भर्खरै :

माडुरोसँगको भेट किन लुकाउन खोजियो ?

तासकन्दमा भएको असंलग्न देशहरूको सङ्गठन नामको अठारौँ सम्मेलनको क्रममा प्रधानमन्त्री केपी ओलीसहितको प्रतिनिधिमण्डलले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग भेट्ने कार्यक्रम पूर्वनिर्धारित थियो । प्रम तासकन्दतर्फ उड्नुअघि नै नेपालका केही सञ्चारमाध्यमले माडुरोसँग भेटघाटको कार्यक्रमबारे समाचार प्रकाशित गरेका थिए । तर, माडुरोसँगको भेटबारे नेपाल सरकारले उति प्रचार गर्न चाहेन । सरकारले सोसम्बन्धी कुनै सूचना सञ्चारमाध्यमलाई दिएन । कार्तिक ८ गते (अक्टोबर २५) मा माडुरोले आफ्नो ट्वीटरमा नेपालका प्रधानमन्त्रीसँगको भेटघाटबारे ट्वीट गरेपछि बाँकी संसारले जस्तै नेपाली जनता पनि त्यसबारे जानकार भए । माडुरोको त्यही ट्वीटको आधारमा नेपालका केही सञ्चारमाध्यमले भेटबारे समाचार प्रकाशित गरे ।
विदेशी नेताहरूसँगको साना–तिना भेटलाई निकै प्रचार गर्ने नेपाल सरकारले माडुरोसँगको भेटलाई किन बाहिर ल्याउन चाहेन ? तासकन्द सम्मेलनमा माडुरो नामका अध्यक्ष थिए । नामको अध्यक्षसँगको भेटबारे प्रचार गर्न पनि सरकार किन डरायो ?
माडुरो संरा अमेरिकी साम्राज्यवादका विरोधी हुन् । संसारभर साम्राज्यवादले चलाइरहेको जगजगीको विरोधमा उनी प्रस्ट बोल्ने गर्छन् । पूर्वराष्ट्रपति ह्युगो चाभेजले संरा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुश र बाराक ओबामालाई जसरी छ्यास्ने गरेका थिए, माडुरो पनि अहिलेका संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्छन् । पश्चिमा साम्राज्यवादले ल्याटिन अमेरिकाका प्राकृतिक स्रोतको दोहन गरेर त्यहाँका जनताको शोषण गरेको भन्दै उनले सो क्षेत्रका समाजवादी शक्तिसँग मिलेर बोलिभारियाली समाजवादको लागि लड्दै आएका छन् । संरा अमेरिका र अन्य पश्चिमा साम्राज्यवादी देशलाई यो पटक्कै मन परेको छैन । ह्युगो चाभेजको साम्राज्यवादविरोधी सत्तालाई साम्राज्यवादी शक्तिले सैनिक विद्रोह र चुनावमार्फत फाल्न खोजेका थिए । तर, उनीहरू असफल भए । आज माडुरोको सत्तालाई उनीहरू षड्यन्त्र र जालसाझी गरी फाल्न खोज्दै छन् । ह्वान ग्वाइडो नामका एक जना विपक्षी दलका नेतालाई अघि सारेर केही महिनाअघिसम्म माडुरो सत्तालाई अपदस्थ गर्न षड्यन्त्र गरिएको थियो । जनताको बलियो समर्थनका कारण माडुरोविरूद्धको हमला निस्तेज बन्यो ।
संरा अमेरिका संसारका कुनै पनि देशले माडुरोको समर्थन नगरोस् भन्ने चाहन्छ । माडुरोका मित्रलाई उसले आफ्नो शत्रु ठान्दै आएको छ । नेपालका प्रधानमन्त्री एकातिर साम्राज्यवादविरोधी जस्तो देखिन चाहन्छन् भने अर्कोतिर साम्राज्यवादको अघि ‘असल’ पनि देखिन चाहन्छन् । माडुरोसँग भेट्दा संरा अमेरिका र अन्य पश्चिमा देश रिसाउने पो कि हुन् कि भन्ने पिरले ओलीले माडुरोसँगको आफ्नो भेट प्रकाशमा ल्याउन चाहेनन् । नेपाली जनतालाई समेत त्यसबारे सूचना लुकाउने काम गरे । यसले ओली सरकारको दोहोरो चरित्र प्रस्ट हुन्छ । भेनेजुयलामा माडुरो सरकारविरूद्ध भएको साम्राज्यवादी हस्तक्षेपको विरोधमा नेकपाका एक जना अध्यक्ष प्रचण्डले वक्तव्य दिँदा ओलीले त्यसमा असहमति जनाएका थिए । त्यसबाट पनि माडुरो सरकारबाट टाढा रहने ओलीको नीति प्रस्ट भएको थियो । साम्राज्यवादविरूद्ध जीवन–मरणको लडाईँ लडिरहेको भेनेजुयलाका नेतासँग भेट्दा साम्राज्यवाद रिसाउला भन्नेमा ओली सरकार चिन्तित देखिन्छन् ।
नेकपाले आफ्नो नाममा कम्युनिस्ट शब्द झुण्ड्याउन छोडेको छैन । कम्युनिस्टहरू साम्राज्यवादविरोधी हुन्छन् । साम्राज्यवादविरूद्ध लडिरहेका संसारका योद्धा र शक्तिलाई कम्युनिस्टहरूले ऐक्यबद्धता व्यक्त गर्ने गर्छन् । माडुरो आज साम्राज्यवादविरूद्धको लडाईँमा अग्रमोर्चामा लडिरहेका छन् । उनीसँगको भेटलाई सरकारले बढी प्रचार गर्नुपर्ने र जनतालाई भेनेजुयला र माडुरोबारे अझ जानकारी दिनुपर्ने थियो । विडम्बना ! ओली माडुरोसँगको भेटबारे कसैले थाहा नपाओस् भनी नेपाली जनतासँग सूचना लुकाइरहेका छन् । ओली को हो र ओली सरकार कस्तो सरकार हो, उसको व्यवहारबाट प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *