भर्खरै :

टिपु सुलतानको रकेट र इतिहासप्रति भाजपाको रित्तो गौरव

प्रवीर पुरकायस्थ
हिजोआज भारतमा हामी नयाँ अङ्ग्रेज – मैसुर लडाइँ चलिरहेको देख्दै छौँ–भारतको इतिहासमा टिपु सुलतानको भूमिका अस्वीकार गर्ने कुरामा राष्ट्रिय स्वयम्सेवक सङ्गठन (आरएसएस) को कुरा बेलायतसँग मिलेको छ । कर्णाटकका भाजपाका समर्थक मुख्यमन्त्री एडियुरुप्पाले टिपु सुलतानलाई स्वतन्त्रता सङ्ग्रामी होइन भनी बोले । यो इतिहासका पुस्तकमा रहेका सबै सन्दर्भलाई असत्य साबित गर्न खोज्ने एउटा चकित तुल्याउने तर्क हो । आरएसएसबाट प्रशिक्षित वा अझ मस्तिष्कको शल्यक्रिया गरिएकाहरूको लागि अङ्ग्रेज–मैसुर युद्ध भारतीय स्वतन्त्रता युद्ध होइन, बरु बेलायतले उछालेको उपनिवेशवादी युद्धको हिस्सा भएको कुरा बुझ्न गाह«ो छैन । बङ्गालका नवाब सिराज–उद–डौलाहले लडेर बेलायतलाई पछारेको प्लासेको लडाइँ पनि उनीहरूको लागि उस्तै हो । भारतको इतिहासमा त्यस्ता अरू पनि धेरै उपनिवेशवादी लडाइँ र युद्ध छन् । त्यसकारण नवाब, राजा र राजकुमारहरू स्वतन्त्रता सङ्ग्रामी थिएनन् किनभने त्यतिञ्जेल भारत अथवा अझ ठीकसँग भन्दा मैसुर र बङ्गालका अधिराज्यहरू (अरु पनि अधिराज्यहरू) ले स्वाधीनता नै गुमाइसकेका थिएनन् ¤ टिपु र अन्य भारतीय शासकहरूबीचको भिन्नता भनेको टिपुले लामो समयसम्म बेलायतसँग लडेर धेरै पराजयमात्र भोगेनन् । बरु आधुनिक रकेट विज्ञान प्रयोगमा ल्याउने उनी पहिलो व्यक्ति थिए ।

हैदर अली


मैसुर पुगेर वाडियर वंशबाट सत्ता हत्याउनुअघि नै अर्कोट नवाबको सेनामा टिपु सुलतानका पिता हैदर अली रकेट प्लाटुनका कमान्डर थिए । अङ्ग्रेज र मैसुरबीचको लडाइँमा वाडियरहरूले बेलायतको पक्ष लिएका थिए । त्यसबापत टिपुको पराजय पछि मैसुर वाडियरहरूको जिम्मा लगाइएको थियो । आज भारतीय जनता पार्टीले आफ्ना संस्थापक नेता सभारकरको परिभाषाअनुसारको असली राष्ट्रवादी वाडियरहरूलाई घोषणा गरेको छ ।
आरएसएस र उसका समर्थकहरूको इतिहास, विज्ञान र पौराणिक कथासँग अनौठो सम्बन्ध छ । उनीहरू पुराण कथामा वर्णित कल्पनालाई तथ्यपरक इतिहाससँग मिसाउँछन् । वास्तविक इतिहासको कुरा उठ्दा उनीहरू इतिहासमा ठूलो परिवर्तनको आवश्यकता देख्छन् । इतिहासमा परिवर्तन गरेर उनीहरू अकबर, टिपु सुलतान, नेहरूहरूका भूमिकालाई मेट्न चाहन्छन् । नयाँ विज्ञानको सिर्जनाको मूल चालक भनेको वैज्ञानिक कल्पनशीलता हो । उनीहरूसँग त्यसको अभाव छ । त्यसकारण उनीहरू संसारमा अब कुनै पनि नयाँ कुराको आविष्कार गर्न आवश्यक नभएको, सबै कुरा विगतका ऋषिमुनिहरूले गरिसकेकोमा विश्वास गर्छन् । गुजरातको पाठ्यपुस्तकबाट थालनी गरी अहिले भाजपाको शासनकालमा केन्द्र र अन्य राज्यका पाठ्यपुस्तकमा पनि समावेश गरिएको इतिहास र विज्ञानको बात्रा संस्करण आजको पुस्ताका विद्यार्थीले पढ्ने पछौटे शिक्षा बनेको छ । आज गान्धीको हत्या गर्ने गोत्सेलाई राष्ट्रवादी बनाइएको छ, बेलायतसामु माफी माग्ने सभारकर ‘भारतीय स्वतन्त्रताका पिता’ बनेका छन् । भारतको छविलाई मोदीको स्वच्छ भारत अभियानसम्म सीमित राखिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी पनि विज्ञान र इतिहासप्रति यस्तै धारणा राख्छन् । रिलायन्स अस्पतालको नयाँ शाखा उद्घाटन गर्न आयोजित कार्यक्रममा मोदीले जेनेटिक र अङ्ग प्रत्यारोपण प्रचीन भारतमा हुने गरेको बताए । उनले भने, “मैले भन्न खोजेको कुरा के हो भने हाम्रो देशसँग ती क्षमता थिए । हामीले ती क्षमता अब पुनः हासिल गर्नु छ ।” अब विज्ञानको कुनै खाँचो भएन, संस्कृतमात्र पढे पुग्ने भयो । कुनै विकासको आवश्यक भएन, ‘प्राचीन’ ज्ञानमात्र हासिल गरे पुग्ने भयो । अब इतिहासको कुनै आवश्यकता रहेन, पुराणकथा मात्रले अघि बढ्न सकिने भयो । हाम्रा प्राचीन ऋषिमुनिलाई मात्र पछ्याए हुने भयो जसले कहिल्यै इतिहास लेखेका थिएनन् । यदि सत्य यही हो भने हामीले ग्रीसका मेगासथिनिसका कृति किन पढ्ने ? किन चिनियाँ बौद्ध भिक्षु हुयान शान वा स्वानचाङका अभिलेखहरू पढ्ने ¤
१०२ औँ भारतीय विज्ञान सम्मेलनमा प्राचीन भारतमा हवाई उडान प्रविधिबारे दुई जना वक्ताले प्रस्तुत गरेका ‘कार्यपत्र’ यही विगत उत्पादन गर्ने अवधारणामा आधारित थियो । ‘कार्यपत्र’ प्रस्तुत गर्ने दुई जनामध्ये एकजना निवृत्त पाइलट क्याप्टन आनन्द जे बोडस थिए । उनको कार्यपत्र ‘वैमानिक शास्त्र’ भनिने एउटा संस्कृति कृतिमा आधारित थियो । ‘मनोवैज्ञानिक तरिका’ (अर्धनिद्रा वा बेहोसी) बाट भारध्वज ऋषिले सुब्बराय शास्त्रीलाई त्यसबारे बताएको बताइन्छ । शास्त्रीको जन्म सन् १८६६ र निधन सन् १९४० मा भएको थियो । भारध्वज ऋषि कम्तीमा दुई हजार वर्षअघि बाँचेका थिए । वैमानिक शास्त्रको पुरातात्विक पक्ष भनेको आफू ‘मानसिकरूपमा मुर्छा’ पर्दा भारध्वज ऋषिले त्यस कृतिमा उल्लेखित सबै कुरा भनेका थिए भन्ने सुब्बरायको दाबी हो । क्याप्टेन बोडासको कार्यपत्रमा लेखिएका थिए–‘आधुनिक विज्ञान अवैज्ञानिक छ’, ‘वैदिक वा प्राचीन भारतमा विमान हावामा उड्दै एउटा महादेशबाट अर्को महादेशमा, एउटा ग्रहबाट अर्को ग्रहमा घुम्ने गथ्र्यो, आजभोलिका विज्ञान अगाडि उड्न सक्छन् भने त्यत्तिबेलाका विमान पछाडि पनि उड्न सक्थे ।’ आदि

वैमानिक शास्त्र भारतको बैग्लोरस्थित विज्ञान प्रतिष्ठानअन्तर्गत एरोनेटिक्स र मेकानिकल विभागका पाँच जना प्राध्यापकहरूको टोलीले विस्तृतरूपमा अध्ययन ग¥यो । अध्ययनपछि उनीहरूले त्यो कृति प्राचीन नभई बीसौँ शताब्दीको सुरुमा लेखिएको निष्कर्ष निकाले । आफ्नो निष्कर्षमा उनीहरूले त्यसमा लेखिएका कुरा खराब विज्ञान भएको र त्यसमा व्याख्या गरिएको जस्तो उड्ने वस्तु नबनाइएको उल्लेख गरेका छन् ।
उनीहरू एकातिर पुराणकथालाई विज्ञानको रूपमा प्रस्तुत गरिरहेका छन् भने अर्कोतिर भारतले विज्ञान र प्रविधि क्षेत्रमा हासिल गरेका वास्तविक प्रगतिलाई भने हिन्दुविरोधी भन्दै लत्याइरहेका छन् । हैदर अली र टिपु सुलतानले युरोपेलीले रकेटको विकास गर्नुअघि नै रकेटको प्रयोग गर्ने व्यक्तित्व हुन् । अङ्ग्रेज र मैसुरबीच भएका लडाईमा उनीहरूले प्रभावकारी तरिकाबाट रकेटको प्रयोग गरेका थिए । सन् १७८० मा पोलिलुरमा भएको दोस्रो अङ्ग्रेज मैसुर युद्धमा बेलायतीलाई पराजीत गर्न त्यस्ता रकेटले निकै महत्वपूर्ण भूमिका खेलेको थियो ।
भारतका पूर्वसंस्कृतिमन्त्री महेश शर्माले अब्दुल कलामलाई मुसलमान भएर पनि ‘राष्ट्रवादी’ भएको बताएका थिए । तिनै कलाम टिपु सुलतान र हैदर अलीका ठूला प्रशंसक हुन् । आफ्नो आत्मकथामा उनले अमेरिकी अन्तरिक्ष संस्था नासाको वालप्स फ्लाइट फ्यासिलिटीको भ्रमण गर्दा टिपुले रकेटको आविष्कारमा गरेको योगदानबारे थाहा भएको कुरा लेखेका छन् । नासाको सो भवनको रिसेप्सनमा बेलायतविरुद्ध टिपुले रकेट प्रयोग गरेको घटनाको चित्र प्रदर्शनमा राखिएको उनले लेखेका छन् ।
भारतको एरोनेटिक्सको प्रमुख व्यक्तिमध्येका एक रोदम नरसिंहले टिपु र हैदर अलीले रकेटको थालनीबारे अध्ययन गरेका थिए । सन् १९८५ मा प्रस्तुत ‘मैसुर र बेलायतमा रकेट, सन् १७५०–१८५०’ शीर्षकको कार्यपत्रमा रोदमले एघारौँ शताब्दीमा चीनमा बारुद र प्रारम्भिक खालका रकेटको आविष्कार गरेको, ‘अग्नेय वाण’ को प्रयोग भएको र भारतलगायत संसारका विभिन्न भागमा ती आविष्कार कसरी पुगेको थियो भन्ने कुराको चर्चा गरेका छन् । मङ्गोलविरुद्ध चिनियाँहरूले त्यस्ता रकेटको प्रयोग गरेका थिए । १३ देखि १४ औँ शताब्दीमा चिनियाँ र युरोपेलीहरूसँगको लडाइँमा मङ्गोलहरूले शत्रुविरुद्ध युद्ध तोपहरू प्रयोग गरेका थिए । ते¥हौँ शताब्दीमा युद्ध तोपहरूको आविष्कार पछि रकेटको प्रयोग तुलनात्मकरूपमा कम हुँदै गयो किनभने तोपभन्दा रकेटको प्रभावकारिता कम भएको मानियो ।
रोदमले रकेटको प्रयोगमा टिपु र हैदर अलीको योगदानको विश्लेषण गरेका छन् । त्यत्तिबेला सामान्यतः प्रयोग गरिने सहज उपलब्ध बास र कागको सट्टा टिपु र हैदर अलीहरूले धातुको रकेट बनाएका थिए । त्यस्ता धातुका रकेट दुई किलोमिटरसम्म टाढा जानसक्थ्यो । क्षेत्रफल र दुरीको हिसाबमा यो निकै ठूलो दुरी थियो । साथै यो निकै क्षमतावान पनि थियो ।
चौथो अङ्ग्रेज–मैसुर युद्धमा टिपु पराजित भयो । पराजयपछि बेलायतीले ठूलो सङ्ख्यामा प्रयोग नभएका रकेट आफ्नो देश लिएर गएका थिए । विलियम कन्ग्रिभ भन्ने मान्छेले तिनको वैज्ञानिक अध्ययन गरेका थिए । अध्ययनबाट उनले युरोपेली रकेटको तुलनामा मैसुरका रकेटको क्षमता निकै बढी भएको निष्कर्ष निकालेका थिए । कन्ग्रिभको त्यही अध्ययनको आधारमा बेलायतीहरूले फ्रान्सेलीहरूविरुद्ध मैसुरका रकेट प्रयोग गरेको थियो । बेलायतले विद्रोह गर्ने बेलायती उपनिवेशहरूविरुद्ध पनि बेलायतले त्यस्तै रकेटको प्रयोग गरेका थिए ।
संरा अमेरिकी राष्ट्रिय गान ‘द स्टार स्पाङग्लेड व्यानर’ मा यस्ता पङ्क्ति छन्,
अनि रकेट तातेर रातै छन्, हावामा बम गर्जिरहेका छन् ।
रातको अँध्यारोमा पनि हाम्रो झन्डा त्यहीं भएको प्रमाण दिइरहेका छन् ।
यी पङ्क्तिमा रकेटको अर्थ कन्ग्रिभका रकेट हुन् । बेलायतीहरूले सन् १८१२ मा भएको बाल्टिमोरको लडाइँमा उपनिवेशवहरूविरुद्ध ती रकेट प्रयोग गरेका थिए । राष्ट्रिय गानका लेखक फ्रान्सिस स्कट किलाई बेलायतको एउटा जहाजमा बन्दी बनाइएको थियो । उनले बाल्टिमोरमा मेकहेनरी किल्लामा गरेको हमला प्रत्यक्ष देखेका थिए । कन्ग्रिभ रकेटले किल्लातिर उड्दै आएका झन्डा देखेका थिए । उनले माथिका पङ्क्तिमा त्यही कुरा लेखेका छन् ।
आफ्नो कार्यपत्रमा रोदमले विज्ञान र प्रविधिलाई एकै ठाउँमा ल्याउन सक्नु र तिनको व्यवस्थित प्रयोग गर्नसक्नुले नै कन्ग्रिभले विकसित रकेट बनाउन सकेको लेखेका छन् । मैसुर रकेटलाई अझ अघि बढाउन भारतले भने भारतीय अन्तरिक्ष विज्ञान प्रतिष्ठानको स्थापनाको मिति कुर्नुप¥यो ।
रोदमको अध्ययनले इतिहासलाई कसरी बुझ्नुपर्छ भन्ने कुरा सिकाएको छ । पौराणिक विगतमा व्यर्थ गौरव गर्नुभन्दा वास्तविकताको विषयमा गम्भीर अध्ययन र विश्लेषण गर्न जरुरी छ । भारतमा भएका त्यस्ता विकास एक्लैले गरेको थिएन । बरु अरूले गरेका उपलब्धिमा टेकेर हासिल गरिएका थिए र तिनले ऐरोनेटिक्ससम्बन्धी संसारको ज्ञानलाई अझ विस्तार गरेको छ । भारतमा विज्ञान र गणितको बलियो जग थियो । गुणवत्ता विज्ञानले मात्र त्यो जग उकास्न सकिन्छ । कपोलकल्पित विगतको रित्तो दाबीले मात्र त्यो उपलब्धि हासिल गर्न सम्भव छैन ।
स्रोतः पिपुल्स डेमोक्रेसी
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *