भर्खरै :

कीर्तिमानी आरोहीको विमानस्थलमा भव्य स्वागत

काठमाडौँ, १३ कात्तिक (रासस) : नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।
नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो । कीर्तिमानी आरोही पुर्जाको आरोही टिमका मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङ आरोहण पूरा गरी आजै अपराह्न विमानस्थल आइपुग्नुभएको थियो ।
आरोही पुर्जाले मङ्गलबार बिहान स्थानीय समयअनुसार ८ः५८ बजे चीनको सिसापाङ्माको शिखरमा पाइला टेक्दै आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण सात महीनामै पूरा गरी कीर्तिमान बनाउनुभएको पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो ।
म्याग्दी घर भएका आरोही पुर्जा पूर्वब्रिटिस सैनिक हुनुहुन्छ । आरोहीलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । यसअघि सन् १९८७ मा पोल्यान्डका जर्जी कुकुच्जाले सात वर्ष ११ महीना १४ दिनको अवधिमा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *