भर्खरै :

न्हुछेरत्न बुद्धाचार्य

भक्तपुर !
चौबीस सय वर्षअघिदेखि यो प्राचीन बस्ती
ख्वप्रिङ्ग नामले प्रसिद्ध थियो,
सबैको आस्थामा थियो, हृदयमा थियो
भक्तपुर नगरको प्रतिस्थापन गर्ने आनन्ददेव थिए ।
श्रमदानको इतिहास सिर्जना गरेर
यो पुण्त्ूमिमा पाँचतले मन्दिर निर्माण गर्ने
मजबूत कलाकृति धार्मिक सम्पदालाई
सम्पूर्ण जगतमा फैलाउने भूपतीन्द्र मल्ल !
रणजित मल्लको कलाकृति प्रेम
कलापूर्ण प्रसिद्ध सुनको ढोकामा झल्किएको
यक्ष मल्लले यो नगरको सुरक्षा गर्न
चारैतिर पर्खालले घेरिएर दूरदर्शिता देखाए
विश्व प्रसिद्ध मयूर झ्यालमा समेटियो
श्रमिक कलाकारहरूको बेजोड कला प्रदर्शन
यो सांस्कृतिक नगरका परीश्रमिकहरूले
लिच्छविकालीन संस्कृतिलाई बचाइराखे
कालोटोपी पहिरन गर्नेहरू कति फुर्तिलो देखिन्छ
‘जुजु धौ’ को स्वाद चाख्नेहरू कति स्वस्थ जीवन बिताउँछन्
विश्वका पर्यटकहरू सम्पदापूर्ण आँगनमा आउँछन्
पचपन्न झ्याल अवलोकन गरेर मोहित हुन्छन् ।
प्रत्येक टल्केका गजुरहरूभित्र
ऐतिहासिक, प्राचीनता झल्किरहन्छ
हरेक गल्लीभित्रको रमणीय चोकहरूमा
लोकगीत, लोकनाथ प्रदर्शन हुन्छ ।
हिजो यहाँ छोपिएको थियो अँध्यारोले
जनसेवकहरूले ल्याएको थिए उज्यालो
यो नवयुगको आकाशमा यो सहर प्रगतिपथमा लम्किरहेको छ
सामाजिक परिवर्तनको जागरणतिर बढिरहेको छ ।
नाचगानको सहर भनेर चिनिन्छ विश्वमा
एक ऐतिहासिक प्राचीन नगर भनेर सबैको मनमा भिजेको छ
नौलो सिर्जना नौलो अभियानको आह्वानले गुञ्जिरहेको बस्ती
श्रमिकहरूको त्याग तपस्या योगदान भएको पवित्रभूमि हो भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *