भर्खरै :

नयाँ वर्षको शुभकामना !

आजबाट नेपाल संवत् ११४० आरम्भ हुँदैछ । नेपालको मौलिक संवत्् नेपाल संवत्ले क्रमशः व्यापकता पाउँदै छ । कुनै बेला निश्चित जाति र समुदायको संवत्को रूपमा हेरिने नेपाल संवत् आज क्रमशः सर्वस्वीकार्य बन्दै गएको छ । तथापि नेपाल संवत्को इतिहासबारे थप अध्ययन र प्रचारप्रसारको आवश्यकता छ । नेपाल संवत्को व्यवहारिक प्रयोगलाई अझ विस्तार गर्दै जानुपर्ने चुनौती छ ।
नेपाल संवत्लाई कुनै जाति विशेषको संवत्को रूपमा हेर्ने सोचाइ अझै पनि मेटिसकेको छैन । शासक दलका नेताहरूमा पनि नेवार समुदायलाई रिझाउन नेपाल संवत्् ‘मानिदिने’ सोचाइ कायम नै छ । नेपाल संवत्् नेपाली समाजमा अभ्यस्त बनाउन सरकार र शासक दलका नेताहरूले मौखिक आश्वासन र मीठो कुरा गर्नुभन्दा बढी केही गरेका छैनन् । सरकारले न त नेपाल संवत्को व्यवहारिक प्रयोगबारे अध्ययन गरेको छ न त त्यसबारे अध्ययन अनुसन्धानको लागि कुनै पहल गरेको छ । ‘काठमाडौँका रैथानेलाई रिझाउने’ शासकहरूले वर्षको एक दिन नेपाल संवत्् सम्झन्छन् । अरु बेला राज्यले यसबारे कुनै चासो राख्ने गरेको छैन । यसले नेपाल संवत्् अधिकांश ठाउँमा देखाउने दाँतमा सीमित बनेको छ ।
व्यवस्थित प्राज्ञिक अध्ययन हुन नसक्दा नेपाल संवत््को सुरुवातको इतिहास लोककथामा सीमित बनेको छ । नेपाल संवत्को प्रारम्भबारे कतिपय प्रसङ्ग अपत्यारिलो र विवादास्पद छन् । व्यक्तिगत र समूहगत अग्रसरतामा त्यसबारे केही खोज अनुसन्धान भए पनि यसबारे व्यवस्थित प्राज्ञिक अध्ययन कममात्र छ । यसको निम्ति राज्यका जिम्मेवार निकाय पनि उदासीन छ । राज्यले यसप्रति देखाएको उदासिनताको मूल जड भनेको सत्तामा अझै पनि बलियो जरा गाडेर बसेको सामन्ती चिन्तन र सङ्कीर्ण सोचाइ हो । पञ्चायती शासकहरूसँग भएको सङ्कीर्ण सोचाइ आजका शासकहरू पनि बाँकी छन् । उनीहरू आफूलाई शब्दतः भिन्न प्रस्तुत गर्न खोज्छन् । तर, व्यवहारमा हिजोका शासक र आजका शासक वर्गबीच कुनै ठूलो भिन्नता छैन ।
नेपाल संवत्को नाममा आज एकथरी मानिस समाजमा अनेक विकृति फैलाइरहेका छन् । उनीहरू नयाँ वर्ष मनाउने नाममा युवाहरूलाई विकृतिको बाटोतिर डो¥याइरहेका छन् । मादक पदार्थ सेवन, अशोभनीय नाचगान, अर्थहीन होहल्ला आदिलाई समाजमा गलत र नकारात्मक सन्देश प्रवाह गर्ने गतिविधि गरेर नेपाल संवत्को साख घटाउने काम गरिरहेको देख्छौँ । यस्ता गतिविधिले नयाँ वर्ष र नेपाल संवत्लाई अझ ओझेलमा पार्नेछ । नेपाल संवत्लाई रचनात्मकरूपमा उपयोग गर्दै जान सके र यसको गहन अध्ययन गर्नसकेमात्र नेपाल संवत्को उपादेयता पुष्टि हुँदै जानेछ ।
समय अविछिन्न भए पनि हरेक नयाँ वर्षले मानिसलाई भविष्यप्रति आशावादी र उत्साहित बनाउने गर्छ । समाजले भोग्नुपरेका समस्यालाई नयाँ कालखण्डले समाधान गर्ने आशाले मानिसलाई नयाँ वर्ष उमङ्गका साथ मनाउने हौसला प्रदान गर्छ । नेपाल संवत्को नयाँ वर्ष ११४० ले नेपाली जनतालाई नयाँ समयले तेस्र्याउने अनेकन चुनौती सामना गर्नसक्ने उत्साह दिने र नेपाली समाजमा व्याप्त राजनीतिक, सामाजिक र आर्थिक समस्या समाधानको लागि जुझारु भावनाका साथ लाग्ने हौसला प्रदान गरोस् भन्ने शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *