेपालभाषामा पुस्तक प्रकाशन र बिक्री वितरणको अभियोगमा सर्वहरण भएका भाषासेवीहरूको इतिहास भएको हाम्रो भाषा साहित्य कति शक्तिशाली छ ! एकातिर नेपालभाषा साहित्यको सेवा गर्ने छन् भने अर्कोतिर भाषा साहित्यलाई माया गरेर पढ्नेको सङ्ख्या कम हुँदै गएको छ । हामीसँग लेख्ने छन्, प्रकाशक छन् तर पढ्ने छैनन् । पढ्ने नै नभएपछि हाम्रो साहित्यको अस्तित्व के होला ? पाठकले आफ्नो भाषामा लेखिएका साहित्य पढेर रसास्वादन गर्दामात्र भाषा साहित्य उँभो लाग्छ, बाँच्छ । नत्र जतिसुकै जतिसुकै राम्रो साहित्य लेखे पनि, पुस्तक, मासिक, साप्ताहिक पत्रिका प्रकाशन गरे पनि भाषा साहित्य अर्थहीन हुन्छ ।
नेपालभाषाका पाठक कम हुँदै गएको प्रमाण हो–पुस्तक बजार । पुस्तक पसलमा गएर पुस्तक बिक्री वितरणको रेकर्ड हेरे यो कुरा स्पष्ट हुन्छ । २५ वर्षअघि पनि विभिन्न नाममा नेपालभाषामा साप्ताहिक, मासिक र पाक्षिक पत्रिका प्रकाशन भइरहेको इतिहास छ । तर, आजभोलि पुस्तक पसलमा गएर हेर्दा पहिलेदेखि नै प्रकाशन हुँदै आएको व्याँचुली, बोसल, लुनिभा, राजमति, मुस्या, ग्वाहाली, लसता, न्ह्यबुला, हिसिला, नली जस्ता मासिक र पाक्षिक पत्रिका देखिन छोडेको छ । नयाँ नामका निकै कममात्र पत्रपत्रिका प्रकाशन भइरहेका छन् । जति पनि प्रकाशन भइरहेका छन्, प्रकाशकलाई आफ्नो अस्तित्व धान्नै मुस्किल भएको बताउँछन् । भाषा बोल्ने मानिसको सङ्ख्या नै कम भएपछि साहित्यको पाठक घट्नु स्वाभाविक हो । साहित्य प्रकाशन भए पनि पढ्ने कसले ? तथापि भाषा सेवाको लागि अनवरत रुपमा लागिरहनुभएका मित्रहरूप्रति हामी आभारी छौँ ।
अन्तमा, मेरा पिता निरञ्जनगोविन्द वैद्यले आजभन्दा ६५ वर्षअघि २०११ सालमा लेख्नुभएको सानो कविता वाचन गर्न चाहन्छु ।
मातृभाषाको सुकसुकाउँदो स्वर
नरुनु आमा
नलिनु चिन्ता
तिम्रो गुण सबै सम्झेर आज
छोराछोरी सबै आउँदै छन् सामु
एक भएर सेवा गर्न
नरुनु आमा
नलिनु चिन्ता ।
(वैद्य लेखक हुनुहुन्छ ।)
Leave a Reply