सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
नयाँ वर्ष नेपाल संवत् ११४० को अवसरमा मङ्गलबार काठमाडौँको टोखामा आयोजित कार्यक्रममा स्थानीय नेवाः समुदायमात्र सहभागी भएनन् । बरु विभिन्न जिल्लाबाट टोखामा बसाई सरेका विभिन्न जाति, भाषा र संस्कृतिका जनताले पनि उत्साहका साथ नयाँ वर्ष समारोहमा सहभागिता जनाए । नेपाल संवत्लाई सरकारले ‘राष्ट्रिय संवत्’ घोषणा गरे पनि अझै यसलाई नेवाः समुदायको संवत्को रूपमा बुझ्नेको सङ्ख्या कम छैन । तर, इतिहास फर्केर हेर्दा नेपाल संवत् कुनै जाति, भाषा र समुदायको संवत् होइन । नेपालको माटोमा स्थापना भएको नेपाल संवत् नेपालका सबै जनताको साझा निधि हो । काठमाडौँ उपत्यकाबाट उद्गम भएको संवत् भएकोले काठमाडौँका आदिवासी जनताले यो संवत्को प्रवद्र्धनको लागि थप मिहिनेत र सङ्घर्ष गर्नुप¥यो । त्यो सङ्घर्ष कुनै जाति वा भाषा विशेषको पहिचान र प्रतिष्ठाको सङ्घर्ष मात्र होइन ।
सामान्यतः नेपाल संवत्को नयाँ वर्षको दिन आयोजना हुने सांस्कृतिक गतिविधिमा नेवाः समुदायकै सक्रियता हुने गरेकोमा टोखामा नयाँ वर्ष कार्यक्रम आयोजना समितिको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा आ–आफ्ना सांस्कृतिक भेषभुषासहित विभिन्न जातिका जनताले पनि सहभागिता जनाए । उनीहरूको सहभागिताले कार्यक्रमलाई अझ व्यापक र आकर्षक बनाएको छ । नेपाल एउटै रङ्गले बनेको देश होइन । नेपाल विभिन्न जाति, भाषा र सम्प्रदायका मानिस मिलेर बसेको देश हो । उनीहरू सबैको रङ्गले नै सिङ्गो नेपालको रङ्ग बनेको हो । कुनै एउटै रङ्गको अभावले पनि नेपालको रङ्ग अधुरो हुन्छ । राणा र पञ्चायतकालमा शासकहरूले नेपाललाई एउटै रङ्गले पोत्ने प्रयास गरे । एउटै रङ्गले पोत्न उनीहरूले विविध रङ्ग छोप्न खोजे । राज्यबाट हुने यस्ता विभेदविरुद्ध नेपाली जनताको सङ्घर्ष आज पनि चालू छ ।
तर, एकै जाति र भाषीभित्र पनि फरक फरक वर्ग हुने वास्तविकता भने नेपाली जनताले भुल्नु हुन्न । एउटै जाति र भाषाभित्र पनि धनी र गरिब हुने गर्दछ । धनी बाहुनले गरिब बाहुनलाई बाहुन भएकैले शोषण गर्न छोड्दैन । धनी नेवारबाट सबभन्दा बढी शोषण आफ्नै जातिको गरिबमाथि हुने गर्दछ । त्यसकारण जातीय र भाषिक एकताले समाजमा विद्यमान शोषण मेटाउन सक्दैन । जुनसुकै जाति, भाषी र संस्कृतिको भए पनि गरिब जनताबीचको एकताले नै उनीहरूलाई शोषणको जालोबाट मुक्त बनाउन सम्भव हुन्छ । शोषणविरुद्धको लडाइँमा एउटै जातिको भए पनि धनीले गरिबलाई छुट दिने गर्दैन । धनी शोषकविरुद्धको लडाइँमा वर्गीय मित्रको खाँचो पर्दछ, स्वजातीय र स्वभाषी मित्रभन्दा ।
टोखामा मङ्गलबार आयोजित कार्यक्रममा विभिन्न जातिका सर्वसाधारणको सहभागिता त्यही वर्गीय एकताको प्रतिविम्ब हो । सबै जाति र भाषाका कामदार जनताले अर्को जाति र भाषाको संस्कृतिलाई प्रेम गर्नुपर्छ । पेरिस कम्युनको समयमा क्रान्तिका योद्धा युजे पोट्टरले लेखेको अन्तर्राष्ट्रिय गीतले आज पनि संसारका परिवर्तनकामीलाई उत्साहित बनाइरहेको छ । पोट्टरको जातले त्यो उत्साह संसारभर सञ्चार गरेको होइन, उनको कामदार वर्गीय परिवर्तनकारी विचारले नै उनको गीत लोकप्रिय बन्यो ।
नेपाल संवत्को संस्कृतिमा विभिन्न जातिका कामदार जनताको ऐक्यबद्धताले नेपाल संवत्लाई प्रभावशाली बनाउने मात्र होइन, कामदार जनताको संस्कृतिको व्यापकताको लागि पनि टेवा पु¥याउँदै जानेछ ।
Leave a Reply