भर्खरै :

हास्य पच्ला तर व्यङ्ग्य पच्दैन

भैरव रिसाल
१८ कार्तिक २०७६
लाज मान्नु मानव सभ्यताको विशेष गुण हो । यदि मान्छे लाज नमान्ने हुन्थ्यो भने दुनियाँ आज अस्तित्वमा हुन्थ्यो हुन्नथ्यो भन्न सकिन्न । लाज मान्ने मान्यता एवम् चलन हुँदा, सभ्यता हुँदा त मान्छे अझै अनेकौँ भाँडभैलो मच्चाउन छोड्दैन भने लाज मान्ने चलन नै नभएको भए के हुँदो हो ? प्रश्न गम्भीर छ । समाजमा बस्छ मान्छे । त्यसैले सामाजिक त हुनैप¥यो । प्राणी भएपछि खानैप¥यो, अझ मान्छे भएपछि लाउन नै प¥यो, बस्नै प¥यो, बस्न परेपछि वासस्थान पनि हुनैप¥यो । खान, लाउन र बस्न कति सजिला शब्द र छोटा शब्द छन् यी । तर यी सरल शब्दभित्र धेरै असजिला विषय धेरै छन् । खानाका धेरै परिकार छन्, प्रकार छन् । बस्नका पनि अनेकौँ तह छन् । लाउनका लागि पनि कम ढाँचा–काँचा छैनन् । भन्दामात्र सजिलो हो खान, लाउन र बस्न । यी तीन शब्दभित्र यो विश्व ब्रह्माण्ड नै अटाएको छ, चलेको छ । घुमेछ दुनियाँलाई अनवरत घुमाएको छ । साधु यहीँ छ, सन्त–महात्मा यहीँ छन्, उद्योगपति, व्यापारी नेता यहीँ छन् यहीँ छन् सर्वसाधारण अनि अघोरी बाबा र नागा बाबा पनि यहीँ छन् त । तर, सबै थरी आ–आफ्नो मर्यादामा छन्, लाज मान्छन् र नै संसार चलेको छ नत्र ?
र नै संसार चलेको छ
लाज–सर्म, घीन, मान–मर्यादा, प्रतिष्ठा आदि प्राणीमात्रका निम्ति निर्धारित छन् । मान्छेबाहेक प्रायः सबै प्राणी मलमूत्र त्याग गर्न लाज मान्दैनन् । घरपालुवा कुकुर पशु त पशु हो तर जहाँ पायो त्यही मलमूत्र त्याग गर्दैन । लाज त मान्दैन तर मर्यादामा भने बस्छ । बाँधेको कुकुर छ तर उसलाई निवृत्त हुनुप¥यो भने अस्वाभाविक क्रियाकलाप गर्छ, कराउँछ तर आफू बाँधिएको ठाउँमा सामान्यतः मलमूत्र त्याग्दैन । उता गाई, भैँसी, गोरू, बाख्रा, भेँडा, घोडा सबै पशु त पशु नै हुन् । कुकुर, बिरालो पनि पशु त पशु नै हो । परन्तु केही जात बसेकै ठाउँमा छोड्छन्, केही छोड्दैनन् । यी प्राणीमा लाज भन्ने ज्ञान हुँदैन होला । मान्छेमा लाज भन्ने बुझ्न थालेपछि, मर्यादा भन्ने पनि बुझ्न थाल्छ । तर, त्यो शिशु अवस्थामा बुझ्दैन र व्यक्त गर्न पनि जान्दैन । सुतेकै ठाउँमा छोडिहाल्छ । अल्जाइमर वा डीमेन्सिया रोगग्रस्त मान्छे पनि शौचादि काम कहाँ गर्ने भन्ने भुल्दोरहेछ । यी अपवाद भए । लाज–सर्म, घीन आदिको पालना नगर्ने मान्छे सामान्य मान्छे हुँदैन । तसर्थ नै यो संसार आ–आफ्नो मर्यादामा, आचरणमा हिँडेको छ । सूर्य–चन्द्रमा ऋतुअनुसार गतिमान छन् र नै संसार चलेको छ ।
द्यौसी भैलो द्यौसी भैलो नै हो
मेरो कलममा बात्तिएजस्तो छ । बात्तिनुसम्मलाई परिस्थिति हेरी क्षमा दिनसक्छ क्यार ! तर पात्तियो भन्ने क्षम्य पनि हुँदैन । कलमै हो कहिले पात्तिन पनि खोज्छ । जो राम्रो मानिँदैन । यो निरस भूमिकातर्फ ज्यादा नबिथोलिऔँ । तिहारको उत्कृष्ट पक्षमध्ये देउसी–भैलो पनि एउटा उत्कृष्ट सांस्कृतिक विधा हो, निधि हो, उत्कर्ष हो, सौन्दर्य हो । गाईजात्रा पनि नेपाली समाजको अदभूत विधा हो । सहनशीलताको क्षमाशीलताको विशेषता हो । भन्नेले के–के भन्छ । कहिले त सामाजिक शिष्टताको मर्यादा नै उल्लङ्घन गरिएको हुन्छ । तर सुन्ने र हेर्ने मान्छे यदि मर्यादित एवम् शिष्ट हुन्छ भने एउटा कानले सुन्छ अर्को कानले उडाइदिन्छ । त्यहाँ देखाइएका र सुनाइएका विषयवस्तु प्रायः निराधार एवम् त्यसै हावामा टिपेर ल्याइएका हुँदैनन् । आफ्नो समाजमा प्रत्यक्ष वा परोक्षरूपमा भएकै हुन्छन् । तर, त्यही समाजमा भएको विषयलाई कति फूलबुट्टा भरेर, कतै साँधेर, कतै मोलेर, कतै अतिशयोक्तिको ढ्याङ्ग्रो चढाएर प्रस्तुत गरिन्छ । गाईजात्रा अलि उदाङ्गो हुन्छ भने द्यौसी भैलो नाङ्गो हुँदैन छिपछिपे छोपिएको हुन्छ । तैपनि गाईजात्रा भनेको गाईजात्रा नै हो, द्यौसी–भैलो भनेको द्यौसी–भैलो नै हो । यो वस्तुगत आस्था आत्मसात गर्ने पात्र आँत्तिदैन मात्तिदैन । अन्यथा बर्बादै हुनपुग्छ ।
मित्र अमित्र चिन्न सक्ने
अहिले सरकार पनि थेचरो भो । यो सरकारका प्रमुखहरूमा र सरकारमा पसेका र बसेका पार्टीहरूमा दुई तृतीयांशको घमण्डले भुइँ छोड्ने प्रवृत्ति देखापर्दै गयो । धेरै काम गर्दै नगर्ने र गर्न पनि नसक्ने रोगले ग्रस्त गरायो । राज्य भएपछि केही न केही काम त गर्नैपर्छ र हुनु पनि पर्छ । त्यसै भएको पनि छ । लोडसेडिङ हट्यो कसले भनेको छ लोडसेडिङ हटेको छैन भनेर ? यो श्रेय त सरकारमा जान्छ जस पनि जान्छ, जवाफ पनि दिनुपर्छ । अमलेखगञ्जसम्मको पेट्रोल–डिजेल पाइप लाइन जोडिएकै हो, कसले भनेको छ त्यो पाइप लाइन जोडिएको छैन भनी । यसअघिका सरकारहरूले २३ वर्षदेखि गर्न नसकेको काम चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कसले भनेको छ सानो भ्रमण भनी । एक–दुई वटा राष्ट्रसँग श्रमको चरम शोषणको अन्त्य गर्ने समझदारी भएका छन् । यस्ता कुराको विपक्षमा को उभिन्छ ! ठाडै छ नि ! तर, धेरै वटा र अझ सके त सबै विकासका आयोजनाले गति लिनुपर्ने हो । तर, त्यसो भएको छैन । राष्ट्रिय गौरवका कैयौँ विकासका आयोजनाको सिन्को पनि सरेको छैन । सरकार नभएको कुरा भएन पनि नभनियोस् भन्छ । यो त कसरी हुन्छ र ! कामै नभएकोमा पनि काम भएन भन्न नहुने । सरकारमा गएपछि को मित्र को–को अमित्र भन्ने छुट्याउने योग्यता हराउनेरहेछ । यो सारै कुरूप पक्ष हुनेरहेछ सरकारमा गएपछि ।
राम्रो नगरे ओखती छैन
प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सिस्नुपानी नेपालले द्यौसी–भैलो कार्यक्रमको भव्य आयोजना गरेको थियो । सामान्यतः असामान्य थियो त्यो द्यौसी कार्यक्रम । लोकतन्त्रको सुन्दर पक्ष भनेको सरोकारवाला पात्रको भौतिक उपस्थितिमा हास्य र व्यङ्ग्य विधामा ओर्लेर यावत असन्तुष्टि र मननपरेको कुरा भन्न पाइने । यो वास्तवमै अद्वितीय कुरो हो । अलोकतन्त्रमा यस्ता सरकारलाई ठाडै मन नपर्ने कुरा सरकारका मुखेञ्जी भन्न अपवादमा मात्र पाइन्छ । तर लोकतन्त्रमा त्यति भन्न पाइएको छ । त्यो सिस्नुपानी देउसीमा मुलुकमा भएको नराम्रा यावत कामको बेलिविस्तार लाइयो । हुनुपर्ने तर नभएका यावत काम कुरो पनि सङ्क्षेपमा सम्पूर्ण कुरा राखियो । हलेदो भनेपछि त्यसमा बेसारै बेसार छ भनिरहनु पर्दैनथ्यो तर सरकारमा गएपछि छाला बाक्लो हुनेरहेछ । कानमा तेल हालिँदोरहेछ । अनि जनताका कुरा कम सुनिनेरहेछ । ठेकेदारका, व्यापारिका, विचौलियाका कुरा ज्यादा सुनिँदोरहेछ । जुम्ली मार्सी चामलको भातले तात्दोरहेछ । तसर्थ कानै घोच्ने गरी भन्नुपर्दोरहेछ । सिस्नुपानी द्यौसीमा ती जम्मै भनिए । भन्न केही बाँकी राखिएको थिएन । सरकारमा भएका नेताहरू सरकार बाहिर रहेर सरकार चलाउने नेताहरूलाई पनि त्यहाँ भन्न केही बाँकी राखिएको थिएन । अब पनि राम्रो नगरे ओखती छैन ।
वाम बुद्धिजीवीको पूरै सहयोग
सत्ताको स्वभावै त्यस्तै हो कि ? नभएको काम भएनन् भन्दा ए बाटो देखाइदियो , आँखा खोलिदियो भनेर गुन मान्नुपर्नेमा मेरो मन्त्रीको कुर्सीमा आँखा गाड्यो भन्ने शङ्काको नजरले हेर्ने गरिँदोरहेछ । यस्तो बैगुन किन आउँछ नेताहरूमा, नेतृत्वमा कठोर विश्लेषण हुनु जरूरी छ । रूख काट्नु छ भने बञ्चरो जोडले नै हान्नुपर्छ नत्र रूख ढल्दैन । ओखर फुटाउनुपर्छ भने तोडले नै हान्नुपर्छ । त्यो ओखर दाँते हो कि हाडे हो त्यसमा पनि भरपर्छ । तर सरकारमा गएपछि दाँते ओखर पनि हाडे ओखरमा रूपान्तरण हुनेरहेछ । अहिले सरकारमा गएका मन्त्री भएका नेताहरूमध्ये अधिकांश त नराम्रा थिएनन्, कति त राम्रा थिए । तर सरकारमा गएपछि जनताका मान्छे हुन छोडी सिंहदरबारको, अझ चन्द्र शमशेरको मान्छे हुने रोग लाग्दोरहेछ । प्रज्ञा प्रतिष्ठानको हलमा सिस्नु पानी नेपालले चन्द्रशमशेरको काँचो वायु झार्न शब्द सिस्नु पानी लगाए मस्तसँग कलाकारहरूले । भन्नसम्म भने पेटका चुर्नासम्म पनि मर्ने गरी भने भन्न केही बाँकी राखेनन् । शब्दमा भन्न हुने जति शब्दमा नै भने । भन्न नहुने जति सङ्केतमा र व्यङ्ग्यमा भने । वाम विचारधाराका कलाकारहरूले सरकारलाई सहयोग गरेनन्, बाटो देखाएनन् भन्ने गुनासो गर्ने ठाउँ राखेनन् ।
सबैलाई स्पष्टै भनिएको
उक्त सिस्नुपानी द्यौसी कार्यक्रममा देश बनाउने जिम्मा लिई सत्ताको तातो कुर्सीमा एकपल्ट, दुईपल्ट, तीनपल्ट र अझ धेरैपल्ट बसेका तर देश नबनाएका या अझ बिगारेका धेरै नेता उपस्थित थिए । माधव नेपाल र शेरबहादुर देउवा देखिएनन् । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल थिए, सेना प्रमुख थिए प्रधानन्यायाधीश सपत्निक नै थिए । अरू अरू पनि निकै थिए । स्वास्थ्यमन्त्री हुँदा औषधि खरिदमा मस्त पैसा खाने पूर्वमन्त्रीहरूको लूँडै थियो । आपूर्तिमन्त्रीबाट स्वास्थ्यमन्त्रीमा सरूवा भएपछि सरकारले औषधि खरिद गर्दा मन्त्रीलाई आउने अप्रत्याशित रकम लिँदै भन्दै थिए रे व्यर्थै बदनाम भइयो आपूर्तिमन्त्री भएर । स्वास्थ्यमा मालपानी पनि कुस्त आउनेरहेछ बदनामी पनि नहुनेरहेछ भन्ने पूर्वमन्त्री पनि उफ्री उफ्री हाँस्तै थिए । एकाध प्रस्तुति अलि लामा थिए भने समग्रमा कार्यक्रम उत्तम थियो । होली वाइन पनि छुटेको थिएन । सिङ्गापुरको उपचारको बिल कसले ति¥यो, कुन विकास आयोजनाको ठेकेदारको विशाल र गगनचुम्बी घरमा डेरा लिएर बस्नुभएको छ ? भन्ने जिज्ञासा पनि प्रस्तुत थियो । साना माछा भ्रष्टाचारको जालमा पर्ने तर ठूला माछा भने जालमा नपर्ने प्रसङ्ग उठ्दा प्रधानन्यायाधीश मस्तसँग हाँसेको देखिन्थ्यो । यस्ता सबैलाई भनेर सुध्रिने मौकातर्फ सचेत गराइएको छ ।
सुधार्ने हो चेतना भया
हास्यव्यङ्ग्य वास्तवमै सुधारका, परिवर्तनका र रूपान्तरणका अत्यन्त भद्र, भलाद्मी र शालीन माध्यम हुन् । सुधार गर्न, परिवर्तन र रूपान्तरण गर्न अरू विविध विधा नभएका होइनन् । परन्तु हास्यव्यङ्गय विधा अत्यन्त सुन्दर, सुपथ्य र सुपाच्य विधा हो । यो विधा संसारभर नै लोकप्रिय पनि छ । हास्य कतिपय बेलामा हास्यमा नै टुङ्गिन्छ । हास्यले ठूलो परिवर्तन ल्याउन नसक्ला । कतिले त हाँसो हाँसोमै पचाइदिन्छन् । प्रज्ञाको सिस्नुपानी हास्य पनि त्यस्तै हुनसक्छ । तर सरोकारवालाहरू हो, व्यङ्ग्य पचाउने दुःसाहस कदापि नगरे हुन्छ । व्यङ्गय पच्दैन । अन्यथा व्यङ्गय विधा उहिल्यै लोप भइसक्थ्यो । सिस्नुपानी द्यौसी यस्तो ठट्टा गर्नमात्र आयोजित थिएन । यो कार्यक्रम आयोजना गर्ने कलाकारहरूले क्षणिक मनोरञ्जनको निम्ति मात्र बुद्धि घोटेको पक्कै होइन । त्यो कलाकार टोलीमा काम नभएका समय फाल्तु भएका एक जना पनि थिएनन् । यो गुह्य आत्मसात गरी आफ्नो जिम्मामा भएको दायित्व शुद्ध किसिमले समयअगावै सम्पादन गर्ने सन्देश दिन सिस्नुपानी द्यौसी आयोजना भएको हो भन्ने मेरो ठम्याइ छ । तपाईं नेताको चरित्र उज्यालो हुनुप¥यो । वर्तमान उज्यालो छैन भन्ने गम्भीर सन्देश दिएको छ यो सिस्नुपानी द्यौसीले । तसर्थ सरोकारवालाहरू हो हास्य पचाए पनि व्यङ्गय भने पचाउन नखोज्नु बुद्धिमान हुनेछ । चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *