भर्खरै :

तिहारको सांस्कृतिक पक्ष

ओम धौभडेल
आफ्नै मौलिक कला, संस्कृति एवम् सम्पदाले विश्वमा नामी नेवाःहरूले वर्षभरिजस्तै विभिन्न प्रकारका चाडपर्व, जात्रा, उत्सव मनाइरहेका हुन्छन् । यस्ता विविध सांस्कृतिक पर्वमा नेपाल संवत्अनुसार कार्तिक कृष्ण अमावस्यादेखि लगातार तीन दिनसम्म मनाउने तिहार पर्व प्रमुख मानिन्छ । कोजाग्रत पूर्णिमाको पन्ध्र दिनपछि मनाउने तिहारसँगै दसँैको सम्बन्ध अप्रत्यक्षरूपमा देखिन्छ । कोजाग्रत पूर्णिमादेखि लगातार १६ दिनमा १६ प्रकारका विभिन्न लक्ष्मीहरूलाई पूजा गर्दै अन्तिम दिन (लक्ष्मी पूजाको दिन) मा धनधान्य लक्ष्मीको पूजा गरिन्छ । त्यसबाहेक दसैँताका बनाएका सुकुटीहरू राखी लक्ष्मीलाई उक्त दिन अमे (रक्सी, मासु, लसुन, अदुवा, फुलसहितको भोजन) चढाउनुपर्छ । यसरी कार्तिक कृष्ण अमावस्याको दिन लक्ष्मी पूजा मनाउँछौँ भने त्यसको भोलिपल्ट प्रतिपदाको दिनमा म्हः पूजा मनाउँछौँ । म्हः जसको अर्थ पञ्चतत्वले बनेको शरीर हो । आफ्नै शरीरलाई पूजा गर्ने यो दिन नेवाःहरूको वर्ष दिनको सबभन्दा महत्वपूर्ण दिन हो । परिवारका सम्पूर्ण सदस्यहरूलाई अलग्ग अलग्ग मण्डल बनाई व्यक्तिपिच्छे पूजा गर्ने म्हः पूजाले निर्जीव मूर्तिहरूमात्र होइन सजीव प्राणीलाई समेत देवदेवीको रूपमा पूजा गर्न सन्देश दिइरहेको हुन्छ । त्यस्तै अन्तिम दिन भाइटीका हो । जुन दिदी–बहिनीहरूले भाइ दाजुहरूको दीघार्यु एवम् समृद्धिको कामना गर्दै पूजा गर्छन् । यसरी यो तीन दिनलाई तिहार भनी अति हर्षोल्लासका साथ मनाउने प्रचलन नेवाःहरूमा अद्यापि बाँकी छ । हाम्रो संस्कृतिको एक अभिन्न अङ्गको रूपमा जीवित रहँदै आएको छ ।
हाम्रो प्रत्येक चाडपर्व र सांस्कृतिक रीतिथितिहरूको आ–आफ्नै प्रकारको महत्व एवम् विशेषता रहँदै आएको सन्दर्भमा तिहारको पनि आफ्नै विशेषता छ । यस पर्वमा अन्य पर्वमा जस्तै पौराणिक किंवदन्तीहरू नभएका होइनन् । लक्ष्मी पूजाको दिन राम्ररी लक्ष्मी पूजा गरे धनको देवीले वास गर्ने, धनी हुनेदेखि भाइटीकाको दिन यमराजले भाइलाई मुत्युको मुखमा लैजान खोज्दा भाइटीका गरेपछिमात्र लैजान पाउने अनुरोध यमराजले स्वीकारेपछि भाइटीकाकै कारणले भाइको मृत्यु हुनबाट बचेको जस्ता अनगिन्ती कथाहरू नजोडिएको होइन । त्यसबाहेक तिहार पर्व नै किंवदन्तीको आधारमा नरचिएको पनि होइन । विभिन्न पुराणहरूमा बामन अवतारमा तीन पाइला जमीन दान दिएर आफू बस्ने ठाउँ नपाएपछि बली राजा पातालमा बस्न गएको समयमा विष्णु भगवानले तीन दिन तीनरात दान दिएको वचनमा दोष नलाग्ने गरी पृथ्वीमै बस्न दिएको नै तिहार पर्व हो भन्ने उल्लेख छ । यस्ता अनगिन्ती पत्यारिला वा अपत्यारिला किंवदन्ती । यो कहावतलाई एकातिर राखेर गहिरिएर अध्ययन अनुसन्धान गर्ने हो भने तिहारको ठूलो सांस्कृतिक मर्म पाइन्छ । लक्ष्मी पूजाको दिन वर्षभरिको लेनदेनको हिसाब समाप्त गरी वास्तविक धन, द्रव्य, धान, अन्नलगायतका धनधान्यलाई गोप्य कोठामा राखी पूजा गर्ने चलनबाट नेवाः वर्गको आर्थिक स्थिति सुदृढ पार्नमात्र मद्दत गरेको छैन, समाजमा आर्थिक मामिलामा स्पष्टवादी बनाइदिएको देखिन्छ । यसको भोलिपल्ट मनाउने म्हः पूजा नेवाःहरूको विशेषता भने पनि हुन्छ । अनेक विशेषता एवम् महत्वले गरिएको म्हः पूजाले समाजमा हरेक व्यक्तिको आत्मबोध एवम् आत्मसम्मान गराउँदछ, चाहे त्यो परिवारको एक सानो सदस्य होस् या वृद्ध । यसले संयुक्त परिवारको अवधारणालाई अङ्गाली पारिवारिक मर्यादा, अनुशासन एवम् सामाजिक रीतिथितिलाई जोगाएको हुन्छ । अझ यस दिन मनाउने नव वर्षले विश्वमा नेपालको नाम उच्च पार्न मद्दत गरेको हुन्छ । संसारमा धर्म, राजा, सम्राट आदिजस्ता संवत्हरू प्रचलनमा आएको सन्दर्भमा देशकै नामबाट चलनचल्तीमा आएको नेपाल संवत्ले यो दिनलाई अझ विशेष बनाएको हुन्छ । नेपालको आफ्नै भूमिमा चलेको नेपाल संवत् आजसम्म जीवन्त रहनु एउटा ऐतिहासिक प्रहर नै मान्नुपर्छ । तिहारको तेस्रो दिनमा मनाउने किजापूजा अर्थात् भाइटीकाले समाज र परिवारमा दाजुभाइ दिदीबहिनीको आत्मीयता, माया ममतालाई दिगो बनाउन ठूलो भूमिका खेलेको हुन्छ । हरेक दिदीबहिनीले आफ्ना दाजुभाइहरूको दीर्घायु एवम् समृद्धिको कामना गरिने यो दिन आफैँमा महत्वपूर्ण छ ।
यसरी हरेक दृष्टिकोणले उच्च मानिने तिहारजस्तो हाम्रो सांस्कृतिक पर्वहरूलाई समाजका केही नकारात्मक मनोवृत्ति भएका वर्गहरूले नकारात्मकरूपमा लिएको देखिन्छ । तिहारजस्तो सांस्कृतिक पर्वहरूमा विस्तारै मौलाउँदै आएका यस्ता विकृतिहरूले हाम्रो संस्कृतिमाथि विकृत तुल्याएका छन् । तिहारमा प्रायः युवा एवम् केटाकेटी भुइँचम्पा बाल्न, बम, पटाका, वारुद्ध पड्काउन पछि पर्दैनन् । केही सम्भ्रान्त परिवारहरूले हजारौँ रुपैयाँका यस्ता साधनहरूमा खर्च गर्छन् र मनोरञ्जन लिन्छन् । सयौँ रुपैयाँ पर्ने यस्ता बार, पटाका, बमको आवाज यति भयानक हुने गर्दछ कि यसले स–साना केटाकेटीमात्र होइन, युवायुवतीसमेत तर्सिने हुन्छ । कति व्यक्ति त मुच्र्छासमेत पर्छ भने नवजात शिशुहरूको के हालत होला ? त्यस्तै रकेट, भुइँचम्पालगायत विभिन्न ज्वलनशील वस्तु बालेर मनोरञ्जन पाउन खोज्दा तिहारजस्तो पर्वमा कतिपय व्यक्तिहरू आगोलागीबाट आफ्नो सम्पति स्वाहा पारेर दुःख हेर्नु परिरहेको हुन्छ । यसरी आर्थिक, शारीरिक एवम् मानसिक कष्ट आउने मनोरञ्जन हाम्रो संस्कृतिको अङ्ग हो त ? यो त धनाढ्य भारतीय परिवारहरूले नेपालको सम्पति भारत पु¥याई आफ्नो क्षणिक स्वार्थ मनोरञ्जन प्राप्त गर्न चालेको कुटिल चालमात्र हो । यसैलाई देखासिखी गरी बर्सेनि करोडौँ रुपैयाँको बार, पटाका भुइँचम्पा अवैधरूपमा नेपाल भित्रिँदै छ र खुलेआम तिहारमा यो विकृति फैलिँदै छ ।
त्यस्तै प्रत्येक वर्ष नेपाल संवत्को नयाँ वर्षको रूपमा म्हः पूजा (गोवद्र्धन पूजा) को दिन विविध कार्यक्रम हुँदै छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् मनाउन सरकारलाई घच्घच्याउने हिसाबले हुँदै आएको मोटरसाइकल ¥याली पनि हाल विकृति उन्मुख भएको छ । ¥यालीमा हातमा बियरका बोटलहरू समाई अङ्ग्रेजी धुनको गीतमा डिस्को गर्दै आएको उपत्यकावासीको लागि नौलो विषय भएन । देश दिन पर दिन गरिबीको खाडलमा खस्कँदै गइरहेको अवस्थामा नेपाल संवत्को नाममा हजारौँ लिटर पेट्रोलियम पदार्थ खेर भइरहेको छ । ¥यालीको नाममा काठमाडौँको साँघुरा सडकहरू घण्टौँसम्म जाम हुन्छ । अत्यधिक मादकपदार्थ सेवन गरी सवारी साधन हाँक्दा दुर्घटना हुनेतर्फ कसैको ध्यान जान सकेको छैन । नेपाल संवत् मनाउने क्रममा विगत केही वर्ष यतादेखि म्हः पूजाको दिन भइरहेको मोटरसाइकल ¥यालीको ठाउँमा सांस्कृतिक जुलुसले स्थान लिनसके राष्ट्रिय सम्पतिको जगेर्ना हुन्छ । यसतर्फ सम्पूर्ण विद्वत् वर्गको ध्यान जानु आवश्यक छ । के नेवाः, के ब्राम्हण, के क्षेत्री सबै सांस्कृतिक जुलुस तथा कार्यक्रममा सहभागी हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *