भर्खरै :

सांस्कृतिक पर्व छठ

कुसुम, रौतहट
छठ पर्वको परिचय
नेपाल विविध भाषा, धर्म र संस्कृत भएको मुलुकको रूपमा परिचित छ । भूगोलको आधारमा नेपाललाई तीन भागमा विभाजित गरिएको छ । भूगोल र धर्मअनुसार मानिसहरू विभिन्न खालका चाडवाड मान्ने गर्दछन् । हरेक समुदायको लागि चाड पर्व महत्वपूर्ण हुन्छन् । नेपाल संस्कृतिमा धनी देशको रूपमा चिनिन्छ । संस्कृति कुनै पनि देशको सम्पत्ति हुन्छ ।
तराईमा हिन्दू समुदायका व्यक्तिहरू दीपावली र छठ अन्य पर्वहरूको तुलनामा विशेष तरिकाले मनाउने गर्छन् । तिहार (दीपावली) सकेको केही दिनपछि यहाँका मान्छेहरू छठ मनाउन विशेष तयारीमा जुट्न थाल्छन् । छठ पर्वमा महिलाहरू व्रत बसेर सूर्यको पूजा गर्ने गर्दछन् ।
छठ पर्व मनाउनको लागि व्रतालु र त्यस घरका अन्य सदस्यहरू आवश्यक सरसामानहरू जोरजाम गर्नेमा जुट्छन् । छठ पर्वको लागि चाहिने आवश्यक सामग्रीहरू डोम समुदायले बनाउने बाँसको दाउरा (टोकरी), नाङलो, सुपली (बाँसको एक प्रकारको ठकन) डलीया (बाँसको सानो टोकरी), माटोको ठकन, केरा (पाकेको काँचो), धान, चामलको पिठो, गँहुको आटो, उखु, निम्बु, नरिवल, मिठाइ, मुला, काँचो अदुवालगायतका सामानहरू हुन्छन् । छठ पर्व हुनुपूर्व माथि उल्लेखित सामानहरू गाउँहरूमा सित्तैमा अथवा सस्तोमा पाउँछन् । तर, पर्वको नाममा यी सामानहरूमा २०० देखि ३०० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
तराईमा छठ पर्व भव्य तरिकाले मनाउने गरिन्छ । पर्वको नाममा जसले जति लुटे पनि त्यसको कहीँ कतैबाट विरोधको स्वर सुनिंदैन । बरु पर्व मनाउनेहरूले औँला टोक्दै किनमेल गर्दछन् । यो पर्वमा घरबाहिर बस्नेहरू प्रायः सबै जना आ–आफ्नो घर फर्कन्छन् ।
यो वर्षको छठ पर्व बुधबारदेखि औपचारिकरूपमा सुरुवात भएको छ । बुधबारको दिन व्रत बस्ने महिलाहरू आँपको बोटको हाँगा–बिङ्गाबाट दाँत माझेर नुहाई धुवाई गरी रहरको दाल र सरीहन धानको चामलको भात खाने गर्दछन् । यसलाई यहाँको स्थानीय भाषामा नहा खा भन्ने गरिन्छ । यो दिन मान्छेले आफ्नोक्षमताअनुसारको साकाहारी खानेकुरा खान्छन् र आजैको दिनदेखि व्रत नसकुञ्जेलसम्म नाङ्गै खुट्टा हिँड्ने गर्छन् । नहा खाको भोलिपल्ट व्रतालु महिलाहरू पहेँलो रङको लठी साँझतिर नुहाई धुवाई गरी राती खीर र रोटी पकाई, त्यसबाट केही भाग झिकेर पूजा गर्छन् ।
दिनभरि भोकै (उपासना) बस्ने ब्रतालु महिलाहरू राती खीर र रोटीमात्र खाने गर्दछन् । यो दिनलाई खरना भनिन्छ ।
खरना खाइसकेपछि छठ व्रत औपचारिकरूपमा नसकूञ्जेलसम्म पानीसमेत नखाइकन भोकै बसेर मनाउने गरिन्छ । खरनाको भोलिपल्ट ठेकुवा, कसार, मिठाइ र छठपर्वको लागि माथि उल्लेख गरिएका सामग्रीहरू दाउरामा बोकी घर नजिकै खोला छेउमा र यदि खोला नभएको ठाउँमा पोखरी नजिकै गाउँभरिका व्रतालुहरू भेला भएर अस्ताउँदै गरेको सूर्यको अर्घ दिई पूजा पाठ गर्छन् । छठीमातासँग सम्बन्धित विभिन्न गीत गाएर रातभरि आराधना गरिन्छ । यो दिनलाई सझिया घाटे भन्ने गरिन्छ । सझिया घाटेको भोलिपल्ट बिहान उदाउँदै गरेको सूर्यलाई अर्ध दिई यो व्रत औपचारिकरूपमा सकिन्छ । व्रतालु महिलाहरू आफूभन्दा ठूलाबडाको आशीर्वाद लिई खाना खाने गर्दछन् । टोल छिमेकमा छठ पर्व नहुनेहरूलाई पर्व मनाउनेहरूले प्रसादको रूपमा पकाएका विभिन्न परिकारहरू दिने गर्दछन् र छोरी–बेटीकहाँ कोसेलीको रूपमा पठाउने गर्दछन् ।
छठ पर्व किन मनाइन्छ ?
तराईका स्थानीय व्यक्तिहरूले छठीमाता अन्य देवी देवताभन्दा शक्तिशाली भएकोले छठीमाताको पूजा विशेष तरिकाले मनाउने गरिन्छ । छठ पर्व मनाउनुको मुख्य उद्देश्य छोरा, श्रीमान् र घर परिवारका सदस्यहरूमाथि कुनै प्रकारको सङ्कट नआओस् भन्ने नै हो । छठीमाता अन्य देवताहरूभन्दा रिसाउने भएकोले छठीमाताको विरोधमा बच्चादेखि बुढासम्म एक शब्द बोल्दैन । घरमा पहिलादेखि प्रयोग गर्दै आएका कुनै पनि सामग्रीहरू त्यसमा प्रयोग गरिंदैन । त्यसकारण जतिसुकै महँगो भए पनि सामानहरू किनेर यो पर्व मनाउने गरिन्छ ।
छठीमाताले हरेक व्यक्तिको जस्तोसुकै सङ्कट भए पनि समाधान गरिदिने जनविश्वास रहेको छ । मान्छेले छोराछोरी नपाउँदा, चर्मरोगलगायत अन्य खालका बिरामी भएपछि, जागिर लगाइदिन, परीक्षामा पास गराइदिन भाकल राखेर यो व्रत बस्ने गरिन्छ ।
भाकल गरेका कतिपय महिलाहरू पोखरी अथवा नदीमा सझिया घाटेको दिन अर्ध दिने बेलादेखि कम्मरसम्म पानीमा उभिएर व्रत नसकुञ्जेलसम्म उभिरहेको हुन्छन् । पानीमा बस्ने महिलाहरू चिसो लागेर कहिलेकाहीँ बिरामी हुन्छ । मान्छेहरू यसले केही गल्ती गरेको हुँदा समस्या भएको जनविश्वास रहेको छ ।
यो पर्व पहिला हिन्दूहरूले मात्र मनाउने गर्थे । तर, हिजोआज मुसलमान समुदायहरू पनि मनाउने गर्दछन् ।
धर्मको नाममा छुवाछूत कायमै
तराईको हिन्दू समुदायमा पानी चल्ने र नचल्ने समुदायहरू छन् । हिन्दू समुदायको लागि छठीमाता समान भए तापनि स्थानीय समुदायहरूले पूजा गर्ने ठाउँमा दलितहरूलाई पूजा गर्न दिँदैनन् । छठ पर्वको लागि बाँसको दाउरा र सुपली नभई हुँदैन । ती दाउरा र सुपली बुन्ने यहाँका डोम समुदाय नै हुन् । छठघाटको शोभा बढाउनको लागि चमार समुदायहरू बाजा बजाउने गर्दछन् । तीनै समुदायका व्रतालुहरूलाई अछुत भनेर एउटा कुनामा पूजा गर्न लगाउँछन् । कसैले उनीहरूसँग भलाकुसारी नै गर्दैनन् र एक अर्कासँग नजिक पनि बस्दैनन् । यस विषयमा सचेत नागरिकहरू धर्मको नाममा हुने भेदभाव हटाउनुको विकल्प छैन भन्छन् । यस विषयमा सबै आ–आफ्नो ठाउँबाट गम्भीर बन्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *