भर्खरै :

पर्यटक पथप्रदर्शकका लागि भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम

पर्यटक पथप्रदर्शकका लागि भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम

भक्तपुर, १५ असोज । टुर गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को आयोजनामा पर्यटक पथप्रदर्शक (टुरिस्ट गाइड) हरूका लागि भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन क्षेत्रले सोचेभन्दा फरक र व्यापक परिणाम दिन सक्ने बताउँदै पर्यटनबाट माथिल्लो तहदेखि सर्वसाधारण जनतासम्म लाभ पुग्ने गरी योजना बनाइनुपर्ने बताउनुभयो । भूकम्प, नाकाबन्दी, बाढीलगायतका समस्याले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै उहाँले पर्यटनलाई दिगो र व्यवस्थित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो ।
पर्यटकबाट होटल व्यवसायीदेखि स्थानीय जनतासम्म आर्थिक लाभ पुग्ने वातावरण निर्माण गर्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले पर्यटन शुल्कबाट प्राप्त रकम शिक्षा, स्वास्थ्य तथा विकास निर्माणको क्षेत्रमा लगानी गरी नगरवासीलाई प्रत्यक्ष लाभ पु¥याउने काम भइरहेको जानकारी दिनुभयो ।
विदेशी पर्यटकको आगमनमा उतारचढाव आइरहने भएकाले भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत जोड दिँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो । यसका लागि नगरपालिकाले संस्कृतिकर्मीहरूलाई सम्मान, परम्परागत सांस्कृतिक बाजा प्रतियोगिता तथा विभिन्न तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
भक्तपुरलाई विश्वकै जीवित सङ्ग्रहालयका रूपमा पर्यटकहरूले लिने गरेको उल्लेख गर्दै उहाँले यहाँका मौलिक कला, संस्कृति, सम्पदा र जीवनशैलीको संरक्षण तथा प्रवद्र्धनमा नगरपालिकाले प्राथमिकता दिँदै आएको बताउनुभयो ।
भूकम्पपछिको पुनर्निर्माणको क्रममा भक्तपुर नगरपालिकाले १८५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको जानकारी दिँदै उहाँले जनताको श्रमदान, आर्थिक तथा भौतिक सहयोगबाट सम्पदा पुनःनिर्माण हुँदा जनताले गौरव गर्ने वातावरण सिर्जना भएको बताउनुभयो ।
सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा शैक्षिक संस्थाहरूलाई समेत जोड्दै आएको बताउँदै उहाँले कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूलाई अनुसन्धानमा सहभागी गराई आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । सरसफाइलाई प्राथमिकता दिँदै भक्तपुरलाई सुरक्षित, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा परिकल्पना गरिएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकमा उल्लेख भएअनुसार भक्तपुरलाई मौलिक पहिचान कायम राख्दै विश्वकै हेर्नलायक सहरको रूपमा विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् टुर गाइड एसोसिएसन अफ नेपालकी अध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्गले भक्तपुरका सम्पदाबारे पर्यटक पथप्रदर्शकहरूलाई सत्यतथ्य र प्रामाणिक जानकारी हुनु आवश्यक रहेको बताउँदै पर्यटकलाई सम्पदाबारे सही जानकारी प्रदान गर्न तथा भक्तपुरको इतिहास, कला, संस्कृति र जीवनशैलीबारे थप ज्ञान हासिल गराउन विज्ञहरूबाट पुनर्ताजगी तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्याससमेत गराइने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पर्यटक पथप्रदर्शक कमल त्रिपाठीले पर्यटक पथप्रदर्शकहरूले पर्यटकलाई घुमाउने क्रममा विभिन्न चुनौती र जोखिम सामना गर्नुपर्ने बताउँदै भक्तपुरका सम्पदा अवलोकन गराउने क्रममा पर्यटकलाई यहाँका ऐतिहासिक गल्ली, मौलिक जीवनशैली र सांस्कृतिक पक्षबारे समेत जानकारी दिने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले पर्यटकको सहजताका लागि भक्तपुरका सम्पदा जोड्ने हेरिटेज रुटको व्यवस्था गर्नुपर्ने, आकस्मिक स्वास्थ्य समस्याका लागि मेडिकल पोस्टको व्यवस्था गर्नुपर्ने र नगरभित्र घुम्न कठिनाइ हुने अशक्त पर्यटकका लागि यातायातको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
पर्यटकलाई अनावश्यक मानसिक तनाव दिने हकर्सहरूको गतिविधि नियन्त्रण गरी स्वस्थ र मर्यादित व्यापारिक वातावरण निर्माण गर्नुपर्ने तथा अवैध रूपमा गाइडको काम गर्नेहरूलाई प्रोत्साहन गर्न नहुने धारणा पनि उहाँले राख्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाबारे पर्यटक पथप्रदर्शकहरूलाई थप तथ्यपरक ज्ञान प्रदान गर्ने उद्देश्यले सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षणको व्यवस्था गरिएको टुर्गानका महासचिव सुविन सितिखुले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *