भर्खरै :

बोलिभियामा मोरालेसको पुनर्विजय र सत्ता विप्लवको दक्षिणपन्थी प्रयास

प्रकाश
क्यारिबियाली र दक्षिण अमेरिकी देशहरूमा दक्षिणपन्थी र नवउदारवादी सरकार गठनको लहर चलिरहँदा भेनेजुयला र निकारागुवाजस्तै बोलिभिया पनि अपवाद बनेको छ । यही अक्टोबर २० का दिन सम्पन्न त्यहाँको निर्वाचनमा वर्तमान वामपन्थी राष्ट्रपति एवम् समाजवादी आन्दोलन पार्टीका राष्ट्रपतीय उम्मेदवार ते मोरालेस पुनः निर्वाचित हुनुभएको छ । सन् २००५ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बोलिभियाको आदिवासी समुदायबाट आएका पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित मोरालेसले नवउदारवादी अर्थनीति त्याग्दै बोलिभियालाई अन्तर्राष्ट्रिय मुद्राकोष (IMF), विश्व बैङ्क (WB) र अमेरिकी विकास बैङ्क (ADB) को ऋणको पासोबाट मुक्त गर्नुभयो । क्रान्तिकारी भूमिसुधार लागू गरेर देशको कृषि क्षेत्र र अर्थतन्त्रको विकासमा महत्वपूर्ण कदम चाल्नुभयो । मोरालेसको शासनभन्दा अगाडि आर्थिक र शैक्षिक विकासको दृष्टिले दक्षिण अमेरिकाभरमै सबैभन्दा पिछडिएको देश बोलिभियाको अहिले साक्षरता दर ९९ प्रतिशत पुगेको छ भने निरन्तर ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्दै त्यस क्षेत्रकै सबैभन्दा बढी स्वस्थ अर्थतन्त्र बन्न सफल भएको छ । बोलिभियाको शैक्षिक सामाजिक, आर्थिकलगायत चौतर्फी विकासमा राष्ट्रपति ते मोरालेस र समाजवादी आन्दोलन पार्टीको बुद्धिमत्तापूर्ण र इमानदार नेतृत्व मूल कारण मानिन्छ ।
मोरालेसको सङ्घर्षपूर्ण विजय
राष्ट्रपति ते मोरालेसको सरकारलाई राजनीतिक र आर्थिकरूपमा पराजित गर्न नसकेपछि त्यहाँका दक्षिणपन्थी राजनीतिक विपक्षीहरू र संरा अमेरिकी साम्राज्यवादले राष्ट्रपति मोरालेसले चौथो कार्यकालका लागि उम्मेदवारी दिन नसक्ने भन्दै देशको सर्वोच्च अदालतमा कानुनी चुनौती दिएका थिए । लामो बहस र संविधानको चर्चापछि सर्वोच्च अदालतको संवैधानिक बेन्चले कुनै लोकप्रिय नेतालाई दुईभन्दा बढी कार्यकाल राष्ट्रपति बन्न बोलिभियाको संविधानले नरोकेको फैसला गरेको थियो । त्यसपछि संरा अमेरिकी विदेश विभाग र अमेरिकी राज्य सङ्गठन – ओएएसको प्रयासमा त्यहाँका दक्षिणपन्थी र अति दक्षिणपन्थी राजनीतिक शक्तिहरूलाई मिलाउने र संयुक्त उम्मेदवारी दिलाउने काम भएको थियो । दक्षिणपन्थीहरूका साझा राष्ट्रपतीय उम्मेदवारका रूपमा पूर्वराष्ट्रपति कार्लोस मेसा (Carlos Mesa) रहेका थिए ।
अक्टोबर २० कै दिन राष्ट्रपतिका लागि साथै ३६ सदस्यीय सिनेट (माथिल्लो सदन) र १३० सदस्यीय राष्ट्रियसभा (तल्लो सदन) को पनि निर्वाचन भए । संयुक्त राष्ट्रसङ्घद्वारा सहयोग गरिएको अत्याधुनिक भोटिङ्ग मेसिनमार्फत मतदान कार्य गरिएकोले मतगणना निकै नै छिटो र सरलतापूर्वक भएको थियो । एन्डिज पर्वतमालाको देश बोलिभियामा दुर्गम ग्रामीण बस्तीहरूबाट तथा विभिन्न ल्याटिन अमेरिकी देशमा रहेका बोलिभियाली दूतावासमा राखिएका भोटिङ्ग मेसिनको मतगणना कार्य गर्नुपर्दा मतगणना सकाउन अलिक ढिलो भएको थियो ।
अक्टोबर २० का दिन भएको निर्वाचनको शत प्रतिशत मतगणना सकिँदा राष्ट्रपति ते मोरालेसले ४७.०८ प्रतिशत मत र उहाँका निकटतम प्रतिद्वन्द्वी कार्लोस मेसाले ३६.५१ प्रतिशत मत प्राप्त गर्नुभएको छ । बोलिभियाको निर्वाचन कानुनअनुसार राष्ट्रपति मोरालेस चौथो कार्यकालका लागि पहिलो चरणको निर्वाचनबाटै विजयी हुनुभएको छ । त्यहाँको सर्वोच्च निर्वाचन ट्रिब्युनल– टीएसईले राष्ट्रपति मोरालेस निर्वाचित हुनुभएको औपचारिक घोषणा पनि गरिसकेको छ ।
बोलिभियाको निर्वाचन कानुनमा कुनै राष्ट्रपति उम्मेदवार निर्वाचित हुन खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी वा खसेको कूल मतको ४० प्रतिशतभन्दा बढी भई निकटतम प्रतिद्वन्द्वीको मतभन्दा १० प्रतिशतको अग्रता प्राप्त गर्नुपर्छ । मोरालेसको ४७.०८ प्रतिशत मत मेसाको ३६.५१ प्रतिशतभन्दा १० प्रतिशतले बढी भएकोले मोरालेस निर्वाचित हुनुभएको हो ।
मोरालेसको जीत बोलिभियाली समाजवादी आन्दोलन पार्टीको मात्र जीत नभई सम्पूर्ण न्यायप्रेमी बोलिभियाली जनता र ल्याटिन अमेरिकाकै साम्राज्यवादविरोधी, नवउदारवादविरोधी र संरा अमेरिकी हस्तक्षेपविरुद्ध लडिरहेका जनताको विजय हो । मोरालेसको विजय बोलिभियाका दक्षिणपन्थी, अनुदारवादी तथा तिनीहरूका लागि ठूलो धनराशि खर्च गरेका अमेरिकी साम्राज्यवाद, ओएएस र अमेरिकी पुँजीपतिहरूको समेत पराजय हो ।
निर्वाचन धाँधलीको आरोप र सत्ता विप्लवको तयारी
बोलिभियाको भू–परिस्थिति बुझेका दक्षिणपन्थी उम्मेदवार मेसा र उनको गठबन्धनले संरा अमेरिका र ओएएसको निर्देशनमा मतगणना केही समय ढिलो हुनेबित्तिकै धाँधलीको आरोप लगाएर विरोध प्रदर्शन सुरु गरे । संरा अमेरिकाले र ओएएसले त ते मोरालेसको जीत भएमा सत्ता विप्लव गर्ने योजना नै गरेको खुलेको छ । मतगणनामा राष्ट्रपति मोरालेस अगाडि आएपछि नै अमेरिकी राजदूत कार्लोस टु«जिलोले मतगणनामा भइरहेको ढिलाइले मोरालेसको पार्टीले नजित्ने पक्का भएको भन्दै विपक्षीहरूलाई सडकमा निस्केर सत्ता कब्जा गर्न आह्वान गरेका थिए । निर्वाचनको पर्यवेक्षण गरेको ओएएसको टोलीले प्रतिवेदन नदिँदै र सार्वजनिक नगर्दै वासिङ्टनमा रहेको ओएएस मुख्यालयले बोलिभियाको निर्वाचनमा धाँधली भएको निष्कर्ष सार्वजनिक गरेको थियो ।
त्यसबाहेक जुब्लियो सुर अमेरिकाज नेटवर्क (न्यूज पोर्टल) मा निरन्तररूपमा बोलिभियाको निर्वाचनमा विपक्षीहरूले के–के गर्नुपर्छ र यदि धाँधली भएमा वा मोरालेस पुनः विजयी भएमा के गर्नुपर्छ भनी लगातार लेख–रचना प्रकाशित भएको थियो । ती लेख–रचनाले बोलिभियाको निर्वाचन प्रक्रियामै प्रश्न उठाउने र हस्तक्षेप गर्ने कोसिस गरेको थियो ।
बोलिभियाली जनतालाई सहयोग गर्ने भन्दै संरा अमेरिकामा बस्दै आएका बोलिभियाली नागरिक ह्वान कार्लोस रिभेरो र ला पाजस्थित अमेरिकी दूतावासका कर्मचारी म्यानफ्रेड रेयेज मिलेर हतियार खरिद गरी चिलीको बाटो गरी बोलिभिया पठाउन लागेका थिए । विविध सामग्रीको नाममा कन्टेनरभित्र राखी ल्याएका ती हतियार चिली–बेलिभिया सिमानामा बरामद गरिएको थियो । अमेरिकी कूटनीतिक मुख्यालय विदेश विभागकै निगरानीमा कयौँ थान हतियार बोलिभियामा पु¥याइसकेको खुलासा केही बोलिभियाली सञ्चारमाध्यमहरूले समेत गरेका थिए । संरा अमेरिकाको उक्त कदमलाई सत्ता विप्लवको कदम भनी बोलिभियाली सरकारले मात्र नभई भेनेजुयला, मेक्सिको, क्युवा, उरुग्वेलगायतका सरकारहरूले पनि निन्दा गरिरहेका छन् । सम्पन्न निर्वाचनको नतिजा स्वीकार गर्न नलगाई आन्दोलनका नाममा सत्ता विप्लव गर्ने दुष्प्रयास बोलिभियामा भइरहेको छ ।
धाँधली साबित गर्न मोरालेसको चुनौती
बोलिभियाको निर्वाचनमा धाँधली भएको भनी संरा अमेरिका, ओएएस र क्षेत्रीय दक्षिणपन्थी सरकारहरूले आरोप लगाइरहँदा बोलिभियाली राष्ट्रपति मोरालेसले भने धाँधली साबित गर्न चुनौती दिनुभएको छ । उहाँले निर्वाचनका क्रममा भएका आचारसंहिताविपरीतका गतिविधिका प्रमाण पेश गर्न र त्यस्तो साबित भए पुनः मत गणना गर्न सकिने बताउनुभएको हो । विपक्षीहरूले धाँधलीको कुनै प्रमाण पेश गरे धाँधली भएको क्षेत्रमा पुनः मतदान गराउने उहाँले घोषणा गर्नुभएको छ ।
विपक्षी उम्मेदवार कार्लोस मेसाले निर्वाचनको नतिजा अस्वीकार गर्ने बताएलगत्तै संरा अमेरिकी प्रशासनको निर्देशनमा ओएएस र युरोपियन युनियन आबद्ध पर्यवेक्षक समूहले निर्वाचनमा ‘धाँधली’ र ‘फर्जी मत’ भएको भन्दै आधारहीन आरोपसहितका विज्ञप्ति जारी गरेका थिए । ती विज्ञप्ति जारीसँगै बोलिभियाका दक्षिणपन्थी विपक्षीहरू र विपक्षी आबद्ध नागरिक सङ्गठन वा गैरसरकारी संस्थाका मानिसहरू देशभरका सहरका सडकमा निस्किएका थिए ।
निर्वाचन पर्यवेक्षण टोलीहरूले आफूहरूसितको सहमति वा सम्झौताविपरीत बिनाप्रमाण धाँधली भएको वा फर्जी मत प्रयोग भएको भनी विज्ञप्ति निकालेकोमा विरोध गर्दै सर्वोच्च निर्वाचन ट्रिब्युनलका अध्यक्ष मारिया युजेनिया चोकले संयुक्त राष्ट्र सङ्घ, ओएएस र युरोपियन युनियनले अनुरोध गरेमा पुनः मतगणना गर्न सकिने बताउनुभएको छ ।
नवउदारवादको विपक्षमा बोलिभियाली जनता
बोलिभियाका अल्पमतका दक्षिणपन्थी कुलीन नेताहरूले जस्तै आकर्षक योजना प्रस्ताव गरे पनि बहुमत बोलिभियाली जनताले नवउदारवादको विपक्षमा आफूलाई उभ्याएका छन् । राष्ट्रपतीय निर्वाचनमा आठ जना उम्मेदवार रहे तापनि दक्षिणपन्थी पार्टी कम्युनिडाड सिउडादाना– सीसीका नेता कार्लोस मेसा एकैजनामात्र खुलस्तरूपमा नवउदारवाद पक्षधर उम्मेदवार थिए । मेसाले प्राप्त गरेको बाहेक मतलाई साम्राज्यवाद र नवउदारवादविरोधी मत मान्ने गरिएको छ । परम्परागतरूपमा कुलीन र शासक वर्गको हित हेर्ने दक्षिणपन्थी राजनीतिक गठबन्धनमात्र नवउदारवादी अर्थ नीति अपनाउने र विदेशी आर्थिक र व्यापारिक संस्थाहरूको प्रवेश र चलखेल बढाउने पक्षमा रहेको छ ।
राष्ट्रपति मोरालेसलाई सके पराजितै गर्ने र नसके दोस्रो चरणको निर्वाचनमा जान बाध्य पार्ने दक्षिणपन्थी विपक्षीहरूको चाललाई नवउदारवादी शासन देखेका र बुझेका विदेशमा रहेका बोलिभियाली जनताको मतले असफल पारेको हो । मतगणनाको अन्तिम घडीमा विपक्षी उम्मेदवार मेसाको मतसित मोरालेसको मत अन्तर १० प्रतिशत नपुग्ला कि भन्ने अवस्था थियो । तर, जब अर्जेन्टिना, चिली, कोलम्बिया र ब्राजिलस्थित बोलिभियाली राजदूतावासमा राखिएका मतदान मेसिनको मत परिणाम आयो, अवस्थालाई पूर्णतः बदलिदियो ।
ब्राजिलको मतमा ६१ प्रतिशत मोरालेसलाई र ३० प्रतिशत जतिमात्र मेसालाई तथा अर्जेन्टिनाको मतमा ७४ प्रतिशत मोरालेसलाई तथा २० प्रतिशतमात्र मेसालाई परेको थियो । त्यस्तै चिली र कोलम्बियाको पनि ६० प्रतिशतभन्दा बढी मत मोरालेसलाई परेको थियो । यी चारवटै देशमा अहिले नवउदारवादी आर्थिक नीति अवलम्बन गरेका दक्षिणपन्थी सरकारहरू छन् । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्य र शिक्षामा बजेट कटौती गरेको, अर्जेन्टिनाका दक्षिणपन्थी राष्ट्रपति माउरिसियो म्याक्रीले ४ वर्षे शासनकालमा ३५ प्रतिशत जनतालाई गरिबीमा धकेलेको, चिलीमा सेवास्टियन पिनेराको नवउदारवादी नीतिले जनतालाई रोजगार र घरवासविहीन पारेको तथा कोलम्बियाको दक्षिणपन्थी सरकारले प्रगतिशील सामाजिक कार्यकर्ताहरूको गैरन्यायिक हत्या गरेको देखेका आप्रवासमा रहेका बोलिभियाली जनताले इतिहास बदल्दै नवउदारवादको विरोधमा मतदान गरेको देखिएको छ । बोलिभियामा नवउदारवाद, साम्राज्यवाद र दक्षिणपन्थी शोषक वर्ग पुनः एकपटक पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *