विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
माधवलाल कर्माचार्य
मास्टर जगतसुन्दर मल्ल १९५९ मा स्कटिश चर्च स्कूलबाट ‘इन्ट्रेन्स’ (आजकालको एस.एल.सी. तह) गर्नको लागि कलकत्ता गई फर्कँदा काठमाडौँमा त्रिचन्द्र कलेज (आजकालको त्रिचन्द्र क्याम्पस) खुल्न अझ १६ वर्ष बाँकी नै थियो । माध्यमिक विद्यालयको नाममा त्यो बेला दरबार स्कूल (अहिलेको भानुभक्त माध्यमिक विद्यालय) एउटामात्र थियो । उनी १० वर्षको उमेरमा भक्तपुरबाट आई त्यहाँ अन्तिम कक्षासम्म पढेका थिए । (चित्तधर ‘हृदय’ – झीगु साहित्य– नेपालभाषा परिषद्, काठमाडौँ १०७४, पृष्ठ ७४ ।)
अङ्ग्रेजी पद्धतिमा शिक्षा दिने सो ‘दरबार स्कूल’ को स्थापना वि.सं १९१० मा जङ्गबहादुरले बेलायतबाट फर्केपछि आफ्ना कुल कुटुम्ब तथा प्रि– कम्यान्डरका भाइ छोराको लागि गरेका हुन् । तापनि दुनियाँका छोराहरूका लागि पनि खुला गर्ने काम वि.सं. १९५८ मा सत्तामा आएका देव शमशेरले गरेका थिए । (केदारनाथ श्रेष्ठ– डेभेलप्मेन्ट अफ एजुकेसन अन्डर राणा रेजीन – एजुकेसन क्वाटर्ली, वर्ष १ अङ्क ११, जून १९६७, पृष्ठ २५ ।)
प्रत्येक नागरिकले शिक्षा हासिल गर्न पाऊन् भनी देव शमशेरले देशका विभिन्न ठाउँमा १५० ओटा प्राथमिक पाठशालाहरू खोलेका थिए । त्यसमध्ये उनको शेषपछि कतिपय बन्द हुँदै (रेकर्डस् अफ द सेकेन्ड जनरल एसेम्बली– नेपाल नेसनल कमिसन फर युनेस्को, काठमाडौँ, १९६६, पृष्ठ १४ ।) गए पनि देशको जनमानसमा शिक्षाप्रति अभिरुचि बढ्न थालिसकेको थियो । ‘दरबार स्कूल’ मा पढाइ सकिएपछि विदेशबाट उच्च शिक्षा हासिल गरी फर्केकाहरूमा राष्ट्रिय भावना जागृत भई राष्ट्रिय शिक्षाको जग बसाल्न उनीहरू प्रवृत्त हुनु स्वाभाविक हो ।
जगतसुन्दर मल्ल यस्तैमध्येका एक थिए । आफूभन्दा २१ वर्षअघि जन्मेका रवीन्द्रनाथ ठाकुरलगायतले ‘आफ्नो भाषा, आफ्नो भेष, आफ्नो संस्कृति, आफ्नो देश’ को नारा गुञ्जाइराखेको बङ्गालको केन्द्रस्थान कलकत्तामा (रवीन्द्रनाथ ठाकुर– जीवन स्मृति – रोयल नेपाल एकेडेमी, काठमाडौँ, वि.सं. २०२२ ।) उच्च शिक्षाको लागि केही समय बिताएर आउने उनमा पनि राष्ट्रिय भावना तथा राष्ट्रिय शिक्षाप्रति चासो जाग्नु अस्वाभाविक थिएन ।
देशमा जुन पद्धतिको शिक्षा प्रचलनमा आउन लागेको थियो त्यो देशको जीवन सुहाउँदो, देशको खाँचो पूर्ति गर्ने खालको थिएन । त्यो त अङ्ग्रेज उपनिवेशवादीले आफ्नो स्वार्थ पूर्तिको लागि भारतमा चलाएको शिक्षाको सस्तो पद्धतिको सरासर नक्कल थियो । मैकलियन पद्धतिको नामले इतिहासमा प्रख्यात यस पद्धतिको मूल उद्देश्य उपनिवेशवादी अङ्ग्रेज सरकारको उपयोगको लागि सस्तो कारिन्दा र ‘टाइपिस्ट’ हरूको उत्पादन गर्नु थियो । यस पद्धतिको मूलभूत तात्पर्यको उल्लेख गर्दै त्यसका प्रवर्तक मैकलेले सन् १८९२ मा नै स्पष्ट शब्दमा “हाम्रो प्रयास, रङ्ग र रगतमा भारतीय भए पनि, विवेक, विचार, रुचि तथा मनोवृत्तिमा अङ्ग्रेज भएका मानिसहरूको जमात तयार गर्ने हुनुपर्छ” भनी लेखेका थिए ।
यसप्रकार आयात गरिएको शिक्षा पद्धति तत्कालीन प्रशासनको लागि अनुकूल सम्झिए पनि, राष्ट्रको उत्थानको लागि, राष्ट्रका व्यक्ति–व्यक्तिको उत्थानको लागि जगतसुन्दर मल्लजस्ता ‘विद्या नजान्नेले यो ब्रह्माण्डको सुख भोग गर्नसक्तैन (जगतसुन्दर मल्ल– ईसपं दयका तगु बाखं – मुनास ः ज ः काठमाडौँ, ने.सं १०९२, हशना, पृष्ठ १ ।) भन्ने दृढ धारणा भएका व्यक्तिको दृष्टिमा अनुकूल नसम्झिइनु आश्चर्यको कुरा थिएन ।
त्यो बेला शिक्षाको माध्यम अङ्ग्रेजी थियो र पाठ्यपुस्तकहरू पनि अङ्ग्रेजीमा बाहेक अरु भाषामा उपलब्ध थिएनन् । स्वदेशलाई उपयुक्त शिक्षा पद्धतिको प्रचलनको आवश्यकता नै राष्ट्रिय स्तरमा महसुस हुन बाँकी रहेको समयमा (जुन कुरा जय पृथ्वीबहादुर सिंहबाट प्रस्तुत भाषा पाठशालाहरू खोल्ने योजनाअनुसार देव शमशेरबाट लागू गरिएको राष्ट्रिय शिक्षा पद्धतिको केही पछि खारेजजस्तै गरिएबाट प्रमाणित हुन्छ) (केदारनाथ श्रेष्ठ – माथिकै – पृष्ठ २५– २७ ।) शिक्षाको माध्यम स्वभाषा हुनुपर्ने र पाठ्यपुस्तक पनि स्वभाषाकै प्रचलित हुनुपर्ने भन्ने सोचाइ नै पनि – ‘समय नआउँदैको’ हुनु स्वाभाविक थियो । अर्को शब्दमा भन्ने हो भने, यो सोचाइ नै त्यो बेलाको लागि क्रान्तिकारी थियो र चानचुने आँट र चानचुने उत्सर्गको भावनाले परिपोषित हुने कुरा थिएन ।
जगतसुन्दर मल्ल यही नै सोचाइ लिएर, त्यो पनि एक्लै मैदानमा उत्रे । यो सोचाइलाई त्यो बेलाको परिस्थिति मिल्दो तीन विभिन्न धारामा कार्यान्वित गर्न व्यस्त भए । पहिलो कुरा त, “जुन जातिको जुन भाषा छ त्यही भाषामा ज्ञान दिने गरे त्यो ज्ञान चाँडै बुझिने हुनुको साथै एउटाको अर्को अर्थ लाग्न जाने सम्भव हुँदैन” (जगतसुन्दर मल्ल – माथिकै – पृष्ठ १ ।) भनी स्पष्ट उद्घोष गर्दै नेपालभाषा बोल्ने जातिका केटाकेटीलाई नेपालभाषाकै माध्यमबाट शिक्षा दिने परम्पराको श्री गणेश गर्ने पहिलो व्यक्ति सायद उनी नै थिए । सुरुमा उनले आफ्नो कुलघर खौमा टोल भक्तपुरमा केटाकेटीहरू जम्मा गरी नेपाल भाषाको माध्यमबाट अङ्ग्रेजी शिक्षा दिने गरेका हुन्, पछि काठमाडौँ असनमा सरेपछि उनले यही प्रक्रिया जारी गरे (चित्रधर ‘हृदय’ – माथिकै – पृष्ठ ७४ र ७५ ।) र कुनै स्कूलमा कार्यरत नभए पनि ‘मास्टर’ दर्जाले लोकप्रिय भए । यो परम्परा उनका कतिपय शिष्यहरूले पछिसम्म चालू राखे । यसबाट काठमाडौँ र भक्तपुरका धेरै व्यक्तिहरू योग्य र शिक्षित भए ।
उनको दृढ धारणा के पनि थियो भने ‘केटाकेटीको आफ्नै भाषाका पुस्तकको अभावले उनीहरूको शिक्षा पछि पर्न गएको छ । युरोप वा अरु पूर्वकै भाषाको भए पनि चाहिने कुरा ज्ञान नै हो । अरु भाषा जान्नु धेरैलाई मौका नपर्ने हुनाले आफ्नै भाषामा अरु विभिन्न बुद्धिवन्त जातिको ज्ञानले युक्त पुस्तकहरू उपलब्ध भएमा धेरैलाई सजिलो हुनुको साथै उनीहरूको समयको पनि बचत हुन जाने हुन्छ । (जगतसुन्दर मल्ल – माथिकै – पृष्ठ १ ।) यसै विचारअनुरुप उनले नेपालभाषा–भाषीका लागि ईशपका नीति कथाहरू नेपालभाषामा अनुवाद गरी छपाई प्रचार गरे, रोमको ऐतिहासिक कथा पीटर पार्ली र अङ्ग्रेजी भाषाको च्याम्बर्स डिक्सनरीको पनि नेपालभाषामा अनुवाद गरे । अङ्ग्रेजीमा अर्थ भएको नेपालभाषाको शब्दकोष पनि बनाउने कार्य सुरु गरे जुन बीच–बीचमा केही शब्दहरूको अर्थ लेख्न बाँकी राखिएको बाहेक (स्रोत हिरण्यजीत मल्ल ।) अरु सम्पन्न भएको देखिएको छ । त्यस्तै नेपाली (त्यो बेला ‘गोरखाली’ वा ‘पर्वतिया’ भन्ने चलन थियो) भाषा–भाषीका लागि ‘इङ्गलिश ग्रामार इन पर्वतिया’ नामको व्याकरणको रचना गरी प्रकाशित गरे । सो व्याकरणको पछाडिको गातामा विज्ञापित भएअनुसार उनले नेपालभाषामा ‘अङ्ग्रेजी फस्ट बूक’ लेख्नुको साथै नेपालीमा ‘सुगम बोध गणित’ नामक गणितको पुस्तक, ‘गोरखाली अङ्ग्रेजी फस्ट बूक’ नामक वर्णमालाको पुस्तक र ‘गोरखाली भाषाको ईशपका कथाहरू’ नामक अनुवादको पुस्तक पनि रचना गरेका थिए । (चित्तधर ‘हृदय’– माथिकै – पृष्ठ ७८)
तेस्रो, उच्च शिक्षाको लागि १० वर्षको अवस्थादेखि घरबार त्याग गरी भक्तपुरबाट काठमाडौँ गए । काठमाडौँबाट कलकत्ता गई उनले दुःख कष्ट झेले । आफ्ना भाइहरूलाई पनि मिहेनतसाथ पढाई देश–विदेश पठाई मातृदेश तथा मातृदेशका बासिन्दाको सेवाको लागि योग्य र प्रशिक्षित बने । त्यसको कथा मार्मिक छ । (सूर्यबहादुर पिवा र मल्ल के. सुन्दर – जगतसुन्दर मल्लः वय्कः या छुँ विचार – नेपालभाषा परिषद्, ने.सं. ११०४, पृष्ठ ३–५) त्यो बेलाको स्थिति–परिस्थिति हेरी त्यो कम साहसको र कम क्रान्तितुल्य कार्य थिएन । अनुमान गर्न सकिन्छ, शिक्षा विकासमा अलिकति पनि चासो राख्नेको लागि त्यो कम प्रेरणादायी थिएन होला ।
अहिलेको परिप्रेक्ष्यमा हेर्दा मास्टर जगतसुन्दर मल्लका यी विविध कदमहरू सरल र साधारणै देखिए पनि त्यो बेला (निरङ्कुश राणाशासन –सं.) को सङ्कुचित र अनुदार स्थितिको सन्दर्भमा निश्चय नै प्रभावकारी र दूरगामी परिणामदायी थिए । यिनैको आधारमा देशको शिक्षा विकासको क्रममा उनले गरेका योगदानको अङ्कन गर्न सकिन्छ । (२०४१÷६÷१७)
स्रोत ः पञ्चायत मासिक
Leave a Reply