भर्खरै :

चिलीको दमनमा घाइतेको सङ्ख्या २५ सयभन्दा बढी

सान्टियागो, ४ नोभेम्बर । पछिल्ला साता चिलीमा भएको जनआन्दोलनमा दुई हजारभन्दा बढी मानिस घाइते भएको चिलीको रेडक्रस सोसाइटीले जनाएको छ ।
घाइतेको सङ्ख्याबारे जानकारी दिंदै चिलीको रेडक्रमका पेट्रेसियो अकोस्टाले भने, “सरकारको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कभन्दा हामीसँगको तथ्याङ्कमा घाइतेको सङ्ख्या दोब्बरले बढी छ ।” आन्दोलनमा घाइतेको सङ्ख्या २५ सयभन्दा बढी हुन सक्ने उनले बताए ।
सरकारले सही तथ्याङ्क लुकाएको उनले दाबी गरे । गोली लागेपछि गिरफ्तार हुने भयले घाइतेहरू अस्पताल नगई रेडक्रसको आकस्मिक शिविरमा पनि आएको उनले बताए ।
शुक्रबार रातिसम्म राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गिरफ्तार र घाइतेको सङ्ख्या १ हजार ५७४ पुगेको बताएको छ । प्रतिष्ठानका निर्देशक सर्गोई मिक्कोले आफ्ना प्रतिनिधिहरू सबै प्रहरी चौकी र स्वास्थ्य केन्द्रमा पुग्न नसकेकोले सही तथ्याङ्क निकाल्न कठिनाइ भएको बताए ।
प्रहरीले हानेको रबरको गोलीले आँखाको ज्योति गुमाउनेको सङ्ख्या धेरै भएको रेडक्रसको कुरा मानवअधिकार प्रतिष्ठानका अधिकारीको भनाइसँग मेल खाएको छ ।
सरकारको दमनबाट घाइते प्रदर्शनकारीको उपचार गर्न आवश्यक सामग्रीबाट समेत कतिपय रेडक्रसका स्वयंसेवकहरूलाई वञ्चित गरिएको समेत स्वास्थ्यकर्मीहरूले बताए ।
साउदी अरबमा बङ्गलादेशी महिलामाथि अत्याचार
ढाका, ४ नोभेम्बर । दक्षिण एसियाली देश बङ्गलादेशले साउदी अरबमा काम गरिरहेकी एक महिला कामदारलाई फिर्ता गर्न माग गरेको छ । सामाजिक सञ्जालमार्फत आफ्ना रोजगारदाताले यौन दुव्यर्वहार र यातना दिएको भन्दै बङ्गलादेशकी एक महिलाले भिडियो सार्वजनिक गरेपछि बङ्गलादेशले त्यस्तो अपिल गरेको हो ।
सुमी अख्तर नामकी एक महिलाले फेसबुकमा राखेको भिडियोमा आफू निर्मम र पटक पटकको यौन हिंसाको शिकार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।
“म अब धेरै बाच्दिनँ होला । मलाई जोगाउनुहोस्”, उनले भिडियोमा भनिन् ।
२५ वर्षकी बङ्गलादेशी महिलाले आफूलाई आफ्नो रोजगारदाताले पन्ध्र दिनसम्म खान पनि नदिई थुनेर राखेको र तातो तेलले आफ्नो हात पोलिदिएको बताइन् ।
बङ्गलादेश सरकारले विदेशमा मान्छे पठाउन जिम्मेवार निकायलाई ती महिलालाई सकेसम्म चाँडो घर फर्किने वातावरण मिलाउन आदेश दिएको छ ।
बङ्गलादेश सरकारका प्रवक्ता अतिकुर रहमानले महिलालाई बेच्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गरिने बताएका छन् ।
गत महिना बङ्गलादेशका आप्रवासी अधिकार समूहले गरेको एक अध्ययनअनुसार साउदी अरब गएका ११० जना महिलामध्ये ६१ जनाले शारीरिक दुव्र्यवहार भोग्ने गरेको देखाएको थियो ।
“१४ प्रतिशत महिलामाथि यौन दुव्यर्वहार हुने गरेको छ”, समूहले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *