भर्खरै :

साम्राज्यवादविरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनको अर्थ

अमेरिकी साम्राज्यवादविरोधी देशको प्रतीकको रूपमा स्थापित क्युवामा साम्राज्यवादविरोधी ऐक्यबद्धता सम्मेलन शुक्रबारबाट सुरू भएको खबरले विश्वभरका न्यायप्रेमी जनतालाई उत्साहित बनाएको छ । सम्मेलनमा ८० देशका १ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी आफैँमा साम्राज्यवादविरोधी सङ्घर्षको तागतको आङ्कलन गर्न सकिन्छ । अमेरिकी साम्राज्यवादविरुद्ध क्युवाले करिब ६० वर्षदेखि गर्दै आएको सङ्घर्षप्रतिको ऐक्यबद्धता सम्मेलनको मुख्य उद्देश्य हो । भेनेजुयलालगायत ल्याटिन अमेरिकी देशहरू, प्रजग कोरिया, इरान र अफ्रिकी देशहरूमाथि संरा अमेरिकी युद्धको धम्की, नाकाबन्दी, आन्तरिक मामिलामा हस्तक्षेप आदिको विरोध तत्तत् देशका जनतामात्र होइन विश्वभरका स्वतन्त्रताप्रेमी जनता एकगठ हुनु स्वागतयोग्य कुरा हो ।
यतिबेला अमेरिकी साम्राज्यवाद झन्–झन् आर्थिक सङ्कटमा धकेलिरहेको छ । चीनविरुद्धको आर्थिक युद्धले आर्थिक सङ्कटलाई अझ चुलीमा पु¥याएको छ । भेनेजुयलामाथि आफ्नो आधिपत्य सञ्चालन गर्ने उद्देश्यसाथ गरिएको सैनिक ‘कू’ असफल भएर अमेरिका घायल छ । भेनेजुयलाका जनताको एकताको सामु संरा अमेरिकाले घुँडा टेक्नुप¥यो । इरानले संरा अमेरिकी कुनै पनि आक्रमणको सामना गर्ने जवाफ दिइरहेको छ । प्रजग कोरियाले आणविक परीक्षण गर्न थालेपछि वार्ता र सहमतिको रटान लगाउन थालेको छ । अफगानिस्तान कब्जा गरी चीनलाई घेर्ने रणनीतिअनुसार सन् २००१ देखि नै युद्ध लड्दै छ तर खरबौँ डलर खर्च र कैयौँ सेनाको ज्यान गएर पनि हातमा लाग्यो शून्य भइरहेको छ । विगत ९ वर्षदेखि संरा अमेरिकी नेतृृत्वमै सिरियाविरुद्ध युद्ध भइरहेको छ तर राष्ट्रपति असाद नझुकी सङ्घर्ष गरिरहेका छन् ।
विश्वले बुझेको एउटा सत्य छ, अमेरिकी साम्राज्यवादको नेतृत्वमा साम्राज्यवादी मुलुकहरूले विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोष स्थापना गरे । विश्व व्यापार सङ्गठनको नेतृत्व अहिले पनि संरा अमेरिकाको हातमा छ । यी साम्राज्यवादी हतियारसँगै अमेरिकी कम्पनी विश्वभर फैलिएका छन् र सेना नपठाई विश्व अर्थतन्त्रलाई कब्जा गर्ने साम्राज्यवादी रणनीति प्रस्ट छ । विश्व व्यापार सङ्गठनमा १५३ मुलुक समावेश छन् र यसले विश्व व्यापारको ९७ प्रतिशत भाग ओगट्छ ।
रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिका मिलेर ब्रिक्स नामक आर्थिक सङ्गठन बनेको छ । यसले संरा अमेरिकालाई आर्थिकरूपमा गम्भीर चुनौती खडा गरेको छ । चीनले सन् २०१५ मा पुरानो रेशमी मार्ग बनाउने बेल्ट एन्ड रोड इनिसियटिभको प्रोजेक्ट अगाडि सारेर संरा अमेरिकालाई अर्को चुनौती दिएको छ । चीनले सँगै अगाडि बढ्ने र फाइदाको हिस्सा बाँडेर लिने सिद्धान्तअनुसार विश्वभर आफ्नो सम्बन्ध अगाडि बढाइरहेको छ । यसै गतिले अगाडि बढे चीनले संरा अमेरिकालाई पछाडि पारेर विश्वकै सबभन्दा ठूलो अर्थतन्त्र बन्ने छ ।
अमेरिकी साम्राज्यवादविरुद्ध क्युवा, कोरिया, भेनेजुयला, इरान, सिरियालगायतका देशहरूले विजय हासिल गरेका छन् । विश्वभरका न्यायप्रेमी जनताको ऐक्यबद्धता नै तिनको विजयको आधार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *