सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
ई. राजदास श्रेष्ठ
समाजवादको सपना बोक्दै म लागिरहेँ । कम्युनिस्ट नेताहरू कम्युनिस्ट विचारधारा बोकेका लेखक साहित्यकारहरूले देखाएको बाटोमा र प्रायः प्रत्येक नेपालभाषा आन्दोलनका सभा समारोहमा म निरन्तररूपमा गइरहेँ । हरेक शनिबार ठाउँ–ठाउँमा हुने नेपालभाषा साहित्य सम्मेलनमा जाँदा जाँदै मैले धेरै लब्ध प्रतिष्ठित साहित्यकारहरूका साथै नयाँ–नयाँ कलाकारहरूलाई चिन्ने अवसर प्राप्त गरेँ । पुराना नाम चलेका साहित्यकारहरूमध्ये मैले प्राध्यापक प्रेमबहादुर कंसाकार र हास्य–व्यङ्ग्यात्मक लेख–रचनाहरू लेख्ने भक्तपुरका साहित्यकार प्राध्यापक सूर्यबहादुर पिवालाई नजिकबाट चिन्ने अवसर पाएँ । त्यस्तै जनकवि दुर्गालाल श्रेष्ठ र प्रोफेसर डाक्टर कमलप्रकाश मल्ललाई नजिकबाट अध्ययन गर्ने मौका पाएँ । नेपालका सुविख्यात चित्रकार चन्द्रमान मास्केका सुपुत्र गम्भीरमान मास्केकहाँ म अङ्ग्रेजी ट्युसन पढ्न गएँ । उहाँ त्रिपुरेश्वरस्थित शान्ति निकुञ्ज हाइस्कूलका हेडसर हुनुहुन्थ्यो । जनगायक भृगुराम श्रेष्ठलाई साहित्य सम्मेलनहरूमा जाँदा जाँदै चिन्न थालेँ । उहाँका गीतहरू मलाई धेरै मनपथ्र्यो । भृगुरामजी एक राम्रा गायक हुनुहुन्छ र उहाँ सधैँ नेपालभाषामा गीत गाउनुहुन्थ्यो । उहाँ प्रायः जनकवि दुर्गालाल श्रेष्ठले लेख्नुभएका गीतहरू गाउनुहुन्थ्यो ।
नेपालभाषा आन्दोलनले मलाई धेरै प्रभाव पा¥यो । भाषा र साहित्यको बारेमा बढी जान्न पे्रमबहादुर र सूर्यबहादुरकहाँ नियमित जान थालेँ । नेपालभाषा साहित्य क्षेत्रमा पे्रमबहादुर कंसाकारले केही नयाँ प्रयोग र परिवर्तन ल्याउने प्रयास गर्नुभएको थियो । उहाँले नेपालभाषा लेख्दा विसर्ग त्याग्ने अभियान चलाउनुभयो । मैले पनि विसर्ग नराखिकन लेख्न थालेँ । तर भित्री मनले भने यो कुरा मानेन । त्यसकारण मैले विसर्ग राखेर नै लेख्न थालेँ र अहिले पनि लेख्दै छु । नेपालभाषामा विसर्ग (ः) राख्ने नराख्ने कुरामा आजसम्म विवाद चलिरहेकै छ । विसर्ग परित्याग गर्नेमा एकजना मेरा नजिकका साँखु
(सक्व) देशका साहित्यकार भाइ हुनुहुन्छ प्रोफेसर डा. बालगोपाल श्रेष्ठ । डा.बालगोपाल श्रेष्ठ हाल निडरलेन्डस् (हलैन्ड) मा बसिरहनुभएको छ । लन्डनको अक्स्फोर्ड विश्वविद्यालयका भिजिरीङ्ग प्रोफेसर र स–परिवार विदेशमा बसेर उहाँले हाम्रो नेपालभाषा साहित्य र नेवाः संस्कृतिको संवद्र्धन र संरक्षणको लागि धेरै अध्ययन अनुसन्धान गरी ठूलो योगदान पु¥याउनुभएको छ ।
डा.बालगोपाल महाकवि गिरिजाप्रसाद जोशीबाट प्रभावित हुनुहुन्छ । उहाँ महाकवि गिरिजाप्रसादका एक निकटतम अनुयायी हुनुहुन्छ । नेवाः संस्कृति र साहित्यको संवद्र्धन गर्ने दिशामा हरबखत उहाँ तत्पर भइरहनुभएको छ । शङ्खरापुर, सक्व देशको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने काममा उहाँले धेरै योगदान गर्नुभएको छ । शङ्खरापुरको सबभन्दा ठूलो धार्मिक तीर्थस्थल बज्रजोगिनी देवीको मन्दिरको मर्मत सम्भारको लागि उहाँले ठूलो आर्थिक सहयोग जुटाइदिनुभएको थियो । शङ्खरापुर सहरभित्रका मठमन्दिरहरूको मर्मत सम्भारमा पनि ठूलो आर्थिक सहयोग उपलब्ध गराइदिनुभएको कुरा सराहनीय छ ।
शङ्खरापुरका ज्योति लिङ्गेश्वर महादेव स्थानको मन्दिर तथा पोखरीको पुनःनिर्माणको साथसाथै उक्त मन्दिर परिसरलाई अत्यन्त सुन्दर स्वरुप दिन उहाँले आर्थिक सहयोग गर्नुभएको थियो । साथै शङ्खरापुरको मूलबजारलाई पनि सुन्दर सांस्कृतिक स्थलको रूपमा स्थापित गर्नुको साथै पौराणिक ढुङ्गेधाराको मर्मत सम्भार गर्न ठूलो आर्थिक सहयोग जुटाइदिनुभएको थियो । यसबाहेक शङ्खरापुर इलाटोल अवस्थित गणेश मन्दिरको पुनःनिर्माण कार्यको बाँकी झन्डै एक करोड रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइदिनुभएको थियो । यस पुनःनिर्मित गणेश मन्दिरको उद्घाटन समारोहमा उहाँ स्वयं उपस्थित हुनुभएको थियो– पोहर साल बेल्जियमबाट आएर आफ्ना श्रीमती श्रीलक्ष्मीका साथ । डा. बालगोपालका श्रीमती श्रीलक्ष्मी पनि एक प्रतिष्ठित साहित्यकार, पत्रकार हुनुहुन्छ । शङ्खरापुर र नेवाः संस्कृति साहित्य क्षेत्रमा उहाँको ठूलो दिलचस्पी र सहयोग समर्थन रहँदै आएको छ । डा. बालगोपाल र श्रीलक्ष्मीजीको माया र स्नेहले शङ्खरापुर, सक्व देशले आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने काममा ठूलो आडभरोसा पाएको छ ।
शङ्खरापुर नगरमा शुद्ध खानेपानी आपूर्ति गर्ने उद्देश्यले शङ्खरापुरको उत्तरी क्षेत्रमा अवस्थित खानेपानीको मूलस्रोतमा आवश्यक खानेपानी सङ्कलन गर्ने ट्याङ्कहरू र पानी प्रशोधन गर्ने फिल्टर ट्याङ्कहरू निर्माणको साथै खानेपानी पाइपलाइन जडान गर्न करोडौँ रुपैयाँको आर्थिक सहयोग सहायता जुटाइदिनुभएको थियो ।
विदेशमा बसेर पनि आफ्नो देशको कला, संस्कृति, भाषा, साहित्यको साथसाथै विकास निर्माणको काममा यति धेरै सहयोग गर्ने व्यक्ति बिरलै पाइएला । डा.बालगोपाल र श्रीलक्ष्मी मिलेर नेपालभाषा साहित्य र संस्कृतिको बारेमा निरन्तर अध्ययन र अनुसन्धान गरी विभिन्न लेख रचनाहरू प्रकाशन गर्नुको साथै उहाँहरूले नेपालभाषा साहित्य र संस्कृतिको विषयमा विभिन्न पुस्तकहरू प्रकाशन गर्नुभएको छ ।
महाकवि गिरिजा जोशीजस्ता साहित्यकार र उहाँकै प्रभावमा हुर्केका डा. बालगोपालजस्ता सुयोग्य सन्तानहरू शङ्खरापुर, सक्वमा जन्मनु हाम्रो लागि गौरवको कुरा छ ।
महाकवि गिरिजाकै कुरा गर्दा फेरि २०३६ तिर साँखुमा घटेका अति अप्रिय घटनाको याद आउँछ बारम्बार । जसरी २०४५ मा भक्तपुरमा ‘ह्योजु’ काण्ड अथवा भक्तपुर काण्ड मच्चियो झन्डै त्यस्तै गरी रचिएको थियो साँखुमा एक हत्या काण्ड । त्यस हत्या काण्डमार्फत धेरै जना निर्दोष व्यक्तिहरूलाई झूटा मुद्दामा फसाइएको थियो ।
२०३६ मा साँखुमा बज्रजोगिनी माइको जात्राको अन्तिम दिन ‘द्यो थाहाँ बिज्याः’ मा एकजना स्थानीय प्रधानपञ्चका छोराको निर्मम हत्या भयो । खास हत्यारा को हो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । तर, त्यस हत्याको आरोपमा सयौँजना निर्दोष व्यक्तिहरूलाई गिरफ्तार गरियो, जेल नेल ठोकियो, चरम यातना दिइयो र झूटो मुद्दा लगाइयो ।
कैयौँलाई घरघरमा गई निर्ममतापूर्वक लछारपछार गर्दै बाहिर निकालियो, पुलिस लगाई कुटपिट गरियो । कैयौँको कोठाबाट लुगाफाटो र ओढ्ने ओछ्याउने सिरोक डसना जलाइदियो ।
चैत महिना थियो । प्रत्येक वर्ष साँखुमा पूर्णिमाको दिन बज्रजोगिनी मन्दिरबाट माई बज्रजोगिनी ‘म्हासुख्वाः माजु’, भगवान् बुद्ध, चिबहा द्यो र सिंधिनी व्याँधिनी देवदेवीहरू जात्रा गरेर साँखु सहरभित्र ल्याई आठ दिन जात्रा उत्सव मनाउने परम्परा छ । चैत पूर्णिमाको ‘सक्व जात्रा’ का दिन यी देवदेवीहरूको मूर्ति साँखु सहर ल्याएर आठ दिन विविध पूजा अर्चना गरी चाडपर्व मनाइन्छ । आठौँ दिन ‘द्यो थाहाँ बिज्याः’ मा ती देवदेवीहरूको जात्रा गरी माथि मन्दिरमा लाने प्रचलन छ । ३६ सालको जात्रामा त्यही ‘द्यो थाहाँ बिज्याः’ को दिनमा उक्त हत्याकाण्ड भएको थियो । यो एक भक्तपुर काण्डजस्तै षड्यन्त्र नै थियो । साँखुमा बढ्दै गएको कम्युनिस्टहरूको प्रभावलाई निस्तेज पार्ने र कम्युनिस्ट विचारधाराका मानिसहरूलाई भौतिक आक्रमण गरी कम्युनिस्ट आन्दोलनलाई निषेध गर्ने पञ्चायत शासनको यो नियोजित योजना थियो । यस घटनामा असङ्ख्य निर्दाेष मानिसहरूले धेरै दुःख कष्ट भोगे ।
पञ्चहरूको आँखामा कसिङ्गर बनिरहेको प्रगतिशील विचारधाराका मानिसहरूलाई भौतिक तथा शारीरिक यातना दिनुका साथै अमानवीय तरिकाले घर–घरबाट चेलीबेटीहरूलाई समाती लगेर निर्वस्त्र पारेर इज्जत लुट्ने काम पनि भयो । साँखुका खेतबारीहरूमा काट्नमात्र बाँकी रहेका गहुँबालीहरूमा आगो लगाइएको थियो । खन्नमात्र बाँकी रहेको आलुबारीमा जलमग्न गरी पाकिसकेको आलु नष्ट गरिएको थियो ।
सयौँ निर्दोष मानिसहरू समातिए, जेल चलान गरी झूटो मुद्दामा फसाइए । कैयौँले महिनौँ कठोर भूमिगत जीवन बिताए ।
बिना कुनै कसुर समातिएर जेल चलान गरी अमानवीय यातना भोग्नेहरूमध्ये साँखुका महाकवि गिरिजा जोशी पनि हुनुहुन्थ्यो । उहाँलाई एक रङ्गमञ्चबाट समातेर पुलिसहरूले बाटैमा बुटै बुटले हानेर यातना दिई जेल चलान गरे । हनुमानढोकामा पनि धेरै यातना दिइयो उहाँलाई । अन्य कैदीहरूलाई जस्तै हातका औँलाहरूमा नङ र मासुभित्र सियो छिराएर यातना दिइएको थियो । उहाँको एउटा खुट्टामा कुनै बेला साइकलबाट लडेर केही चोटपटक लागेको थियो र त्यो घाउ निको भइसकेको थिएन । हनुमानढोकाको खोरभित्र शारीरिक यातना दिने क्रममा उहाँलाई त्यही घाउ भएको खुट्टामा पुलिसहरूले निर्ममतापूर्वक बुटहरूले हान्थे । उहाँको त्यो घाउ बल्झिएर क्यान्सर भएको शङ्का गरियो । उपचार गर्दागर्दै उहाँको ४९ वर्षको अल्पायुमा निधन भयो । यद्यपि उहाँ मुद्दा जितेर जेल मुक्त हुनुभएको थियो ।
यसरी पञ्चायत शासकहरूले देशका एक व्यक्तित्व, एक प्राध्यापक, एक साहित्यकार, एक महाकविको हत्या गरे । आखिर त्यो पञ्चायती व्यवस्था आफै ध्वस्त भयो– आफ्नै दुष्कर्मले गर्दा, प्रगतिशील प्रजातान्त्रिक जनताको आक्रोशले ।
Leave a Reply