भर्खरै :

बेलायतमा प्रवासी मजदुरको दुर्दशा

रिम्पी गिल, इङल्याण्ड
(लेखिका टिम्पी गिल कैयन वर्षसम्म बेलायतमा मजदुरको रूपमा कार्यरत छिन् । यो लेख उनको आफ्नो र नजिकका मानिसहरूको निजी अनुभवमा आधारित छ । उनको विचारमा त्यहाँ जति मानिस छन् त्यति नै कहानी र त्रासदीहरू छन् । देशको बेरोजगारी र शोषण उत्पीडनबाट बच्न जसरी पनि विदेश जाने चलन बढिरहेको छ । तर, धेरैजसोका लागि वास्तविकता उल्टो हुन पुग्छ ।)
बेलायतमा जाडो मौसम सुुरु भएसँगै कामकाज पनि घट्न थाल्छ । झरीको भरै हुन्न । जहिले पनि पर्न सक्छ । झरीले कामदारहरूको समस्या बढाइदिन्छ । काम गर्ने अनुमतिपत्र भएका मजदुरलाई त काम खोज्न सकस हुन्न । तर, अनुमतिपत्र नभएका मजदुरलाई भने फसाद पर्छ । दलालहरूले यसको पूरै लाभ उठाउँछन् । निर्माण र कन्स्ट्रक्शनको काम यहाँ सबैभन्दा अप्ठ्यारो काममा पर्छ । झन् जाडो याममा त अप्ठ्यारो दोब्बर हुन्छ । यस्तोमा काम गर्ने अनुमतिपत्र नभएका मजदुरहरूको चर्को शोषण हुन्छ । यिनमा प्रवासी मजदुर धेरै छन् । यहाँ कन्स्ट्रक्शनको काम गर्ने मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा ९ पाउन्ड हो । तर, यी प्रवासी मजदुरलाई प्रतिघण्टा ३ पाउन्डका दरले ज्याला दिइन्छ । अझ प्रतिदिनको हिसाबले ज्याला दिँदा झन् थोरै ज्याला दिइन्छ । एक दिनको ज्याला २५ पाउन्डबाट सुरु हुन्छ । यो ज्याला पनि एक दुई वर्षसम्म बढ्ने सम्भावना हुन्न । कामको सिफ्ट पनि १२ देखि १३ घण्टाको हुन्छ । यसमा विश्रामको कुनै निश्चित समय हुन्न ।
यहाँ भर्खर भर्खर आउँदा म टाढाका मामा पर्नेकहाँ केही दिन बसेकी थिएँ । त्यो घरमा कन्स्ट्रक्शनको काम चलिरहेको थियो । त्यहाँ काम गर्ने एक मजदुरलाई मामा अति फोहर गाली गर्थे । मामाले गाली नगरी उसित कुरा गरेको कहिल्यै सुनिनँ । मामालाई थाहा थियो म अलि विद्रोही मिजासकी छु । त्यसैले त्यो मजदुरसँग कुराकानी गर्नु हानिकारक हुनसक्ने देखेर मामा निगरानी राख्थे । एक दिन उनी घरमा नहुँदा मैले त्यो मजदुरसँग बातचित गर्न चाहेँ । तर, ऊ डराउँथ्यो र मलाई त्यहाँबाट गइहाल्न हत्ते गरिरह्यो । निकै कर गरेपछि उसले बतायो ऊ भारतमा एउटा बैङ्गमा काम गर्दो रहेछ । उसले इन्जिनियरिङमा डिग्री लिएको रहेछ । अहिले उसकी स्वास्नी गर्भवती रहिछन् र उसले अन्त कतै काम पाएनछ । बाध्य भएर उसले यहाँ काम गर्नुपरेको रहेछ । उसको स्वरमा दुःख र विवशता झल्किन्थ्यो ।
निर्माणको लाइनमा काम गर्ने मजदुरहरूको काम गर्ने म्याद ५ देखि ७ वर्षको हुन्छ । ठिहि¥याउने जाडोमा लगातार काम गर्नाले उनीहरूको ढाड कुप्रिन्छ । प्रायः सबैलाई ढाडको दुखाईले च्यापिरहन्छ । तर, कामबाट निकालिने डरले उनीहरूले यो पीडाको चर्चा कसैसँग गर्दैनन् । प्रवासी मजदुरहरूको बाध्यताको फाइदा उठाउने ठेकेदार र दलाल पनि प्रवासी नै हुन्छन् । यसै दुःखबाट गुज्रिएर मालिक बनेपछि उनीहरू अरूको ढाडमा चढेका हुन्छन् । र मजदुरलाई लुट्ने कुनै पनि मौका उनीहरू हातबाट चिप्लिन दिँदैनन् । मजदुरहरूको रगत चुसेर आफ्नो भकारी भर्नेहरूमा पन्जाबीहरू सबैभन्दा अगाडि छन् । उनीहरू भारतीय प्रवासीबाहेक रोमानिया, स्लोभाकिया र अन्य गरिब मुलुकका मजदुरबाट जन्तुहरूजस्तै काम लिन्छन् । दिनभरिको काम लिएपछि उनीहरूलाई रक्सी र चुरोट ख्वाएर हिसाब सल्टाउँछन् । अनि लाज पचाएर भन्छन् – यी मजदुरलाई पैसा जोर्ने लोभ छैन, यिनीहरू त रक्सी चुरोटले नै खुसी हुन्छन् ।
भनिन्छ टाढाको वस्तु चम्किलो हुन्छ । भारतमा धेरै मानिस त्यहाँको गरिबी र बेरोजगारीबाट दिक्क मानेर विदेशमा कामको अवसर खोजिरहन्छन् । तर विदेशमा प्रवासी मजदुरको अवस्था असाध्यै दयनीय हुन्छ । खाडी देश होस् वा युरोप अमेरिका, दशा उस्तै हो ।
उच्च शिक्षा प्राप्त गरेर पनि जागिर नपाएपछि वाक्क भएर युवाहरू ऋण काढेर वा जमिन, गरगहना आदि बेचेर विदेश हानिन विवश हुन्छन् । थोरैतिनो सम्पत्ति हुनेहरू वा परिवारमा कसैसँग आम्दानीको कुनै बलियो स्रोत हुनेहरू आयल्स आदि पढेर विदेश जाने तरिका रोज्छन् । तर पैसा नहुने र बेच्ने कुनै विशेष जग्गा, गरगहना वा सामान नहुनेहरू ५ प्रतिशतदेखि १० प्रतिशतसम्मको उच्च व्याजदरमा ऋण काढेर गुप्त तरिकाले विदेश जान बाध्य हुन्छन् । तर, यो निकै जोखिमपूर्ण बाटो हो । यसलाई डोन्की लगाउनु भनिन्छ । यसमा युवाहरूको हालत युद्धमा गएको कुनै सिपाहीजस्तै हुन्छ जसलाई भोलिको घाम देख्न पाउने हो कि होइन थाहा हुन्न । एजेन्टहरूले युवाहरूलाई समूह बनाएर पठाउँछन् । बेलायत आउन ३ लाख देखि ५ लाखसम्म लाग्छ । तर, यो तरिकाबाट विदेश जाने युवाहरूको बाटोमा आइपर्ने समस्याहरूको बारेमा बताइन्न । निःसन्देह, एजेन्टलाई पैसासँग मात्र सरोकार हुन्छ ।
तैपनि पढ्न वा पढेर विदेश आउने युवाहरूको अवस्था पनि त्यति राम्रो हुँदैन । धेरैजसोलाई काम गर्ने अनुमति हुन्न । र काम गर्ने अनुमतिपत्र छैन भने गैरकानुनी तरिकाले आएका र डिग्री लिएर वा डिग्री लिन आउनेहरूको अवस्था यहाँ आएर एउटै हुन जान्छ । संसारभर मजदुरहरूको अवस्था एउटै छ । देश जुनसुकै भएपनि सरकार, कम्पनीहरू र सानाठूला मालिकहरूले तिनलाई खुब शोषण गर्छन् । भारतमा त हरेक दिन मजदुरहरूलाई मारपिट गरेको, मजदुरी नदिएको, तिनलाई मानसिक र शारीरिक यातनाहरू दिएको खबर मिडियामा आइरहन्छ ।
पन्जाबबाट १६ वर्षपहिले डोन्की लगाएर बेलायत पुगेका लाड्डीले आङै सिरिङ पार्ने भोगाइ सुनाए । उनलाई एउटा समूह बनाएर भारतबाहिर पठाइएको थियो । रुसको बाटोबाट आउँदा उनी कैयौँ दिनसम्म भोकै र प्यासै रहे । ठिहि¥याउने जाडोमा उनलाई जङ्गली बाटो हुँदै युरोप पुग्नु थियो र त्यहाँबाट बेलायत । उनी रोजै कैयौँ माइल हिँड्थे । उनको भनाइअनुसार हरेक क्षण उनको टाउकोमाथि तरबार झुण्डिएको हुन्थ्यो । उनलाई एजेन्टका मानिसहरूले अ¥हाएअनुसार सारा काम गर्नुपथ्र्यो । जस्तोसुकै भूलचुक भएको खण्डमा पनि ज्यान जाने खतरा थियो । हिँड्न नसक्ने वा बाटोमा आउने कठीन स्थिति झेल्न नसक्नेलाई ज्यान मार्ने आदेश थियो । लाड्डीले बताएअनुसार धेरै कठिनाइ झेलेपछि युरोपबाट धागोका बिटाहरू भरिएको ट्रकमा लुकेर उनी बेलायत पुग्न सफल भए । केही हप्तापहिले नै बरमिङघम सिटी सेन्टरमा मुक्तसर पन्जाबबाट आएको यस्तै युवकसँग भेट भयो । ऊ पनि बडो सकसले बेलायत पुगेको थियो । रातको ११ बजेको थियो । उसँग न पैसा थियो, न यस्तो जाडोमा रहने कुनै बास । उसको लुगा अति मैलिएको थियो र जुत्ता फाटेको थियो । ऊ अघोर दुःखबाट गुज्रेर यहाँ आएको थियो भनी उसलाई देख्दाबित्तिकै अनुमान लगाउन सकिन्थ्यो । उसले बतायो, ऊ ऋण लिएर पन्जाबबाट काम गर्न आएको थियो । घरमा केवल उसकी बुढी आमा रहिछन् । उनलाई एक्लै छोडेर ऊ यहाँ आउनुहुँदैनथ्यो । तर कहीँकतै काम नपाएपछि उसले यो पाइला चाल्नुपरेको थियो ।
भारत बाहिरका मजदुरको अवस्था पनि उति फरक छैन वा राम्रो छैन । संयुक्त अधिराज्य (युके) मा कामदारहरूले काम गर्ने, तिनको जीवनस्तर उकास्ने, काम गर्ने ठाउँमा सुरक्षा सुनिश्चित गर्ने कैयन कानुन छन् । तर, बाहिरबाट आएका मजदुरको हकमा भने यी कुनै पनि कानुन काम लाग्दैनन् । पछिल्ला २५ वर्षमा युकेमा बाहिरबाट आई बस्ने प्रवासीहरूको सङ्ख्या दोब्बर (३७ देखि ८५ लाख) भन्दा बढी पुगेको छ ।
यहाँ भारतीयहरूको सङ्ख्या मात्र करिब १४ लाख पुगेको छ । यति ठूलो जनसङ्ख्यामा गैरकानुनी तरीकाबाट बस्ने भारतीयको सङ्ख्या ७५ हजारदेखि १ लाखको नजिक छ । प्रवासी मजदुरहरूले काम पाउन निकै झन्झटिलो छ । र काम गर्ने अनुमतिपत्र नभए समस्या दोब्बर हुन्छ । अनुमतिपत्र नहुनेहरू धेरैजसो निर्माण लाइन र कन्स्ट्रक्शनमा काम गर्छन् । यो अति अप्ठ्यारो काम हो । खासगरी यो चिसो देशमा । यहाँ जाडो याममा हड्डी नै छेँड्नेगरी तापमान —१५ सम्म पुग्छ । यस्तो खतरनाक मौसममा मजदुरहरू काम गर्न तयार हुनुपर्छ । कन्स्ट्रक्शनको काम गर्ने मजदुरहरूलाई असाध्यै कम ज्याला दिइन्छ । सुरुमा २५–३५ पाउन्ड दिइन्छ र पैसा यति कम दिइनुको कारण कामको अनुभव कम हुनु वा नहुनु बताइन्छ । कार्यस्थलमा सुरक्षालाई चासो दिइन्न, न काम गर्न मजदुरहरूलाई उपयुक्त सामान उपलब्ध गराइन्छ । यसको कारण हो, सकेसम्म कम लागतमा मजदुरबाट काम लिने मनसाय । बरु यसमा मजदुरको ज्यानै किन नजाओस् । काम गर्दागर्दै कुनै दुर्घटना भएमा त्यसलाई सकेसम्म लुकाइन्छ किनभने हेल्थ एन्ड सेफ्टीका कर्मचारीले यसको सुइँको मात्र पाए भने काम गराउने र गर्ने सबैलाई समातेर जेलमा कोच्न सक्छन् । काम गर्न नै यो देशमा आएको मजदुर, त्यसमाथि कुनै कागजपत्र बेगर काम गर्ने मजदुरले आफूसँग भएको दुर्घटनालाई सबैभन्दा पहिले लुकाउँछ । कसैसँग चालक अनुमतिपत्र छ भने अलि सजिलै काम पाउन सक्छ किनभने ठेकेदारले ऊबाट चालक र मजदुर दुवैको काम लिन्छ ।
चालक अनुमतिपत्र भएका कन्स्ट्रक्शनको काम गर्ने जसवीरलाई काम गर्न बरमिङघमबाट अक्सफोर्ड जानुपथ्र्यो । हरदिन ७८ माइल गाडी चलाएर उनी काममा जान्थे । त्यहाँ कडा मिहिनेत गरेपछि राति फेरि ७८ माइल गाडी चलाएर घर फर्किन्थे । उनी प्रत्येक बिहान ६ बजे घरबाट निस्केर ठेकेदारलाई उसको घरबाट लिएर पुनः काममा जान्थे । जसवीरले यति कडिकडाउ काम गरेपछि ४५ पाउन्ड पाउँथे र त्यसमाथि आफ्नो गाडी पनि प्रयोग गर्नुपथ्र्यो । खालि तेलको खर्च ठेकेदारले दिन्थ्यो । बाँकी गाडीको मेन्टेनेन्स र इन्स्योरेन्सको सारा खर्च जसवीरले नै तिर्नुपथ्र्यो । यी सबै खर्चपछि उनले केवल ३५ पाउन्ड बचाउँथे जबकि ठेकेदारले उनले भन्दा आधा मिहिनेत गरेर १५० देखि २०० पाउन्डसम्म ज्याला पाउँथ्यो ।
कामको अनुमतिपत्र नभएका मजदुरले अरूले भन्दा दुईगुना, तीनगुना काम गर्नुपर्छ । यसले गर्दा उनीहरूलाई अनेक किसिमका मानसिक र शारीरिक रोग पनि लाग्छन् ।
अनुमतिपत्र वा कुनै कागजपत्र बेगर यहाँ बस्ने एउटा ठूलो आवादी प्रत्येक दिन मालिकको शोषणको शिकार हुन्छ । ठेकेदार र मालिकहरू मजदुरलाई ज्याला दिन आनाकानी गर्छन् किनभने उनीहरूलाई थाहा हुन्छ मजदुर उजुरी गर्न कहीँ जान सक्दैन । मुख खोलेमा आफै फस्छ । यही डरका कारण ती प्रवासी मजदुरहरू मालिकले जे भन्छन् त्यसै गर्छन् र मालिकले आफै ननिकालेसम्म काम पनि खोज्दैनन् ।
बरमिङघमको हेन्डस्वर्थ इलाकामा सोहो रोड निकै प्रसिद्ध छ । यस रोडमा ३५० भन्दा धेरै पसल छन् । धेरैजसो पसल भारतीयहरूका छन्, त्यसपछि पाकिस्तानी, अफ्गानी र अफ्रिकीहरूका छन् । यो इलाका प्रवासी मजदुरहरू लुट्ने अखडा हो । यहाँ सरकारी न्यूनतम् ज्याला दिइने पसल थोरै मात्र छन् । यसबेला न्यूनतम ज्याला प्रतिघण्टा ७.८३ पाउन्डका दरले दिइन्छ । अप्रिलमा यो ८.२१ पाउन्ड पुग्नेछ । तर, यहाँ काम गर्ने मजदुरहरूले प्रतिघण्टा २ पाउन्डको दरले ज्याला पाउँछन् । अलिअलि अनुभव छ भने ३ पाउन्ड र कोही दक्ष छ भने ५ पाउन्ड, यसभन्दा एक पैसा बढी पाइन्न । सोहो रोडमा काम गर्नेहरूमा धेरैजसो महिला छन् । यहाँ एक ग्रोसरी स्टोर (एसएन्डी) मा काम गर्ने महिलाले बताइन्, उनी जुन स्टोरमा काम गर्छिन् त्यसको मालिकले उनलाई पिसाब गर्नसमेत जान दिन्न । उनी ब्रेकमा मात्र बाथरुम जान पाउँछिन् । ड्यूटी टाइममा जानु परेमा धेरै अनुनयविनय गर्नुपर्छ । यसकारण उनी काममा पानी पनि पिउँदिनन् ।
यस रोडमा ड्राइक्लिनको एउटा अति प्रसिद्ध पसल छ (पसलको नाम मिडल्याण्ड ड्राइक्लिन) । त्यहाँ प्रायः भ्याकेन्सीको बोर्ड झुण्डिरहन्छ । यो निकै चल्तीको चाल हो, मान्छेलाई कामको टे«निङको बहानामा निःशुल्क काम गराउने । त्यहाँ दुई हप्ताको टे«निङ लिएको एक पैसा ज्याला पाउँदैनन् कामदारले (कसैले पनि दिन्न) । दुई हप्ताको टे«निङपछि तेस्रो हप्तामा मजदुरको काममा खोट निकालेर वा कुनै अर्को बहाना बनाएर उसलाई त्यहाँबाट निकालिन्छ । उसको ठाउँमा अर्को अन्जान व्यक्ति धोका खान आउँछ । त्यहाँ काम गर्ने एउटी केटीले बताएअनुसार त्यस लाउन्ड्रीमा काम गर्ने सबै आइमाई मात्र छन् । काम धेरै अप्ठ्यारो छ तर गर्नैपर्छ । अति गह्रुँगो स्टीमर माथिदेखि तल र तलदेखि माथि उचाल्नुपर्छ । कतिसम्म भने मजदुर महिला गर्भवती भएमा पनि उनलाई त्यति नै गाह्रो काम गर्न भनिन्छ र यहाँ पनि प्रतिघण्टा २ पाउन्डका दरले पैसा दिइन्छ । एक वर्षपछि मात्र प्रतिघण्टा ३ पाउन्डका दरले ज्याला दिन थालिन्छ ।
प्रवासी मजदुरहरूको अवस्था योभन्दा पनि दयनीय र गम्भीर छ । यहाँ उनीहरूलाई दासजस्तै जिन्दगी बिताउनुपर्छ । कामको अनुमतिपत्र वा कागजपत्र नभएकोले कसैले पनि आफूमाथि भएको अत्याचारको उजुरी गर्न सक्दैन । कहीँ कसैले बसाइसराइको पोल नखोलोस् भनेर उनीहरू डराउँछन् । उनीहरूको बाध्यताको फाइदा उठाउन यहाँ धेरै अपराधी समूह पनि सक्रिय छन् । यी समूहले प्रवासीहरूलाई तारो बनाउँछन् । ती प्रवासीसँग बैङ्कको खाता र चालक अनुमतिपत्र हुन्छ तर भिसा सकिएको हुन्छ र उनीहरू लुकीछिपी काम गर्छन् । जुन यहाँको कानुनअनुसार अपराध हो । यस्ता अपराधी समूहले मानिसलाई बैङ्कबाट ऋण लिन मद्दत गर्ने जाल बुन्छन् । यदि व्यक्तिलाई बढी अङ्ग्रेजी आउँदैन भने काम झन् सजिलो बन्छ । यी समूह चलाउनेहरू निकै चतुर र छाँटिएका खेलाडी हुन्छन् । तिनले पहिले मानिसलाई साथी बनाउँछन् । अनि उनीहरूका कमजोरीहरू खोज्छन् । त्यसपछि लोभ देखाएर वा विश्वास जितेर उनीहरूको आइडीको दुरूपयोग गर्छन् । यस्ता समूहले मानिसलाई भीआईटी ठगीमा फसाएर आफू भने चलाखीपूर्वक निस्कन्छन् । यो काममा लाखौँ करोडौँको हेरफेर हुन्छ । यहाँ जसको आईडी प्रयोग गरिन्छ उसलाई तिनको ठूलो घोटालाको अत्तोपत्तो हुन्न । पत्तो पाए पनि उसलाई ब्ल्याकमेल गरिन्छ र मार्ने धम्की दिइन्छ । सारा खेल यति साफ खेलिन्छ कि पीडितमात्र फस्छ र जालसाजी गर्नेले प्रत्येक खेलबाट ३० हजारदेखि ५० हजार पाउन्डसम्म कमाएर जान्छ ।
महिलाहरूको अवस्था झन् नाजुक छ । एक्लै बस्ने धेरै केटीहरूलाई काम दिलाउने प्रलोभनमा फसाएर देहव्यापारको घिनलाग्दो धन्दामा धकेलिन्छ । पन्जाबबाट नै विद्यार्थी भिसामा आएकी केटी (जसको नाम यहाँ उल्लेख गर्दिन) ले काम नपाएपछि देहव्यापार गर्न थाली । यहाँ सोहो रोडमा नै साबी नामकी आइमाई विद्यार्थी र कामको खोजीमा रहने केटीहरूलाई आफ्नो पार्लर र बुटिकमा काम दिने बहानामा आफूनजिक ल्याउँछे । उसले अलिअलि काम दिएर मद्दत गरेजस्तो ढोंग गर्छे । अनि मौका हेरेर कम समयमा धेरै पैसा कमाउने लालच देखाएर तिनलाई क्लबहरूमा नाच्न उक्साउँछे । समयमै साबीको फोहर मनसाय चाल नपाएको भए ऊकहाँ काम गर्ने रवीता, कमल र किरणको जिन्दगी पनि बर्बाद हुन्थ्यो ।
प्रवासी मजदुरहरूको दुरावस्था निराकरण गर्न यहाँ कुनै नियम छैन, कुनै युनियन छैन । यी चम्किला विकसित देशको अर्थव्यवस्थाको मेरुदण्डका हड्डी यिनै प्रवासी मजदुर हुन् जो आफ्नो घरपरिवार सबै छोडेर यहाँ गुमनाम र नारकीय जीवन बिताउन बाध्य छन् । कति यस्ता मजदुर छन् जो १०–१५ वर्षदेखि घर जान सकेका छैनन् । तिनीहरूले यहाँ एउटा मेसिनले जस्तै काम गरिरहेका छन् जसको रिमोट मालिकहरूको हातमा छ ।
(स्रोत ः मजदुर बिगुल)
अनुवादः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *