भर्खरै :

क्युवामा साम्राज्यवादविरोधी सम्मेलन

हवाना, २ नोभेम्बर । क्युवाको राजधानी हवानास्थित सभागृहमा प्रजातन्त्रको लागि र नवउदारवादको विरोधमा साम्राज्यवादविरोधी ऐक्यबद्धता सम्मेलन शुक्रबारबाट सुरू भएको छ । सम्मेलनमा ८० देशका १ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।
तीन दिनको सो सम्मेलनमा सामाजिक अभियन्ता, मजदुर, किसान, महिला, आदिबासी नेता, बुद्धिजीवी र राजनीतिज्ञहरू सहभागी छन् । सम्मेलनमा ल्याटिन अमेरिकी जनताविरूद्ध संरा अमेरिकी साम्राज्यवादको आक्रामकताको विषयमा छलफल भइरहेको छ ।
सम्मेलनका प्रमुख उद्देश्यमध्ये संरा अमेरिकी आर्थिक, वित्तीय र व्यापारिक नाकाबन्दी सघन बन्दै गएको अवस्थामा क्युवाली सरकार र जनताप्रति अन्तर्राष्ट्रिय ऐक्यबद्धता बलियो बनाउनु हो । त्यहाँ भेनेजुयला र निकारागुआविरूद्ध ट्रम्प सरकारको कब्जा, अस्थिरता र हस्तक्षेप नीतिबारे विश्लेषण गरिएको छ ।
साम्राज्यवादले ल्याटिन अमेरिकी क्षेत्रमा गरेको आक्रामक व्यवहारको समयमै प्रतिरोध गर्न सहभागीहरूबीच ल्याटिन अमेरिकाका केही तानाशाही सरकारको नवउदारवादी चरित्रबारे छलफल भएको छ ।
क्युवा जनमैत्री प्रतिष्ठान (आईक्याप), क्युवाली मजदुर केन्द्र, सामाजिक आन्दोलन क्युवाली शाखा र प्रजातन्त्रको लागि र नवउदारवादविरूद्ध महादेशीय यात्रालगायतका संस्थाको आयोजनामा सम्मेलन भएको हो । सम्मेलनका सहभागीहरूलाई हवानाको सांस्कृतिक भ्रमण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *