ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
संरा अमेरिकी सरकारअन्तर्गत दक्षिण तथा मध्य एसिया व्युरोका सहायक कार्यकारी सचिव एलिस जी. वेल्सले अमेरिकी संसदीय परराष्ट्र मामिला समितिको एसिया तथा प्यासिफिक उपसमितिमा प्रस्तुत प्रतिवेदनमा नेपालबारे उल्लेखित बुझाइले नेपालप्रति संरा अमेरिकी सरकारको दुराग्रह प्रस्ट भएको छ । छिमेकी देशको हुनुको नाताले नेपालमा भारत र चीनको प्रभाव पर्नु स्वाभाविक हो । संसारकै उदयीमान विकासशील देश हुनु र संसारभरका देशसँग पञ्चशीलको आधारमा व्यवहार गर्ने चीनको प्रभाव नेपालमा मात्र होइन, स्वयं संरा अमेरिकामा पनि परिरहेको छ । चीनसँगको व्यापार युद्धको कारण आफ्नो व्यापारमा क्षति पुगेको भन्दै संरा अमेरिकी मजदुर र किसानहरू आफ्नै सरकारदेखि रुष्ट छन् । त्यसकारण संरा अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्यो भन्नु ‘पानी धमिल्याएको निहुँ गरेर पाठोलाई खाने ब्वाँसोको दाउ’ जस्तै हो ।
चीन नेपालको छिमेकी र निकै पुरानो मित्र देश हो । त्यसकारण नेपाली भूमिमा चीनविरुद्ध गतिविधि र चिनियाँ भूमिमा नेपाललाई अहित हुने गतिविधि नगराउन दुवै देश प्रतिबद्ध छन् । तिब्बती पृथकतावादी आन्दोलन चिनियाँ सार्वभौमिकताविरुद्धको गतिविधि हो । चीनको सार्वभौमिकताविरुद्धको गतिविधि आफ्नो भूमिमा गर्न नदिने असल छिमेकी र मित्रप्रति नेपालको दायित्व हो । यसलाई चिनियाँ प्रभाव वा अरू कुनै देशको दुष्प्रभाव भनेर अथ्र्याउनु गलत छ । तिब्बतमा पृथकतावादी उपद्रव गर्ने अपराधीको लागि नेपाल सुरक्षा भूमि बनाउनु मित्रघात गर्नु हो । छिमेकीको घरमा आगो लाग्दा रमिते बनाउनेको घर सुरक्षित रहँदैन ।
नेपालले ‘एक चीन नीति’ स्वीकार्दै आएको छ । एक चीन नीति स्वीकार्नु तिब्बतलाई चीनको अविभाज्य भूभाग मान्नु हो । त्यसकारण चीनको अविभाज्य भूभाग तिब्बतलाई अलग बनाउने पृथकतावादलाई स्वीकार्न सक्दैन । चीनका तिब्बत, सिन्च्याङ, हङकङ र ताइवानमा उपद्रव गरेर चीनलाई कमजोर बनाउने संरा अमेरिका नेतृत्वका पश्चिमा देशहरूको धेरै अघिदेखिको तयारी हो । तिब्बतमा दलाई लामा गुटका पृथकतावादी गतिविधि यही षड्यन्त्रको शिलशिला हो । आफ्नो सार्वभौमिकतामाथि कसैको हमला वा हस्तक्षेप कुनै पनि देशलाई असह्य हुनु स्वाभाविक हो । तसर्थ, तिब्बत, सिन्च्याङ, हङकङ र ताइवानमा पश्चिमा देश पेइचिङलाई असह्य हुनु स्वाभाविक हो । जसरी लाखौँको सङ्ख्यामा दक्षिण अमेरिकी जनता लामबद्ध भएर संरा अमेरिकातिर हानिँदा संरा अमेरिका सरकारलाई असह्य भएको थियो, तिब्बतमा पृथकतावादी गतिविधि चीनलाई असह्य हुनु स्वाभाविक हो । तिब्बतमा उपद्रव फैलाउन पश्चिमा देशहरूले नेपाली भूमिलाई प्रयोग गरिरहेजस्तै चीनले आफ्नो प्रतिरक्षाको लागि नेपाालसँगको सम्बन्ध बलियो बनाउन खोज्नु स्वाभाविक हो । नेपालमा यदि चिनियाँ प्रभाव बढेको छ भने त्यसको मुख्य कारण संरा अमेरिका, पश्चिमा देशहरू र भारतले नेपालको भूराजनीतिक अवस्थितिलाई चीनविरुद्ध प्रयोग गर्ने गतिविधि हो ।
नेपाल धर्मनिरपेक्ष देश हो । संविधानले नेपालीलाई धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । जबरजस्ती धर्म परिवर्तनलाई नेपालका ऐन कानुनले अपराध मानेको छ । तसर्थ त्यसको कार्यान्वयनमा संरा अमेरिकी अनावश्यक चासोले नेपालमा उसले गर्न चाहेको हस्तक्षेप अझ उजागर गरेको छ । धर्मबारे संरा अमेरिकी सरकारी अधिकारीको चासोले वास्तवमै नेपाललाई इसाईकरण गर्न पश्चिमा देश लागेको चर्चालाई सत्य पुष्टि गरेको छ । नेपाल सरकारले संरा अमेरिकी सरकारी अधिकारबाट भएको यस्तो खालको टिप्पणीको कडा शब्दमा खण्डन गर्न जरुरी छ । संरा अमेरिकाले नेपाललाई आफ्नो मौजा ठान्ने गल्ती गर्दा उसकै लागि क्षति हुने छ ।
Leave a Reply