भर्खरै :

भैरव रिसालको सम्झनाको भकारी

नीरज
भैरव रिसालको जीवनका धेरै प्रवाह छन् । उनी कुनै बेला जनगणनाका गणक थिए । उनी राजनीतिक गतिविधिमा पनि लागे । आलु खेतीको प्रशिक्षक पनि थिए कुनै बेला । तर, उनको जीवनको मूल प्रवाह भने लेखन र पत्रकारिता नै बन्यो । उमेरले ९२ वर्ष पुगिसके । उनको कलम भने अझै अविश्रान्त अघि दौडिरहेको छ । उनको लेखनको गतिले कतिबेला उमेरलाई पनि चुनौती दिइरहेको भान हुन्छ ।
भैरव रिसाल ९२ वर्ष पुगेको दिन एकाबिहानै उनकी नातिनीले उनलाई ‘सरप्राइज’ दिइन् । ‘नागरिक’ दैनिकमा प्रकाशित आफ्नो लेख बोकेर उनकी नातिनीले हजुरबुबालाई जन्म दिनको शुभकामना दिएकी थिइन् । जीवनभर पत्रिकामा लेखेका रिसालको लागि नातिनीको प्रकाशित लेखभन्दा ठूलो जन्म दिनको उपहार के हुनसक्थ्यो र ! वास्तवमै त्यो क्षण भावुकताले भरिएको हुनुपर्छ । त्यही दिन
(२०७६ साउन २९ गते) यलमाया केन्द्रमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको थियो–भैरव रिसालको पुस्तक ‘उहिलेको नेपाल, भोगेको, देखेको र सुनेको ।’
हेर्ने, सुन्ने, भोग्ने, सोच्ने अनि त्यसबाट जन्मिएको चिन्तन लेख्ने ‘लत’ परिसकेका रिसालले पार्किन्सनको कारण २०७२ असोज १९ देखि लेख्न सकेनन् । तर, आत्मविश्वासमा निकै धनी उनले हार खाएनन् । लेख्ने लतबाट विमुख बन्नुपर्दा उनलाई त्यो समय निकै सकसपूर्ण भएको हुनुपर्छ । त्यही सकसले उनलाई सम्भव उपायको खोजी गर्न हौस्यायो । नियमित थेरापी र सघन आत्मविश्वासको बलमा रिसालले पार्किन्सनलाई जिते । ‘झन्डै झन्डै सेलाएका’ उनी २०७५ असोज २८ देखि ‘पलाए’ । त्यसयता उनी लगातार लेखिरहेका छन् । नातिनीले ‘बर्थडे गिफ्ट’ मा दिएको लेखअनुसार रिसाल आजभोलि हप्तामा ६ वटा अखबारको लागि लेख्ने गर्छन् । लेख्न बन्द भएका तीन वर्षको सकसपूर्ण समयको बेगलाई जोड्दै आजभोलि उनी लेखिरहेको भान हुन्छ । त्यही क्रममा ‘हिमाल’ पाक्षिकमा उनले रोचक स्तम्भको आरम्भ गरे । त्यो स्तम्भ निकै पढिने स्तम्भ बन्न धेरै समय लागेन । स्तम्भको नाम–भोगेको, देखेको र सुनेको ।
पार्किन्सनको कारण लेख्न बन्द भएको समयमा पनि रिसाल भन्थे, “मलाई स्वरले भने साथ छोडेको छैन ।” त्यही भएर रेडियो सगरमाथामा उनको नियमित कार्यक्रम त्यत्तिबेला पनि रोकिएन । लामो समय सूचनाको खोजी गरी जनतालाई सुसूचित बनाउने काममा लागेका रिसालसँग सूचनाको ठूलो भकारी छ । त्यही भकारीबाट झिक्दै उनी फोनबाटै रेडियोमा बोल्थे, फेरि ‘पलाए’ पछि उनले त्यही भकारीबाट धान सार्दै जनतासम्म पु¥याउने माध्यम बन्यो, ‘भोगेको, देखेको र सुनेको ।’ तिनै प्रकाशित लघु लेखहरूको सङ्कलन गरी प्रकाशित पुस्तक नै ‘उहिलेको नेपाल, भोगेको, देखेको र सुनेको’ हो ।
पुस्तकमा शीर्षकअनुसार नै रिसालले कति आफूले भोगेका, कति आफूले देखेका र कति आफूले सुनेका घटना र प्रसङ्ग लेखेका छन् । नियमित स्तम्भको शाब्दिक परिधिभित्र रहेर लेखिएका छोटा छोटा लघु लेखहरू पढ्दा पाठकले भने इतिहासको गहिराइ नापिरहेको अनुभव गर्छन् । इतिहास पढ्दा नाम, तिथिमिति र अन्य भाषागत तौलका कारण सामान्य पाठक इतिहासको दैलो पस्न नपाउँदै बाहिरिन हतारिन्छन्, भागिहाल्छन् । तर, रिसालको पुस्तकमा ऐतिहासिक प्रसङ्गलाई इतिहास लेखनका भारीबाट मुक्त बनाई रोचक पाराले प्रस्तुत गरिएको छ । उनले राणाकालीन शासक र समाजको विषयमा लेखेका लेखमा समावेश कतिपय कुरा इतिहासमा पढ्न नपाइने खालका छन् । कति त्यस्ता प्रसङ्ग इतिहासकारहरूले व्यवस्थित अध्ययन गर्न उपयुक्त हुन्छ ।
रिसाल स्वयम्ले देखेका र भोगेका प्रसङ्गबारे लेखेका लेखहरू तत्कालीन नेपाली समाजका तस्वीर हुन् । आजभन्दा कम्तीमा ८ दसकयताको नेपाली समाज कस्तो थियो भन्ने कुरा बुझ्न ती लेखहरू उपयुक्त छन् । त्यत्तिबेलाका धेरै प्रसङ्ग आज सुन्दा कथा जस्ता लाग्छन् । आज हामी गणतान्त्रिक व्यवस्थामा छौँ । कुनै बेला नेपाली जनता राजाले टेकेको माटोको टीका लगाउँथे भन्ने कुरा सुन्दा कथाजस्तो लाग्नु स्वाभाविक हो । नेपाली समाजको रूपान्तरणको गति बुझ्न ती ऐतिहासिक प्रसङ्ग सुन्दर छन् ।
नेपालको इतिहास लेखनमा अझै पनि ‘जित्नेको घोडा’ चरित्र ओइलाइसकेको छैन । अझै इतिहास पढ्नु शासकको चर्चा पढ्नु जस्तै छ । तर, इतिहास शासकको परिचर्चामात्र पक्कै होइन । कुन शासकले शासन गर्दा जनता के गर्थे, के सोच्थे, के खान्थे भन्ने पाटो इतिहास लेखनले सामान्यतः छुटाइरहेका पक्ष हुन् । रिसालले आफ्ना लघु संस्मरणहरूमा इतिहासकारले छुटाएका त्यस्ता पक्षलाई आफ्नो सम्झनाको भकारीभित्रबाट निकालेका छन् । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल कसरी खसी व्यापारीको भेषमा उपत्यकाबाट सुरक्षित रूपमा बाहिरिए, दरबारबाट आएको गोप्य चिठीले एक जना कर्मचारीले भोग्नुपरेको समस्या र चलाखीपूर्वक उनले गरेको समाधान, वीरेन्द्र एउटा भोजमा पछारिन लाग्दा कर्मचारीको हालतजस्ता प्रसङ्ग सामान्यतः इतिहासका ठेलीमा पढ्न पाइँदैन ।
पञ्चायती व्यवस्थाको जवानी चढ्दै गर्दा रिसाल पत्रकारिता गर्थे । थोरै तलमाथि भए चोट लागिहाल्ने समयमा उनी पत्रकारिताजस्तो जोखिमको काम गर्थे । नभन्दै उनले पञ्चायतमै केही समय जेलको छिंडीको चिसो भोग्नुप¥यो । तर, पत्रकारितासँग केही शक्ति पनि हुने गर्छ । त्यही शक्तिले उनी तत्कालीन शासक र प्रशासकका नजिक पुग्न सके । शासक र प्रशासकका विशेषता र कमजोरी पनि उनले नाप्न भ्याए । आफूले भोगेका तिनै पक्ष रिसालले आफ्नो भाषागत शिल्पमा रोचक पाराले लेखेका छन् । ५७ वटा संस्मरणात्मक लेख समावेश पुस्तकमा हुम्लामा उज्यालो, जेलमा इनार खन्ने, बागमती सफाइ, रिसाल दम्पत्तीको शवदान आदि आफैँले थालेका अभियानको चर्चाले रिसाल लेखेर अरुको उछितो काद्नेमात्र गर्दैनन्, बरु समाज रूपान्तरणका स्वयम् सक्रिय अभियन्ता हुन् भन्ने बुझिन्छ ।
लेखकको रोचक लेखनशैली र प्रसङ्गको रोचकताको कारण पुस्तक पढ्दा पाठकलाई कुनै बोझिलो विषय पढिरहेको महसुस हुँदैन । कसैको प्रतिक्षा गर्दा, यात्रा गर्दा वा छोटो अवधिको फुर्सदमा छिचोल्न सकिने यो पुस्तक नेपाली पाठकलाई भैरव रिसालको ‘पलाएको जीवन’ मा आफ्नो जन्मको अवसर पारेर दिएको उपहार हो । रिसालको सम्झनाको भकारीमा अझै पनि सम्झनाका गेडा कति छन्, कति । ती सबै सम्झनाका गेडा आजको नेपाली समाजको लागि अमूल्य छन् । रिसालले अझै आफ्नो उमेरले छुन नसकेको लेखनीबाट अरु पनि यस्ता सम्झनाका दानाहरू उनेर नेपाली समाजलाई माला पहि¥याइरहने आशा गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *