भर्खरै :

बोलिभियामा मोरालेसको विजय

दक्षिण अमेरिकी देश बोलिभियामा समाजवादी नेता इभो मोरालेस राष्ट्रपति पदमा पुनः निर्वाचित भएका छन् । निर्वाचनमा खसेको मतको ४० प्रतिशतभन्दा बढी मत र प्रमुख प्रतिस्पर्धीसँग न्यूनतम १० प्रतिशतको मतान्तर भएपछि अगाडिको उम्मेदवार विजयी हुने बोलिभियाली कानुनी व्यवस्था छ । करिब ९९ प्रतिशत मतगणना सकिँदा मोरालेसले कुल खसेको मतको ४७.१ प्रतिशत मत हासिल गरेका छन् भने विपक्ष दलका नेता कार्लोस मेसाले ३६.५ प्रतिशत मत हासिल गरेका छन् । मोरालेस सन् २००६ देखि लगातार बोलिभियाका राष्ट्रपति छन् । यो पटकको बोलिभियाको निर्वाचनले संसारले नजिकबाट नियालिरहेको थियो । कुनै समय ल्याटिन अमेरिकाका धेरै देशमा फैलिसकेका वामपन्थी र साम्राज्यवादविरोधी शक्तिहरूले एकपछि अर्को देशमा अमेरिकी साम्राज्यवाद र क्षेत्रीय दक्षिणपन्थीहरूको हमला सामना गरिरहेका छन् । यस्तो परिस्थितिमा बोलिभियाको निर्वाचनमा समाजवादी नेता मोरालेस विजयी हुनुलाई साम्राज्यवादको हार र समाजवादी आन्दोलनको अपराजयता पुष्टि गरेको छ ।
संरा अमेरिकाले आफ्नो ‘आँगन’ ठानेको ल्याटिन अमेरिकामा एकपछि अर्को देशमा उदाएको वामपन्थी सरकार वाशिङ्टन र स्थानीय प्रतिक्रियावादी शक्तिलाई असह्य भइरहेको छ । युरोप र संरा अमेरिकाको आजको समृद्धि धेरै अंशमा ल्याटिन अमेरिकामाथिको शोषणको परिणाम हो । ल्याटिन अमेरिकामाथिको आफ्नो दबदबा संरा अमेरिका अझ बलियो बनाउन चाहन्छ । ल्याटिन अमेरिकी देशमा नवउदारवादी आर्थिक व्यवस्था लादेर वाशिङ्टन आफ्नो नियन्त्रणलाई निरन्तरता दिन खोजिरहेको छ । तर, साम्राज्यवादविरूद्ध संसारभर फैलिएको जनचेतनाको आगो ल्याटिन अमेरिकी जनतामाझ बलिरहेको छ । फलतः दक्षिण अमेरिकी देशहरूमा साम्राज्यवादविरोधी जनलहरले समाजवादी नेतृत्वको विकास ग¥यो । क्युवा, निकारागुआ, भेनेजुयला, ब्राजिल, बोलिभिया, चिलीलगायतका देशमा समाजवादी सरकार स्थापना भए । तर, युगको प्रवाहलाई रोक्न खोज्दै संरा अमेरिकाले ल्याटिन अमेरिकाका प्रतिक्रियावादी वर्गलाई उक्साएर सके समाजवादी व्यवस्थालाई ध्वस्त गर्ने, नसके समाजवादी नेतृत्वलाई भौतिक र राजनीतिकरूपमा सिध्याउने हमला गरिरहेको छ ।
चिलीमा सन् १९७३ मा भएको सीआईए निर्देशित सैनिक विद्रोहदेखि भेनेजुयलामा सन् २०१९ मा भएको उपद्रव यसैको सिलसिला हो । क्युवामाथि ६ दसक लामो नाकाबन्दीदेखि ब्राजिलका वामपन्थी नेताहरूमाथिको हमला पनि साम्राज्यवादी हमलाकै सिलसिला हुन् । वाशिङ्टन केही देशमा आफ्नो लक्ष्य हासिल गर्न सफल भए पनि ल्याटिन अमेरिकामा उसले एकपछि अर्को पराजय भोगिरहेको छ । क्युवाको बे अफ पिगमा भोगेको पराजयदेखि भेनेजुयलामा पछिल्लो समय भोगेको पराजय, निकारागुआमा कोन्ट्रा विद्रोहीको पराजयदेखि हाइटीका जनताको विशाल लस्कर संरा अमेरिकी साम्राज्यवादविरोधी जनभावनाका उदाहरण हुन् । बोलिभियालाई अर्को भेनेजुयला बनाउन स्थानीय विपक्षी र संरा अमेरिकाले प्रयास गरेको थियो । सके मोरालेसलाई निर्वाचनमा पराजित गरे, नसके भेनेजुयलामा जस्तै प्रायोजित उपद्रव गर्ने योजनाबारे भेनेजुयाली नेता माडुरोले सार्वजनिक सङ्केत व्यक्त गरे । निर्वाचनमा मोरालेसको विजय उनीहरूको योजनामाथि बोलिभियाली जनताले दिएको पहिलो झापड हो । अब प्रतिक्रियावादीहरू रङ्गीन आन्दोलनको सहारा लिएर मोरालेसको समाजवादी सरकारमाथि हमला गर्नसक्छन् । तर, साम्राज्यवादी अत्याचारबाट आजित बनिसकेका अमेरिकी जनताले भेनेजुयला, क्युवा र निकारागुवामा जस्तै साम्राज्यवादलाई धुलो चटाउन एकजुट हुनेछन् । त्यसैमा बोलिभियाली जनताको समाजवादी भविष्य आधारित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *