भर्खरै :

इतिहास लेखन र अनुवादको सन्दर्भमा

बुद्धवचन अनुवाद समितिले दुई वर्षअघि थालेको प्रज्ञा पारमिताको अनुवादअन्तर्गत अष्टसहस्रिका प्रज्ञा पारमिताको भोटभाषाबाट नेपालीमा अनुवाद भएको छ । बौद्ध साहित्यकै निधि मानिएको त्रिपिटकको नेपाली अनुवाद पनि भइरहेको छ । बुद्धभूमि भएर पनि नेपालमा बौद्ध साहित्य अझै गरिब छ । बुद्ध दर्शनका महत्वपूर्ण कृति नेपालका विभिन्न भाषामा अनुवाद नहुँदा बौद्ध दर्शनका महत्वपूर्ण पक्ष बुझ्न हामी वञ्चित छौँ । बुद्ध जन्मेको देश भनेर नेपालीले गौरव गर्न त सिके । तर, बुद्धका आधारभूत दर्शनबारे अधिकांश नेपाली अनभिज्ञ छन् । हामीले बौद्ध दर्शनलाई प्राज्ञिक अध्ययन–अनुसन्धानको विषय बनाउन सकेका छैनौँ ।
बौद्ध साहित्यमात्र होइन, नेपाली साहित्यमा नेपालकै इतिहाससँग जोडिएका धेरै कृतिको नेपाली अनुवाद हुन सकेको छैन । नेपालको इतिहासबारे विदेशी अध्येता र यात्रीहरूले लेखेका कृतिको समेत नेपालका भाषामा अनुवाद नहुँदा आफ्नै इतिहासबारे नेपाली जनतालाई निकै कममात्र थाहा छ । यसले नेपाली समाजको बौद्धिक विपन्नता प्रस्ट पार्छ । नेपालका केही शासकहरूले आफ्नो सत्ताको प्रतिकूलताका ऐतिहासिक सामग्री ध्वस्त बनाए । पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गर्दा सफु कुथिमा राखिएका सबै पुस्तक र अभिलेख ध्वस्त बनाएको इतिहास छ । पुस्तकालयका पुस्तक जलाइँदा तत्कालीन र त्यसअघिको नेपाली समाजबारे थाहा पाउन आजको पुस्ता वञ्चित बने । राणा र पञ्चायतकालमा पनि यसरी पूर्वाग्रहभावले यस्ता अमूल्य नष्ट गर्ने काम भएको थियो । फलतः आज हामी आफ्नै विगत र पुर्खाबारे जानकारीमा गरिब बनेका छौँ ।
विगतलाई फर्काउन सकिन्न । तर, विगतमा भएका गल्ती र कमजोरीबाट सिकेर भविष्यको बाटो कोर्न सक्छौँ । आगोमा झोसिएका पुस्तक र अभिलेख अब हामी फर्काउन सक्दैनौँ । तथापि हामीसँग आज जे बाँकी छन्, तिनकै आधारमा हामीले हामीलाई बुझ्ने प्रयासलाई जारी राख्नुपर्छ । त्यसको लागि एउटा उत्तम उपाय विभिन्न भाषामा लेखिएका कृतिहरूको अनुवाद गर्ने हो । अनुवादले नेपाली साहित्यलाई समृद्धमात्र बनाउने होइन, नेपाली जनताको चेतनास्तरलाई पनि गहन बनाउँछ ।
यस्ता महत्वपूर्ण गतिविधिमा राज्यको चासो र सक्रियता लगभग शून्य छ । निकै कममात्र भइरहेका गतिविधि व्यक्तिको पहलमा भइरहेका छन् ।
नेपालसँग उत्तर र दक्षिणसँगको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक सम्बन्धका कारण त्यहाँका विभिन्न भाषाका पुराना साहित्यमा नेपाली भाषाका अनेकन प्रसङ्ग र जानकारी हुनुपर्छ । त्यसकारण राज्यको सम्बन्धित निकायले ती भाषामा नेपाली जनशक्ति तयार गरी तिनलाई अनुसन्धानमा लगाउन जरुरी छ । पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, विभिन्न विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत राज्यका निकायहरूले यसबारे ध्यान दिन जरुरी छ ।
पुरानो इतिहास र अभिलेखको अध्ययन प्राज्ञिक विषय त हो नै, साथै प्राविधिक विषय पनि हो । तसर्थ यो विषयलाई प्राविधिक ज्ञानसँग पनि जोड्न उपयुक्त हुन्छ । विभिन्न देशका विश्वविद्यालय र अनुसन्धान निकायसँग यस विषयमा भएको ज्ञानलाई नेपालको सन्दर्भमा प्रयोग गर्न नेपाली सक्षम जनशक्ति तयार गर्न राज्यले ध्यान दिनुपर्छ ।
अनुवादसम्बन्धी अध्ययन गर्ने नेपालमा कुनै औपचारिक संस्था छैन । केही विश्वविद्यालयले यसमा केही पहल गरे पनि त्यो नगण्य नै छ । तसर्थ राज्यले यससम्बन्धी थप संस्थाको विकास गर्नुपर्छ । व्यक्तिगत र समूहगतरूपमा यो क्षेत्रमा काम गरिरहेकालाई राज्यले प्रोत्साहन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *