भर्खरै :

मजदुरको जीवनमाथि अनाहक खेलबाड

– संवेग सिञ्जाली
बझाङको बुङ्गल नगरपालिका–१ कालागाढमा निर्माणधीन कालंगा हाइड्रो पावरको निम्ति खनिएको सुरुङ्गभित्र चार जना मजदुर थुनिएका छन् । सुरुङ निर्माणको क्रममा आइतबार दिउँसो उनीहरू सुरुङभित्र पसेकोमा हालसम्म कुनै सम्पर्क नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । काम गर्न भनी सुरङभित्र प्रवेश गरेका चारैजना दुई दिनदेखि सुरुङमै थुनिएका र अवस्था अज्ञात रहेको बताइएको छ । सुरुङभित्र थुनिएकाहरूमा दैलेखको गुराँस गाउँपालिका–३ का ३२ वर्षीय महेन्द्र शाही, सोही स्थानका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साँउद र बुँगल नगरपालिका– १ का ३५ वर्षे शेरसिंह धामी रहेका छन् । आठ सय मिटर लामो सुरङमा अक्सिजनको अभाव हुँदा उद्दारमा कठिनाइ भएको बताइएको छ ।
उद्दार टोली नै अक्सिजनको अभावमा बेहोस भई फर्कनु परेको अर्थ अगाडि दुई दिनअघि पसेका मजदुरहरू सकुशल होलान् भनी आशा कदापि गर्न सकिन्न । लामो सुरुङभित्र जति जति भित्र पसिन्छ, त्यति त्यति अक्सिजनको अभाव हुने तथ्य सुरुङ खनिरहेका इन्जिनियरहरूलाई थाहा नहुने कुरै भएन । त्यस्तो अवस्थामा बिना कुनै अक्सिजन उपकरण सुरुङ्गभित्र पस्न लगाउनु मजदुरको जीवनमाथि अनाहक खेलबाड हो । यसरी मजदुरको जीवनमाथि खेलबाड गर्ने अधिकार कसैमाथि छैन । त्यो कुनै भवितव्य दुर्घटना होइन । फेरि उदार कार्यका लागि उपकरण र टोली तयार नराख्नु आयोजनाको गम्भीर लापरवाही हो । समयमै उदार कार्य हुँदा बच्न सकिने जीवन ढिलो हुँदा गुम्ने जोखिम बढेको छ । त्यसैले उक्त घटनाको सत्यतथ्य छानबिन गरेर मजदुरहरूलाई सुरुङभित्र पस्न आदेश दिने जो कोही पदाधिकारीमाथि कानुनी कारबाहीको दायरामा ल्याइनैपर्छ । नेपाली मजदुरहरूलाई भेडाबाख्रा वा गिनीपिग सम्झिने ठेकेदार र इन्जिनियरहरूलाई होसमा ल्याउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *