भर्खरै :

जुवा खेल्नेहरूलाई जनविश्वास सुम्पन छोड्नुपर्छ

– बोधबहादुर नेपाली
सामन्ती युगमा जुवा खेल्नु अभिजात्य वर्गको शोख र अभिमान हुने गथ्र्यो । महाभारतकालमा राजा युधिष्ठिरले जुवामा आफ्नो सम्पति र राज्यमात्र नभई भाइहरू र रानीहरूसमेत हारेको वर्णन छ । सामन्ती युगको उक्त जुवाको लतको आज पुँजीवादी युगमा पनि उत्तिक्कै प्रभाव बाँकी नै छ । नहोस् पनि किन ? आजको युगमा जुवा खेलाउने नकाम स्वयम् नै पेशा र व्यवसाय बनेको छ । आजका दिनमा जुवा खेल्नेहरू समाजमा इज्जत नभएकाहरू वा बुद्धि नभएकाहरू भनी सोच्ने हो भने त्यो पनि गलत हुन्छ । जुवा खेल्नेहरू सर्वसाधारण मानिसमात्र नभई पूर्व मन्त्री र वर्तमान सांसदहरूसमेत छन् । प्रहरीले शनिबार राती काठमाडौँको बाँसबारीको एक घरबाट २५ जना जुवाडे र २ करोड ६७ लाख नगद रकम बरामद गर्यो । नेपाली इतिहासमै सबैभन्दा धेरै रकम बरामद गरिएको भनिएको त्यो घटनामा पक्राउ पर्नेमा पूर्वएमालेका एक पूर्वमन्त्री र नेपाली काङ्ग्रेसका एक बहालवाला सांसदसमेत परेको समाचार आएको थियो । पछि क–कसको दबाबमा हो ती भीआईपी जुवाडेहरूलाई छाडियो वा पक्राउ नै नपरेको बताइयो ।
मुलुकी अपराधसंहिता २०७४ ले जुवा खेल्ने र खेलाउनेलाई गर्ने कानुनी कारवाही, दण्ड सजाय आदिबारे स्पष्ट पारेको छ । मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ ले जुवा खेले वा सट्टेबाजी गरेमा त्यो अपराध हुने भनेको छ । यही दफाको उपदफा २ मा यदि जुवा खेले वा खेलाएमा गरिने सजायको व्यवस्था गरेको छ । उपदफा २ को कमा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख गरेको छ । त्यसैगरी यदि कोही व्यक्ति दोस्रोपटक जुवा खालबाट पक्राउ परेको छ भने एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप ३ महिनासम्म कैद र थप १० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख गरिएको छ ।
पूर्वमन्त्री र सांसदहरूलाई जुवा खालमा पक्राउ पर्दा पनि बिना कारवाही छाडिदिएर सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । प्रहरी कारबाहीमा समेत अनुचित हस्तक्षेप भयो । सरकारले कारबाही नगरेपनि जनताले त्यस्ता सांसदहरूको राजीनामा माग गर्नुपर्छ । जुवामा रमाउने र भुल्ने व्यक्तिहरूले जनप्रतिनिधिको वास्तविक भूमिका निर्वाह गर्न सक्दैन र समाजलाई सही बाटो देखाउन सक्दैन । जनताले पनि आफू स्वयम् नै सचेत र सजग बनी जुवा खेल्नेहरूलाई जनविश्वास सुम्पन छोड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *