भर्खरै :

नेपाली जनतामाथि विश्वासघात !

– गौरव प्रधान
दलको सिद्धान्त र विचार एक कुनामा थन्काएर अवसरवादी राजनीति गर्न खप्पिस नेकपाका अध्यक्ष पुष्पकमल दाहालको बोलीको ठेगान नभएको कुरामा शङ्का छैन । बोलीको ठेगान नभएका नेतालाई नै पार्टीको मुख्य जिम्मेवारी दिएर दलका अन्य सच्चा कम्युनिस्टहरू नेपालको कम्युनिस्ट आन्दोलनलाई पछि धकेल्ने काममा किन साथ दिन्छन् ? आश्चर्यको विषय बनेको छ । आलोपालो प्रधानमन्त्री हुने समझदारी बनेको आशा पर्खेर बसेका र बोलीको ठेगान नभएका नेता दाहाललाई सरकारको जिम्मेवारी दिएमा मुलुक पनि दिशहीन बन्नेमा शङ्का छैन । आखिरमा दलका ती जिम्मेवार नेताहरूको उद्देश्य पद र पैसा नै भएको स्पष्ट देखिन्छ । कुनै समय संसदीय व्यवस्थाको भण्डाफोर गर्ने उनै नेता अहिले संसदीय व्यवस्थाको नायक बनेर सुखको सास फेर्दै छन् ।
प्रम हुने उनको अभिलाषा मेटेको छैन । तर, उपप्रधानमन्त्री ईश्वर पोखरेल पालैपालो प्रम हुने कुनै सल्लाह नभएको दाबी गर्छन् । उनको दाबी हेर्दा नेकपाका अध्यक्ष दाहाल नै प्रम हुनेमा कुनै सुनिश्चित छैन । प्रम ओलीको स्वास्थ्यमा खराबी भएमा या लामो समयसम्म सञ्चो नभएमा प्रम हेरफेर हुने सम्भावना नकार्न मिल्दैन । नेकपाका अध्यक्ष र प्रम बनेका केपी ओलीले एक समयमा अब कोसँग लड्न आन्दोलन गर्नुपर्छ र भनेका थिए । अब कहिल्यै आन्दोलन गर्नुनपर्ने भन्ने उनको अभिव्यक्तिले नेकपाको उद्देश्य अहिलेको पुँजीवादी गणतन्त्र रहेछ भन्ने थाहा हुन्छ । प्रम ओलीको त्यही अभिव्यक्ति सोही पार्टीका अध्यक्ष दाहालले पनि दोहो¥याइरहेका छन् । पुँजीवादी व्यवस्था रुचाउने र यही व्यवस्थालाई मलजल गरेर सुदृढ गर्ने पार्टी कस्तो कम्युनिस्ट पार्टी !
एउटै दलका दुई अध्यक्षको भनाइमा पनि एकरुपमा छैन । एउटा अध्यक्षले अर्को अध्यक्षको खुट्टा तान्ने काम छोडेका छैनन् । प्रत्यक्ष या अप्रत्यक्षरुपमा एकले अर्कोलाई घोचपेच गर्ने, विरोध गर्ने अध्यक्षद्वयको अभिव्यक्तिले ती दुई दलबीचको एकता सिद्धान्त , विचार र दर्शनको आधारमा भएको होइन भन्ने सजिलै अनुमान गर्न सकिन्छ । प्रम बन्नकै निम्ति अध्यक्ष दाहाल कहिले जङ्गल पस्ने त कहिले अर्को ठूलो विद्रोह हुने चेतावनी दिन पछि परेनन् । उनी कहिले आफ्नै पार्टी कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनमा बाधक भएको बताउँछन् । विद्रोहको स्वर सल्काएर जनता उठाउने या उत्तेजित पार्ने दाहाल कुर्सीमा विराजमान हुन चाहन्छन् तर सिद्धान्त, दर्शन र विचारको कुनै ख्याल गर्दैनन् । सिद्धान्त र विचारको कुनै ख्याल नगर्ने दलका अध्यक्ष र नेताहरूलाई जनताले कसरी विश्वास गर्ने ? अनि ती दलका नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउलान् ? समाजवादी क्रान्ति गर्न अघि बढ्लान् ? के नेकपाले कम्युनिस्टको नाउँमा जनतालाई धोका दिइरहेको होइन ? यसरी नेपाली जनतामाथि विश्वासघात गर्ने दलले समाजवादी व्यवस्था ल्याउला, ल्याउन अघि बढ्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *