सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
नेकपाका एक जना नेता पुष्पकमल दाहालले हालै एउटा कार्यक्रममा आफू र एमाले नेता मदन भण्डारीबीच धेरै समानता भएको बोले । भण्डारीसँग आफ्नो समानता पुष्टि गर्न उनले खुलासा गरे, “म ओरिजिनल माओवादी होइन ।”
कुनै बेला दाहालको लागि एमाले ‘बुर्जुवा दल’ र मदन भण्डारी ‘बुर्जुवा नेता’ थिए । मदन भण्डारीले ‘प्रतिपादन’ गरेको जनताको बहुदलीय जनवाद ‘नेपाली क्रान्तिको बुर्जुवा कार्यक्रम’ थियो । तर, आज भण्डारी र आफूबीच समानता रहेको दाहालको जिकिरले उनी स्वयम् बुर्जुवाकरण भएको पुष्टि गरेको छ । बुर्जुवा नेतासँग आफ्नो विचार मिल्ने भन्नुको अर्थ आफूले पनि बुर्जुवा स्वीकार्नु हो । एमाले र माओवादीबीच ‘एकता’ गरेर नेकपा गठन भएको छ । नेकपाभित्र आज नेतृत्वको प्रतिस्पर्धा पेचिलो बनेको वास्तविकता बेला–बेला सतहमा आउने नेताहरूका अभिव्यक्ति र व्यवहारबाट प्रस्ट हुन्छ । माओवादी नेता दाहाल नेकपाको नेता बन्न एमालेकै कार्यकर्ताको पनि मन जित्नु परेको छ । त्यही लक्ष्य फत्ते गर्न उनले एमालेहरूका ‘सर्वमान्य नेता’ मदन भण्डारीको तुरूप फ्याँकेका हुन् । समकालीन नेताहरू भएकाले मदन भण्डारी र दाहालबीच भेटघाट र छलफल भइरहनु स्वाभाविक हो । तर, माओवादी कालमा दाहालले तिनै भण्डारीलाई बुर्जुवा भनेर भण्डारीसँगको सम्बन्धका नकारात्मक पक्ष उजागर गरेका थिए भने आज एमालेकै नेता बन्नुपर्ने अवस्थामा भण्डारीसँगको सम्बन्धका सकारात्मक पक्ष प्रकाशमा ल्याएका हुन् । यो धुर्तता, कपट र अवसरवादी राजनीतिको उदाहरण हो । ‘माछा आउँदा दुलोभित्र हात, सर्प आउँदा बाहिर हात’ अवसरवादी राजनीति हो । सिद्धान्तभन्दा स्वार्थ माथि हुन थालेपछि नेताहरूले यस्तै अभिव्यक्ति दिने गर्छन् ।
‘म ओरिजिनल माओवादी होइन’ भन्ने दाहालको अभिव्यक्ति एमाले र चैते माओवादी कार्यकर्ताको लागि रमाइलो विषय हुनसक्छ । तर, माओवादी विद्रोहको लागि आफ्नो जीवन गुमाउने, परिवार गुमाउने, सम्पत्ति गुमाउने इमानदार नेता–कार्यकर्ताको लागि भने पीडाको विषय हो । माओवादी भएकैले अनेकन सास्ती र यातना भोग्ने उनीहरूले ‘क्रान्ति नायक’ मानेको व्यक्तिले नै आज ‘आफू ओरिजिनल माओवादी नभएको’ भन्दै माओवादी शब्दकै मज्जा बनाउँदा पीडाबाहेक के हुनसक्छ र !
कुनै बेला दाहालको उपनाम ‘प्रचण्ड’ को नाममा ‘प्रतिपादित’ सिद्धान्त ‘प्रचण्डपथ’ माओवादीले पारित गरेको थियो । मदन भण्डारीकै विचारसँग प्रचण्डको उत्तिबेलै विचार मिल्थ्यो भने जनता झुक्याउन किन अर्को पथ र सिद्धान्त बनाइएको नाटक गरियो ? मदन भण्डारीकै जनताको बहुदलीय जनवादको सिद्धान्तलाई नै प्रचण्डको सिद्धान्त मान्नुपथ्र्यो । भण्डारीको संशोधनवादी र खु्रश्चेभपन्थी नीतिलाई नै आफ्नो नीति मान्ने दाहालको नीति थियो भने दसौँ हजार मानिसको अनाहकमा ज्यान जाने र देशको अर्थतन्त्र ध्वस्त बनाउन किन कथित जनयुद्धको नाटक रचियो ? त्यो सशस्त्र विद्रोहमा ज्यान गुमाउने, अङ्गभङ्ग हुने मानिसको भावना र बलिदानको मूल्य के अहिले दाहालले दिनसकेका छन् ?
दाहालको उक्त स्वीकारोक्तिले कम्तीमा नेपाली जनता स्पष्ट हुने मौका पाएका छन्– मदन भण्डारी जसरी सोभियत संशोधनवादी खु्रश्चेभका नेपाली संस्करण हुन्, दाहाल मदन भण्डारीका संस्करण हुन् । संसारको जुनकुनै देशमा संशोधनवादीहरूको मूल लक्ष्य भनेको क्रान्तिकारी आवरणमा क्रान्तिलाई समाप्त गर्नु हो । दाहाल र भण्डारी दुवैको वैचारिक सामिप्यताको अर्थ दुवै संशोधनवादी भएको स्वीकारोक्ति हो । दाहालले आफ्नो असली रूप आफैँले खोल्नु भने रोचक पक्ष हो ।
Leave a Reply