भर्खरै :

समाजमा विद्यमान केही भ्रम एक समालोचनात्मक विश्लेषण – २

सञ्जय खड्का
ज्योतिषशास्त्रका व्याख्या अस्पष्ट (vague) र साधारण हुने गर्छन् । सामान्यतः ज्योतिषशास्त्रमा गरिएका व्याख्या निम्नलिखित प्रकृतिका हुने गर्छन् ।
१. साधारण किसिमको चरित्र बताइन्छ जुन प्रायः धेरै मानिससँग मिल्न जान्छ ।
जस्तो ः तपाईं परिवारप्रेमी वा परिवारकेन्द्रित हुनुहुन्छ ।
तपाईं आफ्नो आर्थिक अवस्थाबारे सचेत रहनुहुन्छ ।
तपार्इं सानो हुँदा चोट पटक लागेको थियो ।
२. दुई अर्थ राख्ने व्याख्या जुन सधैँ सही हुन्छ । किनभने ती व्याख्याले सबै किसिमका सम्भावनाहरू बोकेका हुन्छन् ।
जस्तो ः तपाईँ निर्णायक बन्न चाहनुहुन्छ तर कहिलेकाहीँ आफूलाई निर्णय लिन मुस्किल भएको पाउनुहुन्छ ।
पैसा कमाउनुहुन्छ तर खर्च हुन्छ ।
३. सधैँ सबैलाई मिल्नेखाले सुझाव ।
जस्तो ः फल प्राप्त गर्नका लागि अलिक मिहेनत गर्नुपर्ने देखिन्छ ।
सकारात्मक सोच राख्नु, जीवन साकरात्मक नै हुन्छ ।
४. अस्पष्ट (vague) किसिमका अभिव्यक्ति जसलाई धेरै तरिकाले व्याख्या तथा विश्लेषण गर्न सकिन्छ ।
जस्तो ः तपाईँले सोचे जति भइराखेको छैन ।
५. ग्राहकले ग्रहण तथा श्रावण गर्न इच्छाएको कुराको व्याख्या ।
जस्तो ः अहिलेको समयमा ग्रहदशाले गा¥हो पारे पनि पछि विस्तारै काम बन्दै जानेछ ।
पछिको जीवनमा नाम र दाम दुवै प्राप्तिको योग रहेको छ ।
२.४ ज्योतिषीलाई हार्दिक आह्वान
२.४.१ भविष्यवाणी गर्नुहोस्, करोडौँ जित्नुहोस्
भूत, वर्तमान र भविष्य बताउन सक्ने दाबा गर्ने ज्योतिषीहरूलाई हार्दिक निमन्त्रणा गर्दछु । यो खुला प्रतिस्पर्धामा कुनै पनि व्यक्ति सहभागी हुनसक्छन् र सही भविष्यवाणी गरेर करोडौँ जित्न सक्नेछन् । (कुनै पनि चमत्कार वा दैवी÷ईश्वरीय शक्तिद्वारा भविष्यवाणी गर्ने जस्ता अलौकिक कार्य यो संसारमा सम्भव छैन भन्ने युक्तिवादीहरूको तर्क छ ! तसर्थ त्यस्ता कार्य गर्नेलाई विश्वभरि धेरै युक्तिवादीहरूले आह्वान गरी पुरस्कार राशी राखेका उदाहरण धेरै छन् । जस्तो ः प्रा.डा. नरेन्द्र नायकले भारु दस लाख नगद राखेका छन्, जेम्स ¥यान्डिले एक लाख अमेरिकन डलर राखेका छन्, आइएचईयूका साथै धेरै व्यक्ति तथा संस्थाले आकर्षक पुरस्कार राशी राखेका छन् । सोच नेपालले नेपालका विलक्षण बाबा तथा ज्योतिषीहरूको चमत्कारिक कार्य र उक्त पुरस्कार राशीबीचको पुलको काम गर्नेछ । संस्थाको सर्तअनुरूप कार्यविधि अगाडि बढाइने जानकारी गराइन्छ । इच्छुक व्यक्तिले सोच नेपालमा सम्पर्क गर्नसक्नुहुनेछ ।
भविष्यवाणी गर्नुपर्ने
हामी बीसजना बालबालिकाको सही जन्म समय (ठीक मिनेटसहितको) र जन्म स्थान (latitude / longitude सहितको) उपलब्ध गराउने छौँ । ज्योतिषशास्त्रीहरूले उनीहरूको कुण्डली बनाएर उनीहरू पुरुष वा महिला हुन् र मृत हुन् वा जीवित छन् मात्र भन्नुपर्ने छ ।
२.४.२ निर्वाचन परिणाम भविष्यवाणी गर्नुहोस्, करोडौं जित्नुहोस
हामी ईश्वरीय शक्ति प्राप्त त्रिकालदर्शी तथा अद्भूत क्षमतावान ज्योतिषीहरूलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौँ कि अब हुने आम निर्वाचनको नतिजाबारे सही भविष्यवाणी गरेर करोडौँ लैजानुहोस् । कुनै पनि असमझदारी नहोस् भन्नका लागि पालना गर्नुपर्ने शर्तहरू
(अनुसूचि–१ मा) हेर्नुहुन अनुरोध गरिन्छ ।
भविष्यवाणी गरिनुपर्ने सवालहरू
१. अबको आम निर्वाचनपछि नेपालको प्रधानमन्त्री को बन्लान् ?
२. आम निर्वाचनपछि कृषि मन्त्री, शिक्षा मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री, स्थानीय मन्त्री र युवा तथा खेलकुद मन्त्री को बन्लान् ?
३. कुन–कुन दलको सत्तारुढ गठबन्धन बन्ला ?
४. सबैभन्दा बढी र कम मत प्र्रतिशत ल्याएर विजय हासिल गर्ने उम्मेदवार को हुनेछन् ?
५. निम्नलिखित दलले प्राप्त गर्ने जम्मा सिट सङ्ख्या (प्रत्यक्ष र समानुपातिकको योगफल) कति होला ?
– नेपाली काङ्ग्रेस
– नेकपा एमाले
– नेकपा एमाओवादी
– राप्रपा नेपाल
– राप्रपा
– नेकपा माले
– राष्ट्रिय जनमोर्चा
– मधेसी अधिकार फोरम (लोकतान्त्रिक)
३. के राशीफल वैज्ञानिक छ ?
राशीफल ज्योतिषशास्त्रीय नक्सा हो जसमा १२ वटा राशी– मेष(Aries), वृष (Taurus), मिथुन (Gemini), कर्कट (Cancer), सिंह (Leo), कन्या (Virgo), तुला (Libra), वृश्चिक (Scorpio), धनु (sagittarius), मकर (Capricorn), कुम्भ (Aquarius) र मीन (Pisces) रहेका हुन्छन् । जन्म समयको आधारमा राशी छुट्याइन्छ । राशीफलको माध्यमबाट हामीले हरेक दिनको भविष्यवाणी थाहा पाउन सकिन्छ भन्ने विश्वास गरिन्छ । हाम्रो दिनचर्याको साथै यसले हाम्रो प्रकृति, प्रवृत्ति र हामी भित्र रहेको विशेष गुण र प्रतिभाबारे पनि बताउन सक्छ भन्ने बुझाइ रहेको पाइन्छ । व्यक्तिको मात्र नभई देशको पनि वर्षभरिको भविष्यवाणी गरिएको पाउन सकिन्छ । हाम्रो देश नेपालको वृश्चिक राशी मानिएको छ र पात्रोमा २०७२ सालभरिको भविष्यवाणी गरिएको पाइन्छ । विश्वभरि नै धेरै मानिसहरूले राशीफलमा विश्वास गरेको पाइन्छ । युवा होस् या वृद्धा, शिक्षित होस् या अशिक्षित जो कोही पनि राशीफल हेर्नका लागि पत्रिका पल्टाउन पुगेकै हुन्छन् । टीभी हेर्न पुगेकै हुन्छन् । अहिले प्रायः सबैजसो आफ्नो दिनचर्या कि राशीफल पढेर, कि हेरेर कि त सुनेर सुरु गर्ने गरेको पाइन्छ । राशीफल राम्रो हुँदा खुसी र केही नराम्रो जस्तो हुँदा अनुहार खुम्च्याएका भेटिन्छन् । कहिले काहीँ त हिजोको प्रकाशित राशीफललाई पनि आजको हो भनी पढेर चित्त बुझाउने गरेका मानिसहरू पनि भेटिन्छन् । आखिर यति धेरै मानिसले किन विश्वास गर्छन् यो राशीफलमा ? के यो वैज्ञानिक हो ? के यसमा दाबा गरिए जस्तो सत्यता छ ? के साँच्चै ग्रह, तारामार्फत हाम्रो भविष्य थाहा पाउन सकिन्छ ? हाम्रो प्रकृति र प्रतिभा पत्ता लगाउन सकिन्छ ? यी प्रश्नहरू अत्याधिकरूपमा बहसमा आएका र बहस गरिनु पर्ने महत्वपूर्ण प्रश्नहरू हुन् । यसै सन्दर्भमा यहाँ राशीफलको औचित्यमाथि केही समालोचनात्मक प्रश्नहरु उठाउने प्रयत्न गरिएको छ ।
३.१ केही समालोचनात्मक प्रश्न
– जब कुनै व्यक्ति राशीफल पढिरहेका हुन्छन् तब ऊ लगभग विश्व जनसङ्ख्याको १–१२ औँ भागसँग उही राशी बाँडिरहेका (Share) हुन्छन् । के यो आश्चर्यजनक छैन कि लगभग विश्व जनसङ्ख्याको १–१२ औँ जनसङ्ख्या उही राशी शेयर गरिरहेका हुन्छन् । उही भाग्य र ग्रहदशा लिएर बाँचिरहेका हुन्छन् ।
– राशीफल मान्छेको मात्र हुन्छ कि पशुपन्छीको पनि हुन्छ ? यदि हुने हो भने तिनीहरूको पनि यही राशी हुन्छ कि अर्कै हुन्छ । यही नै हो भने के मान्छे र पशुपन्छीको राशीफल पनि एउटै हुन्छ ? यसो हो भने त अरबौँ जीवको एउटै राशी हुने रैछ जुन सुन्दा आश्चर्य तर हास्यास्पद सुनिन्छ । यदि मानिसबाहेक अरू जीवको राशी हुँदैन भने किन हुँदैन ? के ग्रह दशाको प्रभाव मानिसमा मात्र पर्ने हो ?
– भनिन्छ, देशको पनि राशी हुन्छ । हाम्रो देश नेपालको वृश्चिक राशी मानिन्छ । राशी तथा कुण्डलीका लागि त जन्म तथा उत्पत्ति मिति चाहिन्छ । त्यसो हो भने नेपालको जन्म कुन काल खण्डलाई मान्ने हो ? २००७ सालको प्रजातान्त्रिक कालखण्डलाई ? कि पृथ्वीनारायण शाहले एकीकरण गरेको समयलाई ? कि गोपालवंशी तथा किरातवंशी काललाई ? कि त्योभन्दा पनि अगाडिको कालखण्डलाई ? अर्को कुरा– देशको राशी हुन्छ भने के सङ्घीय राज्यको पनि राशी हुन्छ ? के जिल्ला, नगर तथा गाविसको पनि राशी हुन्छ ?
– वैदिक राशीफल पाश्चात्त्न्दा फरक छ र पाश्चात्य चिनियाँ राशीफल हेर्ने विधिभन्दा फरक छ । यी सबैमा विविधता छ, भिन्न प्रक्रिया छ, भिन्न विधि छ । प्रश्न उठ्छ–यीमध्ये कुन चाहिँ राशीफल सही हो ?
– वैदिक राशीफलअनुुसार यो आलेखका लेखकको मिथुन राशी हो तर पाश्चात्य विधिअनुसार मिन राशी (उष्कअभक) हुन आउँछ । वास्तविक राशी कुन होला ?
– यदि राशीफल सही हो भने यसले स्पष्ट (accurate) कुरा किन दिनसक्दैन ?
– यदि राशीफल सही हो भने के खगोलशास्त्र गलत हो त ?
– राशीफल विश्वास गर्नुभयो भने मिल्छ, गर्नुभएन भने मिल्दैन भन्ने तर्क पनि सुनिन्छ । यदि विश्वास गर्दा मिल्ने र नगर्दा नमिल्ने हो भने के राशीफल ग्रहको प्रभाव नभएर मनोवैज्ञानिक प्रभावमात्र हो ?
– समूहमा रहेका ताराहरू (The stars in a constellation) हामी भन्दा धेरै प्रकाश वर्ष टाढा छन् । अहिले देखिएका कतिपय ताराहरू सायद ब्ल्याक होल (black hole) मा परिणत भइसकेका पनि हुनसक्छन् । हामीले चित्रणन गरेका कतिपय राशीहरू ब्ल्याक होल (black hole) मा परिणत भइसकेका त छैनन् ?
– सन् १९७९ मा फ्रान्सेली तथ्याङ्ककार माइकल गग्लिन (Michel Gauquelin) ले एउटा सर्वेक्षण गरेका थिए जसको निष्कर्ष धेरै रोचक छ । राशीफलको सही परिणाम (accuracy) मापन गर्नका लागि उनले १५० जना व्यक्तिलाई उनीहरूको आफ्नो राशीफल पढ्नका लागि दिएका थिए । ९४ प्रतिशतले उनीहरूलाई दिइएको राशीफलले उनीहरूको चरित्र सही व्याख्या गरेको बताएका थिए । तर, रोचक प्रसङ्ग के छ भने उनीहरू सबैलाई एउटै राशीफल दिइएको थियो । के यो सर्वेक्षणले राशीफल वस्तुगतभन्दा पनि मनोगतमात्र भएको बुझाउँदैन ?
– बह्माण्ड तथा आकाशीय पिण्डहरू निरन्तररूपमा चलायमान भएकाले ग्रह, ताराका स्थान पनि परिवर्तन भइरहेका हुन्छन् । प्राचीनकालमा चित्रित गरिएका ग्रह–ताराको स्थान र हालको ग्रह–ताराको स्थान फरक भइसकेको अवस्थामा वैदिक सिद्धान्त वैध (Valid) होला र ?
– पत्रिकामा छापिने राशीफल अवलोकन गर्दा केही प्रश्नहरू उब्जन्छन् ।
१. पत्रिकामा किन एउटै राशीको पनि फरक–फरक राशीफल हुन्छ ? राशीफल तथ्यगत हो भने किन व्यक्ति (ज्योतिषी) पिच्छे फरक–फरक हुन्छ ? कि राशीफल मनगढन्तेमात्र हो ?
२. राशीफल किन यति धेरै अस्पष्ट (vague) हुन्छ जुन जो सुकैको जीवनमा पनि मिल्न जान्छ । जस्तो ः
– यात्राको योग छ ।
– स्वास्थ्यको ख्याल राख्नुपर्ने छ ।
– खर्च हुन्छ ।
– मित्रसँग भेट हुने योग छ ।
– मिष्ठान्न भोजनको योग छ ।
राशीफलको कुनै आधार देखिँदैन । यो तर्कहीन र आधारहीन छ । अहिलेसम्म गरिएका कुनै पनि अध्ययन अनुसन्धानले राशीफलको औचित्यलाई समर्थन वा स्वीकार गरेको पाइँदैन । राशीफललाई वैज्ञानिक भनेर जति दाबा गरिए पनि राशीफल भविष्यवाणी गर्ने विधिमा विज्ञानको अभाव देखिन्छ । माइकलको सर्वेक्षणको निष्कर्षजस्तै राशीफल मनोवैज्ञानिक प्रभावमात्र हो । यसको कुनै वैज्ञानिक वा वस्तुगत आधार भेटिदैन ।
४. जादुविरुद्ध चमत्कार
जो आफूले दाबा गरेको चमत्कारको जाँच गर्न दिँदैन, ऊ धोखेबाज हो । जो व्यक्तिसँग दाबा गरिएको चमत्कारविरुद्ध जाँच गर्ने हिम्मत हुँदैन ऊ सिधा हो । र जो व्यक्ति विनाप्रमाण केहीमा विश्वास गर्छ ऊ मूर्ख हो ।
जादु र चमत्कार हामी सबैले सुन्दै आएको साधारण तर भिन्न शब्द हुन् । तर, हामीले यी दुई शब्दलाई एउटै डालोमा राखेर बुझ्ने गरेका छौँ । त्यसैले हामीले यी दुई शब्दबीचको भेद छुट्याउन सकेका छैनौँ । फलस्वरूप हाम्रो समाजमा धेरै मानिसहरू ढोंगी बाबाका कथित चमत्कारमा फसिरहेका छन्, सिकार भइरहेका छन् । जादु एउटा ट्रिक हो, कला हो, कौशल हो, चलाखी हो । तर, चमत्कार अलौकिक घटना हो जुन यो लौकिक जगतमा सम्भव छैन । यो तथ्य नबुझ्नाले नै हामी अन्धविश्वासी भई चमत्कारमा विश्वास गछौँ । हाम्रो यही कमजोरीलाई समातेर ढोँगी बाबाहरू चमत्कारको नाममा सुधा व्यक्तिहरूलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरिरहेका छन् । अतः पङ्क्तिकारले यहाँ जादु र चमत्कारबीचको भेद छुट्याउने प्रयत्न गरेका छन् ।
– सामान्यतया जादु भन्नाले कला र विज्ञानको आड्मा आफूले चाहेको परिवर्तन ल्याउन सकिने एउटा कौशल (trick) हो जहाँ कार्यको कारक तत्व अभ्यास तथा अनुभवमा आधारित हातको सफाइलाई मानिन्छ ।
चमत्कार पनि एक किसिमको आश्चर्यजनक विलक्षण किसिमको जादु हो तर यहाँ कार्यको कारक तत्व अलौकिक शक्तिलाई मानिन्छ ।
– जादु मानिसले गर्नसक्ने कार्य हो । जादु अहिले एउटा प्राविधिक तथा पेशागत विधाको रूपमा विकसित भएको छ । यो क्षेत्रमा लागेका पेशेवर जादुगरहरू धेरै देख्न सकिन्छ ।
तर, चमत्कार कुनै साधारण मानिसको काम होइन । चमत्कार या त ईश्वर या ईश्वरीय शक्ति प्राप्त व्यक्तिको कार्य हो ।
– हरेक जादुको पछाडि लुकेको कारण थाहा पाउन सकिन्छ, व्याख्या गर्न सकिन्छ ।
तर, चमत्कार कुनै अलौकिक शक्तिद्वारा घटित भएकोले यसको कुनै कारण हुँदैन । यो अकारण घटित हुन्छ । यसको कुनै व्याख्या हुँदैन ।
– जादुको लागि केही आधार चाहिन्छ । आधारकै जगमा जादुगरले परिवर्तन वा नयाँ रूप देखाउँछन् ।
तर, चमत्कारको लागि कुनै केही आधार चाहिँदैन । शून्यबाट केही बनाउनु वा निकाल्नु नै चमत्कार हो ।
– जादु व्यक्तिको कला र सीपमा निर्भर हुन्छ ।
तर, चमत्कार अदृश्य ईश्वरीय शक्तिमा निर्भर हुन्छ ।
– जादु सांसारिक भएकोले यसको क्षमता साँघुरो हुन्छ अर्थात् जादुको सीमा
(limitation) हुन्छ ।
तर, चमत्कार दैविक तथा अलौकिक भएकोले क्षमता ठूलो तथा अपरम्पार हुन्छ अर्थात् चमत्कारको कुनै सीमा (linmitation) हुँदैन ।
– जादु देखाउने जादुगरहरूले दर्शकको आँखा छली मनोरञ्जन प्रदान गर्ने काम गर्दछन् ।
तर, चमत्कार गर्ने बाबाहरू चमत्कारको नाममा जादु देखाउँछन् र त्यसैलाई चमत्कार भनी मन–मष्तिष्कमा भ्रमको बीउ बिजारोपण गरी समाजमा अन्धविश्वास फैलाउने काम गरिरहेका हुन्छन् । अतः जादुगरहरू सीपको आड्मा कमाइरहेका हुन्छन् भने बाबाहरू कथित चमत्कारको नाममा छल र कपटको आड्मा लुटिरहेका हुन्छन् ।
जादुमा देखाइएका सबै ट्रिक हुन् । किनभने जादु यथार्थमा सत्य हुँदैन, त्यो भ्रममात्र हो । जादुगरले जे सृजना गर्छन् त्यो भ्रम हो र दर्शकले जे अनुभव गर्छन्, त्यो जादु हो । जादु पछाडिको रहस्य थाहा नपाउञ्जेलका लागि मात्र जादु जादु हुन्छ, रहस्योद्घाटन भएपछि जादु जादु रहँदैन । तर, चमत्कार (यथार्थमा भनेजस्तो हुने हो भने) मा कुनै भ्रम हुँदैन जादुमा जस्तो कुनै ट्रिक हुँदैन र यो यथार्थ हुन्छ । किनभने यसको पछाडि दैविक तथा अलौकिक शक्तिको हात हुन्छ । तर, विज्ञानवादी तथा मानववादीहरू चमत्कारमा विश्वास गर्दैनन् । मानववादी अवधारणाअनुसार चमत्कारको अस्तित्व कहीँ पनि छैन । चमत्कारको अस्तित्व न हिजो थियो, न आज छ र न भोलि हुनेछ । चमत्कारमा विश्वास गर्नु भ्रम पाल्नु हो, अन्धविश्वासमा अल्मलिनु हो । नेपाली र भारतीय समाजमा चमत्कार गर्नसक्ने दैविक शक्ति प्राप्त भएको दाबा गर्ने धेरै बाबा र माताहरू भेटिन्छन् । तर, आफूलाई भगवान् वा ईश्वरीय शक्ति प्राप्त चमत्कारिक व्यक्ति दाबा गर्ने ती सबै फलित, झूठा र ढोँगी बाबा हुन् । उनीहरूले सर्वसाधारण मानिसहरूलाई भ्रम फैलाएर आर्थिक फाइदा लिइरहेका छन्, गरिब जनतालाई लुटिरहेका छन् । वास्तवमा उनीहरूले दाबा गरेको चमत्कार कुनै चमत्कार (दैवी शक्तिमा आधारित कार्य) नभएर एउटा साधारण जादुमात्र हो जुन कुनै पनि जादुगरले गर्नसक्छन् र अभ्यास गर्ने हो भने सर्वसाधारणले पनि गर्नसक्छन् ।
आफूसँग चमत्कारिक शक्ति भएको दाबा गर्ने र आफूले आफूलाई भगवान् स्वघोषित गर्ने बाबाहरूको पङ्क्तिमा साई बाबाको नाम सबैभन्दा अग्रपङ्क्तिमा आउँछ , भारत र नेपालमा साई बाबामा लाखौँ भक्त छन्, जो साई बाबाको कथित चमत्कारका पछि नतमस्तक हुन्छन् । के यो भौतिक जगतमा चमत्कार सम्भव छ ? के यो संसारमा कुनै किसिमको अलौकिक शक्तिको अस्तित्व सम्भव छ ? के कुनै दैवी शक्तिका कारण शून्यबाट इच्छा गरिएको वस्तु उत्पन्न गर्न सम्भव छ ? यसको सरल उत्तर छ– सकिँदैन । तर, हामीले आफूले आफूलाई यस्ता प्रश्न नगरेकोले आफ्नो विवेक प्रयोग गरेर नसोचेकोले हामी यस्ता अन्धविश्वासमा दिनोदिन फस्दै गएका छौँ । साई बाबाको भ्रमित चमत्कारको पर्दाफास गर्न धेरै युक्तिवादी (rationalists) हरूले साई बाबालाई प्रतिस्पर्धामा उत्रन चुनौती दिएका थिए । (डा. अब्रहम टी. कोभूर, प्राध्यापक नरेन्द्र नायकलगायतका धेरै युक्तिवादी (rationalists) हरूले तत्कालिन साई बाबा, पूज्य दादाजी, गुरु महाराजजी, चिनमायानन्द, स्वामी रामा, स्वामी हरदास जी आदि जस्ता प्रचलित बाबाहरूलाई चमत्कारिक प्रतिस्पर्धामा आउन निमन्त्रणा दिएका थिए ।) तर, अफसोच कथित भगवान् साई बाबाले कुनै पनि साधारण मानवको चुनौती पनि स्वीकार गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *