सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
एक विश्लेषक
श्रमिक साप्ताहिकमा प्रकाशित ‘भाकपाको एक सय वर्षको अवसरमा विविध गतिविधि’ शीर्षक लेखमा भारतीय कम्युनिस्ट पार्टीको स्थापनाको सय वर्षको अवसरमा पश्चिम बङ्गाल, तामिलनाडु, त्रिपुरा र विहारमा भारतीय कम्युनिस्ट पार्टी
(माक्र्सवादी) ले गरेका र विभिन्न केन्द्रीय र प्रान्तस्तरीय नेताहरूले भारतको कम्युनिस्ट आन्दोलनको सङ्घर्ष र पुँजीवादी दलहरूको कम्युनिस्टविरोधी दृष्टिकोण र बेलायती उपनिवेशवादको विरोधको नागबेली बाटोको बेली विस्तार लगाएका उल्लेख छ ।
भारतीय कम्युनिस्ट आन्दोलनको तत्कालीन नेतृत्व संशोधनवादी डाँगे गुटको हातमा थियो भने डाँगेको नेतृत्व रुसी कम्युनिस्ट पार्टीको खु्रश्चेभी संशोधनवादी गुटको पिछलग्गू थियो । तिनीहरू शान्तिपूर्ण सङ्घर्ष र निर्वाचनमार्फत संसद्मा बहुमत प्राप्त गरेरै समाजवादी क्रान्ति सम्भव भएकोमा विश्वस्त थिए ।
केराला प्रान्तमा नम्बुदरीपाद नेतृत्वको सरकारलाई भारतको केन्द्र सरकार अर्थात् नेहरु सरकारले राष्ट्रपति शासन लगाएर विघटन गरेको र सबै नेताहरू कारागारमा बन्द गर्दासमेत संशोधनवादी भारतीय कम्युनिष्ट पार्टीको तत्कालीन नेतृत्व नेहरूको पुँजीवादी सरकारबाटै समाजवादको निर्माणको अन्धविश्वासमा रहेको थियो ।
भारतीय स्वतन्त्रतापछिको पहिलो निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी दोस्रो ठूलो संसदीय दल थियो । भारतजस्तो संसारको दोस्रो सबभन्दा ठूलो जनसङ्ख्या भएको देश तथा रुस, चीन र भारतको एकताले संसारमा ठूलो उथलपुथल हुने सम्भावनालाई देखेर साम्राज्यवादी शक्तिहरूले रुस, चीन र भारतको माझमा फाटो ल्याउने षड्यन्त्र गर्दै थिए ।
एकातिर सोभियत कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको बीचमा ‘क्रान्ति सशस्त्र वा शान्तिपूर्ण’ तथा ‘साम्राज्यवादको चरित्र बदलिएको छ’ भन्ने जस्ता विषयमा गम्भीर सैद्धान्तिक बहस थियो । साथै तत्कालीन समयमा संशोधनवाद स्वयम् ठूलो खतरा र क्रान्तिमा बाधक भएको चर्काे सैद्धान्तिक सङ्घर्ष पनि चल्दै थियो ।
सन् १८७०–७१ को पेरिस कम्युनको क्रान्तिको समयमा युरोपेली साम्राज्यवादी देशहरू जर्मनी
(विस्मार्क) मार्फत फ्रान्समा हमला गर्न दिई पेरिस कम्युनलाई पूर्णरूपमा दमन गरियो । एउटा छिमेकी पुँजीवादी देशमा सर्वहारा क्रान्तिको सम्भावना हुनासाथै अर्काे पुँजीवादी देशलाई आक्रमण गर्न दिन्थ्यो र क्रान्तिलाई दबाउँथ्यो ।
साम्राज्यवादी देशहरू आपसमा बेमेल भए पनि सर्वहारा क्रान्तिलाई दबाउन तिनीहरू आपसमा एक हुन्थे । सन् १९५७–१९६० तिरको चिनियाँ कम्युनिस्ट आन्दोलन र संसारका विभिन्न देशका अगाडि बढ्दै गएको साम्राज्यवादविरोधी सङ्घर्षहरूलाई निस्तेज पार्न र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भाँजो हाल्न साम्राज्यवादीहरूले रुसी नेतृत्वलाई अगाडि सारे तथा क्रान्तिविरोधी विश्वासघात गर्न प्रेरित गरे ।
भारतीय जनताको साम्राज्यवादविरोधी सङ्घर्ष र कम्युनिस्ट आन्दोलनलाई दबाउने स्थिति तयार गर्न साम्राज्यवादी र रुसी संशोधनवादीहरू मिलेर मैक माहोन भन्ने बेलायती सर्भेयरले बनाएको नक्साको आधारमा चीन– भारत सीमामा किचलो झिकी नेहरू सरकार सीमा भिडन्तमा उत्र्यो र त्यही निहुँमा भारतीय कम्युनिस्ट नेता र कार्यकर्ताहरूको दमन सुरु ग¥यो ।
तर भारतीय कम्युनिस्ट नेतृत्वले त्यसबेला साम्राज्यवादी षड्यन्त्र र रुसी संशोधनवादको प्रभावको विरोधमा युद्धको विरोधमा र नेहरू सरकारको आक्रमण नीतिको विरोधमा, सङ्घर्ष अगाडि बढाएको भए भारतीय जनताको क्रान्तिकारी लहरले संसारमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ उदाहरण बन्थ्यो र भारतीय कम्युनिस्ट आन्दोलनको रातो झन्डा अझ उँचो उठ्थ्यो । तर, आत्मसमर्पण गरेको र सङ्घर्ष गर्न दुविधा देखाएको हुनाले भारतीय कम्युनिस्ट आन्दोलन सङ्घर्षबाट पछि हट्दै क्रान्तिकारी सिद्धान्तबाट विचलित हुँदा जनताको सङ्घर्षमा चिसो पानी हालेजस्तै समाजवादी देशको पक्षमा सङ्घर्ष नगर्दा आज हतोत्साहको अवस्था भारतीय कम्युनिस्ट आन्दोलनले व्यहोर्दै छ । भारतको वर्तमान स्थितिबाट नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक मूल्यवान पाठ सिक्नु आवश्यक छ ।
Leave a Reply