भर्खरै :

बग्दादीको हत्या आतङ्कवादको अन्त्य होइन

वाशिङ्टन, २७ अक्टोबर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इस्लामिक स्टेट
(आइएस) का नेता अबु बक्र अल–बग्दादीको संरा अमेरिकी सैनिक कारबाहीको क्रममा सिरियामा मारिएको बताए । संरा अमेरिकी सरकारले बग्दादीको हत्यालाई ठूलो उपलब्धिको रूपमा प्रचार गरिरहेको अवस्थामा केही विज्ञ र संरा अमेरिकी पूर्वसरकारी अधिकारीहरूले आतङ्कवादविरुद्धको लडाइँ सकिन अझ निकै टाढा रहेको बताए ।
संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा ट्रम्पले शनिबार राति उत्तरपश्चिम सिरियामा संरा अमेरिकी विशेष सैनिक टोलीले गरेको अल–बग्दादी लक्षित हमला गरेको र सो क्रममा अल–बग्दादीले बिस्फोटक सामग्री भएको लुगामा बिस्फोट गरेर आत्महत्या गरेको बताए ।
४८ वर्षका अल–बग्दादीको वास्तविक नाम इब्राहिम अवाद अल–बद्री हो । उनले सन् २०१४ को जूनमा विद्रोही इस्लामिक स्टेट नामको सङ्गठन स्थापना गरेका थिए ।
केही वर्षअघि देखि पटक–पटक अल–बग्दादी मारिएको समाचार प्रचार गरिएको थियो । तर, कुनै पनि समाचार पुष्टि भएको थिएन । सन् २०१६ मा संरा अमेरिकी विदेश विभागले उनलाई पक्राउ गर्न वा मार्न कुनै पनि सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । आफ्नो भाषणमा ट्रम्पले रुस, टर्की, सिरिया, इराक र सिरियाली कुर्दहरूप्रति आभार व्यक्त गरेका थिए । “ती देशको सहयोगबिना यो मिसन पूरा हुने थिएन”, उनले भने ।
सिरियाबाट संरा अमेरिकी सेना फिर्ता गर्ने निर्णयको लागि आफ्नो देशमा चर्को आलोचना खेपिरहेका ट्रम्पको लागि बग्दादीको हत्याको खबर ठूलो राजनीतिक पुँजी बनेको छ । सिरियामा संरा अमेरिकी सेना फिर्ता भएपछि आइएस फेरि उदाउन सक्ने भन्दै ट्रम्पको सो निर्णयको आलोचना भएको थियो ।
बग्दादीको हत्यापछि ट्रम्पलाई आफ्नो आलोचकको मुख थुन्ने काम गरेको छ । साथै आइएसको पराजयको जश पनि आफ्नो पोल्टामा पार्न सफल हुने विश्लेषकहरूको भनाइ छ ।
आइतबार प्रकाशित एक समाचारमा द न्युयोर्क टाइम्सले सिरिया र इराकी कुर्दले अरु कुनै पनि देशले भन्दा बढी गुप्तचरी जानकारी उपलब्ध गराएको लेखिएको छ ।
सीएनएनलाई दिएको एक अन्तर्वार्तामा संरा अमेरिकी रक्षा सचिव मार्क इस्परले सिरियाबाट संरा अमेरिकाबाट पूर्णरूपमा फिर्ता भएको भए अल–बग्दादीविरुद्धको हेलिकप्टर हमला सफल हुने थियो–थिएन, भन्न नसकिने बताए ।
ट्रम्प सरकारले बग्दादीको हत्यालाई ठूलै माछाको रूपमा चर्चा गरे पनि केही विज्ञ र पूर्व संरा अमेरिकी अधिकारीहरूले बग्दादीको हत्याको ठूलो महत्व अस्वीकार गर्दै उसको अन्त्यले सो समूह पूर्णतः निर्मूलन नहुने बताए ।
जोन्स हप्किन्स विश्वविद्यालयको विश्व सुरक्षा अध्ययन कार्यक्रमका आतङ्कवाद विश्लेषक माइकल स्मीथ द्वितीयले संरा अमेरिकी सेनाले गरेको बग्दादीको हत्या आइएसको लागि थप भर्तीको कारण बन्नसक्ने बताए ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रतिआतङ्कवादका पूर्ववरिष्ठ निर्देशक जाभेद अलीले बग्दादीको हत्या आइएसको रणनीतिक पराजय नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *