ललितपुर, १७ कात्तिक (रासस) : ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज तेस्रो दिन बाथःप्याखँ (माकसी मियेगु) अर्थात शिक्षामूलक नाच देखाइएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि कात्तिकनाच शुरु भएको छ ।
सो नाचमा शिक्षाका साथसाथै चेतनामूलक एवं एक लोक नाटक पनि देखाइएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले जानकारी दिनुभयो । “यस नृत्यले समाजका हरेक मानिसलाई हास्यव्यङ्ग्यमार्फत शिक्षाको साथसाथै चेतना प्रदान गर्छ”, प्रधानले भन्नुभयो, “यस नाचको मञ्चन मुख्य गरी तीन कलाकारले गरे ।” पहिलो चरणमा कृष्णगणबाट शुरु हुने सो नाचमा कथानुसार कलाकार बाहिरिने र भित्रिने क्रम हुने हुँदा कूल ११ कलाकारको भूमिका नृत्य अवधिभर रहेको उहाँले बताउनुभयो ।
गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखं र दोस्रो दिन भक्त सुरदास प्याखं मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिकशुक्ल पूर्णिमाका दिनसम्म देखानने सो नाच यस वर्ष कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।
विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले करीब पौने चार सय वर्षअघि कात्तिकनाच शुरुआत गर्नुभएको हो । शाक्यले भन्नुभयो, “यस नाचको आफ्नै धार्मिक विधि रहेकोले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात् ‘कात्तिकनाच’ भन्ने गरिएको हो ।” सत्रौँ शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ । नाचका माध्यमबाट जीवनोपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरिएको समितिले जनाएको छ ।
मुलुककै सबैभन्दा लामो नाट्य महोत्सव मानिने नाचको मञ्चन गर्न आठ वर्षदेखि ८० वर्ष उमेर समूहका कलाकार, वाद्यवादक, गायक, सहयोगी गरी करीब एक सय मानिसले भाग लिएको बताइएको छ । समितिले सार्वजनिक गरेको सूचानानुसार आइतबार, सोमबार र मङ्गलबार तीनै दिन बाथः प्वाखंँ, बुधबार युद्धकला, बिहीबार देवी नृत्य, शुक्रबार जलशयन (मधुकैटभ वध), शनिबार वराह अवतार, आइतबार नृसिंह अवतार, सोमबार वस्त्रहरण लीला र अन्तिम दिन अर्थात् मङ्गलबार दधि लीला नृत्य देखाई समापन गरिने भएको छ ।
कात्तिकनाचलाई अघि बढाउन ललितपुर महानगरपालिकाले यस वर्ष रु चार लाख दिने कबोल गर्नाका साथै पाटन दरबार सङ्ग्रहालय, ललितपुर उद्योग वाणिज्य सङ्घ, सम्झना ल्याबोरेटरीलगायत इच्छुक व्यक्तिले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका अध्यक्ष प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सो नृत्य अवधिभर करीब रु १५ देखि १६ लाख रकम आवश्यक पर्ने हुँदा थोरै रकम खर्च गरेर पुरानो संस्कृतिलाई जोगाउने योजनाका साथ कार्यक्रमलाई अघि बढेका छाँै ।” समितिले यस वर्षको कात्तिक नाचमा रु ६ लाख खर्च गर्ने बताएको छ ।
गत आइतबार १२, शनिबार १०, आज आइतबार ११, सोमबार १६, मङ्गलबार १४, छैटौँ दिन २१, सातौँ दिन १२, आठाँै दिन नौ, दशौँ दिन १९, एघारौँ दिन ११ र बाहौँ दिन १३ कलाकारले नृत्य गर्ने भएका छन् । विसं १६५७ मा पहिलो पटक पाँच दिन मनाइएको सो नाच १७२३ सालमा आएर सात दिन थप गरी १२ दिन मनाइएको थियो । विसं १७४० मा १५ दिन थप गरी अर्काे पटक २७ दिन मनाइएको सो नाच २००७ सालदेखि २०३७ सालसम्म ३० वर्ष दुई दिन मात्र मनाइएको थियो । विसं २०३८ मा आठ दिन मनाइएको कात्तिक नाच २०७१ सालदेखि १२ दिन मनाउन थालिएको समितिले जनाएको छ ।
कात्तिक नाचको मुख्य आकर्षण भनेकै नृसिंह अवतारको नाच हो । यस नृत्यलाई विशेष गरी कात्तिक त्रयोदशीको दिन देखाउनुनै पर्ने चलन पाटनमा छ । कात्तिकनाचअन्तर्गत नाचिने नृसिंह अवतारमा हिरण्यकश्यपुलाई नृसिंहबाट बध गरिने नाटक रहने छ । यो नाचविशेष गरी साँझमा शुरु गरी मध्यरातमा समाप्त हुन्छ । विगतमा कात्तिकनाच एक महिना देखाइने हँुदा अर्थाभावका कारण छोट्याएर १२ दिन हुन पुगेको पाटनका ७२ वर्षीय सूर्यमान डङ्गोलले बताउनुभयो । वस्त्रहरण लीला कात्तिक नाचको दोस्रो महत्वपूर्ण नाच हो । यो नाच कृष्णलीलामा आधारित भएर मञ्चन हुने गर्छ । पाटनका राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत जुनसुकै समुदायका मानिसले कात्तिकनाचमा भाग लिन पाउने बताइएको छ ।( फोटो : सुनिता श्रेष्ठ )