भर्खरै :

तःमुंज्या यसकारण तःमुंज्या

तेजेश्वरबाबु ग्वङ्ग
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्य)
तःमुंज्याको मूल नारा नै जनता बाँचे भाषा बाँच्छ भन्ने छ । अघि शिशिर वैद्यजीले यो विषयमा असहमति जनाउनुभयो । अरुले जाति बाँचे भाषा बाँच्छ पनि भनेका छन् । जनता बाँचे भाषा बाँच्छ किन भनेको होला भनी मैले विचार गरेँ । मलाई लाग्यो, जनता नै नबाँचे भाषा कसरी बाँच्छ ? जनता भनेका चेतनशील हुन्छन् । चेतना नभएका जनतालाई जति जे भने पनि के उपलब्धि वा प्राप्ति होला ? त्यस्ता जनताबाट समाजसेवा पनि हुन्न, समाजवाद पनि सम्भव छैन । त्यसैले चेतनशील जनता तयार गर्नुपर्छ । जति चेतनशील जनता तयार हुन्छन्, त्यत्ति नै हाम्रो समृद्धि सम्भव हुन्छ । समाज सशक्त बन्छ । त्यत्ति नै चाँडो समाजवाद स्थापना हुन्छ ।
तःमुंज्या भनेको भाषासम्बन्धी अभिमत हो । तःमुंज्या किन तःमुंज्या भयो ? धेरै मानिस जम्मा हुने भएकोले हो कि वा हरेक वर्ष टोल टोलमा आयोजना हुने भएकोले पो हो कि ? हरेक वर्ष टोल टोलमा यस्तो साहित्य सम्मेलन स्थानीय जनताकै सक्रियतामा आयोजना हुनुले जनताको चेतनास्तर उठाउन मद्दत गर्छ । स्थानीय जनताको कर्मठता, विवेक, बल त्यसमा समाहित हुन्छ । यसले टोल टोलका जनतामा जागरण आउनेछ ।
तःमुंज्या भनेको बहुआयामिक साहित्य सम्मेलन हो । भाषासेवा हो । धेरै प्रकारका आयाम र विधिविधान भएकोले यो साहित्य सम्मेलनलाई तःमुंज्या भनिएको हो । अनेक थरी सिद्धान्त र जीवनमा हामीलाई थाहा नभएका कुरा पनि यसमा सामेल भएकोले पनि यो तःमुंज्या हो । बहुआयामिक पहुँच र आयाम भएकोले तःमुंज्या एउटा चाक्लो मैदानजस्तो हुनाले पनि यसलाई तःमुंज्या भनिएको हुनुपर्छ ।
सबै कुरा सबैलाई थाहा हुने हामी ब्रह्मज्ञानी होइन । हामीसँग सरस्वतीका केही गुण होला, तर हामी सरस्वती नै त होइनौँ । ब्रह्म विवेक, चेतना र चेतनशीलता हामीसँग छ । तर, त्यसलाई अझ उकास्न जरुरी छ । बहुआयामिकता भनेको यहाँ बोल्ने वक्ताहरूले समेट्नुहुने विविध विषय हुन् । यहाँ कानुनबेत्ताहरूले कानुन, संविधान र ऐनबारे व्याख्या गर्नुभयो । ती कुरा हामीलाई थाहा थिएन । तःमुंज्यामा सहभागी भएर हामीले त्यो चेतना हासिल ग¥यौँ । चिकित्सकहरूले पनि हामीलाई धेरै कुरा बताएर जानुभयो । ती सबै बहुआयामिकता हुन् । बृहत् सम्मेलनको बृहतता हो ।
अहिले भर्खर एक जना युवा लेखक ओम धौभारीले डेँगुसम्बन्धी एउटा लेख वाचन गर्नुभयो । म आफू निबन्ध लेख्ने भएकोले मेरो लागि त उहाँको त्यो लेख निबन्ध नै हो । उहाँको त्यो निबन्ध नेपालभाषा क्षेत्रको लागि देन हो । त्यो पनि तःमुंज्याको एउटा आयाम हो । यस्ता धेरै कुरा सिक्न सकिने भएकोले नै तःमुंज्या वास्तवमै तःमुंज्या (बृहत् साहित्य सम्मेलन) हो ।
तःमुंज्याका दर्शक पनि निकै धैर्यशील भएको अरु वक्ताहरूले पनि बोल्नुभयो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदा केदारमान व्यथितले पनि त्यस्तै भन्नुभएको थियो । उहाँले भन्नुभएको सम्झन्छु, “तेजेश्वर भाइ, तपाईंको भक्तपुरमा त गज्जब नै हुनेरहेछ । म त निकै प्रभावित भएँ ।” सँगै उहाँकी श्रीमती ज्योत्सना भाउजू पनि हुनुहुन्थ्यो । मैले सोधेँ, “किन र दाइ ! के भयो ?”
“खचाखच मान्छे सहभागी भएको साहित्य सम्मेलनमा कोही पनि हल्ला नगर्ने, सबै चुपचाप वक्ताका कुरा सुन्ने । त्यस्तो कहीँ पनि देखेको थिइनँ । सबैले महिलाले हाकुपतासी लगाएका, पुरुषले भोटो सुरुवाल लगाएका । साँच्चै नै देखाउन लायक”, उहाँले उत्तिबेला मलाई भन्नुभएको थियो । त्यतिबेला म पनि जवान थिएँ । आजभोलि जस्तो लौरो टेकेर हिँड्नुपर्दैथ्यो ।
तःमुंज्याको बहुआयामिकताको चर्चा हुनुको कारण भनेको यहाँका स्थानीय जनताको सहभागितामा यस्तो सम्मेलन आयोजना हुनुका कारण भएको हो ।
भक्तपुर आज देशभरिका पालिकाहरूको लागि शिक्षण संस्था बनेको छ । देशभरका जनप्रतिनिधि भक्तपुर आएर सिकिरहेका छन् ।
(ग्वङ्ग वरिष्ठ संस्कृतिविद् एवं लेखक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *