सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
भारतको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को आह्वानमा भारतमा कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा गत अक्टोबर १७ मा भारतका विभिन्न ठाउँमा विविध गतिविधि भयो । ऐतिहासिक सन्दर्भको अवसरमा भारतका विभिन्न ठाउँमा आयोजित जुलुस तथा प्रदर्शनमा हजारौँ जनता सहभागी थिए ।
पश्चिम बङ्गाल
शतवार्षिकीको अवसरमा कोलकाताको नेताजी सभा हलमा समारोह आयोजना गरिएको थियो । सभाहलमा ‘इन्कलाब जिन्दावाद’ को नारा गुञ्जिएको थियो । सभा हल खचाखच भरिएको थियो । सयौँ जना भुइँमा बसेका थिए भने सयौँ जना उभिएर नै भारतीय कम्युनिस्ट पार्टी स्थापनाको इतिहास र त्यसयताको सङ्घर्षका गाथा सुनिरहेका थिए । सभालाई भाकपा (माक्र्सवादी) का नेता सीताराम यचुरीले सम्बोधन गरेका थिए । बाहिर भारी वर्षा भइरहेको थियो । तथापि कार्यक्रममा सहभागी मानिसलाई भारी वर्षाले लछारपाटो लगाउन सकेको थिएन । पूर्वानुमानभन्दा धेरै सङ्ख्यामा मानिसको सहभागिता थियो । सभामा सहभागीमध्ये अधिकांश युवाहरू हुनुले पनि सभालाई ऊर्जाशील बनाएको थियो ।
सभामा भाकपा (माक्र्सवादी) का महासचिव यचुरीले पार्टीका सुरुका संस्थापकहरूले कामदार जनताबीच विभाजन ल्याउने प्रयास विफल बनाउन वर्गीय एकताको लागि आह्वान गरेको बताए । उनले आजको सन्दर्भमा पनि त्यो आह्वान सान्दर्भिक भएकोमा जोड दिए । उनले दक्षिणपन्थी शक्तिविरुद्ध लड्न जनपरिचालनको लागि जनजीविकाका विषयमा जनसङ्घर्षको विकास र जनतामाथि बढ्दो भारको प्रतिरोध आन्दोलनको विकास गर्नुपर्ने बताए । उनले भने, “अल्पसङ्ख्यक, दलित र अरू क्षेत्रका जनतमाथिको हमला बढ्दो छ । यस्ता निशृंसताविरुद्ध कम्युनिस्टरूले निकै महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । ‘इन्कलाब जिन्दावाद’ हैकमवादी हमलाविरुद्ध प्रतिरोधको लागि आह्वान हो ।”
भाकपा (माक्र्सवादी) पश्चिम बङ्गालका सचिव सूर्य मिश्रले भारतमा कम्युनिस्ट आन्दोलनको लामो र समृद्ध परम्परा भएको बताए । “हाम्रो पार्टीले साम्राज्यवादविरोधी, सामन्तवादविरोधी र पुँजीवादविरोधी सङ्घर्षको विरासत बोकेको छ । तर, आज हामी हाम्रो लामो इतिहासको मात्र सम्झना गरिरहेका छैनौँ । आज हामी निकै गहिरो सङ्कट र पेचिलो सङ्घर्षको बीचमा छौँ ।”
मिश्र र सभाका सभापति विमान बासुले सुरुका दिनदेखि पश्चिम बङ्गाल कम्युनिस्ट आन्दोलनको एउटा केन्द्र रहँदै आएको स्मरण गरे । बासुले भारतको इतिहासमा कम्युनिस्टहरूले पहिलो पटक स्वराजको मुद्दा उठाएको बताए । “आज वैचारिकरूपमा फासीवादीहरूले समाजमा विषवमन गर्दैछन् । संविधानका आधारभूत पक्षमाथि हमला भइरहेका छन् । कम्युनिस्टहरूले एकताबद्ध बनाउने भूमिका खेल्नुपर्छ ।”
भाकपा (माक्र्सवादी) का पोलिटब्युरो सदस्य मोहम्मद सलिमले कम्युनिस्टहरूले युद्ध, साम्प्रदायिक दङ्गा र अनिकाल सबै साहसपूर्वक सामना गरेको बताए ।
“समाजको क्रान्तिकारी रुपान्तरणको बाटोमा निराशाको लागि कुनै ठाउँ छैन”, उनले भने । उनले पश्चिम बङ्गालमा राष्ट्रिय नागरिकता दर्ता कार्यक्रम (एनआरसी) को प्रतिरोध हुने बताए ।
शतवार्षिकी मनाउने क्रममा जलियावाला बाघ हत्याकाण्डको शतवार्षिकीबारे पनि विशेष छलफल कार्यक्रम आयोजना भयो । धेरै सङ्ख्यामा सहभागी रहेको सभामा प्राध्यापक चमनलालले स्वतन्त्रता आन्दोलनका विभिन्न धाराबारे विश्लेषण गरे । उनले भारतको स्वतन्त्रता आन्दोलनमा कम्युनिस्टहरूको योगदान अतुलनीय भएको तर राष्ट्रिय स्वयम्सेवक (आरएसएस) ले साम्राज्यवादीहरूको सेवा गरेको बताए । क्रान्तिकारी गीतहरूले सभाको वातावरणलाई भव्य बनाएको थियो । जलियावाला बाघ हत्याकाण्डको शतवार्षिकीको अवसरमा पश्चिम बङ्गालका अन्य क्षेत्रमा पनि कार्यक्रम आयोजना गरिएको थियो । भाकपा (माक्र्सवादी) का तल्लो तहका कार्यालयहरू राता झन्डाले शोभायमान बनाइएको थियो ।
तामिल नाडु
शतवार्षिकीको अवसरमा आयोजित समारोहबीच तामिल नाडुमा कम्युनिस्ट आन्दोलनको केन्द्र चेन्नाईमा ९७ वर्षका एन सन्कारायले संसारका कामदार जनताको विजय जनाउने नाराबाजीबीच रातो झन्डा झन्डोत्तोलन गरे । भाकपा (माक्र्सवादी) तामिल नाडुका सचिव बालाकृष्णले सभाको अध्यक्षता गरेका थिए । उनले भारतको कम्युनिस्ट आन्दोलनको इतिहासमा रातो अक्षरले लेखिएको दिनलाई तामिल नाडुका विभिन्न ठाउँमा जनताबीच उत्पीडितहरूको सशक्तिकरणको आवश्यकताबारे सन्देश प्रवाह गर्न विविध कार्यक्रम गरी मनाइएको जानकारी दिए । पोलिटब्युरो सदस्य जी रामाकृष्णन र केन्द्रीय सदस्य टीके रङ्गराजनले भारतको सो क्षेत्रमा कम्युनिस्ट आन्दोलनले उत्पीडित जनताको हितमा चालेका गौरवपूर्ण सङ्घर्षबारे बोले ।
सभामा एन सन्कारायले पुँजीवादका रोग र व्यापक जनताका समस्या समाधान गर्न पुँजीवादको असमर्थताबारे विस्तृतरूपमा आफ्ना विचार राखे । उनले सन् २००८ को आर्थिक सङ्कटयताको समयबारे स्मरण गराउँदै आफूले सामना गर्नुपरेका सङ्कटका समाधान पश्चिमा विश्वले माक्र्सको ‘पुँजी’ मा खोजेको बताए । पुँजीवाद र साम्राज्यवादले सङ्कटको समाधान निकाल्न नसक्नुको कारण त्यसको खास समाधान समाजवाद भएको उनको भनाइ थियो । आज पश्चिमा समाजले स्वयम् माक्र्सवाद पढ्न थालेको उनले बताए ।
“सिंगाराभेलु र अमिर हैदर खानले सुरुमा तामिल नाडुमा कम्युनिस्ट आन्दोलनको मार्ग कोरेपछि त्यहाँको कम्युनिस्ट आन्दोलनले छिचोलेको गौरवपूर्ण बाटो स्मरण गर्दै सन्कारायले सन् १९३८ मा मद्रासमा पहिलो पटक पार्टीको एकाई स्थापना भएको जानकारी दिए । तत्कालीन बेलायती उपनिवेशवादी सरकार र पछि काङ्ग्रेसका सरकारले तामिल नाडुका कम्युनिस्टहरूविरुद्ध अनेकन मुद्दा र जालसाझी गरेको उनले बताए । मद्रास षड्यन्त्र मुद्दा, मडुराई काण्ड, तिरुनेलभेली काण्ड आदि षड्यन्त्र कम्युनिस्ट आन्दोलनको विस्तार दबाउन रचिएका षड्यन्त्र थिए । यस्ता अनेकन जालसाझी र षड्यन्त्रबीच त्यहाँ कम्युनिस्ट आन्दोलन लगातार फैलिँदै गयो । मजदुर र किसान शक्तिशाली बन्दै गए । थनजाभुर जिल्लामा भएको किसान आन्दोलन भारतको किसान आन्दोलनकै एउटा गौरवपूर्ण अध्याय भयो”, उनले भने ।
सारमा सन्कारायले कम्युनिस्ट पार्टीका सदस्यहरू सधैँ जनताको बीचमा हुनुपर्ने र जनताका समस्या समाधानको लागि शक्तिशाली सङ्घर्षको विकास गर्न जनताको भावना बुझ्नुपर्ने बताए । त्यस्ता आन्दोलनले नै भारतमा वामपन्थी र प्रजातान्त्रिक वैकल्पिक व्यवस्था स्थापना हुने उनको भनाइ थियो । विभिन्न कारणले पार्टीबाट टाढा रहेका सबै सदस्यलाई पनि पार्टीमा फर्किन आह्वान गर्दै उनले पार्टीले विश्वास गर्ने माक्र्सवाद नै सबैलाई एकै ठाउँमा ल्याउने आधार भएको बताए । उनले उत्पीडित जनताको मुक्तिको लागि सङ्घर्ष अघि बढाउन आह्वान गरे ।
शतवार्षिकीकै अवसरमा अक्टोबर २० मा उत्तर र दक्षिण चेन्नाईमा पनि कार्यक्रम भए । कार्यक्रमस्थलमा तत्कालीन मद्रास राज्यमा कम्युनिस्ट विचारधाराले कसरी जग लियो भन्ने विषयमा सानो प्रदर्शन पनि आयोजना गरिएको थियो । सभामा भाकपा (माक्र्सवादी) का पोलिटब्युरो सदस्य प्रकाश करातले तामिल भाषामा प्रकाशित मासिक ‘माक्र्सवादी’ पत्रिकाको विशेष अङ्क सार्वजनिक गरे ।
सभामा करातले सन् १९२० मा कम्युनिस्ट पार्टीको स्थापनायता भारतको कम्युनिस्ट आन्दोलनको विकासबारे विस्तृत व्याख्या गरे । भारतीय कम्युनिस्ट पार्टीको पहिलो समितिमा सात जना सदस्य थिए । विदेशी उपनिवेशबाट भारतलाई मुक्त पार्न अनेकन समस्या र चुनौतीको सामना गर्दै भाकपा स्थापना भएको थियो । सन् १९२५ मा आरएसएस स्थापना हुँदा भारतमा भारतीय कम्युनिस्ट पार्टी सक्रिय बनिसकेको थियो । तर, बेलायती उपनिवेशवादले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थोप¥यो । सन् १९४२ सम्म कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध चालू नै रह्यो । उपनिवेशवादी शासकविरुद्ध अर्को जालसाझी गर्ने आरएसएसलाई भने विषवमन गर्न छुट दिइएको थियो । सन् १९४८ मा गान्धीजीको हत्यापछि सरदार बल्लभभाइ पटेलले मात्र आरएसएसमाथि प्रतिबन्ध लगाएका थिए । आज उही दक्षिणपन्थी समूहले पटेललाई नायक भाकेर पुजिरहेको छ । भारतमा दुई राष्ट्र सिद्धान्त ल्याउने भीडी सर्भाकरलाई उनीहरू भारत रत्न पदको माग गरिरहेका छन् । विडम्बना गान्धीजीको १५० औँ जन्मदिन मनाइरहेको समयमा त्यस्ता माग गरिएका छन् । काश्मीरको मुद्दाबारे लामो चर्चा गर्दै सत्तारूढ भाजपाले धर्मको आधारमा भारतीय समाजलाई विभाजन गरिरहेको बताए । उनले भाजपा भारतका प्राकृतिक सम्पदा विदेशी लगानीकर्तालाई बेच्न व्यग्र बनेको र त्यसो गर्नु भारतीय जनताको लागि ठूलो हमला हुने बताए । “देशको रक्षा गर्न हामीले सबै क्षेत्रका जनतालाई एकत्रित गरी ठूलठूला आन्दोलनको विकास गर्नुपर्छ । अधिनायकवादी मोदी सरकारविरुद्ध लड्न वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूबीच एकता बनाउने हाम्रो दायित्व हो”, उनले भने ।
भारतमा वैचारिक र राजनीतिकरूपमा शासक दलसँग लड्न सक्ने एउटै शक्ति कम्युनिस्टहरू नै भएको उनीहरूलाई थाहा भएको करातले बताए । “त्यसकारण देशलाई टुक्रा – टुक्रा हुनबाट जोगाउन हामी सबै उठ्नुपरेको छ”, सहभागीहरूलाई उनले आह्वान गरे ।
त्रिपुरा
भाकपाको शतवार्षिकीको अवसरमा त्रिपुराको अगरतालामा अक्टोबर १७ को दिन भव्य सभा भएको थियो । धेरै सङ्ख्यामा सहभागिता रहेको सभामा भाकपा (माक्र्सवादी) का पोलिटब्युरो सदस्य प्रकाश करातले सम्बोधन गरेका थिए । भाकपा (माक्र्सवादी) त्रिपुराका सचिव गौतम दासको सभापतित्वमा भएको सभामा पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमुख्यमन्त्री मणिक सरकारले पनि बोलेका थिए ।
तास्कन्दमा भारतीय कम्युनिस्ट पार्टी स्थापनाको अवधारणाबारे चर्चा गर्दै करातले गान्धीजीको नेतृत्वमा भएको असहयोग र खालिफत आन्दोलनको अवस्थाबाट निराश बनेका र साथै सन् १९१७ को रुसी क्रान्तिबाट प्रोत्साहित एवम् उत्साहित सात जना युवाहरूले तास्कन्दमा भारतीय कम्युनिस्ट पार्टीको स्थापना गरेको जानकारी दिए । उनले भने, “त्यसको नेतृत्व माक्र्सवादका विद्वान एमएन रोयले गरेका थिए । उनले सोभियत कम्युनिस्ट पार्टीको सल्लाहमा भारतको स्वतन्त्रता आन्दोलनलाई समाजवादी दिशामा अघि बढाउनुपर्ने जोड दिएका थिए । तास्कन्दको सो भेलाबाट उनीहरूले भाकपाको पहिलो एकाई गठन गरे । मोहम्मद खाफिक त्यसको महासचिव पदमा चुनिए । उनीहरूले आफ्नो एकाईलाई मान्यता दिन तेस्रो अन्तर्राष्ट्रियसमक्ष आवेदन दिए र सो आवेदन स्वीकारियो ।
तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका सुरुआती दिनबारे चर्चा गर्दै करातले तास्कन्दबाट भारत फर्केपछि उनीहरूले किसान र मजदुरहरूबीच काम गर्न थाले । कुनै पनि कम्युनिस्ट पार्टी स्थापना नभएको समयमा नै कोलकाता, मुम्बई, लाहोर, मद्रास आदिमा केही कम्युनिस्ट समूहहरू सक्रिय थिए । उपनिवेशवादी शासकहरूले आफ्नो शासनको लागि सबभन्दा ठूलो खतरा भनेको काङ्ग्रेस वा आरएसएसभन्दा भारतीय ‘बोल्सेविकहरू’ हुन् । सोभियत क्रान्तिबाट प्रभावित कम्युनिस्टहरू नै मुख्य चुनौती भएको उनीहरूले सही निष्कर्ष निकाले । कोपिलामै कम्युनिस्टहरूलाई सिध्याउने सोचले बेलायती शासकहरूले नियोजितरूपमा पाँच षड्यन्त्र बुने । ऐतिहासिकरूपमा पेशावर र मेरुत षड्यन्त्र भनेर ती काण्ड चर्चित छन् । सन् १९२१ देखि १९२५ सम्ममा धेरै कम्युनिस्ट समूहका नेताहरूलाई गिरफ्तार गरिएको थियो । चार वटा त्यस्ता काण्डका आरोपीलाई जेलमा अमानवीय शारीरिक र मानसिक यातना दिइयो । उनीहरूलाई सन् १९३४ मा मात्र रिहा गरियो । उनीहरू सबै जेलबाट रिहा भएपछि मात्र मुम्बईमा आयोजित सम्मेलनमा कम्युनिस्ट पार्टीको साङ्गठनिक संरचना गठन गरियो । एसभी घातेलाई सचिव चुनियो । त्यही बेलादेखि पार्टीको केन्द्र मुम्बईमा रह्यो । सुरुमा पार्टीले कुनै लिखित कार्यक्रम पारित गरेको थिएन ।”
भारतको स्वतन्त्रता आन्दोलनमा कम्युनिस्टहरूको ऐतिहासिक भूमिकाबारे प्रकाश पार्दै करातले काङ्ग्रेसभित्र घुसेको कम्युनिस्ट समूहका नेता हसरत मोहानीले सन् १९२१ मा अहमदावादमा आयोजित भारतीय काङ्ग्रेसको सम्मेलनमा पूर्ण स्वतन्त्रताको नारा उठाएका थिए । गान्धीजीको कडा विरोधका कारण त्यो प्रस्ताव सो अधिवेशनबाट पारित भएन । त्यतिबेला गान्धीजी भारतलाई ‘शासित राज्य’ (डोमिनिकन स्टाटस) को माग उठाउने पक्षमा थिए । पुँजीवादको केन्द्र र भारतभर चालू अमानवीय सामन्ती शोषणको समयमा राजनीतिक स्वतन्त्रताले मात्र करोडौँ जनतालाई मुक्त बनाउन नसकिने कुरा कम्युनिस्ट पार्टीले बुझिसकेको थियो । त्यसकारण उनीहरूले स्वतन्त्रता आन्दोलनसँगै जनताको आर्थिक स्वतन्त्रताको लागि पुँजीवाद र सामन्तवादविरुद्धको सङ्घर्ष पनि सँगसँगै अघि बढाउनुपर्ने निष्कर्ष निकाले । करातले दोस्रो विश्वयुद्धपछि भारतमा भएका तेलाङ्गाना सशस्त्र किसान विद्रोह, बङ्गालको तेभागा आन्दोलन, केरालाको पुन्नाप्रा भायालर आन्दोलन, महाराष्ट्रमा भएको सुर्मा उपत्यका आन्दोलन र महाराष्ट्रमा वर्ली विद्रोहबारे चर्चा गरे । यी आन्दोलनको उभारबीच मुम्बईका जलसैनिकहरूले तीन रङ्गको झन्डा, रातो झन्डा र मुस्लिम लिगको झन्डा बोकेर विद्रोह गरेका थिए । स्वतन्त्रता आन्दोलनमा सबै क्षेत्रको एकता प्रतिविम्बित गर्न ती झन्डा उठाइएको थियो । ती विद्रोहले उपनिवेशवादी शासकलाई अब घर फर्किनुको विकल्प नभएको निष्कर्षमा पु¥याएको थियो । तथापि जाली बेलायती शासकहरू भारतलाई धर्मको आधारमा दुई वटा राज्यमा विभाजन गर्न सफल भए । जसले दुई राज्यलाई शत्रु बनाएको छ ।
सामन्तवादविरुद्ध लडाइँको प्रश्नमा काङ्ग्रेस सधैँ मौनमात्र नबसेको बरु सामन्तीहरूको रक्षाको पक्षमा उभिएको करातको भनाइ छ । “काङ्ग्रेसको त्यस्तो व्यवहारपछि त्यसभित्र घुसेका वामपन्थीहरू बाहिर निस्केर कम्युनिस्ट पार्टीमा सङ्गठित बने । भारतमा भूमिसुधारको लागि सीमित शक्ति भएर पनि भारतीय कम्युनिस्ट पार्टी र पछि भाकपा (माक्र्सवादी) ले सङ्घर्ष गरेको थियो । कम्युनिस्टहरूले शासन गरेका केराला, पश्चिम बङ्गाल र त्रिपुरामा क्राान्तिकारी भूमिसुधारको उत्कृष्ट ढङ्गले लागू भएको थियो”, उनले भने ।
पछिल्लो राजनीतिक परिस्थितिबारे बोल्दै करातले आरएसएस निर्देशित मोदी शासनमा भारतलाई हिन्दु राज्य बनाउन संविधानका धेरै पक्षमाथि हमला भएको बताए । “आज हामी यस्तो सरकारबाट शासित छौँ जसको आर्थिक स्वतन्त्रता रक्षा, देशको एकता र मेलमिलाप सुनिश्चित गर्ने र जनताका आधारभूत तथा प्रजातान्त्रिक मूल्य र अधिकार सुनिश्चित गर्ने सम्बन्धमा न्यूनतम चासो छ । देशभर भएका भीडतन्त्रप्रति चिन्ता व्यक्त गर्ने बुद्धिजीवीहरूमाथि राज्यद्रोहको अभियोग लगाउनुले भारतमा अधिनायकवादी फासीवादी शासन आउँदै गरेको सङ्केत गरेको छ”, उनले भने ।
मोदी सरकारको आर्थिक नीतिको कडा शब्दमा विरोध गर्दैै करातले जनताको क्रयशक्ति बढाउने निर्णय गर्नुको सट्टा मुठ्ठीभर पुँजीपतिलाई फाइदा दिइरहेको बताए । सरकारले बजेट घाटा पूर्ति गर्न एकपछि अर्को उर्जा आपूर्ति एकाई कौडीको मोलमा बेचिरहेको चर्चा गर्दै उनले सरकारले अब रेल, रक्षा उत्पादन, ऊर्जा, तेल तथा कोइला उत्खनन् आदि प्रमुख सार्वजनिक क्षेत्रलाई पनि निजीकरण गर्न लागेको बताए ।
भारतको कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै पोलिटब्युरो सदस्य माणिक सरकारले कम्युनिस्ट पार्टीको एक सय वर्षको यात्रा सरल नभएको बरु जताततै काँडाले भरिएको बताए । “कम्युनिस्टहरू आफ्नो विषयमा सोच्दैनन्, उनीहरू उत्पीडित मजदुर, किसान, कृषि मजदुर, अनुसूचीकृत जाति, आदिवासीको हितमा चिन्ता गर्छन् । सत्तासीन भाजपाले त्रिपुरालाई बर्बरता र अन्यायको प्रयोगशाला बनाएको छ ।
त्रिपुरामा भाजपाले गरिरहेका आततायी गतिविधि सम्पूर्ण भारतले हेरिरहेको छ । तर, खराब शक्तिसामू त्रिपुरा झुक्नु हुन्न । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रान्त र केन्द्रीय सरकारमा एउटै पार्टी भएको राज्यलाई ‘दुई इन्जिन भएको सरकार’ भनेका थिए । त्यस्तो सरकारले जनतालाई भित्तामा पु¥याएको छ । जनताले यो समय चुपचाप घर बस्ने समय नभएको महसुस गर्दैछन् । यो समय विरोधको लागि सडकमा उत्रने बेला भएको उनीहरूको निष्कर्ष छ । प्रजातान्त्रिक भावनाका जनतासँगको भातृत्वपूर्ण समर्थनमा उनीहरू सरकारमाथि चर्को धक्का दिने तयारी गरिरहेका छन् । भ्रममा परेका जनतालाई अन्यथा नलिनू । उनीहरूलाई शत्रुको रूपमा लिनुहुन्न । उनीहरू कुन पार्टीमा आबद्ध छन् भन्ने कुरा मुख्य होइन । उनीहरू यो कुशासनको शिकार बनेका छन् । उनीहरूलाई तर्क र सत्यको आधारमा सही कुरा बुझाउनुपर्छ”, सरकारले भने । त्रिपुराको भाकपा (माक्र्सवादी) का सचिव गौतम दासले त्रिपुरामा राजतन्त्रविरोधी, सामन्तवादविरोधी सङ्घर्षको गौरवमय इतिहासबारे चर्चा गर्दै पछिल्लो शताब्दीको पचासको दशकमा ‘राजा जनताको मतबाट हुनुपर्छ’ भन्ने नाराका साथ त्रिपुरामा कम्युनिस्ट पार्टी स्थापना भएको बताए । उनले भारतीय जनतालाई कम्युनिस्ट पार्टीको एक सय वर्षको चहकिलो इतिहास र त्रिपुरामा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विरासतबारे जनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।
बिहार
अक्टोबर १७ मा शतवार्षिकीको अवसरमा पटनास्थित भाकपा (माक्र्सवादी) को प्रान्तीय कार्यालयमा आयोजित सभाको अध्यक्षता पार्टीका प्रान्तीय सचिव अवधेश कुमारले गरेका थिए । कार्यक्रममा ९५ वर्ष उमेरका भाकपा (माक्र्सवादी) का पूर्व सचिव गणेश शंकर विद्यार्थीलाई सम्मान गरिएको थियो ।
गणेश शंकर विद्यार्थीले सुरुमा स्वागत मन्तव्य दिएका थिए । उनले स्वतन्त्रता आन्दोलनको क्रममा कम्युनिस्टहरूले खेलेको भूमिका र बलिदानबारे चर्चा गरे । उनले भाजपाले सत्ता लिएको भारतको आजको परिस्थिति निकै चुनौतीपूर्ण भएको बताए । “भारतको स्वतन्त्रता आन्दोलनमा भाजपाको कुनै योगदान थिएन । त्यसकारण उसले भारतमा प्रजातान्त्रिक मान्यतालाई रुचाएको छैन”, उनले भने ।
पार्टीका प्रान्तीय सचिवालय सदस्य सर्वोदय शर्माले भारतको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विकासक्रमबारे चर्चा गरे । उनले भारतमा कसरी क्रान्तिकारी गतिविधिको आरम्भ भएको थियो भन्नेबारे पनि व्याख्या गरे । सन् १९२० मा तास्कन्दमा आयोजित भेलाले कम्युनिस्टहरूको सानो समूह गठन गरेको र कालान्तरमा त्यही समूहले भारतमा गतिविधि गरेको उनले बताए । उनले भने, “धेरै षड्यन्त्र र जालसाझी गरेर कम्युनिस्टमाथि दमन गरियो । पेशावर, लाहोर, कानपुर, मेरुत आदि षड्यन्त्र यसका केही उदाहरण हुन् ।” भारतका क्रान्तिकारी युवाहरूमा अक्टोबर क्रान्तिको प्रभावबारे चर्चा गर्दै उनले स्वतन्त्रता सङ्घर्षको क्रममा विभिन्न अन्य युवा सङ्गठन पनि गठन भएको बताए । भगत सिंह र बङ्गालका अन्य केही समूह क्रान्तिकारी विचारबाट प्रभावित भए र समयान्तरमा कम्युनिस्ट पार्टीबाट उत्साहित बने ।
सर्वोदयले किसान आन्दोलनमा कम्युनिस्टहरूको भूमिकाबारे चर्चा गरे । उनले भारतको क्रान्तिकारी तेलाङ्गाना आन्दोलनबारे चर्चा गर्दै सो आन्दोलन ऐतिहासिक भएको बताए । उनले भारतमा भएका यस्ता क्रान्तिकारी सङ्घर्षको भावना बुझ्न युवा कार्यकर्तालाई आग्रह गर्दै साम्प्रदायिक र फासीवादी शक्तिले निम्त्याएका चुनौतीको सामना गर्न तयार रहन आह्वान गरे ।
भाकपा (माक्र्सवादी) केन्द्रीय समितिका सदस्य अरुणकुमार मिश्रले आजको परिस्थितिमा कम्युनिस्ट आन्दोलनको महत्व र वर्तमान अवस्थाबारे बोले । उनले भारतको स्वतन्त्रता आन्दोलनमा तीन मुख्य धारा सक्रिय भएको बताए–काङ्ग्रेस नेतृत्वको धर्मनिरपेक्ष धारा, हिन्दु महासभा र मुस्लिम लिग नेतृत्वको दक्षिणपन्थी अतिवादी धारा (जो धर्ममा आधारित राज्यको पक्षमा थिए) र कम्युनिस्ट नेतृत्वको प्रजातान्त्रिक, धर्मनिरपेक्ष र समाजवादी भारतको धारा । भारतमा आर्थिक विकासको घातक नीतिको असफलताका कारण आरएसएसले मौलाउने मौका पायो तर उसले भविष्यको लागि कोरिरहेको खाका भने भारत र भारतीय जनताको लागि ज्यादै घातक भएको उनको भनाइ थियो । “अहिलेको विद्यमान अवस्थालाई चुनौती दिन सक्ने प्रतिधारा कम्युनिस्टहरूबाट मात्र सम्भव भएको र त्यसको लागि कम्युनिस्टहरूले इतिहासबाट सिक्नुपर्छ”, उनले भने ।
अवधेश कुमारले सभापतिको मन्तव्यमा बलियो कम्युनिस्ट पार्टी निर्माणको लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गरे ।
स्रोतः पिपुल्स डेमोक्रेसी
नेपाली अनुवादः नीरज
Leave a Reply