भर्खरै :

प्रधानमन्त्री ओलीलाई खुलापत्र

प्रिय प्रधानमन्त्री ओली,
अस्वस्थ हुनुभएको समाचार जनताले सुने । तर खास के भएको हो, कसैले खुलाउन चाहेका छैनन् । समाचारमाध्यमले पनि अनुमान र ‘रे’ का समाचार प्रकाशित गरिरहेका छन् । जनताले जिताएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ठीक ठीक जानकारी पाउने अधिकारबाट समेत वञ्चित गरियो । जे होस्, स्वास्थ्य लाभको कामना ।
पीएम,
देश तपार्इँले दिनुभएको मीठो भाषणजस्तै मीठो पाराले चलिरहेको छैन । पहाडतिर कहींकतै मधुरो आकलझुकल पिलपिल बत्ती बलेको देखिएजस्तै मात्र जनताले सरकारका एकाध काम आकलझुकल र मधुरो देख्ने गरेका छन् । हचुवाको भरमा जथाभावी बोल्ने र चुनाव जित्न जनतालाई झूटा आश्वासन दिंदा जनताको अपेक्षा अवस्तुगत तहमा पुग्यो । तर, आज सरकारले आकाशिंदो अपेक्षाको सानो हिस्सा पनि पूरा गर्न नसक्दा निराशा पहाडमा कुहिरो फैलिएजस्तै फराकिलो बन्दै छ । बहुमत प्राप्त सरकारका प्रमुख तपाईंलाई यस्ता कुरा सुन्न पनि मन नहोला । तर, जनतालाई बहुमतको सरकारले पनि उकास्न सकेन ।
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार असफल भयो । बन्द उद्योग कलकारखाना खुलेका छैनन् । बरु भएका उद्योग पनि बन्द हुने अवस्था छ । बेरोजगारलाई रोजगारीको दिने सरकारको हावादारी कार्यक्रमलाई पनि जनताले भद्दा नाटककै रूपमा मात्र बुझे । तपाईँ आफैँ भन्नुहोस् प्रधानमन्त्रीज्यू, के तपाईंको सरकारले चलाएको रोजगारी कार्यक्रमले नेपाली जनताको अपेक्षा पूरा गर्नसक्यो ? केही दिन आफ्नो दल नजिकका मानिसलाई केही देखावा काम गर्न दिएर के देशमा बेरोजगारीको समस्या समाधान होला ? नेपाली काङ्ग्रेस र पञ्चायती सरकारले पनि बजेट भाषणमा विभिन्न नारा लेखेर जनतालाई झुक्याएका थिए । तपाईं तिनको विरोधको राजनीति गर्दै आउनुभएका नेता, के तपाईंको सरकारले पनि तिनकै बाटो पछ्याइरहेको छैन र ?
उपनिर्वाचन आउँदै छ । अहिले तपाईंको दलले नेतृत्व गरेका पालिकाहरूमा रोजगारी कार्यक्रमको अर्को नाटक मञ्चन गर्न लागिंदै छ । संसारलाई स्पष्ट थाहा छ, चुनावअघि यस्ता अनेक थरी नाटक मञ्चन हुने गरेको छ ।
चल्दै गरेका उद्योग कलकारखानालाई आज तपाईंको ‘कमरेड–इन–आर्म’ बन्न पुगेका प्रचण्डका कार्यकर्ताले बन्द गर्न बाध्य बनाए । माओवादीले उद्योग कलकारखानासँग उठाउने गरेको चन्दाको भारी ठेग्न नसकेर धेरै उद्योग बन्द भए । भनेअनुसारको चन्दा नदिने उद्योगीलाई माओवादीले त्रासमा राखे, नभए उद्योग नै बन्द गर्न बाध्य बनाए । हडतालको नाममा लेनदेनको खेल चल्यो । कति उद्योगी त कायलबाबा भएर आफैं ‘माओवादी’ बनेका थिए । त्यसरी उद्योग बन्द गराउने माओवादी कार्यकर्ता अधिकांश खाडीको मुलुकमा पसिना बगाइरहेका छन् । अरु पनि धेरै नेपाली युवाहरू लर्को लागेर खाडी र मलेसिया उड्दै छन् । नेपालका उद्योग कलकारखाना भने बन्द छन् । तपाईंको श्रममन्त्री विदेशमा गएका युवाको आँकडा देखाएर आफ्नो ‘रिपोर्ट कार्ड’ देखाउँदै हिंडेका छन् । प्रधानमन्त्रीज्यू, देशका युवा विदेशमा श्रम गर्ने बाध्यताको अन्त्य कहिले आउँछ ? युवालाई विदेशमा दर्बान र कुल्ली बनाएर देश बन्ने भए त राणाशासक किन ढल्थ्यो र ?
रेल, पानीजहाज, घर–घरमा ग्यास–आजभोलि तपाईंका भाषणमा यस्ता शब्द सुनिन छोडेको छ । यी सबै कुरा चुनावी मुद्दा भएको कुरा दुई वर्षको अन्तरालमा नेपाली जनताले बुझिसकेका छन् । जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानमा जस्तै ओली सरकार पनि हिजोका सरकारभन्दा कति पनि भिन्न नभएको बुझ्न नेपाली जनताले पाँच वर्ष कुर्नु परेन । यो सरकारको चरित्रबारे नेपाली जनताले सहजै बुझिसके । नेकपा नामको पार्टी के हो भन्ने कुरा कहीं कतै चिया पसलमा छलफल हुने अवस्थामा मानिसहरू आजभोलि नेकपाका धेरै त्यस्ता नेताहरूको अनुहार सम्झने भएका छन् जसले हाम्रो समाजलाई लज्जित बनाएका छन् ।
संसारका कुनै पनि देशमा कम्युनिस्ट पार्टी सत्तामा आउँदा ध्यान दिने एउटा प्रमुख विषय भनेको शिक्षा र स्वास्थ्य हो । त्यस्तो तपाईंको लागि कम्युनिस्ट शब्द चुनाव जित्ने रणनीतिक शब्दमात्र हो । तथापि नाममा कम्युनिष्ट शब्द भएकै आधारमा पनि एकछिनलाई कम्युनिस्ट मान्ने हो भने पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले माखो मार्न सकेन । सानातिना देखावा (जस्तै विद्यालय भर्ना अभियान) गरे पनि शिक्षा र स्वास्थ्यमा जनताले देखिने महसुस हुने गरी कुनै परिवर्तन हुन सकेको छैन । सरकारी अस्पतालको अवस्था हिजोभन्दा आज कति फरक भयो ? पीएमजी, कुनै पनि सुधार भएको छैन । तपाईं स्वयम्ले विश्वास गर्नसक्ने कुनै सरकारी अस्पताल देशले अझै पाएको छैन । उपचारको लागि तपाईं जाने कुनै सरकारी अस्पताल अझै किन बन्न सकेन ? सबै जनता ग्रान्डी अस्पताल जान सक्दैनन्, ओलीजी ! तपाईंको स्वास्थ्योपचारमा कुनै कमजोरी नहोस्, कामना गर्छु । तर, जनताको स्वास्थ्य नि ? हिजो राजा–महाराजा थिए । उनीहरू जनताभन्दा आफूलाई माथि ठान्थे । जनतालाई पाइतलाको धुलोसम्म पनि गन्दैनथे । अहिले त लोकतान्त्रिक गणतन्त्र छ । फेरि पनि शासक र शासितको भेदभाव र असमानता किन प्रमज्यू ?
भ्रष्टाचार हटाउने कुरा त यसअघिका प्रमहरूले जस्तै तपाईंले पनि बोल्नुभयो । भोलि पनि बोल्नुहुनेछ । तर, विश्वास गर्नुस् भ्रष्टाचार नियन्त्रण भएको छैन । न मालपोत कार्यालयमा हुने भ्रष्टाचार घटेको छ न ठूला उद्योगी, व्यापारी र सरकारी अधिकारीबाट हुने भ्रष्टाचार नै रोकिएको छ । ठूला माछा र साना माछा सबै लुट्ने धन्दामै लागेका छन् ।
तपाईंले दैनिक आफूसँग हिँडाउने, निकै विश्वास गरेका, आफ्ना मानेका मानिस नै भ्रष्टाचारका मूल जरा बनिरहेका छन् कि ! वरपर बसेर, चाप्लुसी गरेर तपाईँकै खुट्टा तान्नेहरूको के कमी छन् र ? त्यस्तै मान्छेको तुना समातेर तपाईँकै वरपर भ्रष्ट, बदमास, बदनाम मानिसको घेरो फराकिलो बन्दै छ कि ?
जनताका आँखा दूरबिन सरह हुन्छन् भन्ने एउटा भनाइ छ । जनता राजनीतिकरूपमा सचेत बन्दै छन् । जनताले मसिनो कुरालाई पनि गहनरूपमा नियालिरहेका छन् । जनताले जे देखे, त्यो भन्नु, बोल्नु कर्तव्य हो । प्रम शारीरिकरूपमा समेत कमजोर बनिरहेको समयमा जनताले देखेका यस्ता समस्याबारे प्रकाश पार्न सके सरकारको काम गर्ने शैलीमा परिवर्तनका आशासहित यो सानो पत्र !
नेपाली जनताको तर्फबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *